१४९. भूगोलमा म जन्मेको शुभ जन्म दिन आजै परेको छ ………

 मेरो ५७ औं जन्मदिन, २०७७ को सम्झना

[गुरुवार ५ चैत्र २०७७ शुभम्]

भूगोलमा म जन्मेको शुभ जन्म दिन आजै परेको छ ………          

✍️ वसन्तराज अधिकारी
                                    कीर्तिपुर, काठमाण्डौं 

सर्वप्रथम धर्तीका साक्षात देवता, आमाबाबु मेरा ।
जस्ले यो धर्ती देखाएर दिए, जीवनमा सहारा ।।
लाखौंलाख कोटि२ नमन, बाबा जननीलाई  ।
सप्रेम सम्झना आदर परिवार आफन्त साथीभाइ ।।१।।

नाम मेरो वसन्त उपनाम राज, अधिकारी हो  थर ।
जन्मस्थल मजगैं दाङ घोराहीमा, पर्छ स्थायी घर ।।
बुबा बलदेव अधिकारी उपाध्याय, आमा भावना देवी  ।
सन्तोष सुखमा जीवन वितोस्, असल कर्म  लिई ।।२।।

जन्म मेरो २०२१ साल चैत्र ५ गते, शुभ गुरुवार ।
छपन्न बर्ष पुर्णतः व्यतीत भयो, देखेको संसार ।।
घरको जेष्ठ सन्तानको  रूपमा मेरो जन्म भयो ।
थारु र पहाडी गाउँ बस्तीमा, हुर्कियो बढियो ।।३।।

सानै छँदा पिताजीको स्वर्गवास भै जिम्मेवारी लिई ।
संघर्षले अध्ययन र वृत्ति बिकासमा, ध्यान दिई ।।
उच्च-शिक्षा अध्ययन साथमा, लोकसेवाको यात्रा ।
पारिवारिक जिम्मेवारी, कर्तव्यबोधको साथमा ।।४।।

प्रारब्ध र भाग्य मात्र होईन, हजुर पुरुषार्थ ठूलो ।
ईश्वर दाहिने भए पछि भैईन्छ, सदा हिम्मतिलो ।।
गौरव लाग्छ सम्झिल्याउँदा, संघर्षशिल अतीत ।
दु:ख गुनासो केहि छैन हजुर, कोहि कसै शीत ।।५।।

जन्म दियौं बाबूआमा कर्म, रैछ आफै लेख्ने ।
दृढ इच्छा आत्मशक्ति भए, भाग्य स्वयं देख्ने ।।
दु:ख नि भोग्यो ज्यानले, सुखको झिल्का पनि ।
कहिल्यै कुबुध्दी नआवस, अरुको अहित हुनि  ।।६।।

जन्म मृत्युु हुन् शाश्वत सत्य, सृष्टिका यि रित ।
चार दिनको यो जीन्दगीमा, हुन्छ माया प्रित ।।
मरिजाने चोला मानिसको, यो नविर्सनु होला ।
लेख्दा कमी कमजोरी भए, माफी दिनुहोला ।।७।।

आज छ याहाँ भोलि कहाँ, जीन्दगीको के भर ।
कहिल्यै पनि नमेटिने रैछ, हजुर तृष्णा र रहर ।।
जन्मदिनको यो महत्त्वको,  यश शुभ घडीमा ।
हात जोडि नमन छ साथीभाइ, आफन्त जनमा ।।८।।

जन्मदिनको सार्थकता कति गर्न, सके उत्तम कर्म ।
आफु स्वयं आफ्नो विधायक हो, लेख्ने भाग्य कर्म ।।
व्यक्तिगत स्वार्थ भन्दा माथी उठि, गर्दा कर्तव्यबोध ।
मानव जीवन सार्थक हुन्छ, जीवनको मुलमन्त्र ।।९।।

ॠतुराज वसन्त हो प्रकृतिको, उल्लास भरिएको ।
भूगोलमा म जन्मेको  शुभ जन्मदिन, आजै छ परेको ।।
बन बनमा हरियाली पालुवा, पलाई  क्वैली रमाउँदैं ।
जन्मदिनको खुशीयालीमा  सुमधुर,  गीत  गाउँदै ।। १०।।

✍️ वसन्तराज अधिकारी
कीर्तिपुर, काठमाण्डौं
[रचना मिति : बिहीबार ५ चैत्र २०७७ शुभम्]

छोरी विपना प्रति सहर्ष हार्दिक कृतज्ञता

जन्मदिनको धेरै धेरै शुभकामना बाबा!
आमाको काखलाई ममतामयी र स्नेहि भन्दै गर्दा,
बाबाका काधहरु छुटेका होलान् तर छुटाइएका अवश्य हैनन,
आमा को अगाध स्नेहमा बाबाका नदेखिने अपार सहयोग अनि हौसला नेपथ्यमा बसिरहेका हुन्छन,
सितिमिति अगाडि नदेखिने गरी तर, खम्बा सरह अडिग र अटल ।
✍️ विपना अधिकारी

मेरो जन्मदिनको सन्दर्भमा :
कृतज्ञता सहित दुई शब्द ❤️❤️

संसारमा शाश्वत सत्य पहिलो जन्म हो
त्यसैले यसको महत्व र गौरवगान
हामी पुर्वीया भन्दा पश्चिमाहरु
ओतप्रोत र भव्य मनाउँछन् ।।१।।

हामी कहाँ पनि जन्मदिन मनाउने संस्कृति
जेष्ठ नागरिकहरु भन्दा युवा युवतिहरुमा
बढदो चाडपर्व अझ भनौं देखासिखी र
फेसनको रुपमा बढिरहेछ ।
अपितु यस्लाई देखासिखि र
तडक भडक भन्दा
आफ्नै मौलिक लोकाचार कुलाचार र
संस्कृति अनुरुप मनाईनुपर्छ ।।२।।

आमासँग बाबाको तुलना हुनै सक्दैन
जसरी धर्ती र आकाश अझ भनौं
हिमाल र सागर यस्तै यस्तै
दुई बिपरित अवस्थामा
अन्योन्यासृत छन् 
यथार्थमा
एउटा विना अर्काको कल्पना
कोरा मात्र हुन्छ
तसर्थ
परिपुरक छन् ।।३।।

बाबाको बिज र आमाको रजमा
निर्मित पञ्चमहाभौतिक तत्व सहितको
स्थुल मानव शरीर यो ।
भौतिक शरीर रहेसम्म
आमाबाबु दुवैका गुण दोष
हामीमा छन् ।
गुणलाई बढाउनु र
दोषलाई हटाउनु
यहीँ नै होला जस्तो लाग्छ
ज्ञान र बिज्ञान वा
सभ्यता र संस्कृति ।।४।।

सन्तानको प्रगति र सुखमा
नरमाउने बाबुआमा
सायद
परिकल्पना बाहिर हुन्छ ।
छोरीका अमृतरूपी मृदु बचनले
भित्रैवाट आल्हादित हुन्छ मन
प्रचण्ड गर्मीमा सितलता जस्तैः
केही गम्भीर साहित्यिक ओजस्वी शब्द
शब्द बुझ्न कठिन भए भावले
ह्रदय द्रवीभूत भयो ।
हर्षाश्रुले नयन रसाय -
वाह
हिजो जस्तैः लाग्छ
काधमा बोकेर कीर्तिपुर घुमाएको
छोरीकै शब्द सापटी लिई
"बाबाका काधहरु छुटेका होलान् तर
छुटाईएका अवश्य हैनन्"
"अगाध स्नेह"
"बाबाका नदेखिने अपार अपार सहयोग"
" हौंसला नेपथ्यमा बसिरहेका हुन्छन्"

"सितिमिति अगाडि नदेखिने गरी तर,
खम्बा सरह अडिग र अटल ।"
प्यारी छोरी ❤️
शिर निहुराएर चरणामृत स्पर्शगर्दै
सादर नमन२ 🙏🙏

✍️ बुबा वसन्तराज अधिकारी
@ सिंहदरबार, काठमाण्डौं, नेपाल ।
[दिनांक : गुरुवार ५ चैत्र २०७७ शुभम्]

मेरो जन्मदिनको सन्दर्भमा :
कृतज्ञता सहित दुई शब्द ❤️❤️

मानिस, मानिसलाई देखेर इश्वरको कल्पना गर्दछ
कल्पना इश्वरको, पुज्दछ आफैलाई,
हो!उनै इश्वरमा म देख्दछु बुबालाई ।।
शिव हुन बिघ्नकर्ता, आफ्नै बुबाको स्वरुप छ उ ।
इश्वरको मात्र पुजा गर्दछ भने कोहि, गलत छ उ ।
बुबाको बिज जब आमा गर्छिन बृक्षारोपण,
झुल्किन्छु सृष्टिमा "म" नया घामको झै किरण ।
बुबा अवतार हुन ब्रह्माको, संसार सृष्टिकर्ता ।
पाल्न जहान-बालबच्चा, रहि हर्ताकर्ता ।।
स्वरुप यिनमै छ बिष्णुको, बनी पालनकर्ता ।
यथा शक्ति यथा भक्ती,
कल्पना इश्वरको, पुज्दछ आफैलाई
हो!उनै इश्वरमा म देख्दछु बुबालाई ।।

जन्मदिनको धेरै धेरै सुभकामना श्री Basantaraj Adhikari  बाबा 😍❤️ हजुरलाई। 🎉🎊🎈🎈🎈

✍️ छोरा श्री विशेष अधिकारी

प्यारो छोरा विशेष प्रति हार्दिक कृतज्ञता

वेद पुराण, महाभारत, गीता
धम्मपद् बाईबल, कुरान
त्रिपिटक आदि इत्यादि
सबै२ संसारका
धर्मका सार
धर्मशास्त्र अध्ययन
गरेपनि इश्वर अमुर्त छन्
अदृश्य छन्
सारमा
ॐ कार स्वरुप छन् ।
परन्तु !
प्रयोगात्मक व्यवहारमा
ईश्वर अमुर्त नभई
सार्थक अर्थयुक्त
ब्रह्मास्वरुप, बिष्णुस्वरुप
शिवस्वरुप पुर्णतः ॐ
ॐ को अर्थ सृष्टि - कारण
स्थिति - पालन
संहार - बिनिर्माण छन् ।
एक वाक्यमा
"कल्याणकारी" छन् ।
त्यसैले त
"ज्ञान"ले बिज्ञानलाई
"सत्य"ले असत् लाई
"उज्यालो"ले अन्धकार लाई
"अमरत्व"ले मृत्युुलाई
दिशानिर्देश गरिरहेछ२ ।। १ ।।

सृष्टि शृङ्खलामा
बुबा आमा
आदि मानव
कर्ताकोरुपमा
संरचना भए ।
आमाबाबु ईश्वर होईनन्
अन्ततः ईश्वर हुन् ।
यसको अर्थ
"ईश्वर" सत्व, रज, तम
त्रिगुणातित छन् ।।
आमाबाबु गुणवान् छन् ।
ईश्वर अजर अमर छन्
आमाबाबु मरणशिल
पृथ्वीको सर्वश्रेष्ठ प्राणी ।
पुनश्च !
ईश्वरको दायरा "घेरा"
व्यापक र फराकिलो
तर आमाबाबु
आफ्नै सन्ततिमा
बशिभुत सिमित  छन् ।।२।।

तसर्थ

"सकारात्मक"
"आशावादी"
"अहंकाररहित"
"क्षमाशिल"
"धैर्य"
शायद यिनै हुन्
कल्पनाको ईश्वरको
स्वर्गवाट आयातित
"शब्दश्लेष" ।। ३ ।।

हार्दिक धन्यवाद प्यारो छोरा श्री विशेष अधिकारी

✍️ वसन्तराज अधिकारी
कीर्तिपुर, काठमाण्डौं, नेपाल ।
[दिनाङ्क : गुरुवार ५ चैत्र २०७७ शुभम्]

Comments