३१७. बर्षौं बर्ष स्वेच्छाले यान्त्रिकताको सञ्जाल भित्र थुनिएछु । अवकाशप्राप्त पश्चात् अब स्वतन्त्र भै पुनः नयाँ योजना बुन्दैछु ।।

बर्षौं बर्ष स्वेच्छाले यान्त्रिकताको सञ्जाल भित्र  थुनिएछु ।
अवकाशप्राप्त पश्चात् अब स्वतन्त्र भै पुनः नयाँ योजना बुन्दैछु ।       

✍️ वसन्तराज अधिकारी
                    घोराही उपमहानगरपालिका दाङ, नेपाल 

प्रवेशको शुरुआतमा जोश र
उत्साहको थियोे भेल ।
सगरमाथाको शिखरमा बिजेता झै
रमाइलो खेल ।।१।।

दिन हप्ता महिना बर्ष गर्दा गर्दै
व्यतीत भए बर्षौं बर्ष ।
एकएक गर्दै पुराना दिन आउँदैछ
याद अब छरपस्ट ।।२।।

येनकेन प्रकारेण दुखम् सुखम्
जीजीविषा जागीर वृत्ति ।
सबै निर्बन्धन भए स्वतन्त्रता
विचरण पश्चात्  निवृत्त  ।।३।।

बैँस जवानी जोश जाँगर मदहोस्
त्यो रमाईलो बेला ।
अब मात्र स्मृतिमा "वल्र्ड मेन ड्रीम"
जस्तैः हुने होला ।।४।।

लाग्दैन थ्यो कहिल्यै पनि यो जागीरमा
वित्दछ उमेर ।
बुढेसकालका दिनहरूले पनि
घेर्दै आउला भनेर ।।५।।

कहिले यात्रा महाकाली कञ्चनपुर
कहिले मेची झापा ।
चलचित्रमा सजिव दृश्य सरि
घुम्छन् जीवन कथा ।।६।।

निर्लिप्त भै जागीरमा नगरेरै जीहजुर
चाकडी चाप्लुसी ।
व्यतीत भए सदाकाल सादाजीवन
महानबिचार लिई ।। ७।।

धनको थुप्रो घर घडेरी हाईफाई
आलिसान जीवन शैली ।
किन चाहियो अब योगी जस्तैः
बिचरण गरिन्छ रमाई ।।८।।

रुखो सुखो खाई जीवन बिताई
रमाउनु हरिनाम गाउनु ।
सुखा पर्वतमालामा पनि सदा सर्वदा
हरियाली छाउनु ।।९।।

बर्षौं बर्ष स्वेच्छाले यान्त्रिकताको
सञ्जाल भित्र थुनिंएछु  ।
अवकाशप्राप्त पश्चात् अब स्वतन्त्र भै पुनः नयाँ योजना बुन्दैछु ।।१०।।

✍️ वसन्तराज अधिकारी
अधिवक्ता

Comments