४५८. सन्दर्भ : पितृपक्ष महालय श्राध्द

सन्दर्भ : पितृपक्ष महालय श्राध्द           

✍️ वसन्तराज अधिकारी
                 घोराही उपमहानगरपालिका १७ दाङ, नेपाल ।

जन्म - मृत्यु यावत्  नित्य शाश्वत बिधि क्रिया
सृष्टि चल्ने यही रैछ  रिती निरन्तर  प्रक्रिया ।
जन्मोत्सव व्रतबन्ध विवाह कर्म सन्तानोत्पादन
अन्तिम मृत्युु पछि गरिने श्राध्द तर्पणादी क्रिया ।।१।।

भुतलमा लिएर अनित्य क्षणिक जीवात्मा जन्म
मरणशिल प्राणी नश्वरदेह हुन्छ नि अन्ततः भस्म ।
जीवित छँदै गर्नु पर्दछ सदा कर्तव्य धर्म सत्कर्म
यहीँ सार भन्छ सनातन  धर्मशास्त्रको मुल मर्म ।।२।।

जस्तो संस्कारसँगै सिकाई लिन्छ जीवले जगत्मा
पृथ्वीमा जन्म भइ जीव फँस्छ मिथ्या भुक्तमानमा ।
लिएर के आयो र के जान्छ आखिर अन्त साथमा
नाङ्गै जन्मेर धर्तीमा आइ रित्तै जानू स्वर्गलोकमा ।।३।।

बत्तीको सुक्ष्म पुतली सरि क्षणिक चोला फ़ेरि फ़ेरि
जीवित छँदा अनेकन दु:ख झोज झमेला बेहोरी ।
तेरो मेरो धनी गरिब लाएर धाकधक्कु रवाफ नाना
एक मुठी श्वासप्रश्वास बन्द भए निष्प्राण बन्छ जीवन  ।।४।।

अबोध बालक छँदा आफुमा के चिज थियो बिशेष
हुर्केर बढदै गर्दा थपिए नि अनन्त अगणित दोष  ।
जति ठूलो हुँदै जान्छ  सात्विकता सकिदै निशेष
फ़ेरि सञ्चित पुण्य पनि केहि रहँदैन बक्यौता शेष ।।५।।

किशोरावस्था पार गरि  नुतन युवा जवान बन्दा
भोगको तृष्णा ह्वात्तै बढेर बन्छ अतृप्ति फन्दा ।
प्रौढ हुँदासम्म पनि रत्तिभर घटदैन माया र तृष्णा
यहीँ रहेछ नि  निर्जीव मेसिन जीवन चल्ने बास्ना ।।६।।

तन मनमा शक्ति  सञ्चित शरीरमा बल हुँदासम्म
पाप र पुण्य झुटा सरि हुन्छ जाग्छ अगम्य दम्भ ।
जब शक्ति सामर्थ्य जोश होस् सबचिज घटी आउँछ
तब मात्र धर्ममा सत् चित्त मनपालुवा पलाउँछ ।।७।।

संसार घोर मृगतृष्णा हो कहिल्यै पनि नअघाईने
जति भोग गरे पनि किमार्थ सन्तोष लिन नपाईने ।
दु:खको दुश्चक्र अनि मायाको बन्धन कसै नमेटिने
भौतारिई सत्य ईश्वरको साथ कतै कहिल्यै नभेटिने ।।८।।

आखिर यो निसार संसार असार रहेछ भनेर बुझियो
तसर्थ अन्तमा आफ्नो भन्नू पनि याहाँ को नै छ र ? ।
सारा चराचर जगत्को प्राणी जीवात्मा ह्रदयमा रहन्छन्
उनै सबका मालिक ईश्वर परमात्मा मै निर्भर रहन्छन् ।।९।।

ईश्वर तत्व बुझेर बुझ्न नसकिने रहिछ अपरम्पार
जुन सामु संसारका भोग सब छन् निष्फल बेकार ।।
काम क्रोध लोभ मोह मद मात्सर्य आशक्ति भवसागर
पार लगाउ करुणानिधे प्रकाश पुञ्ज हे जगदीश ईश्वर ।।१०।।

हिजोका प्रिय पिता पितामह पितृ भए आदि पुर्वज
यो धारा नित्य चल्दैछ जगमा सृष्टिचक्र नित्य निरन्तर ।
भोलि आफै पितृ हुने हो राखी राख यो सत्य  खबर
तसर्थ पुत्र धर्म एकोदृष्ट महालय श्राध्द सदा गर्ने गर ।।११।।

देखिने मात्र भौतिक प्रमाण मानिने भए आज किन ?
सूचना प्रविधिले यतिबिधि ल्याउँथ्यो हलचल दिन्दिन ।
सत् चितले जे सोच्यो त्यहीँ पुरा हुने धार्मिक तत्व ज्ञान
त्यागेर वृथा माया मोहजाल  बुझौ सार्थक धर्म बिज्ञान ।।१२।।

जन्म लिनु र फ़ेरि मर्नु पुनरपी जन्मनम् पुनरपी मरणम् ।
आमाको पेटको बास बसि पुनरपी जननी जठरे शयन्म् ।।
मुक्ति खोज्छन् ज्ञानीजन फ़ेरि पर्दैन फर्केर संसारमा आउन ।
कर्म बन्धनको सांसारिक भोगले कदापि मुक्ति मिल्दैन ।।१३।।

श्राध्द पर्व हो श्रध्दाको सत्कर्म पितृजन मोक्ष गराउने
पिण्ड दान दिई पुनः यही भुतलमा छोरा नाति बनाउने ।।
गृहस्थ मुल धर्म हो स्थान संसार नियामक पालन गराउने
रामचन्द्रले बनवासमा गरि श्राध्द अगति पितृ तराउने ।।१४।।

स्वधर्म कुल रित परम्परा पू्र्खाको दृष्टान्त जीवन दर्शन
गीता भन्दछ स्वधर्म निधन श्रेय सदा परधर्म भयावह ।।
लुगापुराना भए छोडेर नयाँ लुगा मानिस लिन्छ फेरेर
त्यस्तै बुढा देहहरु  जीवले त्यजेर लिन्छ नयाँ शरीर ।।१५।।

पितृपक्ष महालय षोड्स श्राध्द कर्म पिण्ड तर्पणादी दिने ।
पितृहरुलाई शान्ति आनन्द दिई पुर्नजन्म सहज गराउने ।
पुत्रको परम धर्म हुन्छ पितृको अवश्य उध्दार गर्नु पर्दछ ।
अन्यथा ति पुत्र चन्द्र सुर्य रहे सम्म अघोर नर्कमा पर्दछ ।।१६।।

°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

Comments