३६३. अब भने मस्त आफ्नो हाकिम आफैं भएपछि……

अब भने मस्त आफ्नो हाकिम आफैं भएपछि……             

📝 वसन्तराज अधिकारी

ओंठ माथी भर्खरै जुँगा रेखी बस्दा
अठार उन्नाईस बर्षे युवावस्थादेखि ।
अनिवार्यरुपमा जागीरे वृत्ति सँगसँगै
घर व्यवहार, अध्ययन र वृत्तिपथमा ।।१।।

हजारौं हजार माईलको यात्रा पनि
एक पाईलावाट शुरुआत हुन्छ भनेझैं ।
प्रारम्भ गरिएका अथक पदचापहरु
उकालो ओह्रालो घुमाउरो घुम्ती सँगै ।।२।।

कहिले पहाड दुर्गम गाउँ ठाउँमा र
कहिले सदरमुकाम जिल्लाको केन्द्र ।
घरदेखि टाढा टाढा आफ्नैं देशमा पनि
अपायक जागीरे प्रवासी जस्तैः बनि ।।३।।

कैंयौं वसन्त र शिशिरहरु व्यतीत भए
पुगेस पुगेस हुने जागीरको मजदुरीमा ।
को सँग किन पोख्नु र दु:ख पिर गुनासो
आफैंले सुन्नु पर्थ्यो सबै नागरिक जनगुनासो ।।४।।

दुई चार दिन घरमा आयो धित नमर्दै
जानुपर्थ्यो अनिवार्य कर बलले जागीरमा ।
नजिकका आफन्त र इष्टमित्र टाढिए सबै
जागीर त धेरैले गर्थे तर अआफ्नो भोगाई ।।५।।

अड्डाखानामा अनधिकृत पद हुँदासम्म
अधिकृत हाकिमको खटनपटन हुन्थ्यो ।
लाग्थ्यो हाकिम भएपछि मोज मस्ति होला
अरुलाई काममा लगाई आफ्नो सान होला ।।६।।

वृत्तिपथका कठिनतम अध्ययन र मेहनतले
आफै अधिकृत हाकिम भएपछि बुझियो ।
काम गराउन भन्दा पनि गर्न सजिलो रहेछ
अरुलाई खुशी बनाई कज्याउन कठिन रहेछ ।।७।।

काठमाडौं उपत्यका बिभाग र मन्त्रालय
मुलुकी केन्द्रिय अड्डाखाना सिंहदरबार ।
यहाँबरु काममा केहि सहजता हुने रैछ
क्षेत्र, जिल्ला र स्थानीय तह पालिकाहरु ।।८।।

केन्द्र भन्दा क्षेत्र, क्षेत्र भन्दा जिल्ला र
जिल्ला भन्दा स्थानीय तह कठिन रहेछ ।
आफै हाकिम हुँदाको स्वअनुभव यथार्थ
बिधि पद्धति कानुन संरचना र स्रोतसाधन ।।९।।

स्थानीय तह अझ धेरै कठिनाइ रहेछ
एकातिर राजनीतिक  तोकादेश हाकिम ।
अर्कोतिर सिंहदरबार मन्त्रालयको खटनपटन
दुई ढुङ्गा बिचको तरुल जस्तैः भइने रहेछ ।।१०।।

कर्मचारी कर्मचारी बीच पनि धेरै बर्णशंकर
विविधता र विभेदका ठुल्ठुला पर्खालहरु ।
संघीय, समायोजन, स्थानीय तह पुराना नयाँ
अस्थायी करार र दैनिक ज्यालादारी गरि ।।११।।

कोहि प्रजातान्त्रिक कोही वामपन्थी रंगीचंगी
हेर्दा त रमाइलो तर काम गरेर परिणाम निकाल्दा ।
सारै कठिनाइ र  कहिलेकाही प्रसब पीडा  हुने ।
सहायकलाई काम हाकिमलाई नतिजा निकाल्नु पर्ने ।।१२।।

बिहानै पाँच बज्दा नबज्दै मोबाईल बज्न थाल्ने
सबैका गुनासो सुनि शिघ्रातिशिघ्र समाधान हुनुपर्ने ।
आफ्नो गुनासो भएपनि  कस्लाई कहिले सुनाउने
आफै रुने आफै आफ्नो मन बुझाउने पुनः हाँस्ने  ।।१३।।

राजनीतिक बैठक, स्टाफ बैठक दैनिक प्रशासन ।
कामको बाँडफाँड नियम कानुन र कार्यविधि ।
सेवा सुविधा वितरण चरम असन्तुष्ट हुनेहरुसँग
कसैलाई हप्काउने  धम्काउने र कसैलाई फकाउने ।।१४।।

उमेर अन्ठाउन्न पुग्दा निजामती सेवा जागीरमा
अनिवार्यरूपमा  अवकाशप्राप्त भै सेवा निवृत्त ।
आरामदायी स्वतन्त्र स्वच्छन्द आफ्नैं घरमा बसि
अब भने मस्त आफ्नो हाकिम आफै भएपछि ।।१५।।

📝 वसन्तराज अधिकारी
घोराही १७ पनौंरा, दाङ
शनिबार ३ पुस २०७८ शुभम् ।

Comments