२२५. मानवता प्रवर्द्धन सम्बन्धमा युवा परिचालन सम्बन्धि एक दिवसीय कार्यक्रम प्रतिवेदन

मानवता प्रवर्द्धन सम्बन्धमा युवा परिचालन सम्बन्धि एक दिवसीय कार्यक्रम प्रतिवेदन                                                     

प्रतिवेदन प्रस्तुति : वसन्तराज अधिकारी    
                                           

श्रीमान् सचिवज्यू
युवा तथा खेलकुद मन्त्रालय, सिंहदरबार, काठमाडौं

बिषय : प्रतिवेदन सम्बन्धमा ।

महोदय,

प्रस्तुत विषयमा मिति २०७७/१२/१७ को मन्त्रालयको सचिवस्तरीय निर्णयानुसार "युवा परिचालन कार्यक्रम सञ्चालन स्वीकृति सम्बन्धमा" लुम्बिनी प्रदेश अन्तर्गत दाङ जिल्ला घोराही उपमहानगरपालिका वार्ड नं.१८ स्थित श्री माध्यमिक विद्यालय (१०+२), रझेना, दाङ  करिब ५० जना छात्र/छात्राहरू लाई "मानवता प्रवर्द्धनका लागि युवा परिचालन सम्बन्धमा" कार्यक्रम सम्पन्न भएकाले यथार्थ रुपमा संलग्न प्रतिवेदन प्रस्तुत गरेको व्यहोरा सहस्र सादर अनुरोध गर्दछु ।

१. कार्यक्रमको उद्देश्य :

माध्यमिक विद्यालय मुलतः कक्षा १२ वा सोसरहका छात्र/छात्राहरु जो बिद्यालयीय शिक्षा समाप्तिको चरणमा छन् युवाको रुपमा बिकास भैरहेको छन् तिनलाई लक्षित गरि "मानवता प्रवर्द्धन सम्बन्धमा युवा परिचालन" बारे व्यवहारोपयोगी ज्ञान, सीप र धारणा एवम् व्यवहारमा सकारात्मक प्रभाव प्रदान गर्ने ।

२. कार्यक्रम संयोजन, सञ्चालन, स्थान, मिति र समय :

मानवता प्रवर्द्धन सम्बन्धमा युवा परिचालन कार्यक्रम बिद्यालयका प्रधानाध्यापक माध्यमिक द्वितीय श्रेणी शिक्षक श्री उध्दव न्यौपानेज्युको संयोजकत्वमा लुम्बिनी प्रदेश अन्तर्गत दाङ जिल्ला घोराही उपमहानगरपालिका स्थित होटल माला ईनमा मिति २०७८/०१/०८ बिहिवार एक दिवसीय कार्यक्रम सम्पन्न गरियो ।

३. कार्यक्रममा सहभागिता, कार्यपत्र प्रस्तुति र कार्यक्रम सञ्चालन :

मानवता प्रवर्द्धन सम्बन्धमा युवा परिचालन सम्बन्धि एक दिवसीय कार्यक्रम  माध्यमिक बिद्यालय, रझेना, दाङका प्रधानाध्यापक श्री उध्दव न्यौपानेज्युको अध्यक्षता, मन्त्रालयका उपसचिव श्री वसन्तराज अधिकारीको स्वागत मन्तव्य सहित कार्यक्रमको उद्देश्य माथी प्रकाश र मन्त्रालयको स्थापना, काम, कर्तव्य, अधिकार, नीति नियम बारे स्पष्ट जानकारी गराउनु भएको थियो भने माध्यमिक  बिद्यालयका सामाजिक शिक्षक श्री झग्गुप्रसाद पौडेल र माध्यमिक अंग्रेजी शिक्षक श्री रोमन अधिकारीवाट कार्यपत्र सहित कक्षा सहजीकरण, प्रधानाध्यापक वाट कक्षा सहजीकरण गरिएको कार्यक्रमको सञ्चालन मन्त्रालयका शाखा अधिकृत श्री राजेश गौतमले गर्नुभएको थियो ।

४. छात्र/छात्राहरूको सहभागिता, जिज्ञासा सहित सिकाई उपलब्धि र सुझाव :

माध्यमिक विद्यालय, रझेना, दाङका कला, व्यवस्थापन, कानुन, इन्जिनियरिङ समेत तर्फका १२ कक्षा वा सोसरहका करिब ५० जना छात्र/छात्राहरुको सहभागिता रहेको कार्यक्रममा खुला सेसन "फ्लोर ओपन" मा छात्र/छात्राहरूको सहभागितात्मक प्रस्तुति र कार्यक्रमको अन्त्यमा छात्र/छात्राहरूको मन्तव्य सहितको प्रस्तुति रहेको थियो । जसमा शिक्षामा एकरूपता, गुणस्तरीय शिक्षा, रोजगारीको अवसर सिर्जना, खेलकुद, स्काउट र व्यायामलाई शिक्षासँग ऎक्यवध्दता, बिद्यालय शिक्षा नै मानवता प्रवर्द्धनको आधारस्तम्भ, समयानुकूल, आवश्यकता बमोजिमको शिक्षा प्रदान गर्नुपर्ने राज्यको अपरिहार्य दायित्व यसैको परिणामस्वरूप शान्ति प्राप्त, मानवता प्रवर्द्धन हुने र राज्यको उद्देश्य समृद्ध नेपाल : सुखी नेपालीको महान नारा पूरा हुन सक्ने त्यसको लागि युवा विद्यार्थी वर्गको महत्वपूर्ण भुमिका हुने सारभुत बिचार एवम् सुझाव प्रस्तुत गरिएको थियो ।

५. कार्यपत्र प्रस्तुतिको सारांश :

माध्यमिक सामाजिक शिक्षक श्री  झग्गुप्रसाद पौडेलले अहिले एकातिर सुचना र सञ्चारको अधिकतम विकास भएको र यसको अत्युत्तम सदुपयोग हुन नसक्दा अहिलेको पुस्ता Digital Involvement भइ Social passiveness को अवस्था रहेको मानवता ह्रास भै रहेको भोगवादी पैंसा प्रधान समाज र पारिवारिक संरचनाले मानवता दयनीय रहेको ऎतिहासिक दृष्टान्त सहित विकसित देशहरूमा केही हदसम्म मानवताको सार्थकता देखिए पनि हाम्रो जस्तो देशको अवस्था अझ कहालीलाग्दो अवस्थावाट मुक्त हुनका लागि नैतिक शिक्षा, प्रयोगात्मक ज्ञान, सीप र धारणा बिकास, संयुक्त परिवार, सामाजिक सक्रियता, नैतिकता, आचरण, मुल्य मान्यता युक्त शिक्षा हुनुपर्ने, Digital Surender अर्थात् आधुनिक प्रविधि प्रतिको अत्यधिक लगाव वा आत्मसमर्पण खतरनाक हुने तथ्य ऎतिहासिक सन्दर्भ समेत बडो सटिक मार्मिक रुपमा प्रस्तुति रहेको कार्यपत्र यसै प्रतिवेदन साथ संलग्न रहेको छ । यसै गरि अर्को कार्यपत्र प्रस्तुतकर्ता माध्यमिक अंग्रेजी शिक्षक श्री रोमन अधिकारीले मानवता प्रवर्द्धनका लागि बिद्यालय नै आधारस्तम्भ रहेको, युवाको विकास, युवा पुस्तामा थप ज्ञान, सीपको अभिवृद्धि, युवालाई राष्ट्रिय नीति निर्माणमा सहभागी गराउनु पर्ने, नीति आवश्यकता, युवा दुरदृष्टी (Vision) २०२५ संवैधानिक प्रत्याभूति, नैतिक धार्मिक शिक्षा, तालिम, आत्म चिन्तन, आत्म ज्ञान, स्काउट शिक्षा बिद्यालय तहदेखि नै बालक्लव, युवा क्लब परिचालन, महिलालाई तालिम, अनाथालय, बृध्दाश्रमको समुचित व्यवस्था, युवालाई अध्ययन भ्रमण, संग्रहालय, ऎतिहासिक, पुरातात्त्विक महत्वको ज्ञान र संस्कृतिको अभ्युत्थान गर्नुपर्ने र युवाहरू लाई कुलत, दुर्व्यसनमा फँस्न नदिई क्षमता, उत्प्रेरणा, मनोबल बढाई सक्षमता र योगदान गर्नुपर्ने बिषयमा प्रस्तुत हस्तलिखित कार्यपत्र बडो मेहनतका साथ प्रभावकारी प्रस्तुति गर्नुभएको थियो ।

बिद्यालयका प्रधानाध्यापक श्री उध्दव न्यौपानेले सहभागीहरुवाट प्राप्त जिज्ञासा सम्बोधन गर्दै युवाहरु लगनशील, योग्य, कर्मठ मेहनती, सदाचारयुक्त सक्षम बन्नुपर्ने त्यसका लागि शिक्षकहरू स्वयं परिवर्तनको संवाहक "दृष्टान्त" भइ उदाहरणिय रूपमा आफ्ना अनुयायीहरुलाई मार्गदर्शन गर्नुपर्ने बताउनु भयो । साथै छात्र/छात्रहरुवाट प्राप्त सुझाव  युवा रोजगारी पुर्खौली पेशा संरक्षण सम्बर्द्धन र शहर र गाउँ गाउँसम्म शिक्षा र चेतनाको विकास गर्नुपर्ने बिषयमा मा.वि.रझेनावाट पनि धेरै महत्वपूर्ण कार्य भैरहेका बिद्यालय खेलग्रामका लागि  मन्त्रालय र खेलकुद परिषद् सँग डिपिआर सहित योजना माग गर्ने बिषय र मानवता प्रवर्द्धन सम्बन्धमा युवा परिचालन सम्बन्धि कार्यक्रममा मा.वि.रझेना छनौट भै कार्यक्रम सञ्चालन भएकोमा मन्त्रालयका आदरणीय उच्चस्तरीय नेतृत्व श्रीमान् सचिव, सहसचिवज्यु समेतलाई विशेष हार्दिक धन्यवाद प्रदान गर्नुभएको थियो ।

६. मन्त्रालयका तर्फबाट शाखा अधिकृत श्री राजेश गौतम र उपसचिव श्री वसन्तराज अधिकारीको प्रस्तुति :

मन्त्रालयका शाखा अधिकृत श्री राजेश गौतमले कार्यक्रम सञ्चालन गर्नुभै सहभागीहरू वाट उत्पन्न जिज्ञासा समेत सम्बोधन गर्नुभएको थियो । राष्ट्रिय गान र परिचयात्मक कार्यक्रम वाट शुरुआत भएको कार्यक्रमको उद्देश्य, महत्त्व सहित स्वागत मन्तव्य मन्त्रालयका उपसचिव श्री बसन्तराज अधिकारीले प्रस्तुत गर्दै युवा तथा खेलकुद मन्त्रालयको उद्देश्य, संगठन संरचना, संवैधानिक व्यवस्था, नीति कानुन, संचालित कार्यक्रम र मन्त्रालय मातहतका निकायहरूको संक्षिप्त परिचय सहित सहभागीहरुवाट उठेका जिज्ञासा तथा प्रश्नहरूको समेत सम्बोधन गर्नुभएको थियो ।

७. सारांश :

विश्वव्यापी महामारी कोभिड -१९ को दोस्रो लहरको कहरमा बिद्यालय बन्दको अवस्था रहे पनि करिब एकमहिना पहिला स्वीकृत भै तय भैसकेको मानवता प्रवर्द्धनमा युवा परिचालन सम्बन्धि  कार्यक्रम भएकोले विषम परिस्थितिको बाबजुद प्रधानाध्यापकको कुशल प्रभावकारी समन्वय, बिषयगत बिज्ञ शिक्षकहरूको सक्रियता, बिद्यार्थीहरुको सक्रिय सहभागिता र उपस्थितिमा अनेक चुनौतीका बाबजुद सफ़लतापुर्वक सञ्चालन भएको कार्यक्रममा आवश्यक भौतिक दुरी कायम राखी, मास्क, सेनिटाईजर समेतको समुचित प्रयोग, दाङ जिल्लाकै स्तरीय होटल माला ईन र प्रधानाध्यापक समेतको सहयोगमा कार्यक्रम अत्यन्त प्रभावकारी एवम् उपयोगी भएकाले प्रशिक्षक, शिक्षक विद्यार्थी र सहभागीहरुको माग र चाहना बमोजिम सहभागीता अन्तरक्रियात्मक रहेकाले खुशी साथ सफ़ल उपलब्धि र प्रभावकारी सिकाईको रूपमा प्रत्येक छात्र/छात्रा "युवा दुत" का रूपमा रहेको सहभागीहरुका तर्फबाट श्री सुशीला घर्तिमगर, र बिष्णु खनालको प्रभावकारी प्रस्तुति समेत रहेको थियो । 

कार्यक्रमका सान्दर्भिक तस्बिर संलग्न

प्रतिवेदन प्रस्तुतकर्ता :
~~~~~~~~~~~~~
वसन्तराज अधिकारी
उपसचिव
नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय
सिंहदरबार, काठमाडौं ।

Comments