४८६. तसर्थ ! निर्वाचनमा मैले आफ्नो मताधिकार प्रयोग गरेको छु ।

तसर्थ ! निर्वाचनमा मैले आफ्नो मताधिकार प्रयोग गरेको छु ।            

✍️ वसन्तराज अधिकारी
                                     घोराही, दाङ 

पहिला पहिला निजामती कर्मचारीको हैसियतले
संवैधानिक निर्वाचन आयोग भित्रै कार्यरत रहि ।
अग्रपंक्तिमा खटिएर उम्मेदवार राजनीतिक दलहरु र
प्रशासन, सुरक्षा र निर्वाचनका म्यादी पदाधिकारीहरु ।
निर्वाचन अवधिका लागि खटिएका कर्मचारीलाई
प्रशिक्षण, समन्वय, सहकार्य, सहजीकरण र परिचालन गर्दै
सहज सफलतापुर्वक निर्वाचन सम्पन्न गराएको पनि छु ।
यस्तो अहम् महत्वपूर्ण राज्यको कार्यसम्पादन गरेवापत
सेवा सुविधाका अतिरिक्त प्रशंसापत्र पनि पाएको छु ।
अब सक्रिय सेवा निवृत्त पश्चात् आम मतदाता भएको छु ।।१।।           

यश पुनित महादान कार्यमा धेरै पटक सोंचेर गम्भीर बनि
अन्तरात्मालाई साक्षी राखी आफैले आफैलाई सोधेर ।
आफ्नो एकमतको संवैधानिक नागरिक अधिकार कर्तव्य
निर्धक्क साथ स्वच्छरुपमा स्वकर्तव्य परिपालना गरेको छु ।।
जस्तो सुकै परिस्थितिमा पनि संवैधानिक नागरिक कर्तव्य
परिपालन गर्नुपर्ने भन्ने  कुरामा जोडदार वकालत पनि गर्दछु ।
धेरैको जिज्ञासा होला तैले कस्लाई मत हालिस भन्ने यक्ष प्रश्न
यसको स्पष्ट साहित्यिक उत्तर पनि मैले अन्त्यमा दिएको छु ।।२।।        

तीनवटा यथार्थ स्पष्ट तस्बिर प्रत्यक्ष आए मेरो सामु ।
तसर्थ मेरा तीनवटा विकल्प थिए भन्दा पनि हुन्छ ।।
पहिलो पुरानो राजनीतिको कखरा बारखरी सिकेको
एउटा पुरानो चिरपरिचीत  एकलब्बे बामपंथी दल ।।
एकलब्बे लाई जसरी पनि हराउन गठबन्धन बाँधी ।
बहु राजनीतिक बिचारका झुण्ड  नौरंगे डाँफेहरु ।।
यस्तै मौकाको ताकमा च्याँखे थाप्न आएका खेलाडी
हलो, घण्टी, लौरो, स्वतन्त्र लगायतका अवैचारिक समूहहरु ।।३।।                                                                                      

मलाई अझै राजनीतिमा सक्रियताको भोक जाग्या छैन ।
भोक लाग्यो भने अवश्य आहार भोजन खोज्न निस्कुला ।।
लामो राष्ट्रसेवाको विश्राम पश्चात् आनन्दले थकाई मार्दैछु ।
राजनीतिशास्त्र र कानुनको उच्च शिक्षाको विद्यार्थीको रूपमा
राजनीतिशास्रको बिषय शिक्षक ठान्छु स्वयं आफुलाई ।।
तथापि पाँच बर्षमा एकदिन शिक्षक अभिभावक पिता बनेपनि
अठारसय चौविस दिन म एक शासित नागरिक भैरहन्छु ।।३।।            

निर्वाचनको अवधिमा मलाई बारम्बार नमस्कार गर्दै आउने
अडियो रेकर्ड र सामाजिक सञ्जालका प्रचारबाजीहरु ।
अहँ अब कहिँ झुक्कीएर कतै पनि आउँदै  आउँदैनन् ।
अब त हारेकाहरु दुलो भित्र पसि अआफ्नो डम्फु बजाउँछन् र
जितेर गएकाहरु हुँकार भर्दै सत्ता प्राप्तिको खेल खेल्छन् ।।
मलाई यो कुराको कुनै खेद छैन किनकि न मलाई हेर्छन्
न त म भन्दा बिपन्न गरिब, मजदुर किसानलाई नै हेर्छन् ।
हेर्छन् त फगत अआफ्ना आसेपासे परिवावाद र फरियावाद ।।            

समग्र सत्ताप्राप्तिको महाभारत रुपि संसदीय निर्वाचनमा ।
मेरो एकमतले व्यक्ति हारजीतको हिसाबकिताब त राख्दैन ।।
तथापि मेरो पहिलो विकल्पलाई नै निर्वाचनमा मैले आफ्नो
अमुल्य मताधिकारको प्रयोग भने निर्धक्क भै  गरेको छु ।
तसर्थ ! निर्वाचनमा मैले आफ्नो  मताधिकार प्रयोग गरेको छु ।।३।।

✍️ वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका १७ पनौंरा, दाङ
सोमबार, १२ मंसिर २०७९ बिबाह पञ्चमी शुभम् ।

Comments