२९९. राजनीति भर्सेज लाजनीति

राजनीति भर्सेज लाजनीति                  

✍️ वसन्तराज अधिकारी साथमा म्याडम एशोदा अधिकारी 

किताबका पानामा पढेको गुनेको
सैद्धान्तिक राजनीति ।
व्यवहारको सुनेको देखेको
दृष्टान्त लाजनीति ।।१।।

राजनीति नीतिहरुमा श्रेष्ठ
अत्युत्तम नीति ।
लाजनीति "एको लज्जा परित्यक्त-
सर्वत्र विजयी भवेत" ।।२।।

राजनीति फ़ोहोरी खेल वा
अत्यावश्यक खराबी ।
अझ सोझो अर्थमा
सत्ताको लागी संघर्ष ।।३।।

ईश्वरलाई पनि धोका दिने
वेश्याको जस्तो स्वभाव ।
कदापि बुझ्नै नसकिने
तिकडम र जालझेल ।।४।।

देवासुर संग्रामका युद्ध गाथा
वा पौराणिक युगकथा ।
सृष्टि र सभ्यताको शृङ्खला
राजनीति एक रंगहीन रंग ।।५।।

राम र रावणका युद्ध रामायण
कौरब र पाण्डव संग्राम महाभारत ।
सत्य त्रेता वा द्वापर युग होस्
वा वर्तमान कलिकाल ।।६।।

अहँ जनता राजनीति बुझ्दैन
राजनीति भए पो बुझिन्छ ।
व्याप्त सर्वत्र छ लाजनीति 
र त चौतर्फी यहीँ देखिन्छ ।।७।।

समाजवाद वा साम्यवाद भनौं
अथवा निरंकुश वा प्रजातन्त्र  मानौं ।
वीरबलले खिचडी पकाएजस्तै:
क्षितिजमा पाकिरहन्छ सधैं यस्तै ।।८।।

सिद्धान्त, आदर्श र विचारधारा
कति अग्रगामी र महानता छ ।
परन्तु ! व्यवहारवाद र स्वार्थान्धता 
छद्म  अहंकार र निकृष्टता ।।९।।

साँच्चि विद्वानको शाश्वत कथन
"राजनीति शौचालय साहित्य भोजनालय ।"
यथार्थ नग्नतामा  देखिईरहेछ यहाँ
राजनीति भित्रको लाजनीतिमा ।।१०।।

कवि तथा रचनाकार :

✍️ बसन्तराज अधिकारी
रचना मिति : २०७७ पौष १९ गते आइतबार
घर: घोराही उपमहानगरपालिका, दाङ
हाल : राजापुर, बर्दिया ।

Comments