जाडोको मस्त जवानी बढ्दै छ ।।
Me वसन्तराज अधिकारी घोराही, दाङ |
हेमन्त ॠतुको पुनः आगमन सँगै ।
जाडोको मस्त जवानी बढ्दै छ ।।
अब तातो न्यानो खाना र नाना ।
अनिवार्य हुन्छ बास बिछ्यौना ।।
हिमालमा हिमशिला जम्नु र ।
पहाड पनि जाडो सँगै चिसिनु ।।
जल जन्तु जमीन सबै चिसोले ।
स्वयं भित्र बन्द भए जस्तो ।।
लामखुट्टे किरा आदिको न्यूनता ।
पुनः जाडोको मस्त जवानी बढ्दै छ ।।
एक अञ्जुली घामको न्यानोमा ।
शरीर पनि तातेर उर्जा पाउँछ ।।
खानाको रुचि बढ्छ निद्रा पुग्छ ।
तसर्थ, मलाई जाडो मन पर्छ ।।
हुस्सु ढुँडीले ढाक्दछ दोपहरसम्म ।
हाम्रो भित्री मधेस दाङ उपत्यकामा ।।
जाडो चिसो समय भएपनि अन्ततः ।
सक्रिय क्रियाशीलता भने बढ्दैछ ।।
विद्यार्थी र कामकाजी मानिसहरू र ।
योगमा हिडेका भेटिन्छन् बाटा भरि ।।
मंसिर पुस र माघ मुख्यत यी तीन मैना ।
पुनः जाडोको मस्त जवानी बढ्दैछ ।।
भनिन्छ ! बलिया बाङ्गाहरु बाघलाई ।
कमजोर रोगी बुढा बुढी माघलाई ।।
रुई, दुई कि फुई ख्याल् राखौं अब है ।
जाडोको मस्त जवानी बढ्दै छ ।।
✍️ वसन्तराज अधिकारी
घोराही, दाङ
मिति : बुधबार, मंसिर १३, २०८० शुभम् ।
Comments
Post a Comment