१५१. सेवा निवृत्तको ठिक तीन महिना पुर्व, प्रेमपत्र पनि आयो ।।

 अभिलेख अड्डाको चित्रगुप्तजी बहिखाता, जाँचेर ल्यायो ।          सेवा निवृत्तको ठिक तीन महिना पुर्व, प्रेमपत्र पनि आयो ।।          

✍️ वसन्तराज अधिकारी
                             उपसचिव, नेपाल सरकार 

एकतीस बर्ष अघि प्रारम्भ गरदा, निजामती जागीर ।
लाग्थ्यो ह्रदयमा चसक्क बिझी, के होला यस्को भर ।।
इच्छा आकांक्षा  ठुल्ठुला थिए, इन्द्रासनै गर्ने प्राप्ति झै ।
तीन दशक अघि शुरुआत भएको, हो कि हिजो भर्खरै ।।
                         ।।१।।
यौवन मस्त थियो बलिष्ठ शरीर, स्फुर्ती थियो तनमा ।
मिठा२ सुन्दर कल्पना पनि थिए, मनको सिंहासनमा ।।
सुख्खा पाखो बिच रोपेको धान झै, न वर्षा नपाई मल ।
राष्ट्रको सेवामा खर्चियो जवानी र बैँस पिएर अमृत जल ।।
                           ।।२।।
प्राथमिक शिक्षकवाट योग्यता संगै, प्रतिस्पर्धा खेलमा ।
कति निंद र भोक बिर्सेर सहजरूपमा, होमियो संघर्षमा ।
एउटा सन्तोष राख्नुपर्छ मनमा, योग्यता प्रणाली संगै ।
अधिकृत खुला उपसचिव सम्मयात्रा, टुङ्गिन्छ सेवा यहीं ।।
                            ।।३।।
जिल्ला क्षेत्र हुँदै केन्द्र स्थानीय तह, बिभाग मन्त्रालय ।
पहाड तराई भित्रीमधेश र उपत्यका, सबै अनुभव भए ।।
सचिव बन्ने इच्छा पनि स्थानीयतहमा, भो पुर्णतः आखिर ।
यस्तै हो सबको जीवनमा सबै इच्छा, पूरा कहाँ हुन्छ र ? ।।
                            ।।४।।
सुखद क्षणहरु छन् पर्याप्त अहिलेसम्म स्वानुभव पाएको ।
सम्झनुपर्छ अवश्य पुनः एकपटक, आद्योपान्त बिताएको ।।
केहि दु:ख केहि सुखद क्षण छन्, बिस्मृत संस्मरण कथा ।
सञ्चित छन् एकपटक प्रयोग गर्न, खुल्ला बजारमा उर्जा ।।
                            ।।५।।
अभिलेख अड्डाको चित्रगुप्तजी बहिखाता, जाँचेर ल्यायो ।
सेवा निवृत्तको ठिक तीन महिना पुर्व, प्रेमपत्र पनि आयो ।
भित्र मन चङ्गा छ फुरुङ्ग हलुका, निवृत्तको चिन्तन गरि ।
आउनु पर्छ एउटा सुदृढ कार्ययोजना, लिएर अघि सरी ।।
                            ।।६।।
राजनीति सँग सहकार्य भो, तर कतै सदस्यता लिईएन ।
दलको निकट भै आशीर्वाद र सुविधा क्यै नि खोजिएन ।।
भेटीघाटी र अदृश्य  उपहार नजराना,  लिएर कतै पनि ।
नगएर व्यतीत तीनदशक बढी, र त भए जस्ताको तस्तै:।।
                              ।।७।।
शक्ति र सुविधा पर्याप्त उपभोग भए, हुन्थ्यो होला सायद ।
स्वार्थी आफन्त र आसेपासेहरुको, अघिपछि स्वागत ।।
परिणामत: अब भयो निवृत्त जागीरे, जीवन स्वच्छन्द ।
दिनगन्ती सुरुभो प्रफुल्ल मन लि, भित्रै देखि आनन्द ।।
                                ।।८।।
शिक्षक र निजामती सेवा गरि करिब, चार दशक व्यतीत ।
अब सम्पुर्ण सेवावधि पनि भयो, एक सुन्दर कालातित ।।
लामो अतितको सुन्दर चित्र सजाई, सधैं मानसपटलमा ।
सेवा अहोभाग्य जीवनको ल्याएर आईयो, यो ललाटमा ।।
                                  ।।९।।
अन्त्यमा ! सन्देश मेरो छ एउटै मेरा, उत्तराधिकारी लाई ।
ठिक बेलामा सेवामा प्रवेश गर्नु, उच्च-तहसम्म पुग्नलाई ।।
ईमानदार कर्तव्यबोध सच्चाराष्ट्रसेवकको, भुमिका निभाइ ।
राष्ट्रघात भ्रष्टाचार व्यविचार कदापि नि,नगर्नु हे मेरा भाइ ।।
                                   ।।१०।।

✍️ वसन्तराज अधिकारी
उपसचिव, नेपाल सरकार
हाल : युवा तथा खेलकुद मन्त्रालय
सिंहदरबार, काठमाण्डौं  ।
[ मंगलबार १० चैत्र २०७७ शुभम्]

Comments

  1. अभिलेख अड्डाको चित्रगुप्तजी बहिखाता, जाँचेर ल्यायो ।
    सेवा निवृत्तको ठिक तीन महिना पुर्व, प्रेमपत्र पनि आयो ।।

    ReplyDelete
  2. अभिलेख अड्डाको चित्रगुप्तजी बहिखाता, जाँचेर ल्यायो ।
    सेवा निवृत्तको ठिक तीन महिना पुर्व, प्रेमपत्र पनि आयो ।।

    ReplyDelete

Post a Comment