६१०. दाङ - काठमाडौं, हलेसी महादेवधाम, सिभिल अस्पताल, उन्नाईस तले धरहरा, महाबौद्ध - असन, महान्यायाधिवक्ता अफिस, जामाचो पैदलमार्ग, दुप्चेश्वर महादेवधाम, नुवाकोट शेरा दरबार: अविस्मरणीय संस्मरण भ्रमण एवम् भेटघाट

दाङ - काठमाडौं, हलेसी महादेवधाम, सिभिल अस्पताल, उन्नाईस तले धरहरा, महाबौद्ध - असन, महान्यायाधिवक्ता अफिस, जामाचो पैदलमार्ग, दुप्चेश्वर महादेवधाम, नुवाकोट शेरा दरबार: अविस्मरणीय संस्मरण भ्रमण एवम्  भेटघाट

श्री हलेसी महादेवधाम श्री गणेश मन्दिरमा हामी 

१. दाङ - काठमाण्डौं यात्रा :

यात्रा घरमा आरामले बसे जस्तो सरल, सहज र आरामदायी कहाँ हुन्छ र ? तापनि यथास्थितिमा सधैं रम्न पनि त सकिदैन । मानिस स्वभावैले नयाँ२ वातावरण, परिवेश, नयाँ स्थानमा फरक  अनुभुति र अनुभवमा रमाउन चाहान्छ । यात्रा अनुभवले नयाँ स्थान, परिवेश, दृश्यावलोकन घरको दैनिक क्रियाकलापवाट निवृत्त हुने हुँदा नयाँ स्फुर्ती भने अवश्य दिन्छ । आध्यात्मिक दृष्टिकोणले धार्मिक तीर्थयात्री हुँदा देवी देवताको आशीर्वाद प्राप्त हुने विश्वास हुनु पनि स्वाभाविक नै हो । दाङ देखि संघीय राजधानी काठमाडौ को यात्रा नगरेको पनि पुरापुर एक बर्ष भएछ । दाङ काठमाडौको बस यात्रामा यात्रु बस भने सुपर भिआईपी चलेका छन् तथापि बाटो भने दाउन्नेमा फोरलेन सडक बिस्तारको चालू अवस्थाले गर्दा हाम्रो तुलसीपुरवाट साझ  ६:३० बजे छुटेर घोराहीवाट ७:१५ बजेवाट आएर दाउन्नेमा करिब सातघण्टा जाममा फसियो । यहाँ हाईवे सडक बिस्तार एवम् निर्माणको कार्य रहेको अवस्था छ । बिहान् ९:३० बजे इच्छाकामना- ४ चुम्लिङटार सांग्रीला होटलमा आएर नास्ता चना खायौं । त्यहाँवाट शौचालय गरि १०:०० बजे मात्र काठमाडौंका लागि प्रस्थान गर्यौं । अम्बिकेश्वरी भिआईपी वस सिट नं. B९/१० सीट केहि तलै तिर भए पनि रातको निद्रा भने राम्रै पर्यो ।

सुप्रिया बुहारीले हामीलाई काठमाडौं तीर्थयात्री पठाउँदै

आज चैत्रे दशै अर्थात् चैत्राष्टमी २०८२ देवी दुर्गा सप्तशति, देवी स्तोत्र पाठ गर्दै अध्यात्मिक आनन्दमा रमाई हिड्दा परम आनन्दाभुति स्वअनुभुति हुन्छ । काठमाडौं पुगे पछि  अपरान्ह २:०० बजे मात्र नातिनी, सम्धिनी- सम्धी र बेलुका छोरीसँग भेटघाट भै भलाकुसारी भयो । एक रात बसी भोलिपल्टै बिहानै पुर्वी नेपाल खोटाङ जिल्ला स्थित हलेसी महादेव मन्दिरको दर्शन गर्ने योजना मुताविक तयार भयौं ।

हलेसी महादेवधाममा सम्धी सम्धिनीसँग हामी 

२. रामनवमी २०८२ हलेसी महादेव, खोटाङ, तीर्थयात्री:

हलेसी महादेवधाम तीर्थयात्री 

नेपाल टुर एण्ड ट्राभल BA PRADESH 01 006 KHA 9291 Nepal Tour & Travel तीर्थयात्री खाडादेवी दर्शन जय श्री महाकालीका बस धनी तथा चालक गुरु कुमार खत्री काठमाडौं तारकेश्वर नगरपालिका वार्ड नं.३ ठुलागाउँवाट सम्धी श्री राजु फुयाल र सम्धिनी श्री सुनिता पनेरू फुयाल सहित २८ जनाको टोलि र ३ जना बसको स्टाफ सहित बिहानै ६:०० बजे प्रस्थान गरेउ ।

हलेसी महादेवधाम हामी तिर्थयात्री 

३. काठमाडौ देखि हलेसी महादेव मन्दिर, खोटाङ पुग्दासम्मका यात्रामा बाटोमा पर्ने ठाउँहरुको नाम नामेसी विवरण:

हलेसी महादेवधाम जाने क्रममा रोशी नदी किनारमा 

काठमाडौं तारकेश्वर नगरपालिका वार्ड नं.३ ठुलागाउँवाट भक्तपुर हुँदै बनेपा साँगावाट अगाडि बढ्दै गर्दा फोरलेन सडक बिस्तारको कारणले सामान्य कठिनाइ रह्यो पनि अगाडि बढ्दै धुलिखेल साविक डाडागाउँ हाल सुन्दरवस्तिमा चिया चमेनाको व्यवस्थापन बस स्टाफले स्वयं गरे । तहाँवाट धुलिखेल - ९ काभ्रे रानाछाप हुँदै पानी ट्याङ्की, लप्सीवोट, आरुबोट, पात्ले गाउँ, बेला गाउँ, पाँचखाल नगरपालिका बुच्चाकोट, भकुण्डेवेसी, रोशीखोला बगर, मंगलटार,रोशी गाउँपालिका काल्दुंगा, पिप्ले, नेपालथोक, सिन्धुली जिल्ला प्रवेश गर्दै भित्तामा लेखिएको वाक्य- "बोली र व्यवहारले व्यक्तित्व झल्कन्छ ।" पढ्दै झाङाझोली, रातमाटा, सुनकोशी गाउँपालिका - बलराम चोक, भेडेंटार, सुनकोशी वारि पलधुरी पारी सितखा - खानपिन यही पलधुरी सुनकोशीको बगर जहाँ कुमार खत्री गुरुजीको घर त्यही दिउँसो १२:०० देखि २:०० बजेसम्म खानपिनको व्यवस्था बसका टोलीहरुले असाध्य राम्रो व्यवस्थापन गर्नुभयो ।

हलेसी महादेव जाने क्रममा तामाकोसी किनारमा श्रीमतीजि

रोशी खोला कुशेश्वरमा सुनकोसीमा मिल्दछ । तहावाट अगाडि मुल्कोट, दीपकनगर यहाँ गाडीवालाहरुले ऎनामा आफ्नो नाम र गाडी नम्बर लेखेर भित्तामा टाँसिएको धेरै लामो भित्ता पर्खाल भरी भरी देखियो । लुमेडाँडा, चैनपुर, सेल्फिडाँडा, सुनकोसी - ६ खाल्टे हुँदै अगाडि बढ्दै गर्दा एउटा कविता स्फुरन भयो जुन यश प्रकार रहेको छ -

हलेसी तिर्थधाममा हामी 

हलेसीको तीर्थयात्री शिवशक्ति साथ ।
हजुरको पाउँमा सर्वदा टेकाएर माथ ।।
शिव विष्णु भक्ति पाई रहुँ निर्भीक भइ ।
यथाशक्य पूजन गर्छौ हलेसीधाम आई ।।

हलेसी बजार स्थित बस्नेत काजी होटेलमा 

यहाँनेर अगाडि आउँदा तामाकोसी नदीको सुरुङ्ग मार्गको कार्यालय  देखियो जुन सुनकोसी तामाकोसी मरिन डाईभर्सन जुन काम चालू हुँदै रहेछ । यहाँको पानी रौतहट, जनकपुर र नारायणीका केहि जिल्लामा सिंचाइ गर्ने जानकारी पाईयो । अगाडि भालुखोला, गोलन्जोर, तामाकोसी पल्लोपट्टी रामेछाप नौगार, वल्लोपट्टी हैवार - हैवार खोला, देउरालीटार, कौशिका माध्यमिक विद्यालय ग्वाल्टार गोलन्जोर गा.पा. यहाँ आउँदा हलेसी तिरवाट आएको वस भेटियो जुन काठमाडौ- खुर्कोट - हर्मी - हलेसी - दिक्तेल - निर्मली - चखेवा - भोजपुरको खोटाङ यातायात सेवाको बस भेटियो । यहाँदेखि अगाडि बढ्दा बसेरी - कुखुरेटार - कलिआँप, कुडुले, मुसेघर, सोल्टुङ्गे पुल, च्याउखोला पुल यहाँवाट फिक्कलको सीमा प्रारम्भ भयो । यसपछि नवलपुर-बाहुन-तिल्पुङ-चिसापानी रोड - निहुरे खोला यहाँका बस्तीमा टीनका छानायुक्त ससाना घरहरु रहेको छन् । बस चालक गुरुजिले  हिमाली, पहाडी र तराईका पुर्वेली भाखाका गीत संगीत आलोपालो गरि बजाईरहेको छन् । पुर्वेली भाखाका एउटा गीतको टुक्रा मन पर्यो  - "शुभ नाम के पर्यो मै पनि तिम्रै हो अल्लारे सान्नानी उमेर कति भो ? ………शुभ नाम के पर्यो मै पनि तिम्रै हो । अल्लारे सान्दाजु उमेर कति भो ?? यहाँवाट अगाडि तर्किनी बेसी - जीतखोला, पञ्चकन्या - थुल्मेघाट, सुनकोसी गा.पा. चाल्नेखोला पुल, झगरे वेसी बाख्रा पकेट क्षेत्र, कल्लरी दोभान, फिक्कल, रत्नावती, तीनवाडे फुटबल खेलमैदान, घुर्मी बजार, पल्लो पट्टी ओखलढुंगा वारि सिन्धुली, सुनकोसी पुल तरेर पारीपट्टी कटारी ओखलढुंगा हर्कपुर - हलेसी, मानेभञ्ज्याङ गा.पा. हर्कपुर सिन्धुपाल्चोक, यहाँ वाट हिलेपानी ३ किलोमिटर, हलेसी ४० किलोमिटर रहेको छ । यहाँ पाखावारीमा काँचपात (सुर्ती) खेती भएको पाईयो । यहाँवाट दुधकोशी नदी, जयराम, दुधकोसी पुल, तुवाचुङ नगरपालिकामा पर्ने हलेसी बजारमा राती ८:०० बजे पुग्यौं ।

हलेसी महादेवधाममा शिवभक्त

४. बस्नेत काजी गेष्ट हाउस, हलेसीबजार बास: (रामनवमी २०८२)

हलेसी महादेवधाममा श्रीमतीजि

हल्का वर्षा भैरहेको रातको समयमा हलेसी बजार निकै मनोरम देखियो । हाम्रो बस  अलि भित्र माथि तिर बस्नेत  काजी गेष्ट हाउसमा टक्क रोकियो । यहाँ आईपुगेपछी मेघ बादल कालो निलो भएर वर्षा भैरहेको थियो । आकाशमा बिजुली नानी चम्किएर नाच्न थालिन । बिजुलि नानीले पनि माया मारेर गईन । राम नवमीको रात कृष्णाष्टमीको रात जस्तैः भयो । मोबाइल र मैनवत्ती बालेर बस स्टाफले खानपिनको व्यवस्था गरे । रातको १०:०० बजेतिर बिजुली नानी एकैक्षण आउँदा पनि हल्का मोबाइल चार्ज गर्न पाईयो । तत्पश्चात राती १०:३० बजे आरामदायी साथ निद्रादेवीको शरणमा परियो । करिब ५:०० घण्टाको निद्रा पश्चात् बिहान ३:३० बजे निद्रा खुल्यो । शौचालय, स्नान, जप, पाठ, सन्ध्या बन्दनादी गरेर ५:३० बजे तयारी भैयो । हलेसी श्री महादेव मन्दिर खुल्दो रहेछ, हाम्रो तीर्थयात्री समूह हलेसी श्री महादेव मन्दिर तर्फ ६:०० बजे प्रस्थान गर्यौ ।

हलेसी महादेवधाममा दर्शनार्थी लामबद्ध

५. खोटाङ हलेसी श्री महादेव मन्दिर दर्शन:

खोटाङ जिल्ला स्थित हलेसी महादेवधाममा 

बिहान ६:०० बजेवाट लामबद्ध भै ७:३० बजेसम्म करिब डेढ घण्टामा हलेसी परिषरका निम्नलिखित मन्दिर देवालय दर्शन आजा पूजा सम्पन्न गरेउ ।

५.१ श्री गणेश मन्दिर
५.२ चाँदीको प्रतिमा र भित्तामा प्राकृतिक पहरा शिलामा रूपमा कुँदिएका जगत्पिता भोले बाबा श्री महादेव मन्दिर
५.३ जगत्माता पार्वती मन्दिर
५.४ नजिकै बौद्ध लामाहरुले गुम्बामा पाठ प्रवचन
५.५ टीका प्रसाद लगाई अपाङ्ग, अनाथहरुलाई अन्न र द्रव्य दान पुण्य गर्दै परिक्रमा सहित बौद्ध गुम्बाको बाटो र
५.६ अन्तमा प्राकृतिक पहरा ओढारमा कामधेनु गाईको दुध धारा र पानी आउने माथी आकाशवाट श्री साम्बसदा शिव भष्मासुरको भय र बिष्णुको मोहिनी रुपले भष्मासुर असुरको अन्त्य गरेपछि बाहिरिएको खुला आकाश मार्ग ।

हलेसीधाममा सम्धिनी सम्धिनी 

६. श्री स्कन्द पुराण र शिव महापुराण अनुसार भष्मासुर असुर र भगवान शिवको रोचक प्रसङ्ग:

आदिकालमा असुर भष्मासुरले उग्र तपस्या गरेर आशुतोष  श्री भोलेनाथ शिव बाबालाई प्रसन्न बनायो । आशुतोष सदाशिवले भष्मासुरलाई इच्छित वरदान माग भन्नुभयो । असुर कुबुद्धि भष्मासुरले आफू सर्वशक्तिमान बन्न मैले जस्को शिरमा हात राख्छु त्यो भस्म होईजावस भनि माग्यो र यो वरदानको अनुचित प्रयोग स्वयं महादेव शिव बाबालाई नै गर्न आँट्यो तब महादेव भाग्दै भाग्दै यसै स्थानमा आएर माता पार्वती, श्री गणेशजी, क्षेत्रपाल, नन्दी भृङ्गी, भुतप्रेत, पिशाच, प्रमथगण चतुषष्टी योगिनी,  डाकिनी, शाकिनी, बोक्सी, बेताल, आकाश भैरव सहित यही स्थानमा लुकेर बस्नुभएको थाहा पाएर मोहिनीरुप लिएर भगवान बिष्णुले भष्मासुरलाई संहार गर्ने र शिवलाई सुरक्षा गर्न नारी स्वभाव हावभाव कटाक्षपुर्वक शारीरिक आकर्षण प्रेम पाशमा पारी आफुजस्तै नृत्य गर्न सके मात्र बिबाह बन्धनमा बाँधिने शर्तराखी चौसट्ठी कलाले नृत्य गर्दै गर्दा मोहिनी रूप श्री विष्णुले अन्त्यमा झुक्याएर भष्मासुरको आफ्नै हात उसको आफ्नै शिरमा राख्न लगाई तत्काल भस्म भएको रोचक धार्मिक पौराणिक प्रसङ्ग कथा रहेको छ जुन संक्षिप्तमा मैले यहाँ प्रस्तुत गरे । यश कथाको नैतिक शिक्षा "कसैले पनि कठोर तप समेतवाट असीम शक्ति प्राप्त गरेर त्यसको अनुचित प्रयोग गरे त्यसले अन्त्यमा स्वयं आफ्नै विनाश गर्दछ" भन्ने रहेको छ ।

हलेसी महादेवधाम तीर्थयात्री हामी 

७. हलेसी श्री महादेव मन्दिर दर्शन पश्चात् खानपिन र काठमाडौ तीर्थयात्री फिर्ती सन्दर्भ:

हलेसी महादेवधामवाट फर्कने क्रममा सम्धी सम्धी 

हलेसी श्री महादेव दर्शन पश्चात् फुल, प्रसाद ल्याई हामी पुनः बस्नेत काजी होटल एण्ड लजमा आयौं । तहाँ बिहान ८:३० बजे चिया पान गरि १०:३० तिर खानपिन पश्चात् ११:३० बजे हलेसीबजारवाट काठमाडौका लागि फर्कियौं । रातभरको भारी बर्षाले सुनकोसी नदीमा आएको बाढीले गर्दा रोशी खोलाको बाटो खराब भएर खुर्कोट आउँदा हामी बाटो परिवर्तन गर्न बाद्ध भै रामेछाप - मन्थली देखि दोलखा - चरिकोट हुँदै धुलिखेलवाट पाँचखाल हुँदै काठमाडौ जाने सल्लाह भयो । परन्तु पाँचखालको बाटो पनि बर्षातको कारण विग्रन जाँदा खुर्कोटवाट रामेछाप मन्थली दोलखा चरिकोट सिन्धुपाल्चोक खाडीबजार - भक्तपुर चागुनारायण नगरपालिका - नगरकोट - भक्तपुर - गौशाला हुँदै बाटोमा २:०० घण्टा आराम गरि बिहान ६:०० बजेमात्र तारकेश्वर नगरपालिका अन्तर्गत ठुलागाउ आईपुग्यौं । परन्तु २ दिन १ रातको तीर्थयात्री भै पुर्वको पशुपतिनाथ भनिने हलेसी श्री महादेव मन्दिरवाट सहज, आनन्द, पारिवारिक रमाइलो वातावरणवाट आईपुग्यौं ।

हलेसी महादेवले सदैव हाम्रो कल्याण गर्नुहोस् 

८. रामेछाप - मन्थली, दोलखा - चरिकोट सिन्धुपाल्चोक खाडीचौर - चागुनारायण नगरपालिका नगरकोट भक्तपुर हुँदै तारकेश्वर नगरपालिका काठमाडौ यात्रा:

खुर्कोटवाट पुल पार गरि रामेछाप - मन्थली नगरपालिका तर्फ हाम्रो यात्रा सोझियो । रामेछाप - बेनी तामाकोसी किनारै किनार, मसाननगर कजवे- पुनौरे - रामेछाप पल्लोपट्टी खाँडादेवी - रामेछाप मन्थली - रामेछाप बजार - मन्थली सदरमुकाम मन्थली बजार तामाकोसी किनारमा - लिपे पुल - सिद्धेश्वर महादेव मन्दिर मन्थली नगरपालिका-२ पश्चात् लिखु तामाकोसी गाउँपालिका, तिल्पुङ पुल, खिम्ती पुल - खिम्ती जलविद्युत आयोजना - देवीटार दोलखा जिल्ला प्रारम्भ, मिल्ती खोला पुल बजार, ठूलो खोला पुल वन वे सडक - तामाकोसी गाउँपालिका - भिरकोट, तामाकोसी नयाँ पुल - विरुवा - दोलखा चरिकोट होटलमा खाना खाई बडो कठिनाइका  साथ काठमाडौंको लागि बढ्नुको विकल्प नहुँदा अगाडि बढ्दै चर्नावती पुल हुस्सु र कुहिरोमा बाहिर केहि नदेखिएको अवस्थामा अगाडि बढ्दै सिन्धुपाल्चोक खाडीचौर - चागुनारायण नगरपालिका नगरकोट भक्तपुर हुँदै तारकेश्वर नगरपालिका ठुला गाउँ आईपुग्यौं ।

हलेसी महादेवधाममा 

९. हलेसी महादेवधाम, खोटाङ भ्रमण : एक सिंहावलोकन :

काठमाडौदेखि खोटाङ जिल्ला स्थित ऎतिहासिक, धार्मिक, संस्कृतिक, पर्यटकीय स्थल पुर्वको पशुपतिनाथ भनेर चिनिने हलेसी श्री महादेव मन्दिर दर्शन हाम्रा निकटतम प्रिय आफन्तहरुसँगको सहयात्रामा अत्यन्तै रमाइलो वातावरणमा करिब ३३ घण्टाको अथक निरन्तर यात्रा असहज भएपनि नयाँ ठाउँको अनुभव भ्रमण संस्मरणिय नै मान्नु पर्दछ । पुर्वी पहाडी वाटो जाँदा र हलेसी बजारमा बास बस्दा बस स्टाफवाट स्वयं खानपिनको व्यवस्था सुखद रह्यो ।  हलेसी महादेव मन्दिर पुगेपछि प्रातकालिन समयमा हलेसी महादेव मन्दिर, माता पार्वती मन्दिर, श्री गणेश, बौद्ध गुम्बा, दर्शन पूजाआजा अध्यात्मिक भक्ति जागरणमा सकृयता रह्यो । काठमाडौ समेत काभेपलाञ्चोक, सिन्धुली, उदयपुर, ओखलढुंगा, खोटाङ, रामेछाप, दोलखा सिन्धुपाल्चोक र भक्तपुर गरि १० जिल्ला २ दिन र १ रातको यात्रा भयो । सारमा  यश महत्वपूर्ण अवसर जुराईदिनु हुने पुज्यनिय सम्धिनी सुनिता पनेरू फुयाल र सम्धी श्री राजु फुयाललाई कृतज्ञता सहित सहर्ष हार्दिक धन्यवाद प्रदान गर्दछौं ।

हलेसी महादेव धाम दर्शन पश्चात् म

१०. निजामती अस्पतालमा महत्वपूर्ण चेकजाँच:

निजामती अस्पतालमा निवृत्त निजामती कर्मचारी 

आजभन्दा दुई बर्ष पहिला होलबडी चेकअप गराएको तत्पश्चात मुक्तिनाथ यात्राका लागि काठमाडौं आएपनि चेकजाँच गराईएन । अहिले जाँच गरिएको व्यहोरा निम्नलिखित कवितांशले स्पष्ट पार्दछ ।

We are at Civil Hospital of Nepal 

मीनभवन स्थित निजामती अस्पतालमा आयौं ।
सुगरप्रेसर, कोलस्ट्रोल पाठेघर चेकजाँच गरायौं ।।
नेपाल निजामती सेवा सबैको अभिभावक सेवा ।
यसैमा छ मूल राष्ट्र् सेवा सदा गौरव गरिमा ।।
करिब साढे तीन दशक सम्म गरि सरकारी सेवा ।
अवकाशप्राप्त पछि पचास प्रतिशत छुटसुविधा ।।
स्टाफ कलेज तालिममा यसकै प्रतिवेदन गर्यौ ।
तथ्य तथ्यांक सूचना प्रेमकुमार राईसँग लियौं ।।
पैसठ्ठी सालमा महिला आयोग छँदा कार्ड बनाए ।
त्यसपछि बेला बखत सेवा सुविधा पनि पाई रहे ।।
अब छिट्टै राप्ती क्षेत्रीय अस्पताल दाङ घोराहीमा ।
सेवा सुविधा पाउने भन्ने सुन्दा धेरै खुशी लाछ ।।
सुगर प्रेसर कोलस्ट्रोल र चेकजाँच आँखा दात  ।
धेरै पटक चेकजाँच गराईराछु यहि अस्पताल वाट।।
बुढेसकालमा टेक्ने  लाठी जस्तैः सहारा पाएर ।
सहजसाथ चलिराछ सरकारी सेवा सुविधा पाएर ।।

निजामती अस्पताल हामी दम्पति 

परन्तु सोमबार यहाँ चेकजाँच गरायौं । मेरो सन्दर्भमा सुगर, स्टुल, इसिजी, वेट अवस्था राम्रो रहेपनि BP प्रेसर भने बढेको पाईयो, खाइरहेको Telmi 40 औषधिले काम नगरेकाले कम्तिमा ३ दिनको रिपोर्टिङ पश्चात् मात्र औषधि परिवर्तन गर्ने डाक्टरको सल्लाह बमोजिम अब शुक्रबार मात्र रिपोर्ट सहित डाक्टरलाई भेटन आउने कुरा भयो । श्रीमती यशोदाजिको पाठेघर प्यापटेस्टको रिपोर्ट आउन पाँच दिन लाग्ने भयो ।

चेकजाँच पश्चात् हामी 

११. सुन्धारा धरहरा महाबौद्ध, असन र छोरीको अफिस महान्यायाधिवक्ता कार्यालय, नेपाल ल क्याम्पस र बागबजार स्थित शंकरदेव क्याम्पस अगाडि टिसप घुमघाम:

सुन्धारा स्थित उन्नाइस तले धरहरामा छोरी श्रीमती साथमा 

ऎतिहासिक नौ तले सुन्धारा स्थित धरहरा काठमाडौंमा बसेर पनि चढ्ने भन्दा भन्दै  चढिएन । अन्ततः २०७२ को महाभुकम्पले धरहरा पनि ढल्यो । त्यसपछि धरहरा पुनर्निर्माण कार्य अगाडि बढी सम्पन्न भए पश्चात् अहिले समय जुर्यो, छोरी विपना अधिकारीको साथमा १९ तले धरहरा चढ्यौं । टिकट वयस्क प्रतिव्यक्ति रु.२००/- रहेछ । जेष्ठ नागरिकको ५०% छुट सहित रु. एकसय मात्र । परिषरमा वाटर सो, बगैंचामा फुलहरु, दर्शक, पर्यटक बस्ने स्थान रमाइलो वातावरण रहेछ । दिउँसोको समयमा घुमफिर गरेउ, पुरानो सुन्धारा मर्मत सम्भार गरि अलि व्यवस्थित भएको देखिएन । पुरानो भग्नावशेष धरधरालाई ढाकछोप गरि राखिएको रहेछ । केटाकेटी आएर तस्बिर, सेल्फी लिने, टिक्ट्क बनाउने गर्दा रैछन् । आनन्दले धरहरा परिषर घुमी १९ तले धरहरा चढी तहाँवाट शहरको दृश्यावलोकन गरि हामी महाबौद्ध तर्फ बाहिर निस्क्यौं ।

सुन्धारा स्थित उन्नाइस तले धरहरामा हामी 

महाबौद्धमा थोक पसल कबल हुँदै सामान्य किनमेल पश्चात् दूध डेरी मिष्ठान्न भण्डारमा हल्का खाजा खाई आरएनएसीवाट तीन पिप्लेको गाडीमा बालाजुचोक, शेषमती, नवदुर्गा भगवती मन्दिर, लामबगर, रातो पुल, शिव मन्दिर, गैरी गाउँ, जरंखु, मनमैजु, धर्मस्थली, प्रहरी चौकी, सानोबाईपास, चिसापानी कारखाना, साविक जितपुरफ़ेदि गाविस हाल तारकेश्वर न.पा. वडा नं.३ तीन पिप्ले, देवीस्थान, कालीदेवी मन्दिर, आठ माईल, गल्छी ठुलागाउँ पुग्यौ । 

महाबौद्ध स्थित दुध डेरीमा 

तीन दिनसम्म  बालगृह र सानी सम्धिनी को घरमा गै मेरो बढेको प्रेसरको रिपोर्टिङ ल्याएर फ़ेरि सिभिल हस्पिटलका डाक्टर बिनित नारायण जोशीसँगको परामर्शमा अन्ततः प्रेसरको AMPRO TH (एमप्रो टिएच) औसधि थप गरेर ल्यायौ । यश औषधिमा एमलोड 5 एमजी र टेल्मी 40 एमजिको मिक्स रहेछ ।

श्रीमती एशोदाका साथ छोरी विपना 

यश दिन छोरी बिपनाको अफिस नेपाल सरकारका महान्यायाधिवक्ताको कार्यालयमा पुग्यौ । त्यहा चिया खाई छोरीसँग नेपाल कानुन क्याम्पस आएर जुवाई र विपनाका साथी Mr. MD र शंकरदेव क्याम्पस नजिकै  विकास गुप्ताजिसँग भेट गरि टिसपमा गै लेमन जुस खाई तहाँ तस्वीर समेत लिई नानी उनको साथी मनमैजु स्थित रत्न महर्जनको घरमा जात्राको निमन्त्रणामा गईन, हामी दुईजना तीन पिप्ले हुँदै ठुला गाउँ स्थित छोरीको घरमा आई नातीनी मेधाश्री सँग खेलेर बसेउ ।

शंकरदेव क्याम्पस अगाडि टिसपमा बिकास गुप्ताजिसँग 

२. भुवनेश्वरी भगवती मन्दिर दर्शन र घर गाउँ घुमघाम:

तारकेश्वर न.पा.३ स्थित भुवनेश्वरी मन्दिर दर्शन 

तारकेश्वर नगरपालिका वडा नं.३ साविक जितपुर फ़ेदि भुवनेश्वरी मन्दिर प्रवेशद्वारवाट सिधा ठाडो उकालो उक्लदै मंगलबार बिहानै भुवनेश्वरी मन्दिरमा पुग्यौं । मन्दिरमा यसभन्दा पहिला कोरोना कालमा आएको भएपनि भित्र पसेका थिएनौं । अहिले भित्रै गयौं । बाहिर सुरक्षा प्रहरी रहेछन् । मन्दिरमा प्रवेश गर्नुभन्दा पुर्व पानीमा गोडा डुबाएर प्रवेश गर्नुपर्ने रहेछ । भुवनेश्वरी भगवती देवीको भित्र मोबाईल क्यामरावाट तस्बिर लिन, ठूलो स्वरले बोल्न निषेध रहेछ । भित्र पुजारी र भक्तजन पाठ, जप ध्यान गर्दारैछन् हामीले पनि गरेउ, टीका लगाई पुष्प ल्याएर फर्कियौं ।

दिउँसो छोरी विपना र नातिनीसँग ओशो ध्यान केन्द्रको प्रवेशद्वार चिया, नास्ता पसलमा चिया आलू ब्वाईल खाएर फर्कियौं । यसै गरि अर्को दिन सम्धी सम्धिनी र नातिनीसँग बाल सुधार गृहमा गै रावत बाबुसँग प्रेसरको रिपोर्ट लियौ । यसै गरि एक दिन साहिलो सम्धीज्यु कहाँ रातको भोजन गरि ज्वाइँ नानीको सानो नातीको मुख हेरेउ ।

श्री भुवनेश्वरी माता मन्दिर दर्शन पश्चात् 

१३.  जामाचो पैदलमार्ग: अविस्मरणीय संस्मरण  प्रस्थान बिन्दु:

बालाजु बाइसधारा मेला : जामाचो (नागार्जुन) मेला चैत्र शुक्ल पुर्णिामाका दिन लाग्ने गर्दछ । यो मेला २०८२ चैत्र २० बिहीबार तदनुसार २ अप्रिल २०२६ का दिन परेको छ । पुज्यनिय सम्धी सम्धिनीज्युको सल्लाह र नानी जूवाई रोशन फुयालले फुलवारी गेट नागार्जुन संरक्षण क्षेत्र प्रवेशद्वारसम्म गाडीमा लैजानु भयो । खानपिन गरि बिहान १०:०० बजे हामी फुलवारी प्रवेशद्वारमा पुगेका थियौ ।

१४. पैदलमार्ग रमणीय यात्रा :

भक्तजनहरु बिहानै बालाजु बाईसधारामा स्नान गरि जामाचो गएर दर्शन गर्दा पुण्य प्राप्त हुने र रोगव्याधी निको हुने स्थानीयहरुको धार्मिक विश्वास रहेछ । विहानै गएर फर्कदै गरेका भक्तजनको लामै लस्कर बाटोमा भेटियो । ठिक दस बजे नेपाली सेना भैरवदल गणमा झोला, व्याग चेक जाँच गरायौं । प्रज्वलनशिल पदार्थ र हातहतियार लैजान प्रतिवन्ध रहेछ । अरुदिन भए प्रति व्यक्ति रु एकसय टिकट लाग्ने आज मेलाको दिन हुँदा निशुल्क रहेछ । बाटो त करिब पाँच किलोमीटर रहेपनि ठाडो उकालोले गर्दा दस किलोमीटर जस्तो लाग्यो । उकालोमा ठाउँ ठाउँमा सैनिक भेटिन्थे । करिब आधाबाटो पार गरेपछी खानेपानी र सर्वतको व्यवस्था संस्थाले गरेका रहेछन् । करिब तीन घण्टामा एकबजे जामाचो पुग्यौ । बाटोमा हिड्ने नेवार जातिलाई सोध्दा जामाचोको नेपाली अर्थ "उच्च स्थान" भन्ने बुझियो ।

१५.  अध्यात्मिक सहज पैदलमार्ग:

हनुमान जयन्ती अष्टचिरञ्जीवी मध्येका एक परम वीर श्रीराम भक्त शिरोमणि हनुमानजिको हनुमान चालिसा र हनुमत बन्दना, अच्युताष्टक पाठ भट्याउँदै उकालो चढदा अत्यन्तै आनन्दाभुती भयो । भक्तजनको श्रद्धा र सम्मान पनि पाईयो । बाटोमा एकजना सम्धी नाता पर्ने जयराम अर्यालजि भेटिनु भो । रमाइलो वातावरणमा उकालो उक्लेर जामाचो बौद्ध गुम्बामा पुग्यौ ।

१६. बौद्ध गुम्बा दर्शन दीपदान:

जामाचोमा अनुपम स्वर्गीय आनन्द प्राप्त भयो । उच्च स्थान हुँदा यहाँ मोबाइलको नेटवर्क टावर रहेनछ । यसको दक्षिण तिर पुर्वराजा ज्ञानेन्द्र्को नागार्जुन दरबार भएको जानकारी पाईयो, त्यता जाने अनुमति रहेनछ । जामाचोमा पुगेपछि भ्लग, भिडियो, तस्बिर लिनुका साथै दीपदान गरेउ । गुरु पदमसंभवको दर्शन, दान गरेर एकक्षण बेञ्चमा आरामले बसेउ । हिन्दु र बौद्ध धर्मावलम्बीको समन्वयात्मक धार्मिक स्थल भनेपनि एक दुई जना बृद्धलाई सोद्धा धेरै पहिला एउटा ठूलो ढुङ्गा त्यसमा महादेवको पूजा हुन्थ्यो । गाउँ गाउँवाट आएर महादेवसँग पानी माग्दथे । पुरातत्व विभागले पुनर्निर्माण गरेपछि हिन्दुको केहि प्रमाण देखिदैन तथापि स्थानीय हिन्दु धर्मावलम्बीहरुको दृढ़ आस्था एवम् विश्वास रहेको छ । यसैवेला भैरवीदल गण हेल्थ डेस्क नजरमा पर्यो ।

१७. जामाचोको डाँडावाट काठमाडौं उपत्यका दृश्यावलोकन :

जामाचोको डाँडावाट काठमाडौ उपत्यकाको दृश्यावलोकन अत्यन्तै सुन्दर रमणीय दृश्य देखिन्छ । यहाँ तस्बिर, भ्लग, भिडियो बनाईयो । स्थानीय अत्यन्तै मीठो काँक्रो खायौं । एकक्षण आरामले बसेर यसो नजर लगाएको भैरवीदल गणको हेल्थ डेस्कमा गयौं । गणका स्वास्थ्य स्वयंसेवक सैनिकले खाजाको समय भएको भएपनि एकजनाले प्रेसर लिनुभयो । प्रेसर बढिरहेको अवस्थामा उकालो हाईअल्टिच्युडमा जाँदा प्रेसर नर्मल भयो । अत्यन्तै रमाइलो धार्मिक वातावरणमा रमायौं । यहाँ चिया, सेलरोटी खायौं । करिब डेढघण्टा जामाचोमा बसेर ठिक दुई बजे जामाचो वाट ओरालो झर्यौं । रमाइलो वातावरणमा पुनः सम्धी नाता पर्ने जयराम अर्यालसँग भेट भयो । वाहाँसंगै फुलवारी गेटमा आएर त्यहाँवाट ठुलागाउँ गल्छिसम्म आएर आजको यात्रा समाप्त गर्यौं ।
सारांशमा

वीसौं बर्ष काठमाडौं बसेर पनि कतिपय स्थानमा पुगिसकेको रहेनछ । बालाजु बाईपास देखि नजिकै ऎतिहासिक धार्मिक स्थान यहाँ आज पुर्णिामाको महत्वपूर्ण दिनमा बैशाख स्नान प्रारम्भ, हनुमान जयन्ती, बालाजु बाईसधारा - जामाचो मेलाका दिन पुग्यौं । यो एउटा जामाचो पैदलमार्ग : एक अविस्मरणीय संस्मरणको रूपमा रहन गयो ।

१८. श्री दुप्चेश्वर महादेव मन्दिर र नुवाकोट शेरा दरबार, भैरवी जात्रा र कुमारी दर्शन : पारिवारिक भ्रमण प्रस्थान :

तारकेश्वर नगरपालिका वार्ड नं. ठुलागाउँ गल्छीवाट शनिबार २१ चैत्र २०८२ बिहानै हाम्रो यात्राको प्रारम्भ भयो । हाम्रो टोलिमा सानी नातिनी मेधाश्री, छोरी - जुवाई, सम्धी - सम्धिनीहरु, साना जुवाईं र गाडी चालक सहित १० जनाको समूह थियौ ।

१९. यात्रामा रमणीय स्थानहरूको नाम नामेसी :

सामाखुसी ग्राण्डी अस्पताल हुँदै टोखा नगरपालिका पल्लोपट्टी सपन तीर्थ, भण्डारी चोक, गौरी गाउँ चोक, गौरी गाउँ चोक, भीरकाली मन्दिर जाने बाटो, टोखा १ झोर, कठेरी चोक, मेलालबारी जमघट रेष्टुरेन्ट एण्ड सेकुवा कर्नर, नोलालवाडी, बाँडेश्वर, माथितिर प्रस्तावित सुरुङ्ग मार्ग, बाँडेश्वर मन्दिर, महादेव मन्दिर, झोर - यश क्षेत्रमा काठमाडौमा पानी पर्नु भन्दा पहिला पानी पर्ने जनविश्वास रहेछ । यहाँ हल्का लेमन पानी, कसैले चिया पियर अगाडि बढ्यौं । शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्र प्रवेश, लछुरज प्रवेश, तारकेश्वर नगरपालिका ७ माख, शिवपुरी गाउँपालिका प्रारम्भ, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज, नेपाली सेना, ढकाल चौर, सैनिक ईलाका प्रवेश, गुर्जे भञ्ज्याङ हाईकिङ्ग - ककनी - तारकेश्वर, शिवपुरी गा.पा. गुर्जे, खाल गाउँ, गुरुङ गाउँ यहाँ होटल पक्की ढलानयुक्त घरहरू, यहाँ देखि नुवाकोट जिल्ला अन्तर्गत चापाकोट प्रारम्भ, तुम्बेश्वरी युवा क्लब, बोरे खोला, छहरे, शितलपाटी, काफल डाँडा, घट्टेखोला, छहरे झरना जाने बाटो (३ किलोमीटर), थापागाउँ, नुवाकोट, लिखु नदी, छहरेवाट दुप्चेश्वर महादेव ३१ किलोमीटर, लिखु गाउँपालिका, माथितिर रानीपौवा, थानसिङ, छहरे फाँट, चौघडी, लिखु ४ चौघडा यहाँ क्षेत्रपाल क्याम्पस रहेको, पञ्चकन्या गा.पा. यहाँदेखि नजिकै रसुवा शिखरवेसीका चामल प्रसिद्ध छन् ।

पिपलटार - तादी खोला पुल- समुन्द्रटार,  तादी गा.पा. दुप्चेश्वर गा.पा., बाहुन बेशी, यहाँदेखि दुप्चेश्वर महादेव मन्दिर १५ कि.मि. रहेको, खरानीटार बजारमा बाणिज्य बैंक रहेको, घट्टे खोला, तादी हाइड्रोपावर, समुन्द्रटार देखि दुप्चेश्वर महादेव ४.५ किलोमीटर रहेको बाटामा गाडीहरूको लाम,शनिबार भक्तजनको  असाध्यै भिड हुँदोरहेछ । तादी नदीको किनारमा रामती बजार हुँदै तादी नदीको किनारमा पहरामा स्थित दुप्चेश्वर महादेव बिहान ९:०० बजेतिर पुग्यौं ।

२०. श्री दुप्चेश्वर महादेव दर्शन :

नुवाकोट जिल्ला स्थित तादी नदीको किनारमा हरियालीयुक्त रमणीय स्थल, दुप्चेश्वर महादेव माथी पहरामा स्थित रहेछ, जुत्ता चप्पल व्यवस्थापन गरि फुलप्रसाद लिएर लामबद्ध भै पहराको उकालोमा उक्लेउ । लामो लामबद्ध हुँदा पनि शिव स्तोत्र पाठ गर्दै म श्रीमतीजि सम्धी सम्धिनीहरु फुलप्रसाद लिएर अगाडि बढ्दै करिब दुई घण्टाको लामलागेर अन्ततः दर्शन गर्न पुग्यौं । पहरामा प्राकृतिक रूपमा देवाधिदेव महादेवको पत्थर शिला स्वरुपमा पूजाआजा, धूपदीप समेत गरि,अलिक तल झरेर भजन मण्डलीसँग नृत्य गरेर, तस्बिर भिडियो लिई तलतिर ओल्हियौं । दुप्चेश्वर सम्बन्धमा परापुर्वकालमा यहाँ शिवको शिलामा गौमाता आई नित्य दुध चढाउने गर्दथिन त्यो दृश्य देखेर स्थानीयले आजापूजा गर्ने प्रचलन चलेको जनश्रूति रहेछ ।

दुप्चेश्वर महादेव दर्शन पश्चात् कोटबारी स्थित थकाली होटलमा पनीर सेट थाली खानपिन करिब दुई घण्टा समय पश्चात्  यहाँवाट नुवाकोट शेरा दरबारको लागि प्रस्थान गर्यौं ।

२१. नुवाकोट स्थित शेरा दरबार, भैरवी जात्रा र कुमारी दर्शन :

सातविषे, खरानीटार, दोर्खु खोला पुल पार गरि, ढिकुरे चोकवाट, लब्धु गंगटे, गंगटेवाट नुवाकोटको सदरमुकाम  विदुर १० किलोमीटर रहेछ । बराफेदी, डुडे, तादी नदीको फाँटमा समतल मिलेको खेतीयोग्य जग्गा जमीन, फाँट, गंगटे, पिपलटार, बट्टार, विदुर नगरपालिका यहाँवाट केरुङ्ग तर्फ जाने बाटो रहेछ । बिरुवा हुँदै नुवाकोट दरबार तर्फ अगाडि बढ्यौं । बनदेवी मन्दिर, भैरवी मन्दिरवाट अगाडि जाँदा आज भैरवी जात्रा मेलाको कारणले गाडी तलै रोकेर हामी पैदलै अगाडि गयौं । मेलाले गर्दा बाटो भरिभराउ थियो । अलिकति उकालो चढेपछी नुवाकोट शेरा दरबार पुगियी । बि.सं.२०७२ को महाभुकम्पले पृथ्वीनारायण शाहले नेपाल एकीकरण क्रममा निर्मित नुवाकोट शेरा दरबार भग्नावशेष रहेछ र चिनियाँ सरकारको सहयोग  र पुरातत्त्व विभागको संरक्षणमा यश दरबारको जिर्णोद्धार गर्ने कार्य भएकाले हामीले तहाँ स्थित, नारायणी मन्दिर, खाल्टेदेवी, बजार क्षेत्र, भौरवी मन्दिर र जिवित देवी कुमारीको दर्शन गरेउ र तहाँवाट फर्कियौं । विशेषतः रात हुने कारण समयाभावले देवीघाट राजा पृथ्वीनारायण शाहको समाधिस्थल तर्फ जान सकेनौं । यहाँवाट उत्तरतर्फ माथी गएपछि बेत्रावति उत्तरगया पितृ उद्धार श्राद्ध गर्नका लागि मानिसहरू जाँदा रहेछन् । हामी भने नुवाकोटवाट काठमाडौं तर्फ फर्कियौं ।
सारमा

फर्कदा फ़ेरि उहि बिहान गएको बाटोलाई भेटेर गुरुङ गाउँमा आई चिया चिसो, मम सहित हल्का खानपिन गरि साझ ८:०० बजे काठमाडौ शहर झलमल भएको समयमा आईपुग्यौं । यति लामो बाह्र घण्टाको ननस्टप यात्रामा पनि सानी नातिनी रुने, दु:ख दिने केगी गरिनन् । अन्त्यमा सम्धी श्री राजु फुयाल, सम्धिनी श्री सुनिता फुयाल, जुवाई सानिमा सम्धिनी श्री सरला फुयाल, जूवाई श्री रोहित फुयाल, छोरी विपना अधिकारी फुयाल, साना जूवाई श्री रोशन फुयाल र नातिनी सुश्री मेधाश्री फुयाल सहित हामी पारिवारिक भ्रमण अत्यन्तै रमाइलो भयो । आयोजक सम्धी सम्धिनी, छोरी जुवाईलाई विशेष सहर्ष हार्दिक धन्यवाद दिदै यो यात्रा वर्णनवाट विदा हुने अनुमति चाहन्छु ।

२२. यात्रा मन्तव्य:

हाम्रो यो दस दिने भ्रमण - "एक पन्थ बहु काज" भनेजस्तो भयो । यस महत्त्वपूर्ण भ्रमणका उपलब्धिहरु बुँदागत सार निष्कर्षमा निम्नलिखित रूपमा समेटन सकिन्छ -

(क) सानी नातिनी, छोरी जूवाई, सम्धी सम्धिनी समेत सकल परिवारसँग भेटघाट आत्मीय सम्बन्धको नविकरण ।

(ख) निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटलमा) दुई बर्ष पश्चात् नियमित चेकजाँच ।

(ग) लामो समय जागीर र पारिवारिक वातावरणमा बसेको संघीय राजधानी  काठमाडौसँग पुनः प्रेमवत पुनर्मिलन ।

(घ) हलेसी महादेव, दुप्चेश्वर धाम, नुवाकोट शेरा दरबार र जामाचो बौद्ध गुम्बा समेत धार्मिक, पर्यटकीय भ्रमण  तीर्थाटन ।

(ङ) नयाँ स्थान अर्थात् नपुगेका जिल्लाको भभौगोलिक सामान्य जानकारी प्राप्त ।

यात्राको सहयात्री : श्रीमती एशोदा सुवेदी अधिकारी समेत ।

दाउन्ने नवलपरासी पश्चिम खण्डमा फोरलेन सडक निर्माणको कारणले काठमाडौ जाँदा पनि एक रात र एक दिन र फर्कदा पनि त्यतिनै समयावधिको कठिनाइ पनि दुई हप्ताको यात्राले दु:ख विर्सियो । हलेसी र दुप्चेश्वर महादेव र नुवाकोट भैरवी माता र चामाचो भगवान् बुद्धले सदा सर्वदा कल्याण गरुन् ।
ॐ शिवशक्ति देव्यै नमो नम: ।
शान्ति ! शान्ति !! शान्ति !!!

सन्दर्भ  स्रोत र ब्लग लेखन :

गुगल जिमिनी, सम्धी सम्धिनी समेतसँग परामर्श, सल्लाह र आफ्नै यात्रा स्वअनुभव ।

✍️ वसन्तराज अधिकारी
काठमाण्डु - दाङ अम्बिकेश्वरी बस यात्रा
सोमबार चैत २३, २०८२ शुभम् ।

Comments