६०८. श्रीराम जन्मभूमि अयोध्याधाम र देवीपाटन धार्मिक तीर्थयात्रा २०८२

श्रीराम जन्मभूमि अयोध्याधाम र देवीपाटन धार्मिक तीर्थयात्रा २०८२

अयोध्याधाममा श्रीराम मन्दिर दर्शन पश्चात् 

अयोध्या,मथुरा, माया, काशी, काञ्ची,अवन्तिका ।
पुरी द्वारावतिश्चैव सप्तैते मोक्षदायका ।।

आदरणीय आमा र प्रिय श्रिमतिजिसँग तीर्थयात्री 🙏

१. सप्तपुरी मोक्षदायिनी अयोध्याधाम यात्राको उद्देश्य, प्रस्थान र प्रवेशद्वार:

सरयु गंगा आरती  मर्यादा पुरुषोत्तम श्रीराम जन्मभूमि, अयोध्याधाममा मेरो ६२औं शुभजन्मोत्सव २०८२ आदरणीय मेरो जन्मदायिनी ममतामयी ८० बर्षीय आमा भावना अधिकारी र प्रियतम जीवनसाथी श्रिमतिजि यशोदा सुवेदी अधिकारीसँग दाङ, घोराही देखि प्रस्थान गर्यौं । हाम्रो धार्मिक तीर्थयात्राको प्रारम्भ घोराही, पनौंरावाट बसमा लमहीसम्म आई लमहीवाट अटोमा गढ्वासम्म र गढवावाट बिहान ८:३० मा कोईलाबास सम्म आयौं । कोईलावास जाँदा वाटोमा लमही ५ कोईलाबासरोड, लमही नगरपालिका वार्ड नं. ४ सेमरहवा, गढवा गापा अन्तर्गत  ठुली चौर - जमुनीवास, कक्रहवा (कक्रवा), बबईपुल, मौरीया बनक्षेत्र हुँदै पक्की सडकमा रमाइलो बस यात्रामा नेपाल भारत सीमा "बोर्डर" पार गर्दै मित्र राष्ट्र भारत भूमि आउँदाको रमणीय स्थानहरू अवलोकन गर्दै भारत तुलसीपुर बलरामपुर चौराहासम्म आईपुग्यौं । 

२. यात्रा क्रममा झलक्क देखिएका गाम, ठाम र शहर नाम नामेसी:

हामी तीर्थयात्री : बिदाई गर्दै प्रिय पुत्रबधु सुप्रिया ❤️

मुलतः तुलसीपुर - बलरामपुर चोकवाट प्रत्यक्ष अवलोकन गरिएका स्थानहरु सूचीकरण गर्दा लौकहवा - कौवापुर मोड, रमईडिहा, खरिया, गांगनार, भचकवा, स्थायी बौद्ध मन्दिर, भगवतीगंज रोड, बहादुरपुर, दुल्हनपुर, अचलनगर, गांधी चबुतरा, भवानियापुर, देवतहा, लक्ष्मणपुर, लालबगर, कर्नेलगंज, महाराजगन्ज, जनकाराग्राम, झबही, जोनब्राही, कठौडवा, चाँदपुर, जमनाही - दुबे, कलेना, बेलवा, करमडिह, बगाही, करुवापारा, इटिहाथोक, खरगपुर, पृथ्वीनाथ मन्दिर, नायगर, नयगाँव, पगडी, यमदेपुखा, बकसोखा, तेलियानी, बाबकपुखा, पण्डरीकृपाला, इन्द्रापुर, सुभरापुर,जयनगर, नाथनगर हुँदै गोण्डा शहरमा आईपुग्यौ । गोण्डा बजारको पुर्वोत्तर रेलवे स्टेशनवाट अगाडि बढी स्टेशन रोड गोण्डा सडक हुँदै झुलेतल चौराहा पुलिसचौकी, मिश्रौलिया थाना, गोण्डा, बहराईच रोड, जानकी नगर कोल्ड स्टोर, अचलपुर, टिकीया, अशोकपुर, बालेश्वरगन्ज, भसमपुर, वजीरगंज थाना, वजिरगंज जनपद गोण्डा, हारीपुर, नबाबगंज, बैष्णोमाता मन्दिर, भौरोनाथ मन्दिर, चाँदनीनगर, बालापुर, लक्ष्मीनारायण मन्दिर, छपिया हुँदै साझ करिब ४:०० बजेतिर अयोध्याधाम बाईपास रोडमा ओल्हीयौं ।

३. सरयु गंगा नित्य महाआरती (शुक्रबार ५ चैत्र २०८२ शुभम्)

नित्य गंगाआरतीमा आदरणीय आमा र मित्र श्री कृष्णमुरारी भट्टजिसँग हामी 🙏🙏

त्यहाँवाट अटो लिएर बिरला धर्मशाला पुग्ने सोंच भएकोमा त्यस धर्मशालामा अग्रिम बुकिङ्ग हुने र त्यस भन्दा रियायती दरमा  सेवा सुविधा होमस्टेमा पनि पाउने अटोवालाको सल्लाह मुताबिक अन्ततः दिगम्बर जैन मन्दिर, चौराहा, रायगन्जमा कुमार भवनमा आफै कोठा व्यवस्था गरेउ । कोठामा झोला व्याग राखी हात मुख धोई फ्रेस भै एकक्षण थकाई मेटेर साझ ६:३० देखि ७:०० बजेसम्म सन्ध्या नित्य सरयुगंगा घाटमा आरतीमा प्रत्यक्ष अवलोकनमा सहभागी हुन पुग्यौं ।

संयोगबस बार पनि ठ्याक्कै मिलेको बिहीबार चैत्र ५, २०८२ मेरो ६२ औं शुभ जन्मोत्सवको दिनमा आदरणीय आमा र श्रिमतिजिसँग सरयुघाटको बगरमा त्यहाँ पाईने पन्नी ओछ्यानमा बसेर सरयुघाट गंगा किनारवाट आरामले सन्ध्या गंगा आरति दर्शन गर्दै गर्दा पुर्व चिरपरिचीत मित्र पुर्व शिक्षक, मानवाधिकारकर्मी, धार्मिक अभियन्ता तथा समाजसेवी व्यक्तित्व श्रीकृष्ण मुरारी प्रसाद भट्टसरसँग एक्कासी भेट भएर हालखबर सोधपुछ पश्चात् तस्बिर पनि लियौं । श्री साम्बसदा शिव, श्रीराम, सरयुगंगाको नामोच्चारण र भक्तिमय संगीतका साथ रमणीय वातावरणमा नित्य गंगाआरती अवलोकन गरेउ । यश अघि १.पशुपतिनाथ मन्दिर, वाग्मती किनारमा, २.दाङ, घोराही स्थित अम्बिकेश्वरी भगवती मन्दिर, ३.पाण्डवेश्वर धारापानी,४.श्रिङ्गारिक आरती शिव पार्वती तथा राधाकृष्ण मन्दिर, गुलरिया र  ५.हरिद्वार गंगा आरती अवलोकन गर्न पुगेका थियौं र अब त्यसै शृङ्खलाबद्ध रूपमा ६. पवित्र पावन भूमि स्वर्गद्वारी, प्युठान श्रिङ्गारिक आरती, ७. अयोध्या सरयु गंगा नित्य आरती थप हुन पुग्यो । आरती अवलोकन गरि सकि राति अटो रिक्साको सहयोगमा राती ८:०० बजेतिर निवास होमस्टेमा आईपुग्यौ ।

श्री दिगम्बर जैन मन्दिर चौराहा रायगन्ज कुमारभवन, होमस्टे अयोध्या जहाँ हामी दुई दिन बसेउ ।

४. सरयु गंगा स्नान, नागेश्वरनाथ बाबा दर्शन :

ॐकारं विन्दु संयुक्तं नित्यं ध्यायन्ती योगिन ।
कामदं मोक्षदं चैव ॐ काराय नमो नम: ।।

श्री नागेश्वरनाथ बाबा दर्शन: ॐ नम: शिवाय 

शुक्रबार बिहानै उठेर शौच निच र स्नान सकाई अटोमा सरयु गंगा घाटमा गै स्नान सन्ध्या बन्दना जप ध्यान सुर्य नारायणलाई अर्घ र पितृहरुलाई तर्पण दिई  लामबद्धरुपमा बाबा श्री नागेश्वरनाथ महादेवलाई जलधारा गरि तहाँवाट अटो चढेर आमा र श्रीमतीसँग संकट मोचन श्रीहनुमान दर्शनका लागि रामदुत श्री हनुमान गढी अग्लो उच्च स्थान तर्फ गयौं  ।

५.  श्री हनुमान गढी दर्शन :

जय हनुमान ज्ञान गुण सागर ।
जय कपिशा तिहुँ लोक उजागर ।।
राम दुत अतुलित बलधामा ।
अञ्जनीपुत्र पवनसुत नामा ।।
                          ✍️ हनुमान चालिसावाट साभार

श्रीराम दुत अष्टचिरञ्जीवी श्री हनुमानगढीमा हामी 🕉️

एउटा प्रसिद्ध मान्यता के रहेको छ भने काशी विश्वनाथ बाबाको मन्दिर दर्शन गर्नुभन्दा पहिला कालभैरवलाई सूचना गरेर मात्र काशी विश्वनाथ बाबाधाममा दर्शन गर्दा मात्र अत्युत्तम फ़ल प्राप्त हुन्छ त्यस्तै गरि अयोध्यामा श्रीरामको दर्शन गर्नु पुर्व भक्त शिरोमणि अष्टचिरञ्जीवी मध्येका एक अष्टसिद्धी नवनिधिका दाता श्रीरामका परम सेवक श्री हनुमानजिको दर्शन गरेर मात्र श्रीरामको दर्शन गरेको फ़ल मिल्ने र सार्थक हुने भएकाले अग्लो सिंढीमा लामो लामवद्धरुपमा मैले सम्पुर्ण हनुमान चालिसा सस्वर गायन गर्दै जय श्रीरामको भारतीय श्रद्धालु भक्तजनको  सारस्वरमा स्वर मिलाउँदै श्री हनुमान गढीमा पुगी बजरंग बलि श्री हनुमानजिको दर्शन गरेउ । ८० बर्ष पुगेकी आमा पनि हनुमानको भक्ति र शक्तिले गर्दा  अथक रुपमा हामीसँगै दर्शन गर्नुभो । हुनत आमा सरहका जेष्ठ नागरिक भारतीयहरु धेरै नै थिए ।

६. प्रवेशद्वार सुग्रीव भवन, स्वर्णद्वार युक्त श्रीराम मन्दिर दर्शन:

रामो राजमणि सदा विजयेते रामं रमे संभजे ।
रामो नाभियता चराचरचरं रामाय तस्मै नम: ।।
रामो नास्ति परायणं परतरं रामस्य दासश्यSहं ।
रामे चित्तलयं सदा भवते मे भो राम मामुद्धरम् ।।
                      ✍️ रामरक्षास्तोत्रवाट साभार

श्रीराम मन्दिर, अयोध्याधाममा हामी 👩‍❤️‍👨

भव्य विशाल आकारमा अत्यन्त चित्तआकर्षक कला कौशलले भरिपुर्ण राजा रामचन्द्रजिको मन्दिरमा प्रवेश गर्दै गर्दा मित्र राष्ट्र जनगणतन्त्र चीनको आधुनिक निर्माता माओत्सेतुङ र हराएका शासक राजदरबार संग्रहालय (Forbidden City Palace) को स्थलगत भ्रमण सन् 2019 मा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरू सँगको टोलीले भ्रमण गर्दाको स्मरण भयो । त्रेता युगमा भएका मर्यादा पुरुषोत्तम राजा श्रीरामको  मुल मन्दिरमा  कडा सुरक्षाजाँच मोबाईल, क्यामेरा, झोला सम्पुर्ण सामग्री प्रवेशद्वारमा निशुल्करुपमा लकरमा राखी लामबद्ध रुपमा मैले श्रीराम रक्षा स्तोत्र पाठ गरिरहँदा "राम रमेती रामेति रमे रामे मनोरमे सहस्र नाम तंतुल्यं राम नाम बरानने ।। मन्त्रहरुका सस्वर वाचन गर्दा अरु भारतीय तीर्थयात्रीहरुले बडो श्रद्धा सम्मानका साथ ममाथि दृष्टि लगाई रहँदा खुशी लाग्थ्यो । बडो उल्लास र आनन्दका साथ राम मन्दिर दर्शन गरेर निकासद्वारवाट प्रसाद ग्रहण गरि बाहिर आई पुनः झोला, व्याग र मोबाईल फिर्ता ल्यायौ ।

७. माता सीताको रसोई घरको प्रसाद ग्रहण गरि दान प्रदान श्री दशरथ महल दर्शन:

माता सीता रसोई भण्डारा, अयोध्याधाम 👍️

माता सीताको रसोई घर अर्थात् भान्सा घरमा लामबद्धरुपमा प्रसाद दुनामा खिचडी र फ्रुटी लियौं । आमाले प्रसाद लिनुभएन, दानपेटिकामा गोप्यदान प्रदान गर्नु भयो । त्यस पश्चात् तस्बिर लिएर दर्शनार्थी तिर्थयात्रीसँग "राम नाम कहे दुनियाँने दशरथ कहे ना कोहि । जो दशरथ जपे उसका कोटि जनमका पाप मुक्त होई ।।"  दशरथ महल दर्शन गरि आयौं । यश पछि खुला रामबजारमा श्रीराम अंकित भेस्ट, व्याग, औँठी समेत आफैलाई र आफन्तहरूलाई सामान्य किनमेल गरि पुनः होमस्टेमा फर्केर आयौं ।

सीता रसोई घरमा दान पश्चात् आमासँग 🚾

८. सन्ध्याकालिन समयमा  नये घाट, तुलसीदास घाट समेतको दर्शन:

सन्त तुलसीदास घाटमा हामी 👍️

बेलुका तिर पुनः नौका बिहार गर्ने उद्देश्यले लतामंगेशकर चोक हुँदै नये घाट, समेत घुमियो तथापि मौसमको प्रतिकुलताले गर्दा डुङ्गा चढ्ने अर्थात नौका शयरको इच्छा पूरा गर्न भने सकिएन । चैत्र नवरात्र्को प्रारम्भले गर्दा सडक भने बाक्लै रूपमा रथ र भक्तहरूको सघन उपस्थितिले गर्दा सहज थिएन । यहाँ सामान्य झुम्का घण्टी किनेर फर्केर आयौं । यसरी अब मोटामोटीरूपमा श्रीराम जन्मभूमि अयोध्याको दर्शन पश्चात् अब पुनः सरासर देवी पाटन वा पाटेश्वरी भगवती दर्शन गर्न जाने योजना बन्यो ।

अयोध्याधाममा घुमफिर गर्दै हामी 😀

९. देवीपाटन भगवती मन्दिर, दर्शन:

या:देवी सर्वभुतेषु शक्तिरुपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम: ।।
या: देवी सर्वभुतेषु लक्ष्मीरुपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम: ।।
या: देवी सर्वभुतेषु बिद्या रुपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम: ।।
                          ✍️ सप्तशति चण्डी मन्त्र

देवी पाटन भगवती मन्दिर परिषरमा हामी 🙏

श्रीराम जन्मभूमि अयोध्यावाट बिहानै ७:०० बजे उठेर पुर्ववतरुपमा बाईरोडबाट बसमा गोण्डा-बलरामपुर र तुलसीपुर हुँदै अपरान्ह करिब दुई बजेतिर देवीपाटन वा पाटेश्वरी देवी मन्दिर दर्शन गर्दै गर्दा मुलमन्दिर भगवती देवी, नवदुर्गा भगवती, शिव, स्कन्दकुमार कार्तिकेय, श्रीगणेश व्यवस्थित परिक्रमा स्थल, नरनारीहरुको अपार निरन्तर आगमन, चैत्र नवरात्रको तेस्रो दिनको अपार महत्त्व, सुर्यकुण्ड र यसका वरिपरि सम्पुर्ण देवदेवीहरुको चित्रकारिता, गौशाला दर्शन, नौका (डुङ्गा) बिहार, सुरक्षा गण व्यवस्थापन, बजार व्यवस्थापन समेत अत्यन्तै आकर्षक र राम्रोसँग भएको देखियो । रातभर अखण्ड रामायण  कथा र कीर्तनको तुमुल ध्वनीका साथ रातमा अत्यन्तै आनन्ददायी रह्यो ।

देवी पाटनमा घुमफिर गर्दै हामी 🚾

१०. यात्री निवासमा बसाईको विशिष्टता:

यात्री निवासमा आदरणीय आमा र श्रिमतिजि 👩‍❤️‍👨

अन्त्यमा अत्यन्तै आकर्षक र सुविधा सहितको यात्रु निवासमा चारवटा बेडसहितको ठूलो कोठा एटेच  टोएलेट बाथरुम सहितको कोठा केहि महङ्गो भएपनि प्राप्त भयो र दा रोटी खाई सम्पुर्ण घुमिवरी आजको बास यहि बसि भोलि बिहानै लालचौराह - कोईलाबास हुँदै  चार दिवसीय रमणीय सुखद  धार्मिक यात्रालाई विश्राम दिदै घर दाङ तर्फ प्रस्थान गर्ने योजना बन्यो । फ़ेरि यस्तै धार्मिक यात्रा वर्णन शिघ्र गर्न पाईने अपेक्षाका साथ यश सुखद यात्रा बर्णन बाट बीट मार्ने अनुमति चाहान्छु ।
अम्बिके जगदम्बिका देवी भगवती माताले सदा सर्वदा कल्याण गर्नुहोस् । हवस् त धन्यवाद । 🙏

देवी पाटन स्थित सुर्यकुण्डमा शिवशक्तिसँग हामी ❤️❤️

धार्मिक यात्रामा सहभागीहरु महानुभावहरु

१.  आदरणीय आमा भावना अधिकारी
२. म वसन्तराज अधिकारी र
३. श्रीमतिजि एशोदा सुवेदी अधिकारी

अयोध्याधाममा स्मरणयोग्य "चाय पाणि"

देवीपाटन शक्ति पीठ, तुलसीपुर, बलरामपुर, उत्तरप्रदेश भारत
शनिबार ७ चैत्र २०८२ शुभम् ।

Comments