५४१. उर्वर वृत्ति पथ विश्राम पश्चात् हुने सन्तोष निवृत्तमा ।

उर्वर वृत्ति पथ विश्राम पश्चात् हुने सन्तोष निवृत्तमा      

✍️ वसन्तराज अधिकारी
                     घोराही उपमहानगरपालिका, दाङ, नेपाल 

कस्तो रोचक थियो उल्लास दिनको सेवा वृत्ति-पथ ।
उर्जा साहस अध्ययन जीवनमा थियो उज्यालो दीप ।।
काममा राम देखिने समयको उम्दा जीवन्तता भयो ।
यहीँ जवानी दिन स्थिर सदैव रहन्थ्यो झै लाग्दथ्यो ।।

समय पंन्छि एक गतिशील रोकिन्न कहिले नि यो ।
बुझ्नै नसकिने रैछ जीन्दगी परिवर्तनशिल गुण को  ।।
आफ्नो अग्रज कति अघि गए अनुयायी आउँछन् ।
यहीँ सृष्टि क्रममा सबले नित्य गोलचक्कर लाउँछन् ।।

वृत्तिका हरेक क्रियाकलाप सबै कर्मशिल कर्तव्यमा ।
पुर्ण गरे शिक्षा मातृ पितृ गुरु सज्जनको आशीर्वादमा ।।
नेपाल राष्ट्रको गरेर सेवा वनेर एक पुर्व - प्रशाशक ।
नागरिक हक कर्तव्यबोध साथ व्यतीत चार दशक ।।

आफ्नो बुद्धि र सामथ्र्यले हर घडी खर्चेर विवेक सब ।
उमेरले विश्राम पछि भैयो अनिवार्य अवकाशित ।।
फटाई डर धाक धम्की र प्रलोभनमा नफँसेर सारा ।
व्यतीत ति स्मरण दिन ऎले आउँछन् हर्दम उज्याला ।।

ऎले सम्झन खोज्छु अतीतका जीवन्त रोचक दिन ।
छुटेका साथी सहयोगी कोहि हुँदैनन् फ़ेरि पुर्नमिलन ।।
सामाजिक सञ्जालमा कोहि कतै अमुर्त झै आउँछन् ।
विस्मृत ति स्मरण तिलस्मी रितले पुनः हराउँदछन्  ।।

एक्लै जन्मलिएर एक दिन जानुछ छोडेर संसार यो ।
जस्तो कर्म गर्यो अन्ततः त्यस्तै मिल्छ फल भोगको ।।
जीवन कर्तव्यबोध अनाशक्त भै सांसारिक प्रपञ्च ।
छुटछन् दु:ख सबै सुख सन्तोषका भाव सञ्चित ।।

न छ क्यै पश्चाताप र कतै आशक्तको मोह वासना ।
कर्कलाको पातको पानी सरि भै नफँसि कर्मपाशमा ।।
प्रारब्ध भाग्य र कर्म आफै नै लेखान्तको टिप्पणी ।
यहीँ मुल मन्त्रले दियो जीवनमा काम्धेनु सञ्जीवनी ।।

निशा हटि बिहान धर्तीमा जब हुन्छ सुर्योदयको तरङ्ग ।
शीतका थोपामा झर्दछन् धर्तीमा जल बिन्दु बुँदबुँद ।।
कर्मवीरहरु लाग्छन् कर्तव्य कर्ममा लिई जोश अठोट ।
महान सोंच र सत्कर्म नै मानवताको रैछ उद्देश्य एक ।। ।।

जीवन मृत्यु दिन रात स्वप्ना सरि नित्य जीवन भोग ।
देवता र राक्षस यहीँ छन् असल र खराब स्वरुप ।।
आफ्नो बाटो पर्दछ आफै रोज्नु सुकर्म कुकर्ममा ।
प्राप्त हुन्छ सुकिर्ति पिता पुर्वजको आचार स्वधर्ममा ।।

सत्यको मार्ग हिडेर कहिल्यै बन्दैन क्वै धनवान् पनि ।
लाख प्रयत्नवाट आर्जित गरे आउँछिन् लक्ष्मी बनि ।।
सत्यम् शिवम् सुन्दरम् को मन्त्र राखि सधैं ह्रदयमा ।
उर्वर वृत्ति पथ विश्राम पश्चात् हुने सन्तोष निवृत्तमा ।।

✍️ वसन्तराज अधिकारी
घोराही, दाङ, नेपाल ।
शनिबार, २७ जेठ २०८० शुभम् ।

Comments