साथीहरू!!!
✍️ वसन्तराज अधिकारी साथमा यशोदा अधिकारी @ सुपादेउराली मन्दिर, अर्घाखाँची ।माघको पारिलो घामको रापमा लमतन्न रम्दै ।
वर्षा रहित यसपटकको हिउँद सुख्खा२ गम्दै ।।१।।
वातावरण अलि निरश, नमिठो सुखो र रुखो ।
यसपटकको हिउँदे फसल त्यति राम्रो पनि देखिन्न ।।२।।
लामो समयको अन्तरालमा लागेको कोरोनाको झल्को ।
रुघाखोकीले धेरै दिन लडाएर बेस्सरी च्याँप्यो ।।३।।
अहिले लखतरान साथ बल्ल तल्ल उठि बसेको छु ।
अहँ! शरीरमा बल स्फुर्ती नत क्यै जाँगर नै छ ।।४।।
यस्तै बेला आउँदारैछन् मनमा अनेकन तरंग ।
कावा खेल्दै गतिमान मन सुदुर अतितमा पुग्दछ ।।५।।
शिशुकाल बालककाल जवानी रंगीन यादहरु ।
घुम्दै२ आउँदा रैछन् चक्रवत शिघ्र बुढेसकाल ।।६।।
जीवन एउटा अगणित खेल नबुझिने खेल रहेछ ।
समयको रफ्तारमा स्वतस्फूर्त घुम्ने यन्त्रवत ।।७।।
कहिले व्यतीत वालपन मजगैं मजगाउँको सेरोफेरोमा ।
कहिले त स्कुले जीवनका छरपस्ट यादहरु ।।८।।
बाल्यकाल रमणीय लाग्नु स्वभावतः सामान्य हो ।
यद्यपि सुखदुःख बराबरी नै थिए ति दिनमा ।।९।।
जिज्ञासा कौतुहलता हजारौं थिए मनको पर्दाभित्रै ।
तर अमिट र अदृश्य थिए ति सबै भुक्तमान ।।१०।।
जब समय, शिक्षा र अनुभवले खारिदै खारिदै ।
शनै:२ आत्मज्ञान स्वजाग्रत हुँदै हुँदै आउँदा ।।११।।
बाबुआमा गुरुले बुझाए रटाएको दीक्षा शिक्षा भन्दा ।
अन्ततः आफ्नो गुरु आफै पो भैइदो रहेछ साथी ।।१२।।
दुईचार थान संस्मरण बडो मुस्किलले आउँछन् ।
पुर्व बाल्यकालका आन्तरिक अमुर्त संस्मरण ।।१३।।
बाल्यकालका असंख्य प्रतिनिधि घटनाक्रम भने ।
गुणात्मकता वृद्धि हुँदै जाँदा जीवन्त बन्दारैछन् ।।१४।।
सुन्दर शान्त आनन्द रमणीय ग्रामीण जनजीवन ।
स्वप्निल बिस्मृत रंगीन चलचित्रका पर्दा जस्तैः ।।१५।।
मिठास बनेर घुम्दछन् सजल यी नयन वरिपरि ।
शायद कसले बिर्सेला र आफ्नो गौरव अतीत ।।१६।।
नदीको जललहरी सरि बगिरहेको सादा जीवन ।
बग्दैथ्यो नि सिदा रूपमा आफ्नै नित्य गतिमा ।।१७।।
थाहा थिएन कहाँ सम्म जाने पुग्ने हो यो जीवन ।
गन्तव्य बिहिन एउटा अथक एउटा पथिक बनी ।।१८।।
यहीँ बेला आए हावा हुण्डरीहरु लछार्दै पछार्दै ।
कहिले वल्लो घाट कहिले पल्लो तिर पुराउँदै ।।१९।।
अब भने सरल रेखामा बगेन आफ्नै जिन्दगानी ।
एउटा बक्ररेखा सरि बनेर कोरिन थाल्यो कहानी ।।२०।।
सत्कर्म भाग्यको फ़ल मात्र रैनछ यो भुक्तानी जीवन ।
बलवान् प्रारब्ध र कठिन अवस्थाको रैछ लगानी ।।२१।।
शायद यहीँ त होला भाविको छैटौं दिनको लेखान्त ।
शिक्षाको फ़ेरो समात्दै बाँधेको कर्मको बलियो डोरो ।।२२।।
सम्झिन्छु चञ्च्ल बाल्यकाल र जिज्ञासु किशोरावस्था ।
जीजिबिषा गाउँका सुमधुर रोमाञ्चक संस्मरणहरु ।।२३।।
दु:ख भित्र लुप्त ति सुखका झिल्का संझन लायक ।
तर अहिले यथार्थमा ति स्वप्निल तरंग जस्तैः भए ।।२४।।
न त भविष्यको सार्थक कुनै स्पष्ट योजना थियो ।
न त कुनै महत्वाकांक्षी प्रबल उच्च मनोभावना ।।२५।।
यथार्थमा साम्यवाद स्वरुपको किशोरावस्था ।
आनन्द आउँछ अहिले सम्झदा ति सच्चाईलाई ।।२६।।
धेरै२ अन्तरंग भरि भरी अनुभवका पेटाराहरु छन् ।
स्वदेश र प्रवासिएका उच्छ्वास स्वअनुभुती ।।२७।।
तिनको केस्रा२ रौं चीरा केलाउनु भन्दा पनि सारमा ।
शिक्षा बिना जीवन बन्दै गाथ्यो अन्धकारमा ।।२८।।
शिक्षाले वृत्तिपथ निर्धारण गर्नुपर्ने ब्राह्मण वर्ग ।
बिपन्न आर्थिक अवस्था असहाय किशोरवय ।।२९।।
गोरेटो घोडेटो र मूलबाटो आफ्नै पाखुरीले कोर्नु थियो ।।
ठेस लागेपछि सम्हालिएर हिंडनु प्राकृतिक शिक्षा थियो ।।३०।।
जिम्मेवारीको भारी काँधमा बोकी जीवन सक्रियता ।
यहीँ त रहेछ जीवन एक वास्तविक अग्निपरिक्षा ।।३१।।
जब घर व्यवहार परिवार र समाजले कोररा हान्दै ।
नमिठो गरि बेस्सरी घोच्दै पेल्दै पिसदै ल्यायो ।।३२।।
तब मात्र थाहा भयो प्रतिस्पर्धा रहेछ जीवन ।
अब भने प्रतिस्पर्धाको खेलमा होमिनु नै पर्यो ।।३३।।
जीवन यात्रामा हामी हिड्ने बाटाहरु धेरै छन् ।
आफू कुन बाटो कहाँ सम्म पुग्ने आफै रोज्ने हो ।।३४।।
लगनशील मेहनत र परिश्रम भएर मात्र पनि हुन्न ।
आत्मविश्वास र दृढ़ संकल्प स्वयं भित्र जाग्नुपर्छ ।।३५।।
गाउँवाट उठेर झोला बोकि हिडेको सोझो केटो ।
गाउँ बस्ती बजार दुर्गम सुगम हुँदै ठुलो शहरसम्म पुगि ।।३६।।
आफ्नो बल बुताले आफ्नो बाटो आफै तय गर्दै हिड्नु ।
यो के सच्चा प्रगतिशील क्रान्ति पथ होईन र भन्या ? ।।३७।।
ए ! क्रान्तिलाई वर्गीय रुपमा अर्थाउनेहरु हो ।
हिंसा हत्या सत्ता राजनीति स्वार्थ मात्र क्रान्ति हो र !! ।।३८।।
यहाँ त प्रत्येक पाईला पाईलामा क्रान्ति भै रहन्छ ।
अन्यथा जीवन कसरी शान्तिपुर्ण रुपमा चल्दछ ??।।३९।।
असफ़लता नै सफ़लताको कुञ्जी र द्योतक हो ।
जो पटकपटक लडदछ अनि फ़ेरि जुरुक्क उठदछ ।।४०।।
त्यस्ता हस्तिहरु नै यो जीवन संघर्षमा सफल हुन्छन् ।
जस्ले अर्जुन दृष्टि गरि कार्य कुशलसाथ गर्छन् ।।४१।।
जसरी फ़लाम आगोमा तताएर बेस्सरी पिटेपछि ।
आकार लिएर चाहेको भाँडा हतियार बन्दछ ।।४२।।
त्यही नै त हो आखिर जीवन संघर्ष पदचाँप पनि ।
सुखमा मात्तिएका भन्दा दु:खमा रापिएका महान हुन्छन् ।।४३।।
अतित भन्दा वर्तमान जीवन सार्थक हुँदाहुँदै पनि ।
उहीँ पुरानै दिनका जबर्जस्त यादहरु आउँदारहेछन् ।।४४।।
त्यहीँ संघर्ष मेहनत लगनशीलता र परिश्रमको ।
पसिनाले त आजको दिनसम्म ल्याई पुरायो ।।४५।।
भाग्य र कर्म जोख्ने आफ्नै हातको तराजुमा ।
भाग्यलाई नै श्रेयष्कर ठानिन्छ जुन बन्छ प्रतिफल ।।४६।।
समय बेलगाम घोडारुपि पदचापमा परिवेष्टित बन्दै ।
धमिलो छायां जस्तैः क्षितिज पारिसम्म दिन गन्दै ।।४७।।
जोडिएको साथहरु छुट्टिदै जाँदारहेछन् बन्दै विस्मृत ।
त्यसैलाई बनाउनु पर्दोरहेछ मानव जीवन मृदु रसामृत ।।४८।।
प्रकृतिको शाश्वत नियम बलिष्ठ पञ्जामा बाँधिएर ।
कतै स्वतन्त्र फुक्का र कतै कोच्चिएर खाँदिएर ।।४९।।
अनुभवबाट केही अलिकति सातु सामल झिकौ भन्दा ।
अनुभव त आखिर आकाश जस्तैः छ/छैन मृगतृष्णा ।।५०।।
अतित वितिसक्यो वर्तमान कहाँ छ र फ़ेरि चीरस्थायी ।
भविष्य अनिश्चित छ भने आखिर के रैछ त जीवन ।।५१।।
कति गरे के गरे यो नश्वर जीवनमा यसको सहि हिसाब ।
मिलाउँदा मिलाउँदै पनि छरपस्ट हुन्छ मिल्दै मिल्दैन ।।५२।।
यथार्थमा बेहिसाब जिन्दगी हिसाब किताब रहेनछ ।
कठपुतली जस्तैः घुम्दै नाच्दै दुनियाँलाई हँसाउँदै ।।५३।।
रंगमञ्चमा कलाकार सरि नाटकीय अभिनय गरि ।
कहिले हाँस्दै कहिले नाच्दै बाहिर हाँस्दै भित्र रुँदै ।।५४।।
अतृप्ति हुँदोरहेछ सदा नै धन मान र जोवनको ।
त्यहीँ नै सिद्ध रह्यो जो आफ्नो भाग भोगमा मिल्यो ।।५५।।
सन्तोषम् परम सुखम् असन्तोषम् सदा दु:खम् ।
तृष्णा वैतरणी नदी रोग हुन् नरकका कष्ट जति ।।५६।।
अब क्रमशः विस्मृत हुँदैछन् निजामती सेवा प्रवेश देखि ।
पेशागत दायित्व कर्तव्यबोध र सच्चरित्रता साथ सक्रियता ।।५७।।
त्यो मुलबाटो छोडेर अब आफ्नै गोरेटोमा पाईला राख्दा ।
किन सम्झिरहनु पर्यो र सकि नसकी बोकेका भारीहरु ।।५८।।
अमीट तृष्णा बलबती हुँदोरहेछ ऎजेरु झैं बेहृनखोज्ने ।
यहीँ छुटाउन मुक्त सानन्द जीवन बनाउन रोज्ने हो ।।५९।।
हिजोका सुखदुःख खाली गरि पुनः नविनता भर्नु छ ।।
जतिसुकै धाक रवाफ र प्रभाव देखाएपनि एकदिन मर्नु छ ।।६०।।
सरलता र सहजता त स्थानीय स्वरुप हुनुमै रहेछ ।
स्थानीयवाट राष्ट्रिय स्वरुपमा उडान भरेपछि त ।।६१।।
वायुयान गगनमा विचरण गरे झैँ गरि सररर र घुम्दा ।
फ़ेरि धरातलमा पाईला राख्नुपर्छ भन्ने पनि भुल्दा ।।६२।।
घर छोड तर घर नबिर्स भन्ने महाकवि देवकोटा ।
यहि आदर्श वाचा रहेछ जीवनको सच्चाई कविता ।।६३।।
भौतिक भोगले कहिल्यै मानिस अघाउँदैन हुँदैन सन्तुष्ट ।
अध्यात्मिक जागरणले हुन्छ जीवन सत् चित् आनन्द ।।६४।।
अध्ययनका र वृत्तिका संघर्ष जीजिबिषा र विजीगिषा ।
पारिवारिक जिम्मेवारी घर व्यवहार अनिवार्य दायित्व ।।६५।।
साठी बर्ष पुगे पश्चात् भए सबै काम धन्दा परिपुर्ण ।
स्वगृहलाई आश्रम बनाई आत्मसम्मान गौरवपुर्ण ।।६६।।
आराधना जप तप ध्यान सदा सर्वदा ईश्वर चिन्तन ।
अभ्यास गर्नुछ सरल सहज भक्ति पथ नाम संकीर्तन ।।६७।।
आत्म तत्व चिन्न सके सकिन्छ जान्न परमात्म ।
सहज छ जम्बुद्विपमा जन्मे पछि मुक्ति मार्ग भेटाउन ।।६८।।
महाकुम्भ आफै भित्र भेट्टाउन गर्नु पान अमृतत्व ।
नराख्नु नश्वर भ्रमपुर्ण नाशवान संसारको माया मोह ।।६९।।
कति जन्म भए हुन् अघि पछि हुने हुन् कति कति ।
बुझ्न् सके पछि मात्र मिल्छ मोक्ष धाम परमगति ।।७०।।
अब छतमा घाम ताप्दा ताप्दै शिघ्र सकियो दिन पनि ।
जन्मे पछि बाल, किशोर युवा प्रौढ र बृद्धअबश्था पनि ।।७१।।
जस्ले बुझ्छ यथार्थ भाव उसैलाई हो समग्र कविता पनि ।
समर्पण गरे माथिनै सम्बोधन गरि साथीहरू भनि ।। ७२।।
°°°°°
रचनाकार : ✍️ वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ, नेपाल ।
रचना मिति: मंगलबार ८ माघ २०८१
Comments
Post a Comment