४०५. त्यसैले त अझैपनि म भन्छु कुनै पनि राजनीतिक दल वा गुटमा नलाग्नुको मजा छ बेग्लै !!!

त्यसैले त अझैपनि म भन्छु कुनै पनि राजनीतिक दल वा गुटमा नलाग्नुको मजा छ बेग्लै !!!       

                         ✍️ वसन्तराज अधिकारी
                       घोराही १७ पनौंरा, दाङ, नेपाल
                          २५६६ औं बुद्धपुर्णिामा २०७९

आजभन्दा चालिसौं बर्ष पहिला
हाईस्कुल पढदाको जोशिलो समय ।
बि.सं. ०३५/०३६ सालतिरको
सम्झना दाङको नारायणपुर स्कुलमा
दिनहुँ राजनीतिक उपद्रो हुन्थ्यो ।
पढाई पनि त थियो अस्तव्यस्त ।
आदि गुरु कमरेड नेत्रलालको प्रभाव
बामपंथी राजनीतिको लालकिल्ला
थियो यो हाम्रो पवित्र  शिक्षा मन्दिर ।।
               ।।१।।
यथार्थ थाहा नपाउँदा नपाउँदै
जोशिलो पारामा कमरेड लालसलाम भन्दै ।
आफू भन्दा वरिष्ठ सरहरु र शिक्षकसँग
दरो गरि झट्का दिंदै हात मिलाउनु र
मुठ्ठी उजायर लालसलाम ठोक्नु ।
कम्युनिस्ट हुनुको दह्रो प्रमाणपत्र अझ भनौं
प्रारम्भिक सिकाईको पाठशाला थियो ।।
               ।।२।।
हाईस्कुलवाट सेन्टअप भएपछि
रोल्पा र प्युठानका गाउँ बस्तीहरूमा ।
शुरुआत भयो शिक्षक सेवा
त्यतिबेलाको चलनचल्तीको लोकभाषामा
सरकारी मास्टरी जागीरे भए म
प्युठान सिमलचौर थक्लेनीमा ।
२०३९ सालतिर पढाउँदा खेरी
भेटघाट र विचारविमर्श हुन्थ्यो
प्युठानी मोटो मशालका साथीहरुसँग ।।
                ।।३।।
यति बेला मैले पनि खोजीखोजी पढे
म्याक्सिम गोर्कीको "मा" अर्थात् क्रान्ति आमा ।
लिओ टोलस्टोयको पुनस्र्त्थान
दर्शन शास्त्रको प्रारम्भिक ज्ञान ।
त्यतिबेला १८/२० बर्षको ठिटोमा पनि
अध्ययन निखारले आयो परिपक्व ज्ञान ।
प्युठान सिमलचौर थक्लेनीमा शिक्षक हुँदा
शिक्षाका लागि बनारस/इलाहावाद तिर
एउटा अविस्मरणीय यात्रा भयो ।
तत्कालीन नेकपा मालेको सम्पर्कमा
राजनीतिक दिक्षासँगै अधुरो अध्ययन
पुनः नेपालवाट गरियो अध्ययन पूरा ।।
                 ।।४।।
निजामती सेवा सल्यानवाट शुरुआत गर्दा
तत्कालीन विद्रोही माले पनि भए म ।
समयक्रम फ़ेरिदा लोक सेवा तिरको लगाव र
साथ साथै पारिवारिक जिम्मेवारी बहन
जागीरसँगै उच्च शिक्षाको अध्ययन ।
पुनः पदोन्नति भै सुदुर पश्चिमतिरको सेवा र
अध्ययन र वृत्ति काठमाडौ उपत्यका सरुवासँग
निजामती सेवामा शाखा अधिकृतको  प्रतिस्पर्धामा
अथक लगनशीलताको तयारीले तिब्रता लियो ।।
                    ।।५।।
राजनीतिशास्त्र र कानुनको अध्ययनसंगै
अफिसरको प्रतिस्पर्धात्मक तयारीमा ।
बिसर्जन भए मेरा राजनीतिक बिद्रोहहरु
वास्तविक समाजसेवा र मैले गर्ने जनप्रशासन ।
जिजिबिषा र वृत्तिपथकै बिजिगिषामा अटल रहे
त्यसपछि लुप्त भए सबै मेरा राजनीतिक सचेतताहरु ।।
                      ।।६।।
कतै कमनिष्ट एमाले बनाए त कतै माओवादी
कतै नेपाली काँग्रेस कतै राप्रपा ।
अहँ न त कसैको चवन्नी सदस्यता न बहस पैरवी
कार्यालय प्रमुख उपसचिव भैसक्दा त
कानुनले पनि दिएन सहमति/स्वीकृति ।
संविधान नियम कानुन जनप्रशासन व्यवस्थापन र
सुशासनका मुलभुत मान्यतामा अटल आस्था ।।
                      ।।७।।
सचेतता र सामान्य  ज्ञान सबै छ राजनीतिको
तर अहँ कसैको कहिल्यै झोले कार्यकर्ता भैन ।
अब त अनिवार्य अवकाशप्राप्त भैसक्दा पनि
कत्ती पनि मनले किमार्थ  मान्दै मान्दैन ।
जागीरका उर्वर दिनहरुमा त राज्यले जहाँ खटायो
त्यहीँ गैयो भनसुन र मनसुनको कहिल्यै पनि
पछि पछि पनि लागिएन ।।८।।

त्यसैले त अझै पनि म भन्छु
कुनै पनि राजनीतिक दल वा गुटमा नलाग्नुको
मजा छ बेग्लै ।।
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°

Comments