५९०. देवत्व र ॠषित्व छन् यहि मानव जीवन भित्रमै ।

देवत्व र ॠषित्व छन् यहि मानव जीवन भित्रमै ।


✍️ वसन्तराज अधिकारी 


✍️ वसन्तराज अधिकारी
घोराही, दाङ, नेपाल


सङ्कल्प छ के विकल्प फ़ेरि
हुँ म एक बहिरङ्ग यात्री ।
मौनता भित्र खोज्दैछु मृदुभाषा
शाश्वत पवित्र अमृत सरि ।।१।।

सुखमा सबै आफन्त बन्छन्
हाँसो खुशी साथमा हुँदा ।
ईश्वर मात्र एक सहाय बन्छन्
दुख निरीह भै एक्लिदा ।।२।।

लगानी कति प्रतिफल भो कति
एउटा जीवन रैछ खेती ।
स्वार्थको भुमरीमा अल्झनु सधैं
दम्भी मदान्ध मतलवी ।।३।।

जन्म र मृत्यु विचमा रहेको 
जीवन एउटा चौतारी ।
अल्झिरहेछ काम वासनाको
बीच फँसेर भौंतारी ।।४।।

द्रुतगतिमा सँगसँगै गतिमान बनि
आउँदैछ उत्तरार्ध जीवनी ।
लोभ मोह तृष्णा न्यून हुँदै जाँदा
घटदोक्रम मायाजाल पनि ।।५।।

सम्झना तिव्र आउँछन् भोगका
रंगीन व्यतीत प्रति पल ।
स्वप्ना सरि भइ व्यतीत भए नि
विस्मृतिका स्वर्णिम झलक ।।६।।

सुखको खोजी एक मृगतृष्णा
दु:ख एक नवीन सिर्जना ।
सम्झेर ल्याउँदा नश्वर संसार
फगत शुन्य परिकल्पना ।।७।।

अज्ञात पुर्व जन्म के थियो फ़ेरि
पुर्नजन्म फ़ेरि हुने के हो ? ।
अल्झिरहेछ अटुट गोलचक्करमा
तसर्थ अन्ततः शुन्य नै रह्यो ।।८।।

धर्म रैछ साथ जाने पाप भोग्नुपर्ने
नश्वर शरीर मर्ने आत्मा कहिल्यै नमर्ने ।।
आफै भित्र छ स्वर्ग नर्क पनि यहि छ
स्थुल शरिरमै तीन त्रिलोक ब्रह्माण्ड ।।९।।

संयमित अनुशासित जीवन शैली
सदाव्रत पवित्रता धारण गरे ।
सहज ॠषित्व मिल्दछ यहि पनि
परोपकारी पुण्यात्मा भै दिए ।।१०।।

भौतिक सुख सम्पन्नता सौभाग्यले
मनोवाञ्छित पुर्ण हुँदा सब ।
प्रवृत्तकन भै देवत्व मिल्दछ फ़ेरि
जीवन सुख ऎश्वर्य आत्मगौरव ।।११।।

परपिडक पापकर्म भ्रष्ट आर्जित कमाई ।
आततायी दुर्नाम मै बाँच्ने नित्य रमाई ।।
दानवता स्वभाव भै त्यहीँ बन्छ राक्षस ।
यहीँ जीवनमा हुन्छ नानाथरी सब ।।१२।।

धर्मशास्त्र प्रमाणहरु लेखिएछन्
सदाचार आचरण बन्धन ।
चिन्नुपर्छ स्वजाग्रत चेष्टा गरि
नित्य निरन्तर प्रतिदिन ।।१३।।

सुक्ष्म ब्रह्माण्डरुपि स्थुल
अनित्य भौतिक शरीर ।
ॠषित्व देवत्व र दानवत्व
अन्तर्निहित शरीर भित्र ।।१४।।

📝 वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका वार्ड नं.१७ पनौंरा, दाङ, नेपाल
रविवार ११ फागुन २०८१ शुभम् ।

Comments