५६४. बर्षौ बर्ष सम्म घरवाट टाढा भएको एउटा पथिक ।

बर्षौ बर्ष सम्म घरवाट टाढा भएको एउटा पथिक ।     

✍️ वसन्तराज अधिकारी
घोराही, दाङ, नेपाल 

आफुले नखाँदा सम्म साह्रै नै लोभ लाग्ने ।
अर्काले खाएको देख्दा मोज मस्ति ठान्ने ।।
योग्यता सक्षमता धानीखान मुस्किल हुने ।
पहिला जा फ़ेरि गिर रैछ सरकारी जागीर ।।
                        ।।१।।
जब पुराना पातहरु क्रमशः झर्दै जान्छन् ।
बन उपवनमा नयाँ पालुवाहरु पलाउँछन् ।।
यहीँ नै रैछ शाश्वत नियम सृष्टि प्रकृतिको ।
मानव जीवनमा पनि यै नियम लागू हुन्छन् ।।
                        ।। २।।
संघर्ष-दु:ख र सन्तोष-सुख हुने रैछ जागीरको ।
वृत्ति निरन्तरताको बन्धन क्रमभंग भएपछि ।।
तालुखुईले टाउको लाई फ़ेरि किन चाहियो ? ।
जुल्फि लरक्क पार्ने  कपाल कोर्ने काँगियो ।।
                     ।।३।।
अब्बल योग्यता क्षमता अनुभव थन्के ।
सुपरिवेक्षक सहकर्मी सहयोगी छुटे ।।
स्वतन्त्र भै तनाव रहित जीवनयापन ।
अन्ततः  निवृत्त योगको रसमा डुबें ।।
                    ।।४।।
हिजोको याद जस्तैः झझल्को लाग्छ हजुर  ।
योग्यता प्रणाली प्रशासकीय  जागीर खाको ।।
पुर्णतः  दुई बर्ष पनि व्यतीत भैसक्यो अब ।
अनिवार्य अवकाशप्राप्त भै निवृत्त भाको  ।।
                     ।।५।।
पेन्सनको दुई छाक छ त  सरकारकै आश  ।
आफ्नै थात थलोमा बास र कपास मिलाईयो  ।।
घर छोडेको पनि चारदशक अन्तराल पछि  ।
सौभाग्य मिल्यो घरव्यवहार बाँकी सबै परिपाटी ।।
                        ।।६।।
सन्तानको दाम्पत्य वैवाहिक बन्धन बाँधिदिई ।
जो आफ्नो कर्तव्य धर्म पनि पूरा गर्नु थियो ।।
जिम्मेवारी उत्तर दायित्व सम्पन्न पश्चात् भै छुट्टी ।
अब त सुखान्त दिन कर्म बन्धन वाट मुक्ति  ।।
                         ।।७।।
सुयोग्य सन्तति बाबुको पदचाँप पछ्याउँदै ।
सरकारी निजामती सेवामा लागेका छन् ।।
उन्नति प्रगतिका शिखर चढ्दै अगाडि बढुन् ।
शुभाआशिर्वाद बाबुआमाको सपना पूरा गरुन्  ।।
                       ।।८।।
तृष्णा जिन्दगीमा नमेटिने पानीको तिर्खा जस्तैः ।
सुख भोगको असीमित चाहना अतृप्ति वासना ।।
न्यून गर्दै घटाउँदै जानुपर्छ यो नश्वर जीवनमा ।
ईश्वरत्व सुख प्राप्तिको  अध्यात्मिक मुक्ति मार्ग ।।
                         ।।९।।
कहिल्यै नाश नहुने अमृत अविनाशी शिव तत्व ।
जीवनमा परमात्मा यहि नै त हो एक उत्तम सत्व ।।
घर फर्किएपछि प्राप्त अगणित सुख आनन्द चित्त ।
बर्षौ बर्ष सम्म घरबाट टाढा भएको एउटा पथिक ।।
                           ।।१०।।

✍️ वसन्तराज अधिकारी
हाल : घोराही उपमहानगरपालिका १७ पनौंरा, दाङ
सोमबार, भदौ २५, २०८० शुभम् ।

Comments