५१३. दुर्गा कवच [सरल नेपाली भाषामा]

दुर्गा कवच
[सरल नेपाली भाषामा]

📝 वसन्तराज अधिकारी 

चण्डीकालाई नमस्कार छ । मार्कण्डेय भन्नुहुन्छ  "हे पितामह  ब्रह्माजी ! यस संसारमा सम्पुर्ण मानवहरुको रक्षा गर्ने पहिले कसैलाई पनि नबताईएको कुन तत्व छ मलाई कृपा गरेर बताईदिनुहवस ।"ब्रह्मा  जी आज्ञा गर्नुहुन्छ -  हे ब्राह्मण ! अत्यन्तै गोप्य र पवित्र भनिएको यो देवीको कवच हो । यसले सम्पुर्ण प्राणीको उपकार पनि गर्दछ । विश्वमा नवदुर्गा भन्ने प्रसिद्ध पाउने देवीहरुमा पहिली शैलपुत्री, दोस्री ब्रम्हचारिणी, तेस्री चन्द्रघण्टा, चौथी  कुष्माण्डा, पाँचौं स्कन्दमाता, छैटौ कात्यायनी, सातौं कालरात्री, आठौं महागौरी नबौं सिध्दिदात्री छन  । यी नामहरु  प्रजापिता  ब्रम्हाले राख्नु भएको हो ।

डढेलोमा परेर आगोले पोल्न लाग्दा समरभुमी बिच शत्रुले घेरिदा शंकट एवं आपद बिपद  पर्दा र डरले आकुलव्याकुल भएका बखत देवीको शरण परेपछि सुरक्षित होईन्छ । जुन व्यक्ति यो दुर्गाको कवच पाठ गर्दै देवी भवानीको शरणमा पर्दछ, युद्धवाट आईपर्ने समस्त संकटहरु र पिर पीडा डर आदिका खतराहरु स्वत: टरेर जान्छन ।

मनमा भक्तिभाव राख्दै देवताहरुका पनि आराध्ददेवी भवानीको जसले स्मरण गर्दछ  भगवतीले उसलाई सुरक्षित तुल्याउनु हुन्छ ।   देवी चामुण्डाको बाहन प्रेत हो, बाराहीको भैंसी, इन्द्रायणीको ऎरावत हात्ती र बैष्णवीको गरुड बाहनहरु हुन । माहेश्वरीले साँढे कुमारीले मयुर चढने गर्छन । हातले कमल समाउने हरिपृया लक्ष्मी कमलमा नै बसेकी छन । गोरी वर्ण भएकी पार्वती साँढेमा (बृषभमा) बसेकी छन भने सम्पुर्ण गर गहनाहरु पहिरिएकी ब्रम्हाणी हाँसमाथी सवार छिन ।

यी सबै देवी माताहरु अनेकौं शस्त्रहरु लिएका र गहनाहरु पहिरिएर राम्रा भएका छन । सबै देवीहरुले शंख, चक्र, गदा, शक्ति, हलो र मुसल समाएका छन । उनीहरुको अनुहार पनि रिसले चुर भएको छ । सबै देवी माताहरु रथमा सवार छन । देवीहरुले खेटक (फलेक) बञ्चरो, टुप्पो तीखो भएको तोमर, भाला (कुन्त), त्रिशुल र साङ्ग्रधनु आदि असल हतियारहरु बोकेका छन ।

दैत्यहरुको देहनाश  गर्न वा उनीहरुलाई मार्न आफ्ना भक्तजनहरुलाई निर्भय तुल्याउँन देवताहरुको हित गर्न यी देवी माताहरुले हात हतियार समाएका हुन । हे देवी ! तपाईं रौद्ररुप धारण गर्नु हुन्छ । ज्यादै पराक्रमी पनि हुनुहुन्छ । ठूलो उत्साह र बलद्वारा सम्पन्न हुनुभएको छ । भयको नाश पनि गर्नु हुने हजुरलाई नमस्कार छ ।

हेर्दा खेरी डरलाग्दो रुप भएकी शत्रुलाई तर्साउने देवी भगवती हुनुहुन्छ । पुर्व पट्टीको दिशामा इन्द्राणी देवीले र आग्नेय दिशा तर्फ अग्नि देवताले रक्षा गरून् । बाराहीले दक्षिणतर्फ, खड्गधारिणीले नैॠर्त्य तर्फ, पश्चिममा बारुणीले बायव्यमा सिंहवाहिनीले रक्षा गरून् । उत्तर दिशा तर्फ कौवेरी र इशानमा शुलधारिणीले रक्षा गरून् । माथी पट्टि  (उर्ध्व दिशामा) वैष्णवीले रक्षा गरून्  ।

शव मुर्दा बाहन भएकी चमुण्डाले दशैं दिशा भरी रक्षा गरिरहुन  ।  जयाले  अगाडि पट्टि र  बिजयाले पछाडी पट्टि रक्षा गरून । शरिरको दायाँ भाग अजिताले, बायाँ भागको अपराजिताले शिखाको उधोतिनीले अनि मस्तक (टाउको) को रक्षा उमादेवीले गरून् । मेरो निधारको मालाधरी नाम गरेकी देवीले र यशस्विनी देवीले मेरा आँखिभौंहरुको रक्षा गरून् । आँखिभौंको बीच भागमा त्रिनेत्रा र नाकका पोरालाई यमघण्टा नाम गरेकी देवीले रक्षा गरून् ।
शाकिनीले दुबै आँखाका मध्यभागमा तथा दुबै कानमा द्वारबासिनीले रक्षा गरून् । कालिका देवीले दुबै गालाको र शाकरी देवीले दुबै कानका जर्बुटाको रक्षा गरून् । दाँतहरुको रक्षा कौमारीले गरून् । घाँटी (कण्ठ प्रदेश) को चण्डिकाले रुद्रघण्टीको चित्रघण्टाले तथा तालु (माथिल्लो दाँतको फेदको प्रदेश-च्यापु) को महामाया देवीले रक्षा गरून् ।

चिउडोलाई कामाक्षिले  बोलीलाई सर्वमङगला देवीले रक्षा गरून् । भद्रकालीले घाँटीमा र पृष्ठबंश (मेरुदण्ड पिठिउँको मुल हाड) लाई धनुर्धरीले रक्षा गरून् । घाँटीको बाहिर पट्टि निलगृवा देवीले , कण्ठ नलिका (निल्ने ढोडे नशो) मा नलकुवरी देवीले बचाउ गरून् । खडगहस्ता (खड्गीनी) ले दुबै काँधको र दुबै बाहु (पाखुरा) को बज्रधारिणीले रक्षा गरून् । दुबै हात र औंलाहरु, नङ र कोखाहरुको क्रमशः दण्डिनी, अम्बिका, शुलेश्वरी र कुलेश्वरी देवीहरुले रक्षा गर्दै जाउन । कुचद्वय (दुबैस्तन) को रक्षा महादेवीले गरून् । ललितादेवीले छातिको शोक बिनाशिनीले मनको र शुलधारिणी देवीले पेटको रक्षा गरून् । कामीनी देवीले नाभि (नाईटो) भागको, गुह्य (गुप्तांग)को गुह्येश्वरी देवीले, पुतना र कामिकाले लिंग (मेढ्र) को तथा महिषबाहिनी देवीले गुदद्वारको बचावट गरुन ।

कम्मर भागको भगवतीले, घुँडाहरुको बिन्धवासिनीले रक्षा गरून् । मनले इच्छा गरेका सम्पुर्ण कुराहरु दिने भएकी महाबला देवीले जाँघको रक्षा गरून् । नारसिंही देवीले गोलीगाँठोको, गोडाको माथिल्लो भागको तैजसी र कुर्कुच्चाको श्रीदेवीले रक्षा गरिदिउन । अनि तलवासिनी देवी पैतलामा बाँस गरून । द्रष्टाकराली देवीले नङहरुको, उर्ध्वकेशिनीले केशहरुको (कपालको) रौं उम्रने प्वाल (रोम कुप) मा कौवेरी देवीले र बागेश्वरी देवीले छालाको रक्षा गरून् । रगत, मज्जा (मासी), बोसो, हाड, मेध (मासु) आदिको पार्वतीले र  आन्द्राको कालरात्रीले तथा पित्तको मुकुटेश्वरी देवीले रक्षा गरून् ।

मुलाधार आदि कमलकोशहरुमा पद्मावती देवीले कफमा चुडामणी देवी बसिकन रक्षा गरिदिउन । नङको तेजलाई ज्वालामुखी देवीले र कुनै शस्त्रास्त्रद्वारा पनि भेदन गर्न नसकिने भएकी अभेद्या देवीले शरिरका सबै मर्मसन्धि (जोर्नी) हरुमा रहेर रक्षा गरून् । हे ब्रम्हाणी देवी ! तपाईले मेरो धुक्र (वीर्य) को रक्षा गरिदिनुस । छत्रेश्वरीले छायाको र मेरा अहंकार, मन र बुद्धिको रक्षा धर्मधारिणीले गरिदिउन । बज्र हातमा लिएकी बज्रहस्ता नाम गरेकी देवीले मेरो प्राण (छातीमा रहने)  अपान (गुदद्वारमा रहने),व्यान (शरीर भरी रहने), उदान (घाँटीमा रहने) र समान (वायु) को रक्षा गरून् । रस, रुप, गन्ध, स्पर्श यी पाँच बिषयहरुको अनुभव गर्दाका बखत योगीनी देवीले र म आफू भित्र रहेका  सत्वगुण, रजोगुण, तमोगुणहरुको रक्षा कार्यका नारायणी देवीले गरून् ।

बाराहदेवकी शक्ति बाराहीले आयु बढाउन । धर्मको रक्षा बैष्णवी देवीले गरून् । चक्र हातमा लिएकी चकृणीले यश, कीर्ति, लक्ष्मी (ऎश्वर्य), धन र बिद्यासमेतको रक्षा गरून् । इन्द्राणी देवीले मेरो गोत्र (कुल) को, चण्डीका देवीले पशुधनको र महालक्ष्मीले छोरा छोरीहरुको एवं भैरवी देवीले मेरो पत्नीको रक्षा गरून् । मेरो गल्ली गोरेटो सुपथा देवीले र राजमार्ग क्षेमकरी देवीले रक्षा गरून् । महालक्ष्मीले मलाई राजदरबारमा रक्षा गरून् । सर्वव्यापिनी बिजया देवीले सम्पुर्ण भयहरुवाट मलाई जोगाउन । जुन अङ्ग प्रत्यङ्ग र अवयबहरुको बारे यश दुर्गा कवचले बताएको छैन ती सबैको हे बिजयशालिनी ! तथा पापनाशिनी देवी ! त्पाईले नै रक्षा गरिदिनुहवस । यदि कुनै मानिसले आफ्नो शरिरको भलाइ चाहेको छ भने   कवच पहिरेर मात्र हिंडडुल गर्ने गरोस । बेगर कवचले एक पाईला पनि नहिडोस । यात्रा गर्दा पनि यस कवचको पाठ गर्ने नै गर्नुप्र्दछ । जहाँ जहाँ मानिस कवचले ढाकिएर बस्छ त्यहाँ त्यहाँ उसलाई धन प्राप्ति हुन्छ । सम्पुर्ण कामनाहरुको सिध्दी गरिदिने जितबाजी हात लाग्छ । जसले जुन जुन अभिष्ट बस्तुको चिन्तन गर्दछ उसले ती ती कुरा अवश्यै पाउनेछ । त्यस मान्छेले यस पृथ्वीमा अतुलनीय ऎश्वर्यको भोग गर्न पाईरहनेछ । कवच लगाएको मान्छे निर्भीक एवं भयरहित हुन्छ । उसले लडाई अवश्य जित्दछ तथा उसलाई तिनै लिकभरी सम्मानसमेत गरिन्छ ।

देवताहरुले पनि प्राप्त गर्न गाह्रो पर्ने यो देवी कवचलाई सधैभरी बिहान,दिउँसो र साझमा श्रद्धा साथ पाठ गर्ने गरोस् । उसलाई दैवी गुणहरु प्राप्त हुनेछन् र  आफू त्रिलोक बिजयी  बन्न पाउनेछ  । (यसरी श्रद्धा पुर्वक नित्य बिहान, मध्याह्न र साझमा देवी कवचको पाठगरिसकेपछि) मानिसमा देवी कला ( देवताहरुमा रहने गुणहरु) को प्राप्ति हुन्छ । तीनै लोक (स्वर्ग मर्त्य पाताल) भरी उसले कसैसँग हार खानु पर्दैन । उसलाई अकाल मृत्यु (आगो, पानी, बिजुली, सर्प, जनावर  आदिवाट  हुने मृत्यु) आई पर्दैन सय बर्ष  भन्दा बढी बाँच्न पाउँछ ।

दादुरो, बिफर, लुतो,ठेउला, कुष्टरोग, खटिरा आदि   र तिनका सम्पुर्ण व्याधिहरु नाश  हुन्छन् । भाङ, धतुरो, अफिम, चरेस आदि स्थावर  बिषहरु तथा सर्प विच्छी आदिको टोकाइबाट पैदा  हुने जङ्गम बिषहरु एवं अफिम र तेल आदि रसायन पदार्थ मिसाएर बनाएको कृतिम बिषहरुको पनि कुनै असर पर्दैन । टुनामुना जादु जन्तर  मन्तर  आदिवाट हुन सक्ने अनिष्टहरु मान्छेको छातीमा झुण्ड्याईएको देवीको कवच देख्नासाथै असर्हिन हुन गै बिनष्ट हुन्छन । यति मात्र होईन पृथ्वीभरी घुम्ने (भुचर ग्राम देवताहरु) आकाशमा डुल्ने आकाशदेवी, पानीवाट पैदा हुने नाग  र  उपदेशवाट मात्र खडा हुने निच देवताहरु , आफू जन्मदादेखी नै प्रकट भएका देवता, कुल देवता, माला (कण्ठमाला) डाईना (डाकिनी) बोक्सी (शाकिनी) आकाशमा परिभ्रमण गर्ने बलिया र डरलाग्दा किचकन्नी डुलुवा इत्यादि (डाकिनीहरु) ग्रह, भुत, पिशाच, यक्ष, गन्धर्व, राक्षस, ब्रम्हराक्षस, बेताल, कुष्माण्ड, भैरव आदि अनिष्टकारक देवताहरु पनि छातीमा राखेको कवच देख्नासाथ भागी हाल्छन । यो कवच धारण   गर्ने मानिसले राज्यवाट (सरकारवाट) सम्मान, पदवी, मान प्राप्त गर्दछ । मान्छेको तेज बढाउने उत्तम चीज  देवी कवच नै हो ।

पहिले यो देवी कवचको पाठ गर्नु पर्दछ । पाठ गरिसकेपछि दुर्गा सप्तशति  (चण्डी) को पाठ  गरोस । यसो गर्ने मान्छेले संसारमा सुनाम  फिजिनेछ र सुकीतिले बिभुषित  हुन पाउनेछ  । जवसम्म यश ब्रम्हाण्डमा पृथ्वी माताले  अचल  (पहाड) बन, कानन धारण  गर्लिन तब  सम्म देवी कवच   पाठ गर्ने व्यक्ति पनि पुत्र पौत्रादि सन्तानले  सुखी भै बाँचिरहनेछ । पहिले  देवी कवच अनि दुर्गा  सप्तशती (चण्डी) पाठ गर्ने मान्छेले आफ्नो मृत्यु पश्चात् पनि देवताहरुलाई समेत दुर्लभ मानिएको परम स्थानमा जान पाउनेछ । त्यहाँ उसले सुन्दर र आकर्षक शरीर धारण गरेर भगवान शिवजीका साथमा आनन्दको उपभोग गर्नेछ ।
दुर्गा कवच पूरा भयो ।

चण्डी: दुर्गासप्तशती भावार्थ [तात्पर्य]

दुर्गा कवच अर्गलास्तोत्रम, कीलक स्तोत्रम र दुर्गा सप्तशती : चण्डी  महात्म्य [सरल नेपाली भाषामा]

दुर्गा कवच

'कवच' शब्दले अंग रक्षाको साधन भन्ने बुझिन्छ । कवच पहिरिए पछि शत्रुहरुले प्रहार गरेका अस्त्रहरुले पनि छुन सक्तैनन र आत्मरक्षा सजिलैसँग हुन्छ । लडाई होस वा अन्य कुनै ठाउँ होस त्यस ठाउँमा प्रवेश गर्दा नै कवच पहिरिनु जरुरी हुन आउँछ । कवच बिना बिजय पाउनलाई मुस्किल पर्दछ अर्थात कवच बिना बिजय पाउँनेछु भन्ने वेकारको  आशा मात्र हो । यसैले भनिएको छ "जपेत सप्तशतीं चण्डिं कृत्वा तु कवचं पूरा । निर्विघ्नेन भवेत शिध्दि चण्डी जप समुदभवा" तात्पर्य यो हो कि सप्तशती चण्डी पाठ गर्नु अगाडि "दुर्गा कवच" पाठ गर्नु अनिवार्य ठानिएको छ । कवच पाठ गर्नु घेरावन्दी गर्नु समान हो । कवच पाठ गर्ने कार्यले चण्डी जप र पाठको कार्यमा बिघ्न बाधा आईपर्दैन सफलता सिध्दी प्राप्त हुने गर्दछ । बिशेष गरेर पाठकर्ता वा अनुष्ठानकर्ता कुन  चाहिँ शारीरिक अङग र अवयबहरुमा कुन देवीले संरक्षण दिनु पर्दछ भन्ने बिषय  बस्तुहरु दुर्गा कवचमा सङ्गालिएका छन ।

अर्गलास्तोत्रम

अर्गल शब्दले ढोकाको आग्लोलाई बुझाउँछ । जसरी आग्लो बन्द गरे पछि (लगाएपछी) सरासर घर भित्र पस्न  कुनै पनि मान्छे सक्तैन । त्यसैगरी देवी महात्म्यलाई पाठ गर्नु  अगाडि अर्गला स्तोत्रमलाई पाठ गर्दा बिषयान्तर तर्फ चित्त नजाने हुन्छ । बाहिरी बिषयमा मन लगाउने र चञ्चल मन भएको मान्छेलाई चण्डी तत्वमा प्रवेश गर्न गाह्रो पर्दछ । यहि सत्य तथ्य बिषयलाई ह्रदयाङगम गरेर पुर्वाचार्यहरुले चण्डी पाठ गर्नु भन्दा पहिले अर्गलास्तोत्र पाठ गर्नु पर्छ भन्ने प्रावधान बनाएका हुन ।

अथ कीलक स्तोत्रम

'कीलक' शब्दको अर्थ अभिष्ट सिध्दिमा आईपर्ने व्यवधानलाई  फुकाईदिनु हो । सामान्यतया यसलाई 'श्राप' भने पनि हुन्छ । गायत्री आदि अनेक प्रसिध्द मन्त्रहरुमा कुनै न कुनै ॠषि वा देवताको श्राप हुन्छ । साथै यो श्रापवाट कसरी उम्कन सकिन्छ भन्ने बारे पनि उल्लेख गरिएको छ ।  भगवतीको यो 'किलक' स्तुति पनि  श्रापोध्दारको बिषय हो । सप्तसती मन्त्रात्मक देवी महात्ममा पनि महादेवद्वारा स्थापित किलक छन । यी किलकहरुलाई नपन्छाएर गरिएको देवी महात्म्यको पाठ फलदायी हुँदैन । कुन क्षेत्रमा बढेर (गएर) कसरी उपयुक्त मानसिकता बनाउँने, कुन उपाय अवलम्बन गरेर चण्डी तत्वमा प्रवेश गर्दा अभिष्टसिध्दी हुन्छ । यिनै कुराको प्रतिपादन कीलक स्तोत्रद्वारा गरिएको छ ।

दुर्गा सप्तशती 

सप्तशती  सन्दर्भ : द्वैपायन शिष्य भगवान जैमिनीले व्यासवाट प्रायः सवै धर्महरुका स्वरुप बारे अवगत गरेपछी पनि बाँकी अन्य कतिपय धर्महरुका स्वरुप थाहा पाउने मनशायले मार्कण्य ॠषिलाई बताईदिन आग्रह गरे । परन्तु भगवानको आराधना  (पुजा) गर्नमा तल्लीन भैरहेका मार्कण्डे ॠषिले आफू बेफुर्सद भएको कारणले विन्ध्याचलमा रही रहेका चारवटा पन्छीहरु कहाँ आठौं मन्वन्तरका कथाहरु जैमिनी मुनिलाई राम्रोसंग बताईदिनु भन्ने खवर पठाए । ती चार वटै पन्छिहरुले पनि मार्कण्डेय ॠषि र भागुरिका वातचितमा सुनेका कथाहरु जैमिनीलाई सुनाईदिए । पंन्छीहरुले जैमिनीलाई सुनाएको कथा नै मेघा ॠषिले राजा सुरथ र समाधी नाम गरेको दैत्यलाई सुनाएका थिए जुन यस सप्तशतीमा बर्णित छ ।]

सन्दर्भ सामग्री (Reference Materials)

सम्पादन तथा लेखन : अधिवक्ता वसन्तराज अधिकारी  पुर्व उपसचिव, नेपाल सरकार
सम्पादन तथा लेखन मिति : २०७४/०६/०९ सोमबार
स्वनिवास : घोराह-२, पनौरा, दाङ
साभार : नेपालीमा चण्डी: दुर्गासप्तशती मदनप्रसाद अर्यालको पुस्तकवाट साभार

Comments