१३८. कर्तव्य पथमा सच्चा, राष्ट्रसेवक रमाउने ।

 कर्तव्य पथमा सच्चा, राष्ट्रसेवक रमाउने 

✍️ वसन्तराज अधिकारी 
                                 उपसचिव, नेपाल सरकार  

मेरो श्रम पसिनाले, दुई छाक कमाउने ।
आश्रीत जनलाई, रुखो सुखो खुवाउने ।।१।।

राष्ट्र निर्माणको जग, स्वहातले बनाउने ।
राष्ट्र स्वगृहमा एउटा, ढुङ्गा नि मिसाउने ।।२।।

निजत्व र स्वाभिमान, सेवकको छ धर्ममा ।
गरिमा झल्कन्छ, औचित्य र सत्कर्ममा ।।३।।

जन्मे यै धर्तीमा हुर्के, माटोसँग ममत्व छ ।
जननी जन्मभुमिश्च, स्वर्गादपी गरियसी ।।४।।

सार्थक कर्ममा बिद्या र बुद्धि हर्दम समर्पण ।
उच्च बनाउनु पर्छ, मेरो यो मानव जीवन ।।५।।

अग्रजको आर्जनमा, आज आफू रमाउने ।
कर्तव्यबोध छ मेरो, भावी पुस्ता हँसाउने ।।६।।

सगरमाथाको शिर मेरो, नदी हुन् रक्तनली ।
सेताम्म हिमाल उत्तरतिर, टल्कन्छन् झल्झली ।।७।।

पहाड छाती तराई माथि, अन्नको भण्डार ।
सामर्थ्य राखी कर्तव्य कर्म, जीवनको छ सार ।।८।।

नेपाल आमा पुकार्छिन मलाई, पौरखी बन्नलाई ।
हातमा हात मिलाई सारा, नेपाली दाजुभाइ ।।९।।

समृद्ध शाली इच्छा छ, मेरो यो देश बनाउने ।
कर्तव्य पथमा सच्चा, राष्ट्रसेवक रमाउने ।।१०।।

✍️ रचनाकार : बसन्तराज अधिकारी
मिति २०७७\०५\१५ सोमवार 
घोराही दाङ, हाल: कीर्तिपुर, काठमाण्डौं ।

Comments