२५६९औं अहिंसावादी शान्तिदुत महामानव बुद्ध जयन्ती २०८२ को सबैमा शान्तिपूर्ण शुभकामना 🙏
![]() |
शान्तिधाम लुम्बिनीमा हामी 🙏 |
अहिंसावादी दर्शनका नायक महान शान्तिदुत ।महामानव सिद्धार्थ गौतम बुद्ध हुन् अग्रदुत ।।एशियाका उज्ज्वल नक्षत्र ज्योतिपुञ्ज तारा ।सारा हामी नेपालीका हुन् प्राण प्यारा छोरा ।।१।।
विपश्वी शिखी विश्वभू समेत यस्तै अरु बुद्धहरु ।
क्रकोछन्दा र कनकमुनि प्राचीन महान सिद्ध ।।
काश्यप बुद्धहरु शाक्यमुनि पूर्व र मैत्रेय बुद्ध ।
यिनै हुन् स्वयंभू पुराण अनुसारका आराध्य ।।२।।
बुद्धधर्म अनुसार एक कल्पभित्र चारयुग हुने ।
कृता युग त्रेता युग द्वापर युग र कलियुग ।।
वर्तमान कलिकाल समय भित्र पर्ने भद्रकल्प ।
कलियुगको अन्त्य पछि मैत्रीय बुद्ध उदय ।।३।।
विपश्वी बुद्धको समय कालक्रम लेखाजोखा ।
स्वयं उत्पन्न भै स्वयंभू उत्पति भएको कथा ।।
कमलको फुल उत्पन्न भएको हजारौ बुद्धको ।
अभ्युदय भएर स्वयंभूमा तपस्या सफ़ल भयो ।।४।।
शिखी बुद्धको तपस्या फुलचोकीको डाँडामा ।
महाशुन्य ज्ञान सहित स्वयंभू ज्योतिमय स्वरुप ।।
विश्वभू बुद्ध फुलोच्चगिरी हालको फुलचोकी ।
क्रकुछन्द बुद्धले गरे स्वयंभू ज्योतिको दर्शन ।।५।।
क्रकुछ्न्द बुद्ध पशुपति र गुह्येश्वरी जंगलमा ।
ध्यान तपस्या गरि सयौं शिष्यको केशमुण्डन ।।
कनकमुनि बुद्ध लामो ध्यान तप गरे पश्चात् ।
गुह्येश्वरी स्थित बनमा आगमन गरेका थिए ।।६।।
हिमालयको पाठपिठमा शाक्यमुनि बुद्ध आए ।
सुप्रतिष्ठित श्री स्वयंभू महाचैत्यको दर्शन गरे ।।
स्वयंभू बन नजीक गोपुच्छाग्र पर्वतमा आएर ।
पञ्चज्ञान हेतु शुन्य निरञ्जन चित्त चैतन्य वर्णन।।७।।
मैत्रेय बुद्ध हिमाली महायानी र बज्रयानी बौद्ध ।
बौद्ध धर्मशास्त्र अनुसार शाक्यमुनि बुद्ध पश्चात् ।।
पाँच हजार बर्षसम्मको शासनकाल समाप्ति पछि ।
भविष्यमा सृष्टि भै बुद्ध शासन हुने भविष्यवाणि ।।८।।
ई.प. ५६३-४८३ गौतम बुद्ध २५६९औं ।
बुबा शुद्धोधन र आमा मायादेवी पुत्र ।।
धर्मपत्नी यशोधरा र पुत्र राहुल हुन् ।
लुम्बिनी कपिलवस्तुमा जन्मेका महामानव ।।
बुद्ध शिक्षा १ प्रज्ञा पारमिता
कुनै एक समयमा एउटा जंगलको छेउमा एउटा सामान्य किसान परिवार बस्दथे । अत्यन्त सरल, मेहनती खेती किसानी गरेर आजीविका चलाउने किसानको धर्मपत्नी प्रज्ञा पारमिता बुद्ध उपदेश खुब सुन्ने र अन्तर्मनमा मनन गर्ने पनि गर्थिन । वास्तवमा गृहस्थ धर्ममा रहेर पनि उनी बौद्ध भिक्षु नै थिईन । उनि बसेको स्थानको राजाको दरबारमा एक मध्य रातमा तीन जना खुंखार डाँकाहरुले राजकोषको द्वारपालेलाई आफ्नो कब्जामा लिएर दरबारको कोषगारवाट सुन, चाँदी,हिरा, मोती जस्तैः बहुमुल्य जवाहरात डकैती गरे । भोलिपल्ट राजालाई यो बिषय सिपाहीहरुले जाहेर भएपछि राजाका बिशेष कमान्डो सहित सैनिक टुकडी फौजलाई आदेश गरि डाँकालाई पक्राउ गर्न परिचालन गरियो । उनिहरु अन्धाधुन्ध जहाँकहिँ खोज्दै जाँदा खेतमा काम गरिरहेका तीनजना सामान्य किसानलाई पक्राउ गरे र भन्न थाले तिमीहरुले राज्यकोषको बहुमुल्य जवाहरात खजाना कहाँ लुकाएको छौं । किसानहरूले अत्यन्तै भयभीत हुँदै हामी खेतीपाती गरि जीविकोपार्जन गर्ने किसान हौं, हामी डाँका होईनौं भनेर प्रतिवाद गर्दा पनि अविवेकपुर्ण तरिकाले राजाका सेनाले उनीहरुलाई डाँका सावित गरि राजाका हजुरमा पेश गरे ।
सरकार यी तीनजना डाँका हुन् भनेर राजाका हजुरमा पेश भएपछि राजावाट आदेश भयो । यिनीहरुलाई कडा सुरक्षाको साथ एकछाक मात्र खान दिई आजीवन कारावासमा कैदमा राख्नु । यो दु:खद कुराको खबरले किसानको धर्मपत्नी सोंच मग्न भइन र उनले प्रज्ञा पारमिता अर्थात् उपाय कुशलता सोचिन र तत्काल फाटेको मैला कपडा पहिरेर जाडो भयो मलाई ओढना बर्को चाहियो भन्दै रुँदै कराउँदै सडकमा हिँड्न थालिन । राजाका द्वारपाल सिपाहीले यो दृश्य देखिरहेका थिए । राजा पनि बार्दलीमा आउँदा यो दृश्य देखेर ति महिलाले के भनिरहेको छिन् नजिकै गएर सोधेर आउ भन्ने आदेश मुताविक सिपाही पनि सोधेर आई भने महाराज जाडो भयो एउटा ओढ्ने बर्को माग गरिरहेकी छिन् भनेर भने । राजाले मामुली चिज मागेकी रहिछन् तुरुन्तै दरबारको कोषगार वाट राम्रो ओढ्ने बर्को उनलाई दि पठाउ तब सिपाहीले पनि महिलालाई बर्को दिन गएपछि ति महिलाले भनिन - मैले खोजेको यस्तो बर्को होईन जसरी पानी बिना नदीको अस्तित्व रहँदैन, राज्य बिना राजाको अस्तित्व रहँदैन त्यस्तै श्रीमान् बिना श्रीमतीको अस्तित्व रहँदैन मलाई मेरो श्रीमान् देउ यति भनेपछि सिपाही यहि कुरा लिएर राजाकहाँ बिन्ती गरे ।
महाराज अहिले ति महिलाको श्रीमान् डाँका मुद्दामा आजीवन कारावासमा छन् । बर्को दिंदा उनले यो बर्को मैले मागेको होईन जसरी पानी बिना नदीको अस्तित्व रहँदैन, राज्य बिना राजाको अस्तित्व रहँदैन त्यस्तै श्रीमान् बिना श्रीमतीको अस्तित्व रहँदैन मलाई मेरो श्रीमान् देउ भनेर भनेपछि राजाले बिचारपुर्वक ठम्याइ ठिक भनिछन् भने । वास्तवमा राज्य बिना राजाको अस्तित्व छैन पानी बिना नदीको र श्रीमान् बिना श्रीमतीको अस्तित्व रहँदैन तसर्थ ति महिलालाई मेरो सामु उपस्थित गराउ भन्ने आदेश बमोजिम ती महिलालाई राजा सामु उपस्थित गराए र राजाले महिलालाई डाँका मुद्दामा आजीवन कारावास जेल परेका तिम्रा छोरा, श्रीमान् र भाइ रहेछन् ति सबैलाई त म मुक्त गर्न सक्दिन तसर्थ तिम्रो अत्यन्त प्रिय ति तीनजना मध्ये तिमी एकजनालाई रोज म आम माफी दिई कारावास मुक्त गरिदिन्छु । राजाले यति भनेपछि महिलाले तत्काल भनीन् मेरो भाइलाइ मुक्त गरिदिनु होस् सरकार ।
राजाले अचम्म मान्दै सोधे तिम्रो अन्तरंग अत्यन्तै नजीकका आफ्नै छोरा र श्रीमान् लाई नमागेर तिम्ले भाइ किन माग्यौ यो कुरो मैले बुझिन नि । यसको कारण के छ । महिलाले बिन्ती लाईन विवेक प्रयोग गरिबस्योस राजन ! श्रीमान् त मैंले स्वेच्छा राखेर चाहे भने अझै अरु पनि पाउन सक्छु अनि छोरा चाहिँ किन मागेनौ नि - श्रीमान् नै पाएपछि छोरा पनि पाउन सक्छु त्यो के ठूलो कुरो भयो र यी पछि जोडिएको नाता सम्बन्ध हुन् मेरो सहोदर भाइ जुन मेरो एक्लो भाइ पनि हो र बाबुआमा सानैमा वितेका छन् तसर्थ यो नाता अत्यन्त प्रिय छ । यति सुनेपछि राजा अचम्मित भएर कस्तो उच्च विवेक म राजा भएर पनि ममा यति पनि विवेकशीलता रहेनछ भन्ने सोंचेर ती महिलाका श्रीमान् छोरा र भाइ निर्दोष भएको बिचार गरि भाइ सहित तीनै जनालाई निर्दोष ठहराई ससम्मान आम माफी गरि रिहा पनि गरिदिई महिलाको साथ लगाई पठाई दिए । वास्तवमा सारांशमा ति महिलाले अवलम्बन गरेको यहि हो उपाय कुशलता वा प्रज्ञा पारमिता । कथा यत्तिकैमा सकियो परन्तु कथाले केहि सन्देश दिन अवश्य खोजेको पनि छ ।
यो नीति कथा मैले आज गुरुवार बिहान् ५ बजे पछिको रेडियो एफएममा प्रभातकालिन हिंडाईको क्रममा सुनेको डा.योगी बिकासानन्दको प्रवचनलाई भावार्थ प्रस्तुत गरेको छु किनकी यो कथा धेरैको जीवनमा उपमाको रुपमा घटित हुन सक्छ नभए पनि लाभप्रद अवश्य हुन्छ । गुरु विकासानन्द रसिकताका साथ प्रासंगिक रुपमा भन्नू हुन्छ यो कुरा नजिकैको बिहारमा बौद्ध भिक्षुहरु सम्म पनि पुग्यो र उनीहरु आपसमा कानेखुसी गर्न थाले हामीले भन्दा ती सामान्य महिलाले भगवान बुद्धको उपदेश अनुशिलन गरिन । भिक्षुहरुको खास खुस सुनेपछि भगवान बुद्धले के कुराको खासखुश हो मलाई पनि भन भन्दा भिक्षुले सोही कुरा बिन्ती गरेपछि भगवान् बुद्ध भन्नुहुन्छ - सुन ! भन्ते ति महिलाको यो जन्म जन्मको संस्कार हो । अघिल्लो जन्ममा पनि म जस्तैः बौद्ध भिक्षु वाट यो ज्ञान ग्रहण गरि आफ्ना पतिलाई सजाय मुक्त गराएकी थिईन । हाम्रो स्वरूप, वर्ण, स्थान, परिवेश र परिस्थिति बदलिन्छ परन्तु संस्कार ज्ञान चिरस्थायी हुन्छ । तसर्थ मानिस ज्ञान सुन्न चाहादैनन समस्या परिसकेपछि ज्ञान जाग्रीत हुने पनि होईन बसिरहेको मानिसलाई हिड्ने दु:ख थाहा हुँदैन । बिपत्तिमा नपरेकालाई बिपत्ति थाहा हुँदैन तर कुनै न कुनै स्वरूप र प्रकारान्तरमा समस्या सबैलाई पर्दछ । समस्यावाट भागेर मुक्ति मिल्दैन पलायन वा आत्महत्याले पुनः पुनः समस्या बल्झिरहन्छ तसर्थ ज्ञान तत्ववाट सम्यक समाधी वा समाधान निस्कन्छ अन्यथा जन्म जन्मान्तर वा पुनर्जन्मसम्ममा दु:ख हैरानी कष्ट भोगीरहनु पर्दछ ।दु:ख छुटाउने अचुक रामवाण उपाय नै सम्यक समाधी वा समस्या समाधान गर्नु हो । यसको लागि प्रज्ञा पारमिता वा उपाय कुशलता चाहिन्छ । ति असहाय महिलाले श्रीमान् छोरा चाहियो भनेर सडकमा कराउँदै चिच्याउँदै हिंडेको भए तिनलाई पागल बहुलाई भन्थे मानिसहरु । वास्तवमा प्रज्ञा पारमिता चाकडी पनि होईन "त्वरित बुद्धि" हो जसरी ती महिलाले राजाको मस्तिष्कले सोच्न नसकेको बिषयलाई सामान्यरुपमा प्रस्तुत गरेर आफ्नो श्रीमान् छोरा र भाइलाइ कारावास मुक्त गरिन ।
बुद्ध शिक्षा २ सारिपुत्रको कथा
बुद्धकालिन समयमा बुद्ध भिक्षुहरु हजारौंको संख्यामा बुद्ध शिक्षा ग्रहण गरि प्रवर बन्दथे । किनभने त्यतिबेला महात्मा मुक्तात्माहरुको अभ्युदय भएको समय हो । महात्मा मुक्तात्माहरु केहि नबोले पनि केहि नगरे पनि उनीहरुको साथमा सयौं साधारण मानिसहरूको आकर्षण हुन्छ । यद्यपि व्यक्तिगत रुपमा सिद्धहरु कसैलाई केहि पनि गर्दैनन् र केहि पनि भन्दैनन् । न केहि दिन्छन् न त माग्छन् तर साधारण मानवहरु उनिप्रति अत्यन्त श्रद्धा र भक्तिका साथ आकर्षित हुन्छन् । यहि नै हो साधारण मनुष्य र सिद्ध वा मुक्तात्मा बिचको भिन्नता । एकदिन एउटा दुर्गम गाउँमा रहेकोे एउटा सानो बिहारमा एकजना साधारण भिक्षु बस्दा रहेछन् । त्यसै समयमा त्यहाँ एकजना सिद्ध मुक्तात्मा आईपुगेछन् । उनको दैवी आकर्षण र विलक्षण स्वभाव वा व्यक्तित्वको प्रभाव स्वरुप त्यहाँ स्थानीय मानिसहरू एकवाट दुई दुईवाट चार र चार वाट सोह्र हुँदै गुणात्मकरुपमा बढोत्तरी भएर मुक्तात्माको दर्शन हेतु जम्मा भएछन् । ती मानिसहरूलाई मुक्तात्माले न त केहि गरे न केही दिए । मुक्तात्माले संसारिक दु:ख र निवारण बारे ज्ञानको उपदेश गरे । मानिसहरूले श्रद्धाले फलफूल, भेटी चढाएर सेवा गरे र बेलुका मिष्टान्न भोजनको प्रवन्ध गरिदिए । भोजन पश्चात् भिक्षुहरु गृहस्थको घरमा बास नबस्ने हुँदा नजीकको बुद्ध बिहारमा बस्ने व्यवस्थाका साथ भोलिपल्ट बिहानको भोजनको सहर्ष निमन्त्रणा पनि गरे ।
स्थानीय बुद्ध बिहारमा एकजना साधारण भिक्षु बस्दथे । उनले रातभर सोच्न थाले म बसेको कति समय व्यतीत भयो तर यतिका मानिस कहिल्यै आएनन् । कहिल्यै बिहारमा नटेक्ने मानिस पनि आज यो भिक्षु कहाँ आए । यहि चिन्ताले साधारण भिक्षु रातभर निदाउन पनि सकेन । वास्तवमा भिक्षु, योगीहरु घर व्यवहार काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य त्याग गरेर बिहार वा गुम्बामा जान्छन् । त्यहाँ पुगे पछि उनीहरुले आफू एक्लो केवल ईश्वर चिन्तन गर्न तर्फ मात्र ध्यान दिनुपर्नेमा सांसारिक संस्कार सँगसँगै आउने भएका कारण उनीहरु दिग्भ्रमित हुन्छन् । सिद्ध मुक्तात्माहरु धेरैसंग बोल्दैनन् । साथी वा समूह बनाउँदैनन् यस्वाट उनिहरुमा सांसारिक प्रेम मोह उत्पन्न हुँदैन । यसको बिपरित ति साधारण भिक्षुमा कुण्ठा, जलन र तनाव उत्पन्न भएको फलस्वरूप भोलिपल्ट बिहानै उठेर नसुनिने गरि सुस्तरी ढोका ढक ढक्याएर आमन्त्रण गरिएको भोजन गर्ने ठाउँमा आफू एक्लै गए र त्यहाँका स्थानीय मानिसहरूले सोद्दा कस्तो भिक्षु आएको रहेछ हिजो मस्तले खाएर अहिलेसम्म सुतिरहेको छ । त्यो ज्ञानी पनि होईन ढोगी हो भनेर कुरा सिकेर आफुले एक्लै खाएर आउँदा बुद्ध मुक्तात्माको भागको खिर र मिठा मिठा परिकारहरु बिहारमै लगिदिनुहोस् भनेर दिए ।
साधारण भिक्षुले खिर र मिठा परिकार लिएर आउँदा सोच्न थाले कि त्यस्लाई यति मीठो मीठो परिकार बसि बसि खान दिएमा त्यो सदाका लागि यहि बस्छ कहिँ पनि जादैन त्यसैले त्यस्लाई खान नदिई लखटने भन्ने दुर्बुध्दीले त्यो मीठो परिकार नदीमा बगाउ भने मानिसहरू देख्लान फोहर फाल्नेमा फाले पनि देखेर म माथि शंका गर्लान् तसर्थ आगोमा डढाउने जुक्ति निकाली त्यसै गरेर मुक्तात्मा बुद्ध पुरुष सयन गरेको कक्षमा हेर्न जाँदा त्यहाँ ती भिक्षुलाई देखेनन् र चारैतिर खोज्दा पनि भेटेनन् ति बुद्ध मुक्तात्मा थिए अदृश्यरुपमा अन्यत्र गैसके । त्यसपछि त्यो साधारण भिक्षुले एकैरातमा गैहाल्ने भिक्षुलाई किन त्यति बिधि पाप गरे भनि चिन्तामा पर्न थाले अझै स्थानीयहरुले ति मुक्तात्मा सिद्ध थिए भनेपछि त त्यो साधारण भिक्षुलाई अत्यन्त चिन्ता र ग्लानी हुन थाल्यो किनभने उनको सबै पाप कर्म ति सिद्ध महात्माले थाहा पाईसके । यस्तै चिन्तामा ति साधारण भिक्षु एकदिन विरामी भए अन्ततः मरे ।फ़ेरि पुर्नजन्म हुँदा अत्यन्तै दु:खी, गरिब र बिपन्न कुलमा जन्मिए । यस्तै गरि उनले धेरै जन्म जन्मान्तर सम्म आफ्नो पाप कर्मको परिणामत: दु:ख भोग्दै रहे । बुद्धकालिन समयमा अत्यन्तै गरिब दु:खीको रुपमा यिनको जन्मभयो । सिद्ध महात्मा मुक्तात्मा बुद्धलाई खानवाट बञ्चित गरि अन्न डढाई कुकर्मको संस्कार छुटन सकेन । महात्मा बुद्धको समयमा गरिब, दु:खी भै समाजवाट त्याज्य भै अत्यन्त दु:खद अवस्थामा यिनको उध्दार गरि बिहारमा ल्याईयो । त्यहाँ यिनले संसारको माया मोह त्याग कठोर साधनामा तल्लीन भएपछि स्वयं भगवान् बुद्ध वाट प्रवज्याभै बुद्धत्व सिद्ध प्राप्त गरे जुन सारिपुत्र थिए ।
बुद्ध शिक्षा (Buddha Sikksha) ३
यो बिश्वमा म अग्र छु ।
यो बिश्वमा म जेष्ठ छु ।
यो बिश्वमा म श्रेष्ठ छु ।
यो यो मेरो अन्तिम जन्म हो ।
फेरि मेरो जन्म हुने छैन ।
The Buddha words of Grandeur "Foremost I am chief in the world, supreme in the world, eldest in the world. This is my last birth. there will be no more re-becoming.
नम: आदि गुरु शाक्य मुनि
आमाबाबुप्रति धन्य र कृतज्ञ हुनु,
आफ्ना आमाबाबुलाई आदर गर्नु, भविष्यमा छोराछोरीले तपाईलाई आदर गर्नेछन्, प्राचिनकालदेखि पितृभक्त छोराछोरी संसारको मन जित्छन, भाग्यमानी हुन्छन् ।
बुद्धले सिकाएका १० वटा सत्कर्म
१. हिंसा नगर्नु
२. चोरी नगर्नु
३. व्यभिचार नगर्नु
४. झुठो नबोल्नु
५. अरुलाई नसराप्नु
६. दुई जिब्रे कुरा नगर्नु
७. अरुको ईष्र्या नगर्नु
८. रीस नगर्नु
९. घृणा नगर्नु र
१०. दोष दृष्टि नराख्नु ।
दयाभाव राख्नु, कृतज्ञ र सहनशिल हुनु, आदरपुर्ण शिष्ट व्यवहार गर्नु, सदा खुशी रहनु, आफ्नो भाग्यमा सन्तुष्ट रहनु, निस्वार्थ भावले कर्म गरी पुण्य कमाउनु, अरुलाई मद्दत गर्नु, दुखीलाई सहयोग गर्नु, हिंसा नगर्नु, शाकाहारी बन्नु, जीवन रक्षा गर्नु, यस्तो गर्नाले सौभाग्य, दीर्घायु र आनन्द प्राप्त हुन्छ, सन्तान सुखी हुन्छन्, कर्मफल प्राप्त हुन्छ, खेर जाँदैन
ज्ञान, खुशी, आनन्द ज्योति
कुनै पापकर्म नगर्नु, सत्कर्म गर्नु, आत्मशुद्धि राख्नु यो नै बुद्धको बाटो हो
राम्रो चिताउनु, राम्रो बोल्नु, राम्रो गर्नु, राम्रो मानिस हुनु
ठुलालाई आदर गर्नु, सानालाई माया गर्नु, मानिसप्रति मैत्रीपुर्ण व्यवहार गर्नु, काम गर्दा सत्यलाई अँगाल्नु
भवतु सब्ब मङ्लम ।
संकलन तथा लेखन :
वसन्तराज अधिकारी
घोराही, दाङ ।
सन्दर्भ : बुद्ध जयन्ती २०८२ ।
Comments
Post a Comment