५४५. आफ्नै आत्मा भित्र साक्षात् परमात्मा भगवान् खोजिरहेको छु ।।

आफ्नै आत्मा भित्र साक्षात् परमात्मा भगवान् खोजिरहेको छु ।।                       

✍️ वसन्तराज अधिकारी, घोराही, दाङ 

सानो बालक करिब पाँच बर्ष छँदा खेरि  म सोंच्दथे र
एकपटक एउटा यक्ष - प्रश्न मैले मेरी आमालाई सोधें-
बुवा आमाको बुबा आमा फ़ेरि उन्का बुबा आमाका बुबा आमा
क्रमशः शृङ्खला शुरुआतमा कस्ले जन्मायो होला हाम्लाई ?
सबैभन्दा पहिलाका पुर्वज आदि अनादी बुबा आमालाई ।।१।।

पहिला कस्ले जन्म दियो होला भन्ने अनुत्तरित सवाल ।
पटकपटक एउटै प्रश्न  मैले मेरी आमालाई सोधिरहे  ।।
आमाले सहज साथ भन्नुभो तेरो बाबुलाई सोध्  भनेर ।
यद्यपि  सानोमा मलाई बुबाले अगाध धेरै माया गरे पनि ।।
ठाडै बुबालाई  दोहोरो संवाद प्रश्न सोध्न डर लाग्थ्यो ।
र मैले बुबासँग सवाल जवाफ गर्न किमार्थ सक्दैन थे ।।२।।

आमा ! तपाईले नै बुबालाई सोधेर मलाई  भन्दिन्नु न ।
बसन्ते मलाई पनि था छ नि यति त भनेर भन्नू भो ।।
त्यसो भए पैला भैंसीको गोठको भकारो सफा गरि सोर ।
अनि मात्र भन्दिन्छु आमाले अग्रिम गुरु दक्षिणा माग्नुभो ।।
सदा आमाको हप्की दप्कीले अराएको काम भन्दा पनि ।
मिहिनेत साथ सफा गरे गाई भैसिको गोठको भकारो ।।३।।

अनि हेर्नुस् त आमा भकारो सफा गरे अब भन्दिन्नुस् ।
अहँ ! अझै भन्दिन नुहाई धुवाई गरि शुद्ध सफा भएर ।।
दुर्गा कवच, सप्तसती चण्डी भगवती स्तोत्रका पुस्तक ।
सम्पुर्ण पाठ पुजा गरेर आईश भने पछि मात्र भन्छु ।।
अब त मलाई नि शंका उपशंका लाग्न  थाल्यो शायद! ।
यो कठिन  प्रश्नको उत्तर आमा हजुरलाई पनि था छैन ।।४।।

कतै मेरि आमाले मलाई काममा अल्झाउन खोज्नु भयो ।
फ़ेरि आमाले भन्नू भो मलाई था छ तेरो हजुरबुबाले भनेको ।।
अराएको राम्रोसँग गरिस् गरि मानिस भने म अवश्य भन्छु ।
फ़ेरि मलाई आशा पलायो आमाले भने मुताविक काम गरे ।।
यस्तै गरि व्यतीत हुँदै थिए मेरा जिज्ञासा र दैनिकी दिनचर्या ।
आमावाट जिज्ञासा मेटिएन आश्वासन भने निरन्तर पाईरहे ।।५।।

एकदिन हाम्रो घरमा हाम्री भक्ति  सीताराम फुबु आउनुभो ।
मैले यहि यक्ष प्रश्न पुनः भक्तिनी  सीताराम फुबुलाई सोधे ।।
फुबुले जीव्रोको टुप्पामा झुण्डिएझै भन्नू भो भगवान् हुनुहुन्छ ।
त्यसैले त हो हाम्ले भगवान् लाई जप्ने पुजा गर्ने मान्ने गरेको ।।
भगवान् मन्दिर, गुरु, पुस्तक, चित्र, मुर्ति र तीर्थमा भेटछौं नि ।
मैले आमालाई तुरुन्तै भनिहाले आमा तपाईले नभने पनि ।
हाम्री वैष्णव सीताराम फुबुले भन्नू भो भगवान् हुनुहुँदो रैछ ।।६।।

मलाई पनि था छ यत्ति कुरा पनि कति के के न था पा जस्तो ।
तथापि आमाले फुर्तिसाथ आफुलाई थाहा भए जस्तैः गर्नुभो ।।
हरेक कुरामा आमाको यस्तै प्रकृतिको विशिष्ट कलाको चाल ।
धेरै पछि मात्र मैले बुझ्न थाले यो पनि मलाई  राम्रो शिक्षा भयो ।।
फ़ेरि मैले नम्र साथ फुबुलाई सोधे हजुरले भगवान् देख्नुभाछ ।
अत्यन्त सहजसँग  हेर बाबू भगवान् नारायण भनेर फुबुले ।।७।।

पुजाकोठाको सालीग्राम यिनै हुन् भगवान् देखीस् भन्नु भो ।
देखिन भनु भने मैले देखे  किन्तु कालो शिलामा भगवान् ? ।।
फुबु तर कालो शिला देखे त कसरी मान्नु भगवान् यिनै हुन् ।
फुबुले भन्नू भो भक्तिले मिल्छन् भगवान् यि शालिग्राम हुन् ।।
फ़ेरि मैले फुबुलाई केहि प्रतिप्रश्न सोध्ने आँट गर्न पनि सकिन ।
फुबुमा गुरु भक्ति र अध्यात्मिक ज्ञानको अगाध सागर रैछ ।।८।।

सामान्य साक्षर फुबुमा सीताराम वैष्णव वैरागी गुरुबाको कृपा ।
हेमन्तपुर दाङमा थियो भव्य श्री हनुमान कीर्तन मन्दिर ।।
प्रत्येक मंगलबार हरि किर्तन भजन रामायण पाठ हुन्थ्यो ।
मलाई पनि फुबुले राम मन्त्र दिई जप तप गराउनु हुन्थ्यो ।।
स्नान सन्ध्या गरि शुद्ध कपडा पहिरिई जप गर्नु पर्दथ्यो ।
दैनिक एकहजार राम नाम जप ऎले स्वप्ना जस्तो लाग्छ ।।९।।

अहिले मेरो परमपुज्य बुबा र फुबु दुवै भगवान् बनेका छन् ।
सीताराम श्रीवैष्णव फुबुको  मन्दिर पनि अस्तित्वमा छैन् ।।
तर फुबुको गुरु चेलीका तिलस्मी कथा पुरानो पुस्ताले सम्झन्छ ।
चारधाम चौरासी तिर्थ गरेका फुबुको मानव कल्याण भन्दा नि ।।
सैद्धान्तिक र व्यक्तिगत धर्म थियो जुन संस्थागत हुन सकेन ।
हामी माझ जीवीत देवी आमा हुनुहुन्छ ऎले म विद्यार्थी जस्तैः
आफ्नै आत्मा भित्र साक्षात् परमात्मा भगवान् खोजिरहेको छु ।।

✍️ वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका, दाङ
सोमबार, ४ असार २०८० शुभम् ।

Comments