४३७. आमानै संसारमा हुनुहुन्छ ईश्वरीय बरदान ।।

आमानै संसारमा हुनुहुन्छ ईश्वरीय बरदान ।।
                         

हामी आमा छोरा 

यश धर्तीमा जन्मेका हामी मानवको लागि
आमा भन्दा को होला र अरु नजीक र जाति ।
तर्सथ ! मेरो जीवित परमेश्वरी देवी हुन् आमा
अपार छन् आमाको गरिमा गौरवगान  महिमा ।।

दस मास आमाको गर्भ गृहको सुषुप्त वास
जन्म पश्चात् अमृत समान पवित्र दुग्धपान ।
मातृवात्सल्य वाल भाषा महान प्रेमील ममता
अकथनीय अवर्णनिय आमाको अनुकम्पा ।।

संसार यहीँ ममताले त निरन्तर चलेको छ
आफ्ना सन्तानको हरेक प्रगति र खुसीमा ।
आमाको अन्तरह्रदय प्रेम गंगामा रमेको छ 
सन्तानलाई नजीक पाउँदा पुलकित बनिरहेछ ।।

जेठो सन्तानको माया रैछ झनै गहिराईमा
केही कर्तव्य जिम्मेवारीको भूमिकाको रूपमा ।
अध्ययन र वृत्तिले एउटा लामो कालखण्डमा
टाढा रहे पनि पुनः आएको छु आमाकै समिपमा ।।

केवल अठार बर्ष मात्रको अन्तराल  हामीमा
गौरव लाग्छ आमाको प्यारको पवित्र स्नेहमा ।
मात्र चौध बर्षको किशोरावस्थामा टेक्दा टेक्दै
बुबा गुमाउनुको अकल्पनीय असह्य  पिडा ।।

आमाकै शिक्षा र सत्प्रेरणाले बामे सर्न सिकायो
संघर्षरत विकटताको भरिपुर्ण जीवन पथमा ।
साठीको सङ्घारमा पाईला मैले टेक्दै गर्दा
आमा छोरा उमेरमा  उस्तै दिदीभाइ जस्ता ।।

जस्तैः सानो बालक छँदा असिम आनन्दथ्यो
आमाको बाहुली र प्रेममयी स्नेहील काखमा ।
बुढेसकालको सङ्घारमा पुनः फर्किएका छन्
उही वालापनका स्वभाव न्यानो आमाको काख ।।

धर्मशास्त्र नीतिशास्त्र ठूलो बर्णमालाको शिक्षा
कुनै शिक्षित गुरु ज्ञानभन्दा थिएनन् कच्चा ।
शिक्षा र दीक्षाको संमिश्रण जीवन जीउनेकला
सौभाग्य शाली भएर व्यतीत भैरहेछ जीवनचोला ।।

हजार जन्म आमा जन्मन पाउँ हजुरकै काखमा
फ़ेरि  बाबाको पनि साथ पाउँ अर्को जन्ममा ।।
परम पवित्र प्रेमको गंगा अमृत रसमाधुर्यमा
परम शान्ति अविरल आनन्द काखमा बगिरहेछ आमा ।।

कोहि छैनन् यश संसारमा आमा भन्दा ठूलो
कहिँ पाईदैन आमाको भन्दा न्यानो काख ।।
आमाको शिक्षा दीक्षा भन्दा कुनै छैनन् महान

आमानै संसारमा हुनुहुन्छ ईश्वरीय बरदान ।।

✍️ वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका वार्ड नं.१७ पनौंरा, दाङ
मिति: मंगलबार साउन १०, २०७९ शुभम् ।

Comments