५०६. मेरो जीवन साथीको ४९ औं शुभ जन्मोत्सव र श्रीमतीजी

मेरो जीवन साथीको ४९ औं शुभ जन्मोत्सव र श्रीमतीजी    

✍️ Me वसन्तराज अधिकारी साथमा श्रीमतीजी 
        

स्वच्छ सफा खुलेको अनन्त बिराट आकाश ।
शिशिर ॠतुको मधुरतम स्निग्ध सुन्दरता ।।
न वर्षा नगर्मी नजाडो स्वच्छ  सफा प्रकृति ।
मीठो कल्पना गर्छु म सदा ह्रदय भरिभरि ।।

धन्य छन् मानव सृष्टिकर्ता महान परमेश्वर ।
पालनकर्ता श्रीहरी र जन्मदाता आमाबाबु  ।।
गरिमामय महान जन्मभूमि रोल्पा खुङ्री मयरी ।
माण्डवी नदी सुन्दर प्राकृतिक रमणीय स्थल ।।

दुईहजार एकतीस साल्को फाल्गुन मास ।
प्रिय ! तिम्रो भयो धरामा सुखद जन्मोत्सव ।।
अठचालीस बर्ष पुगी उप्रान्त उन्चास प्रवेश
आरोग्यता सुख शान्ति छाईरहोस् निशेष ।।

मेरो जीवनमा आयौं तिमी सुखद बहार बनी ।
वसन्त उपवनमा प्रिय जीवनसाथी सहधर्मिनी ।।
खुशी खुशी र सुखद व्यतीत हुँदै छन् दिनचर्या ।
मेरी प्रिय रानी दुख सुखको साथी सहधर्मिनी ।।

अष्टचिरञ्जीवि र श्रीगणेशजी दाहिने हुन् ।
सौभाग्य दिर्घायु सफल जीवन व्यतीत होस् ।।
एक भूगोलको असीमित शुभकामना छ प्रिय ।
जन्मदिनको सुखद परम पवित्र पावन दिनमा ।।

✍️ वसन्तराज अधिकारी
घोराही १७ पनौंरा, दाङ
बुधबार २४ फागुन २०७९ शुभम् ।

श्रीमतीजी जीवनसाथी

जवानीको सुन्दर  रसरंग उमंगमा
तिमी बहार भै आयौ मेरो जीवनमा ।
एक्लो यात्री थिए जीवन यात्राको
सुखद साथ पाएँ सहयात्रा तिम्रो ।।
               ।।१।।
दुःख सुख को अनन्य साथी भइ
माया प्रेम सद्भाव  सुखद कहानी ।
गृहस्थ धर्मको पुर्ण परि पालनामा
सदैव मेरो घनिष्ठ साथ रहेउ तिमी ।।
                 ।।२।।
घरमा रहँदा वा टाढा जागीरमा छँदा
छोराछोरीलाई जन्माउँदा हुर्काउँदा ।
सन्तानको यथोचित लालनपालन गर्दा र
शिक्षादिक्षा दिई सबल सक्षम बनाउँदा ।।
                   ।।३।।
कहिले जीवनसाथीको कर्तव्यमा
आमा दिदीबहिनीको भुमिकामा ।
कठिनतम्  दु:खदायी दिनमा पनि
फ़ेरि पनि खुशी र सुखद क्षणमा ।।
                  ।।४।।
अध्ययन र वृत्तिपथका संघर्षमा
घर गृहस्थ जीवन व्यवहारमा ।
सुगम र दुर्गम विभिन्न स्थानमा
एक्लो हुँदा र सबको साथमा ।।
                 ।।५।।
तिमीसँगको जीवन सह सम्बन्धले
कर्म बाबुआमा र घर पनि पाए ।
सासू ससुरा र साला सालीहरु
निकटतम आफन्त परिवार सञ्जाल ।।
                   ।।६।।
दु:खका कठिन घडीमा मिठो बोलेर
अत्यन्तै खुशीको क्षणमा दिल खोलेर ।
अन्तरंग परम सह्रदयी सहधर्मी मित्र
आफ्नै ह्रदय भित्रको यथार्थ स्वचित्र ।।
                    ।।७।।
सल्यान,  डोटी दिपायल र दार्चुला
काठमाडौ उपत्यका शहर कीर्तिपुर ।
डडेल्धुरा बाँके बर्दिया गृह जिल्ला दाङ
जागीरे यात्रामा वितायौं रमणीय क्षण ।।
                     ।।८।।
तिम्रो सामिप्यता सदगुणले समेटदा
कर्तव्यबोध कर्म जिम्मेवार भै बोक्दा ।
असफ़ल पछि अन्ततः सफ़लता चुमेका
सयौं दृष्टान्त लि सुखद घाम झुल्केका ।।
                      ।।९।।
सरकारी निजामती सेवाको निवृत्त
साथ साथ सन्तानको दाम्पत्य जीवन ।
गृहस्थ धर्मको अनिवार्य कर्तव्य पालन
निष्काम कर्तव्य कर्म व्यतीत हुँदैछन् ।।
                     ।।१०।।
म एक बाट तिमीलाई पाई दुई भए
दुईवाट छोराछोरी भै चार भयौं ।
जुवाँई र बुहारी पाई छ जना भयौं
दोब्बर भै बढदैछ सृष्टि क्रम निरन्तर ।।
                     ।।११।।
प्रेम ममता सहनशीलता नारीका सत्गुण
व्यवहारपयोगी शिक्षाको गुरु हौ तिमी ।
एकल तप निष्ठा अथक मेहनत र संघर्ष
वृत्ति पथका चट्टानी पदचाप थिए मेरा ।।
                      ।।१२।।
सन्तानलाई माया प्रेम दिएर हुर्कायौं
शिक्षा दीक्षाको मार्गनिर्देशन दिए मैले ।
एकहातले मात्र त ताली कहाँ बज्छ र ?
दुवै हात जोड्यौं कर्म गोरेटो खन्नमा ।।
                      ।।१३।।
कल्याणकारी शिव बाबा हजुरको सुदृष्टि
पाईरहौं सदा सर्वदा सुख सन्तोष शान्ति ।
अविचलित रहोस् ईश्वर भक्तिमा तन्मन
व्यतीत होस् सदा रमेर नश्वर यो जीवन ।।
                      ।।१४।।
जन्म  संस्कार सुकर्म फ़ल प्रारब्धको
संयमित अनुशासन जीवन भोगलिई ।
अतृप्ति तृष्णा  भोग अस्थाई जीवन
ईश्वरसँगको रहेछ लेखान्त करार ।।
                   ।।१५।।
आमा बाबुले हाम्लाई हुर्काए बढाए
हाम्ले पनि सोही पदचाप पछ्याउँदै ।
फरक त आखिर केही छैन फ़ेरि पनि
बाबुआमाको चाहना सन्तानको सुख खुशी ।।
                    ।।१६।।
सन्तान आफू भन्दा धेरै अगाडि बढोस्
आफू भन्दा सुखी जीवन व्यतीत गरोस् ।
यो उच्च बिचार पितामा जति हुन्छ गाढा
शायद अरुमा बिरलै हुन्छ यो सदिच्छा ।।
                      ।।१७।।
आमा प्रेम माया ममताकि प्रतिमुर्ति
बाबू कर्तव्य कर्म जीवन वृत्ति पथ ।
सत्य माता पिता ज्ञानं धर्मो भ्राता दया सखा
शान्ति पत्नी क्षमा पुत्र षड्ते मम बान्धवा ।।
                     ।।१८।।
उर्वर बैंशमा व्यतीत सुन्दर तिलस्मी क्षण
ठाक्ठुक कहिल्यै क्यै नभको पनि कहाँ हो र ?
रचनात्मक सुधारका लागि द्वन्द्व स्वाभाविक
अन्ततः परिणाम प्रतिफल सुखद रह्यो ।।
                      ।।१९।।
श्रीमतीजी तिमी मेरो सहायात्री मात्र हैन
सल्लाहकार बिज्ञ र प्रशिक्षक पनि हौ ।
मसँग सैद्धान्तिक ज्ञान तत्व थियो भने
व्यवहारमा खुब कसी तिमीले लगाउँथ्यौ ।।
                       ।।२०।।
छोरा मान्छे कन्जुस्याइँ हुनु हुँदैन भन्छन्
कृपण नहुँदा नहुँदै पनि फजुल खर्ची बनी ।
व्यवहारमा रुमल्लिँदा कुशल अर्थमन्त्री तिमी
गृहमन्त्री हुँदै हो म त नाम मात्रको प्रधानमन्त्री ।।
                       ।।२१।।
राजधानीमा बर्षौ बर्ष बस्यौ खुला हात गरेउ
सादा जीवन शैली अपनाई दुनियाँलाई कत्तिपनि ।
कहिल्यै सहयोगको याचना र दु:ख देखाएनौ
अत्यन्तै संयमित भै जीवन रथ याहाँ सम्म ल्यायौं ।।
                       ।।२२।।
मैले घर बाहिर बाह्र घण्टा सम्म पनि खटिदा
तिमी ससानो व्यवसाय गरि घर सम्हाल्यौं ।
आफ्नै मान्छे पनि असहज स्थितिमा टाढिदा
तिमीले धैर्यबान बनी आत्मीय सद्भाव देखायौ ।।
                        ।।२३।।
उच्च शिक्षा र वृत्तिपथ निजामती सेवामा
अतुलनीय कठिन प्रतिस्पर्धाका घडीमा ।
तिमीले सत्साहस मनोबल र उर्जा छरिरह्यौ
कहिल्यै पछाडि नफर्किई साथ दिई रह्यौ ।।
                           ।।२४।।
सरल ह्रदय  बलिष्ठ काँध र सशक्त मस्तिष्क
इमानदारी जिम्मेवारी र समझदारी भरिरह्यौ ।
दिग्बिजित अतीत सम्झन्छु आनन्द मनले
सन्तुष्टि दिन्छ व्यतीत ती हिजोका दिन्ले ।।
                           ।।२५।।
मेरो जीवनको तीनदशक टेक्न लाग्दै गर्दा
आधाको उकालो पार भैसकेको छ अब ।
अब अगाडिका उप्रान्त आसन्न दिनहरूमा
अझै परिपक्व पाईला बढने छ अपेक्षा ।।
                            ।।२६।।
जवानीमा सोचिन्थ्यो रोमान्स हो जीवन
प्रौढतामा फ़ेरि सोचियो कर्तव्यबोध रैछ ।
अब बुढेसकालमा अध्यात्मिक र संयमता
आफन्त स्वजनको हित रक्षा शुभेच्छा ।।
                           ।।२७।।
जन्म जन्मान्तरको साथ हो भनिए पनि
बिष्णुको माया बोलेको हो जस्तो लाग्छ ।
अटुट प्रेम बन्धन र सफ़ल गृहस्थ बन्न
यथार्थमा करारीय अघोषित सम्झौता रैछ ।।
                          ।।२८।।
हुन् त सबैले देखेकै छन् भोगेका छन् ।
मैले शब्द कवितामा के नयाँ भनुँला र ! ।।
तर फरक छ एउटा शब्दको भाव बुझे ।
हजुर अवश्यम्भावी  कवि  बन्नुहुनेछ ।।
                        ।।२९।।
अम्बिकेश्वरी देवी मन्दिर आमा भवानी ।
ह्रदयमा निवासीनी आराध्य सुखदायीनी ।।
सदा आशीर्वाद पाईरहुँ हजुरको कृपादृष्टि ।
ग्राम कुलदेवता क्षेत्रपाल माता विन्ध्यवासिनी ।।

                          ।।३०।।

एकैक्षण मनमुटाव  भएपनि फ़ेरि
सुखद प्रेम मिलन बाहुपासमा ।
तिमी सहयात्री भएकोे मेरो जीवनमा
थाहै नपाई एकतीस बर्ष व्यतीत भएछ ।।

                          ।। ३१।।

📝 वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका वार्ड नं.१७ पनौंरा, दाङ, नेपाल ।

Comments