३६८. हिउँदमा वर्षा पश्चात् उन्मुक्त खुला आकाश ……!!!

हिउँदमा वर्षा पश्चात्
उन्मुक्त  खुला आकाश ……!!!                            

घोराही १७ पनौरा,दाङ 

हिउँदमा जाडो मास
कठाङ्गृएको वातावरण
उकुसमुकुस र छटपटाहट
बिहानको चिसो२ हुस्सु "ढुडी"
अपरान्ह पछिको सिरोटे
प्रसव पीडा जस्तैः
तथापि
मेहनत र मजदुरीमा
शरिरिक परिश्रम र
पसिनाको स्पर्शले
आजिविका गर्ने
मेहनतकश मजदुरहरु
व्यस्तता छ उनको आफ्नैं
तातो र पुनः चिसो
तातो र चिसोको
अन्तर्घुलन संमिश्रण ।।१।।

मौसम परिवर्तनशिल
बदलिएको आकाश
एकैक्षणमा बादलले
घुम्टो ओढाएर
हेर्दा हेर्दै निर्निमेष
धपक्क ढाकेर ल्यायो
पुरै आकाश ।
अघिको स्वच्छ उज्यालो
फ़ेरि धमिलियो
सफा पानीमा
रङ मिसाएझै
कति चाडै बदलिँदो
प्रकृतिको गति
क्षणमै खुला र पुनः
बन्द आकाश ।।२।।

जलबिन्दु बर्सिएर
बर्षारुपी अमृत समान
बोट बिरुवाले गरे पान
पाए नयाँ जीवन दान ।
प्रकृतिको गजबको
सन्तुलन तालमेल
विधाता विधायकको
विधिशास्त्र आहा
झरी बर्षा हिउँदमा
अत्यन्तै चिसो
चसक्क मुटु छुने ।।३।।

वर्षाद् पश्चात्
हट्यो धुलो मैलो
खुल्यो निल गगन
कतै कतै कपासको
डल्लो जस्तैः छन्
सेताम्य बादल
निकै हतार भएसरी
म्याराथन दौडमा छन् कुनै
कहाँ होला यिन्को
गन्तव्य स्थल
फ़ेरि पानी बर्षेलाझै
गरिरहे र पुनः
हराउँदै गए
आफ्नैं घर
आकाश पारि पारी ।।४।।

यहीँ चराचर जगत
धर्ती र आकाश
ब्रह्ममुहुर्त पश्चात् उषाकाल
प्रभातीय लालिमा
सुर्यको किरण सँगै
नौलो बिहान् ।
बिहानको शिशुकाल
बयस्क नहुँदै
गमक्क घुम्टोले
ढाकेर छेक्यो
हुस्सु र ढुडी ।।
प्रतिक्षित समय
जब दिउँसो मध्यान्ह
खुल्यो पुरै आकाश
हिउँदमा वर्षा पश्चात्
उन्मुक्त खुला आकाश ।।५।।

✍️ वसन्तराज अधिकारी
घोराही १७ पनौंरा, दाङ
शनिबार १७ पुस २०७८
जनवरी १, २०२०

Comments