१०९. न्यायीक समिति सम्बन्धि सामान्य जानकारी : स्थानीय सरकार राजापुर नगरपालिका, राजापुर, बर्दिया

न्यायीक समिति सम्बन्धि सामान्य जानकारी : स्थानीय सरकार राजापुर नगरपालिका, राजापुर, बर्दिया 

✍️ बसन्तराज अधिकारी
उपसचिव, नेपाल सरकार
"जो हार्छ पीडा भोग्दछ, जो जित्छ बैरी कमाउँछ । जो मिल्दछ जीतै-जीत हुन्छ, र आनन्दले निदाउँछ ।" १. परिचय : न्यायीक समिति नेपालको संविधान स्थानीय कार्यपालिका भाग १७ धारा २१७ बमोजिम आफ्नो अधिकार क्षेत्र भित्र कानुन बमोजिम विवादको निरुपण गर्न प्रत्येक स्थानीय तहमा उपाध्यक्ष वा उपप्रमुखको संयोजकत्वमा गठन हुने तीन सदस्यीय समिति नै न्यायीक समिति हो । २. न्यायीक समितिको गठन : २.१ संयोजक : नगरपालिका उपप्रमुख श्री मनकला कुमारी चौधरी नगर सभाको निर्वाचित सदस्य मध्येवाट दुई जना न्यायीक समिति सदस्यहरु २.१ न्यायीक समिति सदस्य श्री रवीन्द्र मल्ल र २.२ न्यायीक समिति सदस्य श्री वर्षा परियार । ३. उद्देश्य : ३.१ न्याय शिघ्र र सुलभ रूपमा प्रदान गर्न, ३.२ न्याय छिटो, छरितो र कम खर्चिलो बनाउन, ३.३ न्यायमा सर्वसाधारणको सहज पहुँच स्थापित गर्न, ३.४ स्थानीय स्तरमा नै न्याय प्राप्त गर्न, ३.५ स्थानीय तहमा संघीयताको प्रत्याभूति गराउन, ३.६ विवादमा दुवै पक्षहरुलाई जीतको आभास कायम गराउन । ४. न्यायीक समितिवाट सम्पादन गरिने विवाद समाधान : न्यायीक समितिले सम्भव भएसम्म सम्पुर्ण विवादित पक्षहरू लाई मेलमिलापको माध्यम वाटै विवाद समाधान गर्न प्रोत्साहन गरि दुवै पक्षको सहमतिमा मिलापत्र गरि विवाद समाधान गरिन्छ । तर निम्नलिखित विवादको हकमा मिलापत्र हुन नसके न्यायीक समितिले कानुन बमोजिम फैसला गर्छ । ४.१ आली धुर, बाँध पैनी, कुलो वा पानी घाटको बाँडफाँड तथा उपयोग, ४.२ अर्काको बाली नोक्सानी गरेको, ४.३ चरण, घाँस, दाउरा, ४.४ ज्याला, मजदुरी नदिएको, ४.५ घरपालुवा पशु पंन्छी हराएको वा पाएको, ४.६ जेष्ठ नागरिकको पालनपोषण तथा हेरविचार नगरेको, ४.७ नाबालक छोराछोरी वा पति-पत्नीलाई इज्जत आमद अनुसार खान, लाउन वा शिक्षा दीक्षा नदिएको, ४.८ बार्षिक २५ लाख रुपैंया सम्मको बिगो भएको घर बहाल सुविधा, ४.९ अन्य व्यक्तिको घरजग्गा वा सम्पत्ति लाई असर पर्ने गरि रुख बिरुवा लगाएको, ४.१० आफ्नो घर वा बलेसीवाट अर्काको घर, जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको, ४.११ सधियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानुन बमोजिम छोडनु परिमाणको जग्गा नछोडी बनाएको, ४.१२ कसैको हक वा स्वामित्वमा भए पनि परापुर्व देखि सार्वजनिक रुपमा प्रयोग हुँदै आएको बाटो, बस्तु भाउ निकाल्ने निकास, बस्तु भाउ चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुराएको, ४.१३ संघीय वा प्रदेश कानुनले स्थानीय तहवाट निरुपण हुने भनी तोकेका अन्य विवाद । ५. मेलमिलापको माध्यमवाट मात्र समाधान हुने विवादहरु : ५.१ सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकाको हकको जग्गा अर्कोले चाँपी, मिची वा घुसाई खाएको, ५.२ सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरुको जग्गामा घर घर वा कुनै संरचना बनाएको, ५.३ पति-पत्नीको सम्बन्ध विच्छेद (तर पति-पत्नी बिचको सम्बन्ध बिच्छेद हुने गरि मेलमिलाप गर्न सकिने छैन), ५.४ अङ्ग, भङ्ग बाहेकको बढीमा एक बर्ष सम्म कैद हुन सक्ने कुटपिट, ५.५ गाली बेइज्जती, ५.६ लुटपाट, ५.७ पशुपंन्छी छाडा छाडेको वा पशुपंन्छी राख्दा वा पाल्दा  लापरबाही गरि अरुलाई असर पारेको, ५.८ अरुको आवासमा अनधिकृत प्रवेश गरेको, ५.९  अर्काको हक भोगमा रहेको जग्गा आवाद वा भोग चलन गरेको, ५.१० ध्वनी प्रदुषण गरि वा फ़ोहोरमैला फ्याँकी छिमेकीलाई असर पुर्याएको, ५.११ मेलमिलाप हुन सक्ने व्यक्ति भइ दायर हुने अन्य देवानी र एक बर्ष सम्म कैद हुन सक्ने फौजदारी विवाद । माथी उल्लिखित विवादमा पक्षले चाहेमा सिधै अदालतमा मुद्दा दायर गर्न सक्नेछन् । ६. न्यायिक समितिको अन्तिम निर्णय चित्त नबुझे के गर्ने ? न्यायीक समितिको अन्तिम निर्णय चित्त नबुझ्ने पक्षले अन्तिम निर्णय भएको मितिले पैंतीस दिन भित्र सम्बन्धित जिल्ला अदालतमा पुनरावेदन दिन सक्नेछ । अन्त्यमा, निन्दस्तु नीति निपुणायदि वास्तुवन्तु । लक्ष्मीद् समाद् गच्छतु बिशतु वा यथेष्टम् ।। यद्यैव  वा मरणSअस्तु युगान्तरेवा । न्यायात् पथं प्रवचलन्ती पद्यं नधिरा:।। ✍️ न्यायविद् आचार्य भतृहरि भावार्थ : नीतिज्ञ लाई चाहे निन्दा होस् वा स्तुति । लक्ष्मी आउन वा जाउन् । अहिल्यै मरण होस् वा युग युग सम्म बाँचियोस् । न्यायको बाटोवाट धिरहरु अविचलित हुन्छन् । ✍️ भावानुवाद बसन्तराज अधिकारी । स्रोत सङ्गालो : ~~~~~~~~ परिचय पुस्तिका (ब्रोशरवाट) ~~~ स्थानीय सरकार राजापुर नगरपालिका न्यायीक समिति राजापुर, बर्दिया । लेखक तथा सम्पादन परिचय : ~~~~~~~~~~~~~~~~~~ ✍️ बसन्तराज अधिकारी अधिवक्ता - एम.ए. (राजनीतिशास्त्र) ; बी.एल:, (कानुन) बी.ए. (अर्थशास्त्र/राजनीतिशास्त्र) ; बी.एड. (शिक्षा) हाल : उपसचिव, नेपाल सरकार कामकाज : प्रमुख प्रशासकीय अधिकृत राजापुर नगरकार्यपालिका कार्यालय राजापुर,  बर्दिया ।

Comments