गुरुपुर्णिमा तथा व्यास जयन्ती, २०८३ विशेष प्रथम गुरु माता पिता समेत औपचारिक प्राथमिक पाठशालादेखि विश्वविद्यालय सम्म र अनौपचारिक पेशागत लोक सेवा आयोग सहलेखापाल देखि उपसचिवसम्मका स्वदेश तथा विदेशका प्रशिक्षक गुरुहरु, आकस्मिक ज्ञात अज्ञात र वर्तमान समसामयिक अध्यात्मिक सनातन वैदिक प्राथमिकदेखि माध्यमिक तह सम्मका कर्मकाण्ड र ज्योतिष बिज्ञानका गुरुहरु सम्पुर्ण सहपाठीगुरुहरुमा सादर हार्दिक शुभकामना अर्पण गर्दछु 🙏🙏
कविरदास ‘गुरू र गोविन्द भगवान साथ साथै उभिएका छन् भने कसको पाउमा पहिला ढोग गर्ने भन्ने द्विविधा उत्पन्न हुँदा पहिला गुरूको पाउ परेर मात्र ईश्वरलाई ढोग्ने सल्लाह दिन्छन् । यसको कारण गुरूको ज्ञान वा शिक्षा विना ईश्वरलाई चिन्न सकिदैंन । ईश्वरलाई चिनाउने पहिला गुरू नै हुन् त्यसैले गुरू महान् छन् । प्रत्येक वर्ष एकपटक गुरू पूर्णिमा भनेर आषाढ शुक्लपूर्णिमाका दिन सामान्य औपचारिकतामा मात्र गुरूपूर्णिमा वा व्यास पूजा भनेर मनाउने गरिन्छ । वास्तवमा गुरूलाई त प्रत्येक दिन विहान उठे देखि बेलुका निन्द्रा देवीको शरण नपर्दासम्म स्मरण गरिराख्नु पर्छ । निन्द्रा देवीको शरण परेपछि स्वयं जगदिश्वरले रक्षा गर्नु हुन्छ ।
हिजो आज न गुरूमा ज्ञान गरिमा र गुरूत्व पाईन्छ न शिष्यमा गुरू प्रतिको आदर सम्मान र स्वयंमा ज्ञानको भोक वा तिर्खा । भोगवादी सामाजिक संस्कार, मूल्य–मान्यता र सभ्यताको अभाव, आधुनिक सहज र सुलभ बैज्ञानिक साधन, सूचना सञ्चारको अत्यधिक विकास, मेसिनको अधिकाधिक प्रयोग, कार्यव्यस्त मानव व्यवहार, धार्मिक र भौतिक शिक्षाको अभाव, अल्पदृष्टि, पश्चिमा सस्ता नौटङ्की संस्कृतिको प्रभाव, परसंस्कृति ग्रहण र आर्थिक, भौतिक आदि सुविधाको कारणले धर्म पलायन आदि कारणले गर्दा गुरु ज्ञानमा सच्चाभक्ति भाव पाइदैन ।
गुरु स्तुति गर्दै शास्त्रमा लेखिएको छ
• ‘अज्ञानतिमिरान्धस्य ज्ञानञ्जन्यसलाकया, चक्षुरून्मिलितम्येन तस्मै श्रीगुरूवे नमः’ । अर्थात् अज्ञानरूपी अन्धकार ज्ञानरूपी ज्योति पुञ्जले नाश गर्ने ज्ञानको नेत्र (चक्षु) खोलिदिने गुरूलाई मेरो नमस्कार छ ।
सारमा, ज्ञानरूपी महासागर गुरूको महिमा जतिसुकै वर्णन गरेपनि लघुता हुन्छ । हिन्दु धर्म, बौद्ध धर्म, जैन धर्म, शिख धर्म आदि धर्महरू र अन्य सम्प्रदायहरूमा गुरूको महिमा अपार छ । वेद, पुराण, रामायण, उपनिषद, महाभारत, गीता आदि पूर्वीय धर्मग्रन्थ र बाईबल, कन्फ्युसियस धर्म, ईस्लाममा समेत गुरूको महिमा मुक्त कण्ठले गाईएको पाईन्छ ।
आषाढ शुक्ल पुर्णिामा अर्थात् गुरु पुर्णिामा आफुलाई शिक्षा दीक्षा प्रदान गर्ने गुरुप्रति श्रद्धाभाव प्रकट गरि मनाउने गरिन्छ । यश दिन गुरुका रूपमा ज्ञानको पुजा गर्ने गरिन्छ । गुरु प्रति श्रद्धा र सम्मान प्रकट गर्दै यश दिन देश भरि गुरु पुर्णिामा मनाउने गरिन्छ ।
गुरु ब्रह्मा गुरु बिष्णु गुरु देवो महेश्वर ।
गुरु साक्षात् परं ब्रह्म तस्मै: श्री गुरुवे नम: ।।
अर्थात्
गुरु नै ब्रह्मा हुन् । गुरु नै बिष्णु हुन् । गुरु भनेको भगवान् शंकर हुन् । गुरु नै साक्षात् पर ब्रह्म यस्ता गुरुलाई म नमस्कार गर्दछु ।
श्रीगुरु - स्मरणम्
गुरुर्ब्रह्मा गुरुर्बिष्णु: गुरुर्देवो महेश्वर: ।
गुरु: साक्षात् परब्रह्म तस्मै श्रीगुरुवे नम: ।।१।।
अखण्ड मण्डलाकारं व्याप्त येन चराचरम् ।
तत्पदं दर्शितं येन तस्मै श्रीगुरुवे नम: ।।२।।
अज्ञानतिमिरान्धस्य ज्ञानाञ्जनशलाकया ।
चक्षुरुन्मीलितं येन तस्मै श्रीगुरुवे नम: ।।३।।
गुरुरादिरनादिश्च गुरु: परमदैवतम् ।
गुरो: परतरं नास्ति तस्मै श्रीगुरुवे नम: ।।४।।
ध्यानमूलं गुरो: मुर्ति: पुजा मूलं गुरो: पदम् ।
मन्त्र मूलं गुरोर्वाक्यं मोक्षमूलं गुरो: कृपा ।।५।।
यस्य स्मरणमात्रेण ज्ञानमित्पद्यते स्वयम् ।
स एव सर्व संपत्तिस्तस्मै श्रीगुरुवे नम: ।।६।।
आनन्द-मानन्द-करं प्रसन्नम् ज्ञानस्वरुपं निज भावयुक्तम् ।
योगिन्द्रमीड्यं भवरोगवैद्यं श्रीमद्भगुरुं नित्यमहं स्मरामि ।।७।।
ब्रह्मानन्दं परमसुखदं केवलं ज्ञानमुर्ति
द्वन्द्वातीतं गगनसदृशं तत्वमस्यादिलक्ष्यम् ।
एकं नित्यं विमलमचलं सर्वधीसाक्षीभूतं
भावातीतं त्रिगुणरहितं सदगुरुं तं नमामि ।।८।।
व्यास जयन्ती :
गुरु पुर्णिामा गुरु व्यासको जन्म दिन पर्दछ । अष्ट चिरञ्जीवी मध्येका एक चिरञ्जीवी अमर अनि गुरुका गुरु व्यासका बारेमा भन्नू पर्दा १८ पुराण र महाभारतका रचनाकार गुरु व्यास भन्नुहुन्छ -
अष्टादश पुराणेषु व्यासश्य वचनम् द्वयम् ।
परोपकार च पुण्याय पापाय परपिडनम् ।।
भावार्थ : अठार पुराणमा व्यासका वचन २ वटा छन् । अरुको उपकार गर्नु पुण्य हो भने अपकार वा अहित गर्नु पाप हो ।
महाभारतका पात्र भीष्म र व्यास नाताले सौतेनी दाजुभाइ हुन् । राजा शान्तनुले मत्स्यगन्धा वा सत्यवतिलाई विवाह गर्छन् । सत्यवतिका पिता पेशाले माझी हुन्छन् । राजाले ससुरालाई सत्यवतिका तर्फबाट भएका सन्तानलाई राज सिंहासनमा बसाउने बाचा गर्दछन् । यश अघिनै राजा शान्तनुले पुत्र भिष्मलाई राजकुमार घोषणा गरेर उत्तराधिकारी ठहर गरिसकेका हुन्छन् । पछि भिष्मले आफ्नो पिताको बाचा थाहा पाएर पितालाई बचनमा अडिग रहनका लागि आफू र स्वयंले राजकुमार वाट हटेर कुनै दावी नगर्ने घोषणा गरेका हुन् ।
गुरु व्यास सत्यवतिका विवाह अघिका पुत्र हुन् । ॠषि परासर र सत्यवतिको अध्यात्मिक समागमले व्यासको जन्म भयो । आफ्नी जन्म माताको खोजीका क्रममा व्यास हस्तिनापुर दरवार सम्म पुग्दछन् । यिनै व्यासले महाभारतका सकल घटनाक्रमहरुलाई कथेका छन्, लिपिवद्य्द गरेका छन् । सबै बेद, श्रीमद्भागवत अनि १८ पुराणका सर्जक व्यासले गुरु दत्तात्रयलाई पनि सिकाएको कुरा उल्लेख छ । व्यास गुरुका पनि गुरु हुन् । वेद मुलतः चार वटा छन् । ॠग्वेद, सामवेद, यजुर्वेद र अर्थव वेद । व्यासको गुरुत्व र श्रीगणेशका धारावाहिक लेखनीको मुर्त साक्षात् रुप वेद हो । गुरु पुर्णिामा तथा व्यास जयन्ती आजको दिनमा व्यासजीले वेदका ज्ञानलाई बाँडेर वेदका प्रकारहरु र नाम छुट्याइएको पवित्र दिनका रूपमा सम्झना गरिन्छ ।
वेद मुलतः लिखित र अलिखित मानिन्छन् । सनातन पुर्वीया वाङमय धर्म संस्कृति अन्तर्गत शिक्षा, कानुन, राजनीति, समाजशास्त्र, इतिहास, दर्शन, मनोबिज्ञान सार अर्थमा ज्ञान बिज्ञानको आदि अनन्त मुल ग्रन्थ हो भन्नुमा अत्युक्ति नहोला ।
लेखन तथा सम्पादन :
✍️ वसन्तराज अधिकारी
अधिवक्ता तथा पुर्वउपसचिव
सन्दर्भ सामग्री (Refrences)
१. गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामार्फत २०५९ सालमा प्रकाशित
२. स्थानीयस्तर र राष्ट्रिय तथा अन्य पत्रपत्रिका मार्फत प्रकाशित आफ्नै लेख ३. विभिन्न राष्ट्रियस्तरका सञ्चार माध्यमहरु समेत
४. हाम्रो पात्रोमा सुयोग ढकालको आलेख र ५ . स्तोत्र पुष्पाञ्जली प्रकाशक : दुर्गा साहित्य भण्डार, नेपाली खपडा, वाराणसी ।

Comments
Post a Comment