४३९. व्यतीत करिव चार दशकको मेरो राष्ट्रसेवाका कथा गाथाहरु ।

व्यतीत करिव चार दशकको मेरो राष्ट्रसेवाका कथा गाथाहरु ।

✍️ वसन्तराज अधिकारी 
घोराही उपमहानगरपालिका वार्ड नं.१७ पनौरा, सरस्वतीटोल, दाङ, नेपाल ।                                                                                                     

आहा !
अब तथाकथित हिमाली डाँफे सरुवा र
तराईको हात्ती सरुवा हुनु पनि पर्दैन ।
भनसुन मनसुन राजनीतिक नेतृत्वको छत्रछायामा
असहाय बनी आजीविका गर्नु पर्दैन ।।
बिहानै दस बजेदेेेखि बेलुकी पाँच बजेसम्म नियमित
बफादार राष्ट्र सेवक बनि हाजिर बजाउनु पनि पर्दैन ।
अझ स्थानीय पालिकातहमा के बिदा के शनिबार
सदाबहार काममा खटनपटन गर्नु पनि पर्दैन ।
साउनको पहिलो साता भित्रै अर्धबार्षिक र बार्षिक
परम्परागत कार्यसम्पादन मुल्यांकन फाराम
सुपरिवेक्षक समक्ष पेश गर्नु पनि त पर्दैन ।।१।।

हाईसञ्चो !!

अब त आर्थिक बर्ष शुरुआत भए पश्चात्
अधिकार प्रत्यायोजन आफू र आफू मातहतका अधिकृत र
सहायकहरुलाई गर्नु पनि त पर्दैन ।
नियमित पदीय कार्यसम्पादन सुपरिवेक्षण,
अनुगमन, मुल्यांकन प्रतिवेदन लेखन जस्ता प्रशासनिक कार्य
केहि पनि गर्नु पनि त पर्दैन ।
आर्थिक बर्ष शुरुआत भएको साठी दिन भित्र
बार्षिक सम्पत्ति विवरण फाराम भरी गोप्यरुपमा
राष्ट्रिय किताबखाना निजामतीमा
अब बुझाउनु पनि त पर्दैन ।
राज्यको चौथो अंग सञ्चारकर्मी पत्रकार महोदयहरुलाई
हरेक शीर्षक र कार्यक्रमवाट मिलाई२ रकम बाँडफाँड गरि
सूचना बिज्ञापन दिई पाल्नु पनि त पर्दैन ।।२।।

साँच्चिकै !!!

राजनीतिक नेतृत्वसँग तम्तयार जति बेला जहाँ बोलाएपनि
फ़ोनको एउटै कल आदेशमा पनि दगुरादगुर
खाँदा खादैको गाँस छोडी कुदाकुद गरि
फिल्ड र कार्यालयमा खटिएर कतै जानुपनि त पर्दैन ।
वडा सदस्य, अध्यक्ष, अमुक राजनीतिक दल, नेतृत्वका
कार्यकर्ताहरूलाई कतै सरकारी जागीरे बनाउनु वा
करार सेवामा अनिवार्य म्याद थप तलब सेवा सुविधा
सालबसाली महंगीको दरमा वृद्धि गरिरहनु पनि त पर्दैन ।
जिल्लामा सिडिओ, माननीय, मन्त्री महोदयहरुलाई
अनिवार्य रुपमा प्रगति विवरण बुझाउनु पनि त पर्दैन ।
कोष तथा लेखा नियन्त्रण कार्यालयवाट आर्थिक निकासा
नियमानुसार दैनिक खर्च, राजश्व, धरौटी, जिन्सी हिसाबकिताब
आलेप मलेप बेरुजु अद्यावधिक  विवरण समेत
चुस्त दुरुस्त राख्नु फरफारक पनि त गर्नुपर्दैन ।
राजनीतिको नाममा धम्क्याएर रकम असुली धन्दा गर्ने तथाकथित छ्द्म भेषी चन्दा धन्दावालहरुलाई
परिवार र नावालिक छोराछोरीको खर्च जस्तैः गरि
जसरी तसरी भरणपोषण गर्नु पनि  त पर्दैन ।।३।।

यति मात्र कहाँ हो र !

कमाउ धन्दामा आएका राजनीतिक दल र तिनका भ्रातृ संगठनका  ताबेदारहरुलाई
उनीहरुको वैयक्तिक इच्छा पूरा गरिदिनुपनि त पर्दैन ।
कर्मचारीको कासमु विवरण कार्यसम्पादनस्तर भन्दा पनि केवल उनीहरुको वैयक्तिक पदोन्नतिका लागि
उनीहरुको मुख ताकेर करकापसँग भरीभराई तालुक निकायमा पठाईदिनु पनि त पर्दैन ।
प्रदेश सरकारको अह्रौटे भएर उनीहरुको काममा काँध थापिदिएर गरिदिनु पनि पर्दैन ।
मन्त्रालय  र बिभागहरुमा मन्त्री, सचीव र सहसचिवहरुको कारिन्दा उपसचिव बनि झोक्राएको बबुरो बन्नु पनि पर्दैन ।
अझ  कतिपय परिस्थिति र अवस्थाहरुमा विवेकहिन सुपरिवेक्षक बिभागीय हाकिमका आदेेश कार्यान्वयन गर्नु र तनावग्रस्त भै
प्रेसर बढाउनुपर्ने अवस्थामा बस्नु पनि त पर्दैन ।
अब त ! मन्त्रालय, बिभागका परिपत्र प्रगति विवरण तालिम सेमिनार गोष्ठी अन्लाईन जुम मिटिङ सबै सबै कर्मकाण्डहरुवाट छुट्टी२
विभिन्न संघ संस्था शाखागत बिषय सेवाग्राहीहरुको
अनपेक्षित नयाँ माँग र कानुन बिहिनताको बढदो कार्यचाँप,
निकटतम राजनीतिक नेतृत्वलाई आवश्यकता अनुसार
प्रशासनिक राय सल्लाह सुझाव केही केही गर्नु पर्दैन ।
व्यापारीक ठेक्का पट्टाका बील, कार्यालयीय खर्च र भरपाईहरुमा डराई डराई सहि छाप गर्नु पनि पर्दैन ।
मैले यहाँ उल्लेख गर्न नसकेको धेरै२ बिषयगत अनिवार्य,  नियमित, आकस्मिक, सिर्जनात्मक र अन्य काम केहि२ गर्नुपर्दैन ।।४।।

अन्त्यमा

पदीय हैसियतका कानुनतः निर्धारित मर्यादाक्रम
सामाजिक हैसियत प्रतिष्ठा रवाफ सान मान ।
तलब भत्ता, इन्सेन्टिभ, सञ्चयकोष, नागरिक लगानीकोष, बीमा, पोशाक, टिएडिए, क्वाटर,  चिया खाजा………
आदि इत्यादि सेवा सुविधाको प्राप्ति केहि पनि त पर्दैन ।
फगत निवृत्त भरणपोषण अधिकारपत्र बमोजिम जो मिल्छ
एउटा पुर्व राष्ट्रसेवक लाई भोको पेट बस्नु पनि त पर्दैन ।
शिक्षक र निजामती कर्मचारीको रुपमा व्यतीत भएका
निरन्तर आईरहन्छन् जुन आफ्नै स्व अनुभव भोगाइका
व्यतीत करिव चार दशकको मेरो राष्ट्रसेवाका कथा गाथाहरु ।

रचनाकार :

✍️ वसन्तराज अधिकारी
पुर्व उपसचिव, नेपाल सरकार 
स्थायी निवास : घोराही उपमहानगरपालिका वार्ड नं. १७ दाङ, नेपाल ।
शनिबार साउन १४, २०७९ शुभम् ।

Comments