बेल्भार फुपू अब सम्झनामा मात्र : एक शब्द चित्र
![]() |
| कीर्तिशेष फुपू स्व.विष्णुदेवी घिमिरे, बेल्भार, दाङ |
१. फुपूसँग पहिलो भेटघाट चिनारी :
बि.सं. २०३६ साल फाल्गुण ६ गते सोमबार मेरा परम्पुज्यनिय पिताश्री बलदेवप्रसाद अधिकारी मानव देहधारी पाञ्चभौतिक शरीर त्याग गरि परम्धाम हुनुभयो । वाहाँलाई उपचारार्थ तत्कालीन महेन्द्र अस्पताल, घोराही, दाङमा महिनौं उपचारको क्रममा टिबि अर्थात् क्षयरोग जुन तत्कालीन समयमा निरोधात्मक उपचारको व्यवस्था नहुँदा असाध्य रोग मानिन्थ्यो, यही रोगको जटिलताले बुबालाई अस्पतालले फिर्ता गरिदिएको थियो । बुबालाई घर फर्काउनु भन्दा अघिल्लो दिन बुबाले बेल्भार मेरी बहिनी बिष्णुदेवी छिन् उनलाई खबर गर्न नारायण गुरुको युगबोध पत्रीका प्रेसमा तेरो काका गिरीराज अधिकारी काम गर्छन् त्यहाँ गएर खबर गर भन्नुभयो । बुबाको आदेशानुसार म युगबोध पत्रीका प्रेसमा जाँदा तहाँ काका श्री गिरीराज अधिकारीलाई भेट्न् सकिन । वाहाँ साझतिर मात्र आउनुहुन्छ भन्ने खबर पाएपछि मैले एउटा सूचना छोडे । जुन सूचनामा लेखिएको थियो - "गिरीराज काका म मजगैं बलदेव प्रसाद अधिकारीको छोरा वसन्त हुँ । बुबा महेन्द्र अस्पतालमा हुनुहुन्छ । बहिनी बिष्णुदेवी घिमिरेलाई खबर गर्न हजुरकहाँ पठाउनु भयो । अहिले भेट हुन सकेन । हजुरले यो टिपोट पाएपछि फुबुलाई खबर गरिदिनुव्होला ।" यति लेखेर छोडेर आएर बुबालाई त्यही कुरा सुनाए । भोलिपल्ट अस्पतालवाट बुबालाई घरमा फिर्ता लैजानु थियो, त्यसैदिन बिहान बेल्भार फुपू विष्णुदेवी घिमिरेसँग पहिलो भेट र चिनजान महेन्द्र अस्पताल, दाङ घोराहीमा भयो ।
![]() |
| फुपूका साथमा हामी 👩❤️👨 |
२. फुपूको हामीप्रतिको स्नेह, सरसहयोग, सल्लाह, परामर्श, हौसला र माया ममता :
बुबालाई अस्पतालवाट फिर्ता लगेपछि घरमा गर्नुपर्ने स्याहारसुसार गर्दै गर्दा एक डेढ महिनामै बुबा स्वर्गवास हुनुभयो । हाम्री एकजना फुपू सीताराम बैरागी बैष्णव हुनुहुन्थ्यो, सीताराम गुरु र वाहाँको हनुमान किर्तन मन्दिर, हेमन्तपुरमा थियो वाँहा धेरै जसो चारधाम तीर्थाटनमै विताउने हुँदा वाहाँभन्दा बेल्भार फुपुसँग बढी आत्मीयता बढ्दै गयो । बुबा स्वर्गवास हुँदा फुपू हाम्रो घरमा आउनुभयो । हामीलाई सान्त्वना दिनुभयो । त्यतिबेला म करिब पन्ध्र बर्षको थिए । बहिनीहरु र भाइ ससाना थिए । फुपू त्यतिबेला करिब ४२ बर्षको हुनुहुन्थ्यो तथापि वाहाँको कपाल केशराशी सेताम्मे हिउँ जस्तैः फुलेका थिए । फुपूको पातलो कदको हँसिलो फरासिलो, सहयोगी मन, सरल ह्रदय, अध्यात्मिक स्वभाव थियो । बुबाको निधन पश्चात् बुबातर्फका आफन्तहरुमा हामीलाई बराबर भेट्ने सरसहयोग, सल्लाह, परामर्श, हौसला स्नेह र माया ममता दिने थोरै मात्र आफन्त मानिसहरूमा फुपू अग्रणी हुनुहुन्छ ।
![]() |
| फुपूको साथमा श्रीमती एशोदाजी |
३. फुपूसँगका सुमधुर संस्मरणका प्रतिबिम्ब:
घरदेखि टाढाका मेरो निजामती सेवाका जागीरे दिनहरूमा फुपू वसन्ते भदै घर आएको सुन्दा घर मजगैं - मजगाउँ आउनुहुन्थ्यो । फुपू भदै घण्टौंसम्म धेरै शास्त्रार्थ गर्दथ्यौं । मलाई रामायण, श्रीमद्भागवत गीता, शिव, गणेश, देवी स्तुति समेतका संस्कृत पद्य श्लोक मुखाग्र आउने हुँदा फुपू ह्रदयदेखिनै प्रफुल्ल हुनुहुन्थ्यो । धार्मिक स्वभावले गर्दा र असामयिक वाल्यकालमा बुबाको देहावसानले पश्चात् कठिन दिनहरुमा फुपूले आत्मियता देखाउनु हुन्थ्यो । फुपाजु चाँडै स्वर्गवास हुनुभएकोले घर व्यवहारमा फुपू अब्बल हुनुहुन्थ्यो । भाञ्जदाजी श्रीधर घिमिरे सरल, मिजासिला, सज्जन र भलाद्मी हुनुहुन्छ । भाञ्जी भाउजुको असामयिक देहावसान पश्चात् वाहाँ एकल हुनुहुन्छ । शिक्षक सेवावाट निवृत्त भाञ्जदाजीसँग फुपूका घर गएका बेला बराबर भेटघाट भैरहन्थ्यो ।
![]() |
| फुपू र भाञ्जदाजीसँग हामी 👩❤️👨 |
४. मेरो निजामती सेवावाट अनिवार्य अवकाशप्राप्त पश्चात् फुपूसँगका भेटघाट भलाकुसारी:
मेरो निजामती सेवाको अनिवार्य अवकाशप्राप्त पश्चात् हाम्रो स्थायी आवास घोराही उपमहानगरपालिका वार्ड नं.१७ पनौंरा भयो । अब फुपुको घर बेल्भार र पनौंरा एउटै दुरी र एउटै वडामा नजिकै पर्ने हुँदा हामी बराबर भेट्न गैरहन्थौं । फुपूको घरमा फुपाजुको नामवाट राखिएको ढुण्डी ड्रीम पार्क घुम्न पनि जान्थेउ । कोरोनाकाल पश्चात् यो ड्रीम पार्क त्यतिराम्रो सँग चल्न सकेको पाईएन । हामी फुपूलाई घरमा भेट्न जाँदा बुहारी सदिच्छाको आतिथ्यता र राम्रो व्यवहार पाउँथ्यौं । सानो पनातिको नाम बाबुराम राखिदिनुभएको पनाति निकै मायालु छन् । भाञ्जदाईसँग गफगाफ भलाकुसारी हुन्थ्यो ।
![]() |
| फुपुसँगका भलाकुसारी 🕉️ |
५. फुपूसँगको अन्तिम अवस्थाका सम्झनाका प्रतिबिम्ब:
केहि बर्ष पहिला लडेर वाहाँको गोडा भाँचिएपछि हिडडुल गर्न असमर्थ हुनुभयो । यो अवस्था बढदै जाँदा अनेक उपचार पश्चात् पनि वाहाँको कम्मरदेखि तलको प्रायः नचल्ने हुँदा बडो दु:ख पाउनु भयो । भाञ्जदाजी र वाहाँको नातिनी बुहारी सदिच्छाको स्याहारसुसार प्रशंसनीय थियो । भेटघाट भलाकुसारीको अन्त्यमा फुपूले आमा, भाइबहिनी, हाम्रा छोराछोरी सबैलाई सोधपुछ गर्नुभयो र "म पहिलाको जस्तो फुपू छैन बा केवल शरीर मात्र छ भन्नुभयो । स्वर्गवास हुनुभन्दा करिब बीस दिन अगाडि भेट्दा बसन्त र यशोदा भनेर चिन्नुभयो । यही मिति २०८२ साल पौष २० रविवारका दिन बिहान् फुपूको कीर्तिशेष भयो । यो अनित्य संसारलाई छोडेर अब वाहाँ आफ्नो नित्य शाश्वत परमधाम जानुभयो । वाँहाकै शुभेच्छा अनुरुप महापावन पवित्र देवघाट्धाममा छोरा नाति र पनातीको वाहाँको परमार्थिक शरीरलाई श्रीमद्भागवत गीताका पवित्र वाणी सहित विदाई गर्न वाहाँको निवासमा पुगेका थियौ । अत्यन्त ह्रदयविदारक भावविह्वलका साथ बेल्भार फुपू अब सम्झनामा मात्र : एक शब्द चित्र प्रस्तुत गरिरहेको छु ।
![]() |
| सम्झना मात्र अब हाम्री बेल्भार फुपू ❤️ |
६. उपसंहार :
बेल्भार फुपू अब सम्झनामा मात्र एक शब्दचित्रको अत्यमा पारिवारिक भेटघाट मिलनको सम्झना गराउने ढुण्डी ड्रीम पार्क, बेल्भारको एक श्रव्य-दृश्य (भिडियो)
https://youtu.be/sy-c5-jtCT8?feature=shared
उहीँ प्रिय भदै र भदाबुहारी
वसन्तराज अधिकारी र श्रीमती एशोदा सुवेदी अधिकारी घोराही उपमहानगरपालिका वार्ड नं.१७ पनौंरा, दाङ, नेपाल ।
सोमबार २१ पौष २०८२ ।
![]() |
| अन्तिम बिदाई भेटमा जाँदै हामी 🕉️ |







Comments
Post a Comment