२३. अ_आ_इ_ई क_ख_रा सजिलो सिकाई मुखाखर कवि तथा साहित्यकार आमा भावना अधिकारीको संक्षिप्त परिचय :

अ_आ_इ_ई  र क_ख_रा सजिलो सिकाई                              मुखाखर कवि तथा साहित्यकार आमा भावना अधिकारीको संक्षिप्त परिचय :       

📘 आमा भावना अधिकारीको साथमा म वसन्तराज अधिकारी र म्याडम एशोदा अधिकारी 

मेरो आमा भावना अधिकारी हाल दाङ घोराही रझेना बस्नुहुन्छ । ७५ बर्षको उमेरमा ८ (आठ) कक्षामा महिला चेतना बिद्यालय, रझेना, दाङमा पढनुहुन्छ । राप्ती साहित्य परिषद् दाङवाट सम्मानित नारी स्रष्टा मुखाखर कवि तथा साहित्यकारको रुपमा प्रसिद्ध हुनुहुन्छ ।

आमा महतारीवाट श्रुति-स्मृति (मुखाग्र)
(मुखाग्र~ कण्ठाग्र होईन शिक्षा पद्धति) #पुरानोशिक्षा


साथीहरू !  म सानो छँदा मेरी आमा श्रीमती भावना अधिकारीले मुखाखर (कण्ठ? कण्ठाग्र~जवर्जस्त, मुखाग्र= स्वेच्छिक) मामाघर हजुरबुबाले मामाहरुलाई घोकाउँदा कण्ठ भएको २०२८ सालभन्दा पुर्वको पुरानो शिक्षा प्रणालीको अ आ इ ई, कखरा सुनाउँछु हैत ध्यान दिएर सुन्नुस । यो पुरानो शिक्षा मैले पढेको हैन, मैले नयाँ शिक्षा पढेको श्रुति-स्मृतीका आधारमा :-

अ= अमला रुखमा हेर फलेको
आ=आँप उडायो आज गलेको
इ= इमिली अमिलो हुन्छ नखाउ
ई= ईश्वरको महिमा गुण गाउँ
उ=उल्लु हुँ हुँ गर्छ कराई
उ= उँखु मीठो लाग्छ मलाई
ए= एक्कामा चढी जाउ डिल्ली
ऎ=ऎनामा मुख हेर्दछ बिल्ली
ओ=ओखलमा सबै कुट्द्छन धान
औ=औषधि बैद्य बनाउँदछन जान
अं= अम्बा अमृत तुल्य छ मीठो
अ: अ: यो केटो कति ढिटो ।।

अब #कखरा है त क देखि ज्ञ सम्म

क=कमला रुखमा भमराले छायो ।
ख= खटिया माथी बस्यो खरायो ।
ग= गधा माथी धोवी चढेको ।
घ= घडी हेर लौं तीन बजेको ।
ङ=ङा ङा ङु ङु बच्चा गर्छ ।
च=चरो बारीमा चारो खोज्छ ।
छ= छडी हातमा गुरुजी लिन्छन् ।
ज= जहाज जंगल पारी जान्छन ।
झ=झण्डा फरफर गर्छ लौ हेर
ञा = ञा ञा बालक रुन्छ अधेर
ट=टपरी मा छ टमाटर खात
ठ=ठगले थैली लियो हात
ड=डमरु डमडम गर्छ हाम्रो
ढ=ढकना माथी फुल छ राम्रो
ण= णणाना बिणाना सुनदी सोर
त=तवला ताधिक जोर
थ= थलियामा हाली खाउ मिठाई
द=दहि बेच्दछन गुवालिनी आइ
ध=धनुकाण हान्दछन महावीर
न=नगरा ठोक्दछन अयोध्या वीर
प=पहलवानहरु कुर्लिन्छन
फ=फलपाके पछि भैमा झर्छन
ब=बाखरी बनमा दुबो चर्छ
भ=भण्टा खाई बैगुन गर्छ
म=मह मौरीले जम्मा गर्छ
य=यमपापीको सातो हर्छ।
र=रथमा राजा भएका राजा
ल=लडका लडकी खान्छन् खाजा
व=वकिल हिडेका अड्डा जान
श=शरिफा पाक्यो जान्छु म खान
ष=षट्कोण माथी सरस्वती बस्छिन
स=सहरमा झिलिमिली बत्ती बाल्छन
ह=हरिणीका ठुलो आँखा
क्ष=क्षत्री राक्षस बिघ्न चनाखा
त्र= त्राश देखाउँछन राक्षस हेर
ज्ञ =ज्ञानी बस्दछ जंगल नेर ।

#टिप्पणी : अहिलेको आधुनिक मन्टेश्वरी र अझ अगाडि #मिदास शिक्षा प्रणाली भन्दा के कम छ हाम्रो शिक्षा प्रणाली तर अंग्रेजी शिक्षाको अन्धानुकरण र जवर्जस्त प्रभावले अघिल्लो पुस्ताले र स्वयं हाम्रो पुस्ताले पनि यसलाई बचाउन तथा संरक्षण गर्न सकेनौं #अफशोच

संझनाका आधारमा :
बसन्तराज अधिकारी
दाङ घोराही हाल: नेपालगन्ज
मिति २०७७/०२/११ आइतबार शुभम् ।

Comments