५०९. मेरो शुभ जन्मोत्सवमा तीन कविता

१.मेरो शुभ जन्म दिनको पावन घडीमा ।          शिव तत्व ह्रदयाङ्गम म गरुँ यहीँ छ कामना ।।

२. उनन्साठीऔं जन्मोत्सव मनाईयो यो घडी  ।                     ३.  ह्रदयमा अमीट छ बाबुआमाको प्यार शुभ आशीर्वाद ।।      

Me वसन्तराज अधिकारी साथमा श्रीमतीजी 

यदि म नजन्मेको भएँ यो नश्वर संसार ।
कसरी प्रत्यक्षदर्शी भएर देख्थे र हजुर !? ।।
अनि कहिल्यै पनि नमर्ने भएको भए !? ।
सायद ! जडवत् अचेत हुने थिएँ हुँला ।।१।।

म चेतन हुँ र त यश संसारमा जन्मिएँ ।
अन्ततः दु:ख सुख सबै संसारको भोगे ।।
नबुझेरै रोएँ-हाँसे फ़ेरि बुझेरै रोएँ हाँसे ।
भोको पेटमा रोएँ फ़ेरि अघाएर हाँसे ।।२।।

प्रगति सफ़लतामा औधी खुशी पनि भए ।
अकर्मण्य असफ़लतामा दु:खी भए ।।
फ़ेरि अथक मेहनत गरेर सफ़लता पाएँ ।
अनि पहिला भन्दा पनि धेरै धेरै रमाएँ ।।३।।

कहिले रावण कुम्भकर्ण जस्तैः दानव बने ।
फ़ेरि विभिषण र राम बनी देवता बने ।।
कहिले आफुलाई दानवको स्वरुप ठाने ।
फ़ेरि आफुलाई देवराज इन्द्र पनि बनाएँ ।।४।।

आखिर! अरु जस्तैः साधारण मान्छे हुँ म ।
बराबर ठेस ठक्कर र हण्डर वाट सिके ।।
बाउन्न पटक हण्डर र त्रिपन्न ठक्कर खाएँ ।
चउन्न घुस्सा खाएर पनि फ़ेरि  बलिष्ठ बने ।।५।।

कहिले आफ्नै नजीकले पनि पराई ठाने ।
समयले गर्दा पराईले पनि आफ्नो ठाने ।।
मान्छे भएर संसारमा बाँच्न सहज रैनछ ।
र त कहिले आफुलाई कौटिल्य माने ।।६।।

जब जब कठिनता अग्निपरीक्षा आए ।
आफैभित्र गहन आत्मकेन्द्रीत भै दिए ।।
त्यतिबेला आफै भित्र पुर्णता ठानें ।
जतिबेला आफ्नो गुरु आफै बने ।।७।।

सजिलो कहाँ रैछ र जीवन जीउन ।
पल पलमासंघर्ष  दु:ख हैरानी रैछ ।।
तथापि दु:ख भित्र सुखको झिल्का छ ।
फ़ेरि सुख भित्र पनि दु:ख मेटिन्छ ।।८।।

बुझ्नै नसकिने चित्र रहेछ यो जीवन ।
सिक्दा सिक्दै गर्दा वालपन वित्यो ।।
किशोर जवानी र परिपक्व प्रौढावस्था ।
अब त सबै स्पष्ट  बुझे झै लाग्या थ्यो ।।९।।

भक्ति अध्यात्म ज्ञान अनि बैराग्य ।
धेरै गुढ तत्व सिक्न बाँकी रहेछ ।।
बैकुण्ठ लोकको द्वार खोल्नलाई ।
वास्तविक सिकाई अब पो रहेछ ।।१०।।

मेरी आमाको दस मास गर्भगृहवाट ।
नश्वर संसारमा म मनुष्य भै जन्मिए ।।
किन र के का लागि जन्म लिए ? ।
थाहै नपाई सारा उमेर सब बिताए ।।११।।

भोगको लिप्सामा सुखको खोजी ।
सांसारिक प्रपञ्ज सतरंज माया जाल ।।
अन्ततः एकदिन  टुप्पीमा समाति ।
पछार्नेछ सम्मुख आएर निर्मम काल ।।१२।।

अब तीन बीस  साठीको एक सिंढी तल ।
धर्तीमा उनन्साठी बर्ष वसन्त मैले टेके ।।
जडवत् बाहेक समस्त चेतन स्वरुप ।
धेरै क्रान्ति भ्रम परिवर्तन देखे र भोगे ।।१३।।

परन्तु ! म त अपरिवर्तित उस्तै उस्तै रहेछु ।
काम क्रोध मद मात्स्यर्य माया मोह जाल ।।
स्थुल मरणशील शरीरलाई आत्मा ठानी ।
भ्रमको जञ्जालमा बेरिदैं बेरिदैं रहेछु ।।१४।।

इश्वर परम तत्व र अध्यात्म साधनामा ।
शुन्य भन्दा झनै तल ॠणात्मक रहेछ ।।
मेरो जन्मदिनको यश पावन घडिमा ।
शिव तत्व ह्रदयाङ्गम गरुँ यहीँ कामना गर्दछु ।।१५।।
क्रमशः

२. उनन्साठीऔं जन्मोत्सव मनाईयो यो घडी ।    


मेरो जन्मोत्सवको राम्रो शुभ एउटा नयाँ सुदिन ।
वसन्त ॠतु रमाइलो चैत्र पाँच आयो सुखद क्षण ।।
दु:ख सुख भोगाइ सँगसँगै जीन्दगीको  रसरंग ।
अन्ठाउन्न बर्ष पनि व्यतीत भए हाँसी खुशीसँग ।।१।।

वालापन जवानी र प्रौढावस्था पनि हेर्दाहेर्दै विते ।
बुढेसकालको संघारमा अब उनन्साठी बर्ष टेके ।।
वितेका ती दिनहरु ऎले सजीव दुरुस्त सम्झन्छु ।
भुक्तमान अतीत सँग स्वयं गौरवान्वित हुन्छु ।।२।।

मेरा श्रद्धेय बाबू बलदेव मेरी आमा हुन् भावना ।
जन्मस्थल हाल तुलसीपुर मजगैं मजगाउँ दाङ ।।
प्युठानी उदयपुरे बंश अधिकारी थर हो मेरो ।
शुभ नाम वसन्तराज आमाले राखिदिएको ।।३।।

शिर नुगाउँछु आमामा श्रद्धाञ्जली बुवालाई ।
सम्झेर श्रीमती र सन्तान र आफन्तजनलाई ।।
घोराही सत्र पनौंरामा ऎले घरबास गराई आको ।
अवकाशप्राप्त उपसचिव हुँ म नेपाल सरकारको ।।४।।

घरमा गरे धुप दीप वत्ती कुलदेवी देवता सम्झी ।
सुप्रसिद्ध अम्बिकेश्वरी माता भगवती देवीजी ।।
जननी आमाको पाउमा ढोग दण्डवत् प्रणाम गरि ।
उनन्साठीऔं शुभ जन्मोत्सव मनाईयो यो घडी ।।५।।
क्रमशः

३. ह्रदयमा अमीट छ बाबुआमाको प्यार शुभ आशीर्वाद ।।
                      


गहिरो निद्रामा मस्त निदाएको रहेछु
सुन्सान चकमन्न रात ।
व्युझिएँ ट्याबलेट अर्लाम कुखुरी काँ
स्निग्ध आवाजको साथ ।।
बिछौना एक्लै सुतेझै लाग्याथ्यो किन्तु
जीवन साथीको रैछ साथ ।
मीठो साक्षात स्वप्ना आफ्नै घर गाउँको
पुर्वस्मृति जीवन्त याद ।।१।।

मजगाउँको सिरानमा चारपाखे घर
मेरा बाबुआमा सहित ।
भाइबहिनीहरुको प्यार उहीँ वालापनको
मिठो अतृप्ति प्रित ।।
मेघ वर्षा पश्चात् खुलेको आकाश
रजवती समान धर्ती ।
घुमेको डुलेको आफ्नै गाउँ  घर पाखा
र गल्लि पखेरा ति ।।२।।

ससाना भाइबहिनी आमालाई थ्यो
चटारो घरव्यवहार ।
भकारो सोहर्नु र खेतीपाती रेखदेख
बस्तु भाउको स्याहारसभ्भार ।।
स्कुल जाने थ्यो हाम्लाई हतार हतार
गर्दै खाई नखाई ।
दुःख सुख मिश्रित दैनिकी थियो
कठै बरी  भ्याइनभ्याई ।।३।।

शिक्षारम्भ भयो यहीँ प्राथमिक
शिक्षाको सुरुआत ।
पत्रेखोला पारी सुन्दर बस्ती
गाउँ बिजौरी दुधरास ।।
औपचारिक शिक्षा दिक्षान्त
यहीँ त पाएको थिए  ।।
आफ्नै बेसुर र बेतालमा संगीत
गीत गाएको थिए ।।४।।

व्युझिए झल्याँस्स आहा कति मीठो
निद्रा मस्त पुगेछ ।
जागा हुँदा त भौतिक शरीर घोराही
पनौंरामा रहेछ ।।
सूक्ष्म शरीर लिएर विचरण गर्दै रहेछु
मेरो पुर्व स्वनिल अतीत ।
स्वच्छ सफा सङ्गलो अमिट स्मृतिमा
रहेछ निखिल प्रित ।।५।।

धन्य मेरी परमपुज्य जनक जननी 
आमा महतारी महान ।
यश धरा धर्ती मर्त्य लोकमा जन्मायौ
गरौं कसरी बखान ।।
प्रात संस्मरणीय मेरा परम
आदरणीय पिताश्री ।
हजुरको बिजमा सौभाग्य मिल्यो
जन्म काखभरी ।। ६ ।।

जन्मेको त्यो महान रात मेरो थिएन
उल्लेख्य केहि खास ।
जननीको उदरवाट भयो जन्म
यश धराधर्तीमा बास ।।
वसन्त ॠतुको आगमन थियो
पहिलो उत्तम चैत्र मास ।
जननीले राखिदिनुभो मेरो
शुभ नाम वसन्तराज ।। ७ ।।

दुई हजार एक्काईस साल चैत्र
पाँच गते बिहीबार ।
थियो रे यश धर्तीमा अन्धकार
एघार बजे मध्यरात ।।
जेष्ठ सुपुत्र भए जननी भावना
र जनक बलदेव प्रसाद  ।
फ़ेरि पाए हजुरहरुको असीमित
स्नेहिल काख  र रेखदेख ।। ८ ।।

दाङ जिल्ला अन्तर्गत  हाल तुलसीपुर
उपमहानगर मजगैंबजार ।
हापुर र पत्रेखोलाको टापु गाउँमा
मेरो जन्म भयो २०२१ साल  ।।
अन्ठाउन्न वसन्त व्यतीत पनि भए
हुर्किए दु:ख सुख सहेरै ।
मेरो जन्म बारे थाहा पाएको हुँ यि
सबै कुरा आमावाटै ।। ९ ।।

हुर्केको बढेको पढेको मजगैं मजगाउँ 
नारायणपुर,तेघरा र दुधरास ।
मेरा संस्मरण छन् सुदुर अतीतका
संस्मरण जीवन्त लाख ।।
मेरा ब्लगमा लेख कविता छरिएकै छन्
सर्वत्र हजुरहरुका माझ ।
दोहराएर पुनरावृत्ति नगरि ह्रदयका
खुला छन् धड्कन साथ ।। १० ।।

पृथ्वीमा जन्मनु र मर्नु बिधाताको
भाविको लेखान्त हुन्छ रे ! ।
कर्म र भाग्य चाहिँ आफैले लेख्नुपर्ने
हुन्छ भन्छन् बुज्रुगहरुले ।।
जन्मनु सौभाग्य  प्रारब्ध सञ्चित
सत्कर्मको उपलब्धि  प्रतिफल ।
दुःखसुख भोग संस्कार र सत्कर्मले
सदैव गर्दछ निर्क्योल ।।११।।

पचपन्न बर्ष यताका संस्मरण छन्
जीवन्त ह्रदय भण्डार भरि ।
दुःख भोग मिहिनेत र संघर्ष पश्चात्
छन् सुख झिल्का सरी ।।
छताछुल्ल आउँछन् मन मस्तिष्कमा
स्वर्णिम वालपनका याद ।
व्यतीत अव्यक्त दु:ख सुख संघर्षका
भोगाइ कथा साथ साथ ।।१२।।

आमाको मातृत्व पिताको संरक्षण 
जीवन रेखदेख सम्भार ।
तोते बोली बोलेको आउँछन् गाउँ घरका
अभ्यन्तर मीठो याद ।
कखरा बाह्रखरी ठूलो बर्णमाला खारे
पुकारे पहिलो गुरु आमा ।
दुधरास तेघरा र नारायणपुरमा भयो 
मेरो स्कुले शिक्षा पुर्ण ।।१३।।

बितेका संघर्षरत जवानी स्मरणीय छन्
गौरवान्वित आफ्नै जीवन अतीत ।
अन्ठाउन्न बर्ष व्यतीत भए निवृत्त  एक
मधुरतम चलचित्र झै गीत संगीत ।।
आजदेखि फ़ेरि अर्को एउटा नयाँ सालमा
पाईला टेक्दैछु क्रम यहि रित ।
मायावि संसार भोग नै सजीव  जीवन रहेछ
आत्मा र  परमात्मा प्रित् ।।१४।।

पत्रेखोलामा कुदाई बदमासी वालपनका
छरपस्ट जीवन्त याद ।
करिब आधा शताब्दी व्यतीत  भुक्तानी
संघर्षरत कालखण्ड साथ ।।
पुनर्जीवन जस्तैः लाग्छ अहा तिलस्मी
सुन्दर सार्थक दिनरात ।
ह्रदयमा अमीट छ बाबुआमाको प्यार
सदा शुभ आशीर्वाद ।।१५।।

तस्बिर : कविता प्रस्तुति टिक्टक भिडियो, आमासँग टीका आशिर्वाद र अम्बिकेश्वरी मन्दिर दर्शन र
अन्त्यमा सेलफोन, मेसेन्जर, ह्वाट्स्याप, मेटा फेसबुक र प्रत्यक्ष भेटघाटमा जन्मोत्सवको शुुुभकामना प्रदानकर्ता आदरणीय मान्यजन, समादरणीय महानुुुभावहरुमा हार्दिक अभिवादन, आफुुभन्दा स्नेही आफन्तजन, इष्टमित्र, साथीभाइ र शुुुुभेच्छुक सबैमा प्रेमवत हार्दिक धन्यवाद ज्ञापन गर्दछु । 

📝 वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका वार्ड नं.१७ पनौंरा, दाङ ।
आइतबार ५ चैत्र २०७९ शुभम् ।

Comments