१९. सन्दर्भ : कोभिड - १९ विशेष कविता अध्यात्मिक जागरुकताको "अभ्युदय" मात्र हुनेछ अग्निपरिक्षामा "दिग्विजय" ।।

सन्दर्भ : कोभिड-१९ विशेष कविता अध्यात्मिक जागरुकताको "अभ्युदय" मात्र हुनेछ अग्निपरिक्षामा "दिग्विजय" ।।        

📝 वसन्तराज अधिकारी
      घोराही उपमहानगरपालिका, दाङ, लुम्बिनी प्रदेश, नेेपाल 

अध्यात्मिक जागरुकताको "अभ्युदय" 

मात्र हुनेछ अग्निपरिक्षामा "दिग्विजय" ।।

सबैभन्दा पहिलो शुरुआत "जन्म"

जीन्दगीको अन्तिम क्षण "मृत्यु" ।

जन्म मृत्युको बिचको समय "जीवन" 

यही परिधिभित्र भुलिरहेछ मानव "मन" ।। १ ।।

भनिन्छ मर्न साँच्चिकै "गाह्रो" छ 

जीवन जीउन झन "साह्रो" छ ।

दु:ख र सुखको "संयोग" हो जीवन 

आँसु र हाँसोको "मिलन" हो जीवन ।।२।।

जन्म पुर्व "अदृश्य" छ जीवन 

मृत्यु पर्यन्त "अमुर्त" छ जीवन ।

विशाल सागरको "साघु" हो जीवन 

प्रारब्ध कर्मले निर्धारित "आयु" हो जीवन ।।३।।

मानव शरीर "स्थुल" दृष्टिगोचर हुन्छ 

वास्तवमा यो "सुक्ष्म" मै विनिर्माण हुन्छ ।

जाग्रत स्वप्न र सुषुप्त तीन "अवस्था" छ 

सत्व रज र तम त्रिगुणात्मक "व्यवस्था" छ ।।४।।

प्रारब्ध जुन जन्मजन्मान्तर "भाग्य" बन्दछ 

सत्कर्मले जीवनमा "पुरुषार्थ" भन्दछ ।

शिक्षा वृत्ति रोजाईको "स्वतन्त्रता" छ 

जस्तो कर्म त्यस्तै फल "यथार्थता" छ ।।५।।

शास्त्र भन्छ मानव जीवन "पुन्य कर्मले" मिल्दछ 

बिज्ञान भन्छ बाबुको "बिज र आमाको रजले" बन्दछ ।

मानव सृष्टि र सभ्यताको व्याख्या "मत मतान्तर" छन् 

जन्मपछी मृत्यु निश्चित "पुर्नजन्म" शास्त्र प्रमाण छन् ।।६।।

मानिस सबै एउटै भएपनि "भूगोलले" छुट्याएको छ 

सभ्यता बिकास धनी र गरिबी "खाडलले" बेग्ल्याएको छ । 

रगत सबैको रातो किन्तु बुद्धि "बाक्लो र पातलो" हुन्छ 

सर्वश्रेष्ठ भनिएपनि मान्छे "पाशविकता" पालेको छ ।।७।।

सत्य त्रेता द्वापर र कलि "चार युग" छन् 

धर्म अर्थ काम मोक्ष "चार पुरुषार्थ" छन् ।

स्वर्ग मर्त्य पाताल "तीन लोक" छन् 

परन्तु मृत्युु पछि "सबै बियोग" छन् ।।८।।

जन्म र मृत्युु "शाश्वत सत्य" हुन् 

अरु सब "माया जाल" मात्र हुन् ।

मानिसलाई बन्धन पार्ने "चाल" हुन् 

जीवन् रूपी रंगमञ्चमा "महाजाल" हुन् ।।९।।

शोक गर्नु व्यर्थ छ भन्नेले स्वयं "शोक" गर्छन् 

अरुलाई पाल्नेहरु स्वयं आफ्नै "पेट" भर्छन् ।

हजारौं पण्डितका मत "फरकफरक" छन् 

जति मर्छन् त्यति "जन्मिरहेका" छन् ।।१०।।

विश्वमा धेरै थरी "महामारी" भए 

हैजा, प्लेग, सार्स "अनेकन" थिए ।

प्रतिरोधात्मक क्षमता "बढदै" गैरहेछ 

दुर्भिक्ष रोगलाई मानव "जित्दै" छ ।।११।।       

भौतिक बिकासको "पराकाष्ठा"

जीवन बन्दैछ "निकृष्टता" ।

अध्यात्मिक जागरुकताको "अभ्युदय"

मात्र हुनेछ अग्निपरिक्षामा "दिग्विजय" ।।१२।।

~~~धन्यवाद ~~~                                                                                                                                                               ✍️ रचनाकार : वसन्त राज अधिकारी                             स्थायी ठेगाना : घोराही  उपमहानगरपालिका, दाङ                   रचना मिति : २०७७\०४\२४ शनिबार ।


Comments