५३७. छोराको जन्मदिनको शुभ अवसरमा हार्दिक शुभकामना सहित शुभकामना कविता

छोराको जन्मदिनको शुभ अवसरमा हार्दिक शुभकामना सहित शुभकामना  कविता

बाबु ! भाग्य अजमाउन पुरुषार्थी बन्नुपर्छ ।

❤️ छोरा विशेष अधिकारी ❤️

मेरो प्यारो छोरा विशेष
म किशोरावस्थामै अनाथ भए ।
चौध बर्ष पुग्दा नपुग्दै
अनायास बुबा गुमाए ।।
तिमी त खुसी  सुखी र
भाग्यमानी भएका छौ ।
यद्यपि जन्मदाता बुबाको
संरक्षकत्व पाएका छौ ।।
                         ।।१।।
मेरा आफ्ना अनुभव संघर्षका
जबर्जस्त कथा छन् ।
तिम्लाई ति केवल तिलस्मी
जस्ता लाग्न सक्छन् ।।
तिम्लाई मैले मेरो बलिस्ठ काँधमा
टेको सहारा दिएको छु ।
त्यसैले त अगाडि बढने सत्साहस र
चुनौती दिईरहन्छु ।।
                           ।।२।।
स्वकर्तव्य घर व्यबहार समाज र
स्वधर्म र जिम्मेवारी के हो ? ।
धेरै अनुभव भुक्तमान भोगाइ
धेरै अनुभव छन् म सँग पनि ।।
जति सक्यो शिघ्र आफ्नो उद्देश्य
स्पष्टरूपमा बुझ्न सक्नुपर्छ ।
तब मात्र जीन्दगानी सफ़ल सुख
शान्ति र समृद्ध बन्ने छ ।।
                            ।।३।।
मैले बालक काल अवस्था थाहै नपाई
कति छिटै युवावस्था पाए ।
जवानीको रसरंग भोग्दा नभोग्दै
अविलम्ब फ़ेरि प्रौढ  भए ।।
प्रौढाअवस्था आउँदा खेरि ।
बृद्धअबश्थाले ल्यायो घेरि ।
अब त एक चक्र पूरा भै सक्यो
आहा! फ़ेरि अवश्य युवा बन्नेछु ।।
                            ।।४।।
गतिशील अनित्य जीवन चक्रको
बदलिँदो स्वरूप क्रमभंग अवस्था ।
तिम्ले पनि निस्संदेह बुझ्नै पर्ने हुन्छ ।।
सुखान्त प्रारब्ध र अभिभावकको आधार ।
पुरुषार्थ र भाग्य आफैले लेख्नुपर्ने छ ।।
यहीँ हो जन्मदिनको शुभकामना कविता ।
"बुझे श्रीखण्ड नबुझे खुर्पाको बीड ।।"
                               ।।५।।
सोंचे जस्तो सहज हुन्न रैछ जीवन ।
नसोचेको पनि त केहि हुँदैन फ़ेरि ।।
सोंचलाई व्यबहारमा कसी लगाई ।
मेहनत परिश्रमले सिंच्न सक्नुपर्छ ।।
थकावट हुनु हुँदैन कहिल्यै पनि ।
मुटुको धड्कन कहिल्यै रोकिएको छ र !।।
दिनमा सुर्य रातमा चन्द्रमा पृथ्वी आदिले ।
कहिले विश्राम गरेको देखेका छौ र !!।।
                                  ।।६।।
सानो शिशुअवस्थामा शिरमा राखेर अग्लाए ।
किशोरावस्था सम्म पनि काँधमा टेको दिए ।।
अब म क्रमशः आफै टेकोको सहारामा जाँदैछु ।
यो दृष्टान्त हो सबैको जीवनमा अवश्यम्भावी हुने ।।
मैले जीवनमा गरेको दु:खको आधा मात्र पनि ।
मेहनत गर्दा मात्र पनि तिमी मभन्दा अघि बढछौं ।।
यही कुरा तिमीमा पाउन म आतुर छु प्यारो छोरा ।।
                                   ।।७।।
सत्य कुरा भन्छु छोरा तिमीलाई ।
अब त परिपक्व बुझ्ने भएका छौ ।
तर पनि स्पष्ट भन्नू पर्दा अझै तिम्रो
अपरिपक्वता देख्दा हैरान हुन्छु ।।
हरेक बिषयबस्तुमा गहन दृष्टि राखी ।
सुझ बुझ सहित मेहनतले काम फत्ते गर्नुपर्छ ।।
आफै नगरी त कहाँ कहिले के हुन्छ र ! ।
कोदो रोपेर धान कहिले कतै फ़लेको छ र ! ।।
                                    ।।८।।
अनुभवका लागि मात्र गर्ने हैन नि काम ।
आफ्नो सारभुत अनुभवले अरुले सिकुन ।।
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन ।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि।।
कर्ममा सदैव उदाहरणीय बन्न सक्नु पर्दछ ।
उम्दा सत्साहसी सुपुत्र बन्नुपर्छ छोरा तिमी ।।
                                     ।।९।।
उमेरले अब साठीको ढिकमा पुगेको बाबुको ।
साहस उर्जा र शुभाशिर्वाद सबै छ तिम्लाई ।।
स्वदेशकै लागि आफ्नो बुद्धि विवेक खर्चर्नु ।
विदेशी गुलाम अर्काको दास कहिल्यै नबनेर ।।
आफ्नो माटोको माया नेपाल आमाको सेवामा ।
प्रारब्ध बलियो भएर मात्र पनि त हुँदैन फ़ेरि ।।
सर्वप्रथम आफैले आफैलाई चिन्न सक्नुपर्छ ।
बाबू ! भाग्य अजमाउन पुरुषार्थी बन्नुपर्छ ।।
                                     ।।१०।।

✍️ वसन्तराज अधिकारी
घोराही, दाङ
मिति : २३ जेठ २०८० शुभम् ।


Comments