६१३. वैशाख कृष्ण औंसी "मातृऔंसी २०८३" आमासँग : पुराना संकलित रचनाहरु

वैशाख कृष्ण औंसी "मातृऔंसी २०८३" आमाको मुख हेर्ने दिन घोराही  उपमहानगरपालिका वार्ड नं. १७ मजगैं - मजगाउँमा आमासँग : पुराना संकलित रचनाहरु

आमासँग: भारत अयोध्यास्थित हनुमानगढी मन्दिरमा 

१. आमा ❤️

मातृऔंसी २०८३ आमासँग जन्मस्थल मजगैं दाङमा

आमा ❤️ हजुरको कोखवाट जन्मे ।
अमृतरुपी प्राणदायी स्तनपान ।।
अनि अनुकम्पामा अन्न जल पाए ।
प्रेम, सान्निध्यमा वाक्य फुटाए ।।
कखरा अक्षर सिकेर साक्षर भए ।
किशोरावस्थामै बुबाको निधन ।।
संघर्ष र सहकार्य गरि हुर्के बढे ।
अध्यात्मिक ज्ञान र सचेतना ।
राष्ट्रसेवामा समर्पित सत्प्रेरणा ।।
अगणित गुण र ज्ञानको खानी ।
मेरी आमा म कति भाग्यमानी ।।

सन्दर्भ:  आमाको मुख हेर्ने मातृऔंसी २०८३ 

श्रीराम मन्दिर, अयोध्या दर्शन २०८२ चैत्र

२. आमा

आराध्यदेव शिव पार्वतीसँग देवीपाटन, भारतमा हामी 

प्रिय शब्द मधुर वाणि जगमा 
आमा समान प्रेममा ।
को नै छन् र मातृ सम्बन्ध बिना 
जन्मेको धरा धर्तीमा ।।
अशरिरी रुपमा देवता इश्वर पनि
काल्पनिक चित्रण गरि ।
साल नाल रक्तपिण्ड लिई शिशु 
मातृत्वको गर्भ भरी ।।

बाबू पितृत्व वंश रहि अंशमा 
आमा बसाउँछन् सृष्टि ।
मानवता धर्म सुकृति बनि रहोस्
सभ्य उन्नत दिव्य दृष्टि ।।
जब संकट आउँछ देव मानवमा 
मातृत्व शक्ति जाग्दछिन् ।
तब दैत्य असुर अन्यायी प्रवृत्ति 
टिक्न नसकी दुर भाग्दछन् ।।

मातृत्व आमा हुन् नारी स्वरुपमा 
मातृत्व देखिन्छ गुण धर्ममा ।
पितृ मातृ शिक्षा दीक्षा व्यक्त हुन्छ 
सन्तानको सद्गुण कर्ममा ।।
छोराछोरी बाटो बिराउँदा खेरी
आमाले नै देखाउँछीन् ।
बाबुआमा स्वयं बाटो बिराए भने 

परमेश्वर अगुवाइ गर्छन् ।।
साक्षात् देवी स्वरुप हुन् आमा 
निस्वार्थ सन्तति प्रेममा ।
आमा नै हुन् सारमा त्रिदेवी 
सावित्री रमा उमा ।।
 
रचना मिति:
मंगलबार १२ असार २०८० शुभम् ।

अयोध्यास्थित सरयुगंगामा आमासँग 

३. मेरी आमा

हामी आमा छोरा 

को हो ठूलो ? यश जगतमा
जननी समान ।
जन्मदिई दशधारा दूध पिलायौ
अमृतत्व मान ।।
पहिलो गुरु मेरो आमा हजुर
अक्षरारम्भ ज्ञान ।
किशोरावस्थामा पिता गुमाई
संरक्षकत्वको भूमिकामा ।।
ढोग दर्शन गर्छु सदैव हजुरको
महिमा रहेको छ अपार ।
आमा सरि को हुन सक्छ र अरु
भव सागरको  सार ।।

✍️ वसन्तराज अधिकारी
घोराही १८ रझेना, दाङ, नेपाल
मातृऔंसी "आमाको मुखहेर्ने दिन २०८०" शुभम् ।

आमा ❤️🙏🕉️

४. मातृत्व शक्ति आमाको महिमा

हामी आमा छोरा ❤️

जस्ले आफ्नो मांस पिण्डको रुपमा सन्तानलाई नौं महिनासम्म गर्भाशयमा यथेष्ट रूपमा  पालनपोषण समेत गरि जन्मदिई अमृत समान दस धारा दूध पिलाई नवजात शिशुलाई पुर्ण मानव बनाउने साकार ईश्वरीय भुमिका निर्वाह गर्छिन तिनै साक्षात देवी हुन् आमा । आमा सन्तानको अभिन्न स्वरुप हुन् जुन जन्म पुर्व र जन्मपश्चात पनि व्यवहारमा प्रकट भैरहन्छ । लोक व्यवहारमा बाबू आमाको सामाजिक सांस्कृतिक  सहजीवन पश्चात् आमाको गर्भधारण प्रक्रियामा बाबुको बीर्य र आमाको रजवाट जैविक रुपमा अति सुक्ष्म  जीवाणुको रुपमा बास गरि नौ महिनासम्म आमाको गर्भाशयमा बास  बस्दा बालकले धेरै कुराको अन्तस्थ अनुभुति गर्दछ । जुन प्रक्रिया जन्म पश्चात् दिनानुदिन शुक्ल पक्षको चन्द्रमा जस्तैः बढी पुर्णतः हुर्की बढी मानव बन्दछ । तसर्थ आमाको महिमा बर्णन गर्न र पार पाई नसकिने अपार रहेको छ । सम्पुर्ण वेद, उपनिषद्  र धर्मशास्त्रहरुको सार मातृदेवो भव: पितृदेवो भव: आचार्य देवो भव: भनेर मुक्त कण्ठले गायन गरिएको पनि छ ।

भगवती देवीस्तुतिमा "कुपुत्रो जायते क्वच्चिदपी कुमाता नभवती" अर्थात् कुपुत्र हुन सक्छन् परन्तु कदापि कुमाता हुन सक्दैनन् भनेर भनिएको पाईन्छ । यसै गरि "जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी" अर्थात् जन्मदिने आमा र लालनपालन गर्ने जन्मभूमि स्वर्गभन्दा पनि महान गरिमामय हुन्छन् भनेर मुक्त कण्ठले गायन गरिएको र यसलाई राष्ट्रिय मान्यता समेत प्राप्त रहेको छ । स्थुल दृष्टिकोणवाट सामान्य दृष्टिगोचर गर्दा आमा सामान्य सांसारिक नारी पात्र जस्तो देखिएता पनि आमा भित्रका महानता, स्नेह, प्रेम, सद्भावका सामु पृथ्वीको सर्वश्रेष्ठ प्राणी मानिस मात्रको त के कुरा देवताहरु स्वयं ब्रह्मा, बिष्णु, महेश्वर समेत बालक बन्नुपरेको धार्मिक कथा पाईन्छ । मानव मात्रको लागि आमा महान छिन् । तसर्थ आमाको महिमा र गुणगान धेरै सन्त, ज्ञानी, महात्मा र विद्वानहरुले मुक्त कण्ठ्ले गायन गरेका पनि छन् । कुनै पनि मानव सभ्यता युग पर्यन्त मुलतः  सत्य युग वैदिक युग देखि वर्तमान कलिकालसम्म कुनै समयमा पनि आमाको महिमा र गरिमामा कमी आएको पनि छैन र यो सृष्टि चक्र चलिरहँदा सम्म आउने पनि छैन ।

गहन रुपमा खोज वा गवेषण गर्ने हो भने कुनै पनि मानिस जब आफू स्वयं आमा बाबू बन्दछन् तब मात्र  उनलाई बाबू आमाको भुमिका र गरिमा याद हुँदै जान्छ । अनुभवजन्य बोध तब हुन्छ जब आफुलाई बाबू आमाले कस्तो कठिनतम परिस्थितिमा कसरी हुर्काए, बढाए र सबल सक्षम बनाए । यो बिषय शास्त्रीय अध्ययन भन्दा पनि अनुभव वा ज्ञानको गुढतत्व युक्त मार्मिक  बिषय पनि हो । हरेक भाषामा आमा बाबुलाई सम्बोधन गरिने भाषिक शब्दको व्युत्पत्तीको क्रममा समानता रहेको छ । आमा बारे संस्कृत, नेपाली, हिन्दी, अंग्रेजी समेतका भाषाहरुमा समानार्थी पाईन्छ । संस्कृतमा माता, नेपालीमा आमा, हिन्दीमा मा र अंग्रेजीमा मदर भनेर करिब समानार्थी शब्द प्रयोग भएका छन् । मानव मात्र नभै अधिकांश स्तनधारी जीवहरुको आमाप्रतिको स्नेह अपार छन् । यसर्थ आमा बिना यो संसारको परिकल्पना किमार्थ गर्न सकिदैन । आमा र धर्ती माता परिपुरक हुन् । आमाले जन्म दिनुहुन्छ । धर्ती माताले लालनपालन गर्नुहुन्छ । त्यसैले कविले कवितामा व्यक्त गरिएको पाईन्छ -
म पुत्र तिम्रो तिमी धर्ती माता ।
अटुट माटो मुटुको छ नाता ।।
सारांशमा आमा आफ्नै स्थुल शरीरको अंश स्वरुपको पुर्णता हो । आमाकै स्थुल शरिरवाट सूक्ष्म अंशको रुपमा मानव जीवन सिर्जित रहेको छ । जसरी दिनमा सुर्य रातमा चन्द्रमा र ताराहरु सृष्टिमा हिमाल, पहाड र तराई छन् त्यस्तै आमा पनि साक्षात देवी भगवती हुन् । आमाको स्थान सम्पुर्ण देवताहरु भन्दा पनि सर्वोच्च स्थान रहेको छ । आमा सांसारिक भौतिक स्वरुप मात्र होईनन् ज्ञानात्मक चक्षुले नियाल्दा आमा आध्यात्मिक स्वरुप पनि हुन् । सन्तानका लागि महान प्रथम साक्षात जननी हुन् ।

हरेक सनातन हिन्दुहरु पाञ्चायन देवताको पुजा अर्चना गर्दछ्न जसमा गणेश, बिष्णु, सुर्य, शिव र देवी हुन् । देवी आमाकै स्वरुप मानिन्छन् । हरेक बर्ष मातृऔंसी "माता तिर्थ औंसी" अर्थात् आमाको मुख हेर्ने दिन आउँछ । जीवित आमालाई सन्तानले मिष्टान्न फलफूल चढाई श्रद्धा भक्ति पुर्वक अपार स्नेहका साथ पुजन गर्ने र मृत्यु भएकाहरुलाई श्राध्द तर्पणादी कार्य गर्ने प्रचलन समेत लोक व्यवहारमा  रहेकोे पनि छ । आमाको महत्व इहलौकिक र पारलौकिक अर्थात् आर्थिक  परमार्थिक रहेको छ । साकार र निराकार देवताको स्वरुप जस्तैः आमाको पनि साकार र निराकार स्वरुप रहेका छन् । यश पृथ्वीमा आमा बिना मानव लगायतका जीवको सृष्टि किमार्थ सम्भव छैन । बिज्ञानले जति सुकै चमत्कारिक बिकास गरे पनि आमाको विकल्पमा हुने सन्तानोत्पान क्रिया केवल अपवाद मात्र हो ।

सनातन हिन्दु धर्ममा आमालाई देवी भगवती स्वरुपमा बर्णन गरिएको पनि छ - "या देवी सर्वभुतेषु मातृरुपेण संस्थिता" भनेर सम्पुर्ण चराचर जगतमा आमाको स्वरुपको परिकल्पना रहेको छ । आमा केवल भौतिक शरीर मात्र नभएर अध्यात्मिक वा मातृशक्ति अथवा मातृत्वको रूपमा पनि लिईन्छ । कोमलता, स्नेह, दया, करुणा, ममता, प्रेम, आदर, सम्मान, कृतज्ञता, सहिष्णुता जस्ता अत्यन्त ओजपुर्ण गरिमामय शब्द केवल मातृत्वसँग सम्बन्धित छन् । यसरी गहन रुपमा नियाल्दा   बिशेष अवस्था र परिस्थितिजन्य भुमिकामा पुरुषमा मातृत्व र महिलाहरूमा पनि पुरुषत्व पाईन्छ । मातृत्व केवल शारीरिक आवरण मात्र नभएर अन्तरभौतिक उद्बोध एवम् साक्षात्कार पनि हो । आदिकवि भानुभक्त आचार्य भन्नुहुन्छ - "माता सरि सुख दिन्र कुन चिज ठान्नु । बिद्या नै हो त्यो चिज अरु कुन मान्नु ? ।। यसर्थ मानव सभ्यताको विकास र उन्नतिशील जीवन अर्थात् समाजका लागि शिक्षा, ज्ञान, सीप, कला, बिज्ञान, प्रविधि जस्ता समग्र शैक्षिक प्रक्रियामा मातृत्वको गुणवत्ता अन्तर्निहित रहन्छ ।

नारी शब्द नरवाट व्युत्पन्न भएको हुँदा यो अर्धाङ्गीनीको रुपमा प्रयुक्त हुन्छ भने महिला शब्द परिपुर्ण छ । शाब्दिक अर्थमा महिलाको अर्थ महि = पृथ्वी इला= आदिमाता भन्ने शास्त्रीय मत छ । महिला र पुरुष एक अर्काको परिपुरक भएर नै सृष्टि चक्र नियामक भएको पनि हो । मातृत्व र पुरुषत्व पृथक रुपमा रहे पनि एकापसमा अभिन्न र अन्तर्सम्वन्धित र सहकारी रहेकोे छन् । मानवीय गुणहरु साहस, कठोरता, प्रतिज्ञा, अटल, निर्भीक जस्ता पुरुषत्व गुणहरुको परिपुरक दया, माया, कोमलता, सहयोग, सद्भाव जस्ता मातृत्वका गुणहरु "आकाश र धर्ती" जस्तैः परिपुरक पनि छन् तसर्थ कवि लेख्छन् -
पर्जन्य जो सिर्जनाका पिता हुन् ।
यै मृतिकामा रस बर्षी आउन ।।
अर्थात् आकाश पिता र पृथ्वी धर्ती आमा हुन् । सम्पुर्ण धर्महरु सनातन हिन्दु, बौद्ध, क्रिश्चियन, इश्लाम लगायतले यश शाश्वत सत्यलाई अआफ्नै तवरले  स्वीकार र परिपालना गरेका पनि छन् र अआफ्नो धर्ममा समाहित पनि गरेका छन् । वास्तवमा मातृत्व शक्ति आमाको महिमा अपार छ । जीवनको सार मातृत्वको स्नेह अपार मेरो अल्प ज्ञानले यसलाई  पुर्णता दिन किमार्थ भ्याउँदैन । मातृत्व शक्तिको रहस्यलाई उदघाटित गर्ने वा कोतर्ने धृष्टता मात्र गर्दै यश गहन बिषयलाई अझ गुढ अर्थमा आत्मसात गर्ने जिम्मा श्रध्देय ज्ञानी पाठक बर्गमा हस्तान्तरण गर्दै मेरो यो लेखनीलाई पनि यही विश्राम दिने अनुमती चाहन्छु । ❤️🚾🙏 धन्यवाद 

✍️ रचना मिति;
मंगलबार, साउन २४, २०७९ शुभम् ।

I Love my mother ❤️

५. मेरी आमा

मेरो स्थुल शरिरमा हरबखत, सञ्चित रजको गरि ।
अमृत पान सरि दुग्धपानले, पोषित गरि तन भरी ।।
दशमास गर्भमा समाहित लिई, जन्मायौं यश धर्तीमा ।
यो ब्रह्माण्ड सृष्टिमा तिमी समान, क्वै छैन महान आमा२ ।।१।।

मातृवात्स्ल्य दया र करुणा, प्रेमामृत पिलाई दिनदिन ।
सन्तानकै वृद्धि सुखमा, तल्लीनता लिई क्षण क्षण ।।
बाबुको बिजमा परिपुर्ण रजले, मानव बनायौं जब ।
पृथ्वी माताको आश्रय लिई, हुर्केर बढ्यौं अब ।।२ ।।२।।

लाखौं लाख स्नेह प्यार - ममता, मातृत्व सद्भावना ।
परमईश्वर र सर्वश्रेष्ठ तिमी नै, जन्मदायिनी आमा ।।
खोक्रो शब्दले मात्र कसरी म, बर्णन गर्न सक्छु र ?२ ।
साक्षात् जीवित देवी आमा, सृष्टि नै तिम्रो भर ।।२ ।।३।।

बाबुको जिम्मेवारी पनि हरतरहले, पूरा गरेकी थियौं ।
शिक्षा दीक्षा र परिपुर्ण ज्ञान-गुणले, सम्पन्न गरि दियौं ।।
अभाव अपुर्णता दु:खमा पनि, सदैव कर्तव्य पूरा गरि ।२
एउटी महान आमाको तपस्या, पूरा गर्यौं हर घडी ।।२।।४।।

राष्ट्रसेवकको महान गरिमा, जिम्मेवारी लिई काँधमा ।
हजुरकै दिशा -निर्देशले म पनि छु, निजामती सेवामा ।।
देश र जनसेवामा एउटा, बिना बर्दीको सिपाही जस्तैः भइ२ ।
पूरा गर्नेछु सदैव कर्तव्य, हजुरकै शिक्षा र दीक्षा लिई ।।२ ।।५।।

सन्दर्भ : मातृऔंसी २०७७

आमाको साथमा हामी ❤️👩‍❤️‍👨

६. आमा नै संसारमा हुनुहुन्छ ईश्वरीय बरदान

देवीपाटन स्थित तुलसीपुर गौशालामा हामी आमा छोरा

यश धर्तीमा जन्मेका हामी मानवको लागि
आमा भन्दा को होला र अरु नजीक र जाति ।
तर्सथ ! मेरो जीवित परमेश्वरी देवी हुन् आमा
अपार छन् आमाको गरिमा गौरवगान  महिमा ।।

दस मास आमाको गर्भ गृहको सुषुप्त वास
जन्म पश्चात् अमृत समान पवित्र दुग्धपान ।
मातृवात्सल्य वाल भाषा महान प्रेमील ममता
अकथनीय अवर्णनिय आमाको अनुकम्पा ।।

संसार यहीँ ममताले त निरन्तर चलेको छ
आफ्ना सन्तानको हरेक प्रगति र खुसीमा ।
आमाको अन्तरह्रदय प्रेम गंगामा रमेको छ 
सन्तानलाई नजीक पाउँदा पुलकित बनिरहेछ ।।

जेठो सन्तानको माया रैछ झनै गहिराईमा
केही कर्तव्य जिम्मेवारीको भूमिकाको रूपमा ।
अध्ययन र वृत्तिले एउटा लामो कालखण्डमा
टाढा रहे पनि पुनः आएको छु आमाकै समिपमा ।।

केवल अठार बर्ष मात्रको अन्तराल  हामीमा
गौरव लाग्छ आमाको प्यारको पवित्र स्नेहमा ।
मात्र चौध बर्षको किशोरावस्थामा टेक्दा टेक्दै
बुबा गुमाउनुको अकल्पनीय असह्य  पिडा ।।

आमाकै शिक्षा र सत्प्रेरणाले बामे सर्न सिकायो
संघर्षरत विकटताको भरिपुर्ण जीवन पथमा ।
साठीको सङ्घारमा पाईला मैले टेक्दै गर्दा
आमा छोरा उमेरमा  उस्तै दिदीभाइ जस्ता ।।

जस्तैः सानो बालक छँदा असिम आनन्दथ्यो
आमाको बाहुली र प्रेममयी स्नेहील काखमा ।
बुढेसकालको सङ्घारमा पुनः फर्किएका छन्
उही वालापनका स्वभाव न्यानो आमाको काख ।।

धर्मशास्त्र नीतिशास्त्र ठूलो बर्णमालाको शिक्षा
कुनै शिक्षित गुरु ज्ञानभन्दा थिएनन् कच्चा ।
शिक्षा र दीक्षाको संमिश्रण जीवन जीउनेकला
सौभाग्य शाली भएर व्यतीत भैरहेछ जीवनचोला ।।

हजार जन्म आमा जन्मन पाउँ हजुरकै काखमा
फ़ेरि  बाबाको पनि साथ पाउँ अर्को जन्ममा ।।
परम पवित्र प्रेमको गंगा अमृत रसमाधुर्यमा
परम शान्ति अविरल आनन्द काखमा बगिरहेछ आमा ।।

कोहि छैनन् यश संसारमा आमा भन्दा ठूलो
कहिँ पाईदैन आमाको भन्दा न्यानो काख ।।
आमाको शिक्षा दीक्षा भन्दा कुनै छैनन् महान
आमानै संसारमा हुनुहुन्छ ईश्वरीय बरदान ।।

✍️ रचना मिति:
मिति: मंगलबार साउन १०, २०७९ शुभम् ।

श्री पाण्डवेश्वर महादेव मन्दिरमा आमासँग हामी 

७. आमाको रचना 

आमा भावना आचार्य अधिकारी

७.१ परिचय कविता

आमासँग हामी पाँच : दुई भाइ तीन बहिनीहरु 

मानपुर गाबिस घर हो मजगाउँ ।
अधिकारी थर हो भावना हो नाउँ ।।
रझेना आयौं हालै घुमेर ।
सतहत्तर बर्ष भो मेरो उमेर ।।
बोल्दैछु आज  कविता सुनाइ ।
नाउँ ठेगाना सबै बताई ।
चिन्नु हुनेछ भन्ने गर्छु आशा ।
लेख्छु  कविता हुँदैन निराशा ।।

देवीपाटनमा हामी आमा छोरा 

७.२ हे ! साथी म गाउँछु गीत.......

हे साथी ! म गाउँछु गीत
अंग्रेजी बोल्दैन म सीत ।

जहिले पनि रिसाकै छ
के गरिछु मैले ।।

अंग्रेजीको मुख पनि
देखिथिन पैले ।।

एवीसिडी बल्ला बल्ला
बोल्न भनी लाग्छन ।

अरु अक्षर मलाई देख्दा
सात कोष पर भाग्छन ।

हे साथी म गाउँछु गीत ....
अंग्रेजी  बोल्दैन मसीत ।।

आमाको रचना:
✍️ रचनाकार : आमा भावना अधिकारी (७७ बर्ष)
घोराही उपमहानगरपालिका वार्ड नं.१८ दाङ ।

आमाको साथमा श्रीमती र बुहारीसाथ म 

८. आमाका त्रिभुज कविता

देवीपाटन स्थित गौशालामा 

८.१ आफ्नो मन आफै बुझाउनु पर्दछ ।

देवीपाटन स्थित गौशालामा सासू बुहारी 

माया मोह गरेर धन जन महाँ आउँदैन ज्ञान्को मति ।
त्याग्नु पर्दछ माया र ममता जाँदैन केहि सति ।।
पाप र पुण्य मात्र हो सती जाने अरु झुठो ठान्दछु ।
बसमा पार्नु पर्दछ उदासी मन यो सत्य यहीँ मान्दछु ।।
आफ्नो मन आफै बुझाउनु पर्छ अरुले बुझाए झन पिर पर्छ ।।

हामी सानो छँदा मजगैं, दाङ 

८.२ छोराछोरीलाई उपदेश 

बत्ति कात्दै आमा महतारी 

हे ! छोराछोरी हो म भन्छु सबमा गर्नु सदा उन्नति ।

पाँचै औंला सरि मिलेर बस्नु झगडा नगर्नु रति ।।
झगडा गरेर केहि हुन्न सार बस्नु मिलेर सधैं बारम्बार ।
मनले सोंचेर धेरै काम गर्नु भोलि गरुँला भनी पछि नसर्नु ।।
जे गर्नु पर्नेछ आफ्नै मनले गर्नु अरुको भरमा कहिले नपर्नु ।
आफ्नै मनले गरेका काम मिल्छ अरुको भरमा परे धोका दिन्छ ।।

देवीपाटन मेला दर्शन २०८२ चैत्र 

८.३ आमाको महिमा 

सीता माताको रसोई घर अयोध्यामा आमा र श्रीमती 

आमा तिमी जन्मदिने मलाई ।
आमा तिमी प्रेम दिने मलाई ।।
आमा तिमी बोट म फुल तिम्रो ।
हो दाना तिम्रै जति जे छ मेरो ।।
हरदम बहाई कन प्रेम धारा ।
दिन्छेउ मलाई कतिको सहारा ।।
यति छ तिम्रो गुणको निमित्त ।
केहि कुरा छैन दिने मबाट ।।
खुशी र महिमा म सधैं दिनेछु ।
दु:ख र पिर म हटाई दिन्छु ।।
आमाको महिमा म लेख्दैछु ऎले ।
आमालाई सन्तोष लगाउने छु जहिले ।।
दु:ख र पिर दिने छैन कहिले ।।

रचना : आमा भावना अधिकारी
रचना मिति : शुक्रबार, जेठ ५, २०८० शुभम् ।

मेरी प्यारी आमा जन्मदिन बि.सं. २००२ असार १२

९. बा आमा

मेरा बा आमा २०३६ साप पुर्व 

जन्मदियौं बा आमा संसार देखाईदियौ ।
बालक कालमा बा गुमाई आमाको साथ पायौं ।।
संघर्ष दु:ख सुख झेल्दै, याहाँ सम्म आयौं ।
मुहार पुस्तक प्रयोग यन्त्र, सहायता लिएर यो ।
बा को दुर्लभ तस्बिर आमासँग
जोडि साथ साझा गरियो ।

मेरा बा आमा तस्बिर एनिमेसन 

✍️ वसन्तराज अधिकारी
घोराही, दाङ ।

१०. झझल्को जन्मस्थल तिरको

आमासँग तीर्थयात्री 

कतै टाढा टाढा को
बिकट यात्रावाट ।
फर्केको छु आफ्नै घर ।।

सुन्दर सुदुर अतितको
मीठो सम्झना जन्मस्थलको ।
तर शहरीकरण हिजोआज जस्तो  

घरहरू ठुल्ठुला छन्
गुल्जार बस्ती छ ।
पसलहरु र बस चल्दैछन् ।।

घोराही जाने भन्छु
काठमाडौं पनि सम्झन्छु ।
अतीत हो या वर्तमान ।।

कल्पना होईन मेरो यो
रमाइलो सपना थियो ।
झझल्को जन्मस्थल तिरको ।।

✍️ रचना मिति:
मिति : बुधबार जेष्ठ ४, २०७९ शुभम् ।

आमासँग भारत तीर्थयात्री 

११. आफ्नै जन्मभूमि

जन्मस्थल मजगैं मजगाउँ आमा र ठुली बहिनी बालिकासँग 

आफ्नै जन्मभूमि र जन्मदाता जननी सदैव छन् । १
परम पवित्र उच्च आदरणीय महान गरिमामयी ।। २
अभ्यन्तर ह्रदय भित्र जीवन्त इतिहास सजिएका । ३
वात्सल्यता स्नेहमयी महान आनन्द सुखदायीनी ।। ४
परम श्रध्देय पिताको पौरख जननी माताको रक्षा । ५
यहीँ भुमिमै भयो प्रारम्भिक र माध्यमिक शिक्षा ।। ६
बेला बखत निहुराई शिर अत्यन्त आस्थाका साथ । ७
स्वतस्फूर्त रुपमा आउँछु याहाँ पाउन आशिर्वाद ।। ८
आधा शताब्दीको इतिहास सम्झन्छु चलचित्र सरि । ९
झसङ्ग हुन्छु फ़ेरि वर्तमानमा आफुलाई पाउँदा खेरि ।। १०
समय कालक्रम कसरी अनवरत व्यतीत हुँदोरहेछ । ११
साँच्चै जीवन मृत्युका कालक्रम गति यहीँ नै रहेछ ।। १२
किसानको पौरख र पसिना खर्चने वर्षा ॠतुको पुर्व । १३
धर्तीको सुगन्ध मगमगाउँछ यहीँ भुतलमा छ स्वर्ग ।। १४
टाढा टाढा हुँदा  सम्झनाका तरेलीहरु आउँथे सपनामा । १५
सुन्दर आँखा वरिपरि अब त सजीव छन्  बिपनामा ।। १६
घुमियो देश परदेश अध्ययन वृत्ति राष्ट्रसेवा गर्दै रहि । १७
परन्तु स्वर्गभन्दा उच्च यहीँ रहिछन् आफ्नै जन्मभूमि ।। १८.

✍️ रचना मिति:
बिहीबार १६ असार २०७९ शुभम् ।

आमासँग श्री पाण्डवेश्वर धारापानी धाममा 

१२. मेरी आमा

आमा साथमा श्रीमतीजि

मेरो स्थुल शरिरमा हरबखत, सञ्चित रजको गरि । अमृत पान सरि दुग्धपानले, पोषित गरि तन भरी । दशमास गर्भमा समाहित लिई, जन्मायौं यश धर्तीमा ।२
यो ब्रह्माण्ड सृष्टिमा तिमी समान, क्वै छैन महान आमा२ ।।१।।

मातृवात्स्ल्य दया र करुणा, प्रेमामृत पिलाई दिनदिन ।
सन्तानकै वृद्धि सुखमा, तल्लीनता लिई क्षण क्षण ।। बाबुको बिजमा परिपुर्ण रजले, मानव बनायौं जब ।
पृथ्वी माताको आश्रय लिई, हुर्केर बढ्यौं अब२
।।२।।

लाखौं लाख स्नेह प्यार - ममता, मातृत्व सद्भावना ।
परमईश्वर र सर्वश्रेष्ठ तिमी नै, जन्मदायिनी आमा ।।
खोक्रो शब्दले मात्र कसरी म, बर्णन गर्न सक्छु र ?२ ।
साक्षात् जीवित देवी आमा, सृष्टि नै तिम्रो भर ।।२ ।।३।।

बाबुको जिम्मेवारी पनि हरतरहले, पूरा गरेकी थियौं ।।
शिक्षा दीक्षा र परिपुर्ण ज्ञान-गुणले, सम्पन्न गरि दियौं ।।
अभाव अपुर्णता दु:खमा पनि, सदैव कर्तव्य पूरा गरि ।२
एउटी महान आमाको तपस्या, पूरा गर्यौं हर घडी ।।२।।४।।

राष्ट्रसेवकको महान गरिमा, जिम्मेवारी लिई काँधमा ।
हजुरकै दिशा -निर्देशले म पनि छु, निजामती सेवामा ।।
देश र जनसेवामा एउटा, बिना बर्दीको सिपाही जस्तैः भइ२ ।
पूरा गर्नेछु सदैव कर्तव्य, हजुरकै शिक्षा र दीक्षा लिई ।।२ ।।५।।    
                          
📝 रचना मिति: २०७८ आषाढ १२ गते शनिबार आमा महतारीको ७५ औं शुभजन्मोत्सब, २०७८ शुभम् । 📒 स्थानीय र राष्ट्रियस्तरका पत्रपत्रिका र स्वयं My autobiography श्री वसन्तराज अधिकारी page वाट समेत Live कविता वाचन गरिएको ।

आमासँग श्री राम मन्दिर अयोध्यामा 

१३. स्मरण बाल्यकालको

गंगा आरती अयोध्या २०८२ चैत्र 

प्यारो हुन्छ मिठासको अनुभूती, ति जीवन्त वालापन ।
आमाबावुको सत्प्रेमरूपमा, मिठो मनोभावना ।।
भोकाए खान पाउने दुःख भए, विसाउने त्यो घर ।
अैले भो ति सव विस्मृति, भयो एक सुदुर अतित ।।१।।

सूक्ष्म खुशी एक अञ्जुली ह्रदयको, मिठासको स्पन्दन ।
सम्झन्छु नि झल्याँस अहिले, कहाँ गए ति दिन ?? ।।
ध्रुवे, पप्पु थिए ति साथी, गाउँका थारूहरू दौंतरी ।
त्यो सुन्दर स्मरण अब, कहाँ मजगाउँ गाउँसरी ?? ।।२।।

पत्रे वारी हापुर खोला पारी विचमा, रमाइलो गाउँ त्यो ।
काजीका घर वरीपरि रूखमा, छुतखेल्दै दिन वित्दथ्यो ।।
नशोक नसन्ताप नभोक क्यै, उमङ्गको स्वर्णिम वालापन ।
वितेथ्यो रसिलो मिठास, स्वच्छन्द स्वर्णिम त्यो जीवन ।।३।।

एक देखि तीनको साक्षोत्तर शिक्षा, दुधरास गाउँमा थियो ।
धर्म वैरागी, प्रताप र सरहरुको, प्रभाव दिगो रहि रह्यो ।।
गुच्चे साथीहरू छुल्याहा र फटाहा, बदमासका थे पोका ।
गल्ती उनी गर्ने सजाय म भोग्ने, थे ति दिनका पिडा ।।४।।

ती गल्ली गोरेटा पाखा र पखेरा, गाउँ र बस्ती सवै ।
आमूल परिवर्तन भैसक्यो नि, अहिले अवशेष क्यै छैन है ।।
थारू गाउँ विशाल थ्यो, पुर्नबास बुढान तिर स्वप्रवासिय  ।
अन्तमा काजीसापको जिमिन्दारी, पनि ईतिश्री भए ।।५।।

वालसखा दौतरीहरू छुटे, छुटे नि कति ति बसाई सरे ।
कति चिन्नै नसक्ने गरी, मानसपटलमा विस्मृत मै रहे ।।
राष्ट्रसेवकको बोकेर महान गरिमा, नेपाल घरै भयो । 
देश सेवामा हिड्नुरैछ कर्मगति, स्वघर बिस्मृत भयो ।।६।।

पाँच दशक पूर्वको सुदुर अतितको, मेरो त्यो वालापन ।
नथ्यो पक्की सडक नविद्युत सेवा, सादा ग्रामीण जीवन ।।
मजगैं गाउँ नजिकै सम्मको, हरियाली सुन्दर रानीवन ।
बर्षाले खेतीवालीको प्रचुरता, शान्ति थियो जीवन ।।७।।

बैदेशिक रोजगारीको लहर त्यो, भारत लाहुर पनि ।
घोडा राँगामा भारी कोईलावासको, बाटो गुल्जर बनि ।।
खाद्यान्न उत्पादनमा समृद्ध, त्यो सुन्दर वस्ती अहा ।
सीमेन्ट कारखानाले अहिले प्रदुषित, कहाँ प्राकृतता ।।८।।

इच्छा सीमित थ्यो थिएन धनको, प्रतिस्पर्धी जीवन ।
शिक्षा विकास न्यून थ्यो, थियो केवल सामन्ती शासन ।।
गाउँ पञ्चायतले न्याय ईन्साफ हेर्थे, पञ्चायती शासन ।
भयाँर चौधरी गाउँमा पुजिन्थ्यो, इच्छित मनोकामना ।।९।।

घरमा गाई भैसी अटुट दुहुना, खेती र किसानी थ्यो ।
भाइ बहिनी सँगका व्यतित ती दिन, ऎले त स्वप्ना भयो ।।
बहिनीहरू विवाहित भै घरवार, आफन्त बसाई सरे ।
राष्ट्रसेवकको जिम्मेवारीमा, म देश दर्शन गर्दै हिँडे ।।१०।।

टाढियो पैत्रिक पिता माताको, आर्जित अटुट बिरासत ।
आज केवल छ भौतिक सम्पत्ति, मात्र त हामीविच ।।
व्यतीत सुदुर अतितवीच अन्तराल, कालक्रमको मन्थन ।
सूक्ष्मैरितले ह्रदयको अभ्यान्तर, गरे सिंहावलोकन ।।११।।

रचनाकार : वसन्तराज अधिकारी 
( बाल्यकालको सम्झना वर्तमान सन्दर्भमा )
रचना मिति : २०७७ भदौं १३ शनिबार ।
जन्मस्थल : दाङ, मजगैं ।

तीर्थयात्री आमा र श्रीमती 

१४. मेरो जन्मस्थल र बासस्थान

मेरो ६२औं जन्मदिनको अवसरमा आमासँग आशीर्वाद लिंदै 

दाङ जिल्ला मानपुर गाउँपञ्चायत
मजगैं बजारमा ।
जन्मे म बुबा  बलदेव र  आमा
भावनाको कोषमा ।।१।।

दुई हजार एक्काईस साल
चैत्र मासको महिना ।
पाँच गते बृषपतिवारको  मध्यरात
बाह्रबजेको क्षणमा  ।।२।।

म बुझ्ने हुँदा मजगाउँको सिरानमा
हाम्रो थियो घर ।
चार पाखा भएको कच्ची घर
थियो  खर घाँसको भर  ।।३।।

सानो सानो बजार मजगैं थियो
सडक बाटो  तिर ।
हापुर खोला किनार  तल सम्म 
क्षत्री गाउँ उचाडाँडा शिर ।।४।।

गाउँको बीचमा ठकुरी शाह
काजीसापको थियो काजीघर ।
थारु  चौधरी गाउँ पुछारमा सुन्दर
थियो गाउँको तस्वीर ।।५।।
क्रमशः                                                                                      
रचना मिति : २०७३/०७/०५ शुक्रवार
दाङ घोराही ।

भाईटीकाको अवसरमा आमा र भाइको साथमा म

१५. आमाको कखरा शिक्षा : मुखाग्र शिक्षा स्मरण

आमा साथमा हामी र भाइको परिवार 

म सानो [करिव ५ बर्षको छँदा आजभन्दा साढे चार दशक पुर्व बि.सं.२०२५-०२६ सालतिर] हुँदा मेरी आमा श्रीमती भावना अधिकारीले मुखाखर (कण्ठ? कण्ठाग्र~जवर्जस्त, मुखाग्र= स्वेच्छिक) मामाघर हजुरबुबा (कोमानिधी आचार्यवाट श्रुतिस्मृतिको आधारमा सुनेको बि.सं. २०२८ सालभन्दा पुर्वको पुरानो शिक्षा प्रणालीको अ आ इ ई, कखरा सुनाउँछु ध्यान दिनुस् है त । यो पुरानो शिक्षा पढेको हैन, मैले नयाँ शिक्षा पढेको

श्रुति-स्मृतिका आधारमा मात्र :- अ आ इ ई ………

अ= अमला रुखमा हेर फलेको
आ=आँप उडायो आज गलेको
इ= इमिली अमिलो हुन्छ नखाउ
ई= ईश्वरको महिमा गुण गाउँ
उ=उल्लु हुँ हुँ गर्छ कराई
उ= उँखु मीठो लाग्छ मलाई
ॠ =ॠषिश्वर बनमा कुटी लगाई
लृ=लृ कौवाले लग्यो उडाई
ए= एक्कामा चढी जाउ डिल्ली
ऎ=ऎनामा मुख हेर्दछ बिल्ली
ओ=ओखलमा सबै कुट्द्छन धान
औ=औषधि बैद्य बनाउँदछन जान
अं= अम्बा अमृत तुल्य छ मीठो
अ: अ: यो केटो कति ढिटो ।।

कखरा है त क देखि ज्ञ सम्म

क=कमला रुखमा भमराले छायो ।
ख= खटिया माथी बस्यो खरायो ।
ग= गधा माथी धोवी चढेको ।
घ= घडी हेर लौं तीन बजेको ।
ङ=ङा ङा ङु ङु बच्चा गर्छ ।
च=चरो बारीमा चारो खोज्छ ।
छ= छडी हातमा गुरुजी लिन्छन् ।
ज= जहाज जंगल पारी जान्छन ।
झ=झण्डा फरफर गर्छ लौ हेर
ञा = ञा ञा बालक रुन्छ अधेर
ट=टपरी मा छ टमाटर खात
ठ=ठगले थैली लियो हात
ड=डमरु डमडम गर्छ हाम्रो
ढ=ढकना माथी फुल छ राम्रो
ण= णणाना बिणाना सुनदी सोर
त=तवला ताधिक जोर
थ= थलियामा हाली खाउ मिठाई
द=दहि बेच्दछन गुवालिनी आइ
ध=धनुकाण हान्दछन महावीर
न=नगरा ठोक्दछन अयोध्या वीर
प=पहलवानहरु कुर्लिन्छन
फ=फलपाके पछि भैमा झर्छन
ब=बाखरी बनमा दुबो चर्छ
भ=भण्टा खाई बैगुन गर्छ
म=मह मौरीले जम्मा गर्छ
य=यमपापीको सातो हर्छ।
र=रथमा राजा भएका राजा
ल=लडका लडकी खान्छन् खाजा
व=वकिल हिडेका अड्डा जान
श=शरिफा पाक्यो जान्छु म खान
ष=षट्कोण माथी सरस्वती बस्छिन
स=सहरमा झिलिमिली बत्ती बाल्छन
ह=हरिणीका ठुलो आँखा
क्ष=क्षत्री राक्षस बिघ्न चनाखा
त्र= त्राश देखाउँछन राक्षस हेर
ज्ञ =ज्ञानी बस्दछ जंगल नेर ।

#टिप्पणी : {मेरो निजी बिचार} अहिलेको आधुनिक मन्टेश्वरी र अझ हिजोआज MIDas eCLASS शिक्षा प्रणाली भन्दा के कम छ हाम्रो पुरानो शिक्षा प्रणाली ?? तर पुँजीपतिहरुको #ॠण र #अनुदानमा #आशामुखी हुने #आसेपासे राजनीति-कुटनीति-प्रशासनले अंग्रेजी शिक्षाको #अन्धानुकरण र जवर्जस्त लादने प्रभावले गर्दा अघिल्लो पुस्ताले र स्वयं हाम्रो पुस्ताले पनि यसलाई बचाउन तथा संरक्षण गर्न सकेनौं #अफशोच हाम्रो #पुर्खाले हामीलाई कहिल्यै #माफगर्नेछैन । अझै पनि चेत खुल्दैन, #अंग्रेजीशिक्षा कै #उग्रमोह छ ।

मेरा बा स्व. बलदेवप्रसाद अधिकारी र आमा भावना अधिकारी, मजगैं, मजगाउँ, दाङ, नेपाल ।

#संझनाकाआधारमा :- संकलन तथा सम्पादन : बसन्तराज अधिकारी घर : घोराही, दाङ @ कीर्तिपुर, काठमाडौंं, नेपाल अभिलेखिकरण तथा परिमार्जन मिति: २०७८\०३\१२ शनिबार ।

ब्लग राईटर : अधिवक्ता, वसन्तराज अधिकारी, पुर्व उपसचिव नेपाल सरकार 

Comments