६१८. कर्कट सक्रान्ति: दिन एक पर्व अनेक

कर्कट सक्रान्ति: दिन एक पर्व अनेक

कर्कट सक्रान्ति/कण्डारक पूजा "लुतो फाल्ने दिन"/ देवता र दानव मिलेर समुन्द्र मन्थनको सुरुआत दिन, नयाँ आर्थिक बर्ष २०८३/०८४ प्रारम्भ/ दक्षिणायन आरम्भ महाभारत युद्ध प्रारम्भ साथै आदिवासी थारु गुरिया पर्व र मगर जातिको भूमिपूजाको शुभ दिनमा सबैमा सप्रेम सबैमा हार्दिक शुभकामना !!! 

पाण्डवेश्वर महादेव मन्दिर, धारापानीधाममा 

✍️ वसन्तराज अधिकारी                    

हामी सानो बालक छँदा गाउँ घरमा भन्ने गरिन्थ्यो डरलाग्दो र त्राशदिपुर्ण भएरै होला कालो साउन । दाङमा हल्का बर्षा भएर बर्षे खेतीपाती भैरहेको अवस्था छ । सरकारी पक्षले विपद् व्यवस्थापन पुर्व सतर्कता र होशियारी अपनाउनु बुद्धिमानी होला । घटना घटित भैसके पछि त हामी कहाँ धनजनको क्षतिपूर्ति भरपर्दो विकल्प के नै छ र अरु उपाय पनि ।

"पारी बनमा न्याउरी करायो । बर्षा लाग्यो भेट हुनै हरायो ।।"भन्ने गीती भाका सानोमा घर गाउँमा सुनिन्थ्यो अहिले त घर गाउँमा पनि बन नै कहाँ छ र अनि आधुनिक शहरीया सिमेन्टको खण्डहर शहरमा पारिबनमा न्याउरी कसरी कराओस ।

ए ! आज त लुतो फाल्ने दिन लुतो पुतो घाउ खटिरा लौ जा भनेर सानो छँदा फालेको अझै मानसपटलमा ताजा याद छ । चर्म रोगवाट बच्न दैवीय उपाय शास्त्रोक्त "कण्डारक पुजा" पनि आजै राती नै गरिन्छ ।श्रावण महिनामा सुर्य कर्कट राशिमा अवस्थित हुने हुँदा गर्मी अत्यधिक वृद्धि हुने हुन्छ साथै निरन्तर साउने झरी पर्ने हुँदा मानिसलाई आवतजावत गर्न कठिनाइ र पानीमा रुझ्ने भिज्ने संभावना पनि हुन्छ । अझ खेतीपातीको मौसम भएकाले पानीमा भिज्नु, माटोमा जोतिनु, अनि हिलो उछिट्टिनु लगभग सामान्य झै हो । बर्षाको यो मासमा बर्षात्को असरले छालासँग सम्बन्धित विभिन्न चर्मरोगहरु लुतो, दाद, घमौरा वा खटिराहरु आउन सक्ने अत्यधिक सम्भावना हुन्छ । साउने सक्रान्तिलाई यहि परिप्रेक्ष्यमा लुतो फाल्ने दिनको  रूपमा पनि लिईएको हुनुपर्छ । लुतो फाल्ने परम्परागत अआफ्नै जनविश्वास रहि आएको छ - यस दिन नदिमा गै शरीरमा लेसिलो पहेलो माटो दलेर शरीर नुहाउँदा फ़ोहोर जन्य कारणवाट आउने लुतो लाग्दैन भन्ने जनविश्वास समेत रहि आएको छ । कहिँ कहिँ  भन्टालाई दुलो पारेर चौबाटोमा फालिदिएर नुहाएमा समेत लुतोवाट छुटकारा पाईन्छ भन्ने प्रचलन छ भने दाङ तिर साझ मकै बारीमा आगो बालिएको अगुल्टो लुतो पुतो घाउ खटिरा दाद, खाज, खुजली लैजा भनेर बेस्सरी टाढा फाल्ने प्रचलन छ ।

शास्त्रीय विधि अनुसार "कण्डारक पुजा" भनेर  आजै राती विधिसम्मत  गर्ने सनातन परम्परागत प्रचलन रहेको छ ।

कर्कटसक्रान्तौ प्रदोष-कण्डारक पूजाविधि

प्रयोग : -- उपलेपनादि संशोधिते गृहाङ्गणे कर्ता हस्तपादादि शुध्दिं विधायाचम्य कुश-तिल-यव-जलन्यादाय देश कालौ स्मृत्वा ॐ ममाद्य लुताद्यष्टभयनिवारणार्थं कर्कटसंक्रान्तौ प्रदोषे कण्डारक पूजनमहं करिष्ये सङ्कल्प कुर्यात् ।।

ततो गोमयो लिप्यते पाषाणोपरि ॐ भूब्भुव: स्व: कण्डारकनिशाचरेहागच्छेत्यक्षतैरावाह्यैतानि पाद्यार्ध्याचमनीय -स्नानीय- पुनराचमनीयानि कण्डारकाय नम: इदमनुलेपनमेतेSक्षता:एतानि पुष्पा णिइदं धूपं दीपं खेचिकानैवेद्यं द्रव्यं पुगीफलं तत्कालोद्भवफलं कण्डारकाय नम: सम्पुजयेत ।।
तत: १शरलेन्धनदीपान् दद्यात् -----
कण्डारक सुराधिश गृहाण दीपमुत्तमम् । शरलेन्धनसम्भुतं ममारिष्टं विनाशय ।।
२उल्काप्रक्षेपणम् - कण्डारक रात्रिचर लुतादि भयनाशन । उल्कामिमां प्रक्षिपामि मास्तु लुताभयं मम ।।
तत: शिष्टा: सप्त ब्रीहीन् विकिरन्ति । ततो दक्षिणां दद्यात ।। इति कर्कटसंक्रान्तौ प्रदोषे कण्डारक पूजा समाप्ता ।।

कृत्य संग्रहे -प्रदोष समय राजन् कर्कसंक्रमणे रवौ । प्रतिवर्ष पूजनीय: कण्डारक निशाचर: ।। लुतादिभ्यि भयं नास्ति तथारिष्टभयापनुत् । सरलेन्धन दीपाश्च दातव्या उल्कया सह ।। फलानि च प्रदेषानि तत्काले सम्भवानि च । माषपिण्डमयं देयं नैवेद्यं खोचिकाविधम् ।।
१. शरलो देवदारु २. उल्कया प्रज्वलया । पट्टवस्तोपरि लिखित्वा सन्ध्यायां पूजयेत् ।।

नयाँ आर्थिक बर्ष, २०८३/०८४ प्रारम्भ पुरानो हिसाबकिताब बहिखाता बन्द गरी नयाँ खाता खोल्न, सरकारीस्तरमा नयाँ बजेट जारी गर्ने एक हप्ता पश्चात् नयाँ सरकारी खाता सञ्चालनमा आउँदछन् । सहकारी, बैंकिङ तथा वित्तीय संस्थाहरुपनि सालतमामी पश्चात् नयाँ बहिखाता सञ्चालनमा ल्याउँदछन् र नयाँ आर्थिक बर्ष प्रारम्भ हुन्छ ।

यस महिनाका विभिन्न तिथिमा हिन्दु धर्मावलम्बीका विभिन्न चाडपर्व  ठूलो एकादशी, हरितालिका तीज, रक्षा बन्धन, नाग पञ्चमी आदि महत्वपूर्ण चाड पर्वहरु पर्दछन् ।
यो श्रावण महिना भगवान शिवको अत्यन्त पावन महिना भएकाले श्रावण महिनाको हरेक सोमबार अविवाहित युवतीहरुले व्रत उपवास बसि भगवान् शिवलाई प्रसन्न तुल्याई इच्छित सुयोग्य राम्रो वर माग्ने भन्ने प्रचलन रहि आएको छ ।

पौराणिक कथन अनुसार यहि श्रावण महीनामा देवता र दानव मिलेर समुन्द्र मन्थन गर्दा हलाहल बिष निस्केर संसारलाई दग्ध गर्न खोज्दा भगवान शिवले स्वयं यो बिषको सेवन गरि कण्ठमा धारण गरि निलकण्ठ स्वरुपमा हिमालय पर्वतमा गएर रहनु भएको कथा उल्लेख छ । तदुपरान्त निलकण्ठ भगवान शिव गोसाइँकुण्डमा गएर सुत्नुभएको र बिषको असर न्यून गर्नुभएको कुरा उल्लेख छ । यसरी विषको दुश्प्रभावमा रहनु भएका कल्याणकारी शिवलाई एक महिनासम्म जल तथा बेलिपुष्प (बेलपत्र) चढाएमा शिव प्रसन्न हुनु हुने मान्यता रहि आएको छ । शिव पुराण समेतमा पनि भारत बर्षमा बहेकी अत्यन्त पवित्र गंगा भागिरथ नदी प्रतापि भगीरथ राजाको तीन पुस्ताको तप समस्त देव, ॠषि, मानवको कल्याणार्थ पृथ्वीमा अवतरण गर्नुभएकी मोक्षदायिनी बिष्णु प्रिया  गंगालाई शिरमा धारण गरि गंगाको अत्यन्तै वेगवान प्रवाहलाई शान्त गर्दै आफु पनि जल प्रवाहमा स्थितप्रज्ञ हुनुभएको कुरा बर्णित छ ।

यस रितले यस महिनामा शिव लिङ्गमा जल चढाउन पहेँलो कपडा लगाएर हातमा जल अड्याउने लौरो स्वरुपको खर्पनझै बोकेर जलाशय वाट कठिन खाली खुट्टा पदयात्रा गर्ने प्रचलन रहेको छ । विशेषतः धरानको पिण्डेश्वर, काठमाडौको वाग्द्वार, महोत्तरीको सोनामाईस्थान र सिद्धनाथ, सिराहाको कमलामाई दोभान लगायत देशैभरी नै सुन्तला रङ्गको एकसरो बस्र धारण गरेका शिवभक्त काँवरहरुको भिडलाग्ने गर्दछ । शिवभक्त काँवरहरु - तराईमा श्रावण भरमहिनामा आफुले चिताएको मनोवाञ्छित फल प्राप्ति हेतु शिवस्थलीमा पुगेर जल नचढाउन्जेल खुट्टामा चप्पल समेत नलगाई चोखोनीतो दैनिकी ग्रहण गर्दै सामुहिक यात्राका लागि आफुलाई तयारीमा राखि विभिन्न टोलीहरुका साथ काठमाडौको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर महादेव, महोत्तरीको जलेश्वरनाथ, बारा जिल्लाको कलैयास्थित सिद्धेश्वर महादेव तथा बारा जिल्लाकै काँटघाट धाम लगायतका विभिन्न शिवालयहरुमा काँवरहरुको ठुलो घुइँचो लाग्ने गर्दछ ।

दक्षिणायन : उत्तरायण समाप्ति सँगै श्रावण सङ्क्रान्तिवाट सुर्यले दक्षिण तिरको यात्रा तय गर्ने भएकाले यस दिनलाई सुर्य दक्षिणायन पनि भनिन्छ । सुर्यले आजको दिन मिथुन राशिवाट कर्कट राशिमा राशि परिवर्तन गर्दछन् । त्यसैले कर्कट सक्रान्तिलाई श्रावण सक्रान्ति वा साउने सक्रान्ति पनि भनिन्छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरुका लागि अत्यन्त पवित्र महिना हुँदा यस महिनाको प्रत्येक सोमवारको विशेष महत्व रहेको छ । दाङको पाण्डवेश्वर महादेव मन्दिर धारापानी जहाँ विश्वकै सर्वोच्च शिव अमोध शस्त्र त्रिशुल समेत रहेको छ, याहाँ श्रावण भर महिना शिव जलधारा यज्ञ यज्ञादि हुने गर्दछ । नेपाल र भारतवाट समेत तीर्थयात्री भक्तजनहरु आउने गर्दछन् । विशेषतः श्रावणको प्रत्येक सोमबार महिलाहरुले हरियो चुरा, लुगा, पोते र हातगोडामा मेहन्दीको बुट्टा लगाएर शिव मन्दिरमा जल, भाँग, बेलिपुष्प समर्पण गरि सफलता, सौभाग्य तथा योग्य वर प्राप्तिका लागि व्रत बस्ने चलन छ । यस प्रकारको रङ्गीन महिनाको सुरुवात भनेकै कर्कट सक्रान्ति हो । हरियो रंगको विशेष सार्थक अर्थ रहेको आफुले अपेक्षित जीवनसाथीको आकांक्षा र यसको अलावा परिवारजनमा सुख, कान्ति, शान्ति छाईरहोस भनेर रंगीन चुराहरु पहिरिने गर्दछन् । श्रावणमा घरबारीमा मकैका घोगा, श्रावणको झरीमा पोलेर उसिनेर खाने, गाउँघरमा हिलो माटोमा हिड्नुको बेग्लै मजा हुन्छ । त्यसैले पनि यि अविस्मरणीय क्षणहरु चीरस्मरणमा पुनः पुनः आउँदछन् ।

आजको विशेष दिन आदिवासी थारु जातिको सांस्कृतिक पर्व गुरिया पर्वकोको पहिचान रहेको छ । गुरिया वा गुडिया कपडाको पुतली जुनछोरी मान्छेको प्रतिविम्बित खेलौना  घरेलु सामग्रीले बनाईएको कपडाको आकृति हो भने अर्को अर्थमा पखेटा भएको पुतली उडने किरालाई पनि "गुरहि" भनिन्छ ।थारुजातिको बसोबास स्थल दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा कतै गुरहि, गुरिया त दाङमा "झिङौरा" भनिन्छ भने यस किरालाई नेपाली भाषामा "गाईने किरा" भनिन्छ । गुरहि एक वालसुलभ पर्व हुँदा यसको अर्थ स्पष्ट छ जुन दाजुभाइ र दिदीबहिनीको प्रेम उजागर गर्ने पर्वको रुपमा दिदीबहिनीले गुरिया फाल्ने र दाजुभाइले उक्त गुरियालाई लठ्ठीले पिट्छन् र दुवै पक्ष रमाउँछन् । यसको लाञ्छनिक अर्थ नराम्रा आदत बानी, दु:ख कष्टलाई फाल्ने र एक आपसमा माया स्नेह दर्शाउने पर्वको रूपमा चित्रण गर्न सकिन्छ ।

स्रोत सामग्री : आफ्नै पुराना ब्लग आलेख, वार्षिक व्रत रत्नावली र गुगल विकिपिडिया समेत ।

Comments