३६२. मन झन२ तन्नेरी तन बूढो हुँदैछ् ………

मन झन२ तन्नेरी तन बूढो हुँदैछ् ……         

✍️ वसन्तराज अधिकारी 
                             घोराही १७ दाङ, नेपाल                     

कहिल्यै बूढो नहुने
सधैं२ लक्का जवान
सोह्र सत्र बर्षे ठिटो
युवा रैछ यो मन !! ।।१।।

कपालका केशराशी
हिउँले ढाकेका सेताम्मे
हिउँशिखर जस्तैः देखिँदा
तनमा विविध रोग उब्जिदा पनि
मन सधैं२ तन्नेरी हुँदो रैछ ।।२।।

युवा युवतिलाई नियाल्दा
आफुलाई त्यस्तै लाग्छ
पुनः स्वयंतिर नियालेर
गम्भीरता पुर्वक बिचार्दा
बुढेसकालको आभास आउँछ ।।३।।

इच्छा चाहना अतृप्ति
काम बासना उस्तै
तन जराजिर्ण हुँदा पनि
मन हुन्छ सदा हराभरा
अचम्म लाग्दो छ यो मन
यसैले त चलाईराछ जीवन ।।४।।

आफुलाई बूढो को सोंच्दो हो ?
नजान्ने र नबुझ्ने को बन्दो हो !
अपुर्णता स्वयं भित्र नियाल्न
सदा असमर्थ छ मान्छे !! ।।५।।

यहि हो मानिसको कमजोरी
यहि बुझ्न सके आत्मज्ञान मिल्थ्यो कि !
सहज मुक्तिको द्वार खुल्थ्यो होला 
ह्रदयमा कवित्वपन जागरण हुँदा
हरसम्भव यी भाव तरंगित भएपनि
स्वयं आफैभित्र छन् यि बिषाद् ।।६।।

बालक काल खेल्दा खेल्दै
कति शिघ्र व्यतीत भएछ ।
असचेतता पुर्वक पत्तै भएन
कसरी होस् त्यति रमाईलो पन ।।७।।

किशोरावस्था आहा स्वच्छन्द
उन्मुक्त जीवन जगतमा ।
नयाँ२ अनुभव बोधगम्यता
झन शिघ्रातिशिघ्र व्यतीत भएछ ।।८।।

युवावस्था जीवन स्वर्णिमकाल
अकल्पनीय उल्लासमय ।
अध्ययन जीवन वृत्तिपथ
थाहै भएन संघर्षरत ति दिन ।।९।।

प्रौढावस्था अनगिन्ती जिम्मेवारी
कर्तव्यबोध र कर्मबन्धन भित्र
अटुटरूपमा अविभाज्य बनेर
व्यतीत भइरहेको यथार्थ छ ।।१०।।

अब टाढा छैनन् बृद्धअबश्थाका
एक्लो र कठिनतम् दिनहरु ।
तथापि संस्मरण स्वप्ना जस्तैः
भुक्तानी भएका कालजयी क्षण ।।११।।

अनुभव भोगाइ अआफ्नै होलान्
परन्तु ! समानता धेरै हुन्छन् ।
पुर्वजका भन्दा केहि फरक प्रकृति
तथापि ह्रदायाभास उहीँ हुन्छन् ।।१२।।

स्वप्ना जस्तैः ठान्ने हो भने
हामीले जिएको जीवन ।
स्वप्ना पनि कदापि होईन
फगत मृगतृष्णा शिवाय ।।१३।।

गम्भीरतामा सोंच मग्न हुन्छ मन
अहँ जहाको तँही छ अविचलित ।
ब्रह्म सत्य जगत् मिथ्या हो कि
जगत् सत्य ब्रह्म मिथ्या द्विविधा ।।१४।।

मृगतृष्णा जीवन जति भोग्यो
अपुर्णता लाग्ने न अघाउने
मानिस यसैले अपुर्ण छ
चिन्तनमा कमजोरी छ
जति विद्वान भए पनि
साक्षात्कारमा अविद्या छ
सदैव विजिगिषा पालेर
अतृप्ति र अपुर्णता भोगिरहेछ
यो नश्वर देह धारण अनित्य
संसारमा स्थायीत्वपन महसुस गरिरहेछ
मन झन२ तन्नेरी तन बूढो हुँदैछ् ।।१५।।

📝 वसन्तराज अधिकारी
घोराही १७ पनौंरा, दाङ
शुक्रबार पुस २, २०७८ शुभम् ।

Comments