३५३. चल्दैछ द्रुतगतिमा गृह निर्माण………

चल्दैछ द्रुतगतिमा गृह निर्माण………

✍️ वसन्तराज अधिकारी
                    घोराही उपमहानगरपालिका, दाङ, नेपाल 

हिजोआज फरक छ अनुभुती
विगत जस्तो छैन जागीरे व्यस्तता र
राज्यमेशिनरीको पाटपुर्जा जस्तैः
सधैंको हतार र व्यस्तता ।
सागरको गम्भीरता जस्तैः
कोलाहल रहित नि शब्द चलिरहेकै छ
जीवनगति नित्य दैनिकी ।।१।।

आखिर यसरी पनि त
बित्दोरहेछ जीवन ।
म बिना अड्डा चल्दैन र
सहायक र अधिकृत कर्मचारी
काम गर्दैनन् शायद
दिउँसो रात पर्छ जस्तो गरियो ।
त्यसको प्रतिफल यही रहेछ
मासिक निवृत्त भरण
राज्यकोषबाट भरणपोषण "पेन्सन"
अब नोटेन्सन सदैव जीवन मनोरम ।।२।।

करिब चार दशक राष्ट्रसेवा
निजामती र शिक्षक सेवामा ।
जिल्ला, क्षेत्र, स्थानीय तह
संघीय राजधानी र
राज्यको खटनपटन जागीर ।।
राजनीतिक स्वामिभक्त नभएरै
आफ्नैं व्यावसायिकतामा रमाउँदै ।
सन्तुष्टिमा जहाँ गैयो रमाएरै बसियो ।।३।।

घर अनिवार्य रहेछ सबैलाई थाहा छ
क्वाटर र डेराको लामो पट्ट्यार लाग्दो
यात्रावाट विश्राम सँगै अब आरामले
हिजोआज चल्दैछ द्रुतगतिमा गृह निर्माण  ।।
अहिले थाहा हुँदैछ यो पनि अनिवार्य र
जीवनमा गर्नैपर्ने ठुलै महत्वपूर्ण कार्यरहेछ ।।
आफू बुढाबुढी बस्न त दुई तीन वटा
कोठामा पनि पर्याप्त हुँदो हो ।
छोराछोरी आफन्त र इष्ट मित्र आउँदा
आरामले बस्न सामान्य घरजस्तो
अवश्य चाहियो हेर्न र बस्न पनि ।।४।।

महत्वाकांक्षा र विजिगिषाका असीमित 
इच्छा र ठुल्ठुला चाहना नभएरै ।
संघीय राजधानीवाट आफ्नैं ठाउँ फर्किए
सन्तोषम् परम सुखम् यही मुलमन्त्र
जपियो जीवनभर यसैमा छ आनन्द२ ।।५।।

✍️ वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ
बिहीबार मंसिर ९, २०७८ शुभम् ।

Comments