४९९. स्वप्ना सरि जगत यो कहिल्यै नबुझेर खास । माकुरा सरि जाल बिछाई बढाई रहे नि आश ।।

स्वप्ना सरि जगत यो कहिल्यै नबुझेर खास ।
माकुरा सरि जाल बिछाई बढाई रहे नि आश ।।                

✍️ वसन्तराज अधिकारी
 घोराही, दाङ, नेपाल

हजारौं बर्ष व्यतीत भो यो सृष्टि क्रमको ।
तथापि आज मात्र मेरो दिव्य दृष्टि हुन गो ।।
कति जन्म पैले लिएछु मैले फजिती ।
अमुल्य मानव जन्म पाएँ म जीती ।।१।।

आमा बाबुभाइ बहिनी र जीवन साथी ।
आफन्त इष्ट मित्र सारा छोरा र बुहारी ।।
यी हुन् सांसारिक नाता गोता कुटुम्ब मेरा ।
बाँधिएको पनि छु म यिनैका चौघेरा ।।२।।

तेरो र मेरो भाग नास्ती गरि अंश बण्डा ।
कमाई जमाउने सांसारिक मुल एजेन्डा ।।
जोडेर श्रीसम्पत्ति गरि खुब भोग बिलास ।
लिएर सुखद सपना सजी रंगीन तरंग आश ।।३।।

कस्ले पठायो मलाई अहिले यो धर्ती बिच ।
कसको हुँ म अनित्य उत्तम स्वरुप सत्बीज ।।
भुलेर सारा स्वकर्तव्य सदाचार सत्कर्म ।
नबुझेर ईश्वर केही पनि नजानेर धर्म ।।४।।

बिताएँ बिताउँदैछु अझै यो अनमोल जीवन ।
भोग नै प्रधान सम्झी तनमन् लिएर हर्दम ।।
न म जन्मदा साथ थियो यहाँ अरु क्वै ।
न म मर्दा साथ लागि जाने हुन् अरु कुनै ।।५।।

पालेर काम वासना मोह मात्स्यर्य जाल ।
एक्दिन आई समाउनेछ कालले टुपी कपाल ।।
छोडी जानुपर्छ त्यो बेला आफ्ना श्रीसम्पत्ति सबै ।
यस्तो सद्बुद्धी भए किन बाँच्नु म हमेशा दु:खी भै ।।६।।

ईश्वर तत्व महाज्ञान मर्म नबुझेर खास ।
बन्दै गैरहेछु जडवत् सबै गुमाई होस् हवास् ।।
जहाँवाट आए आखिरीमा उहीँ जानुछ फ़ेरि ।
परम तत्व बुझ्नु अवश्य पर्दछ सदा नमर्दै खेरि ।।७।।

म जन्मनु अघि पनि थियो यो आकाश धर्ती ।
नरहे पनि म फ़ेरि हुने छैन यो कदापि पर्ति ।।
पानीको फोका सरि उठदै र तक्षण फुट्दै ।
आफ्नो पराया भेदभाव बनाई फुटदै र जुटदै ।।८।।

यहि ज्ञान अष्टाबक्र ॠषिले दिए जनकलाई ।
राजर्षी जनक बनाई मृत सञ्जीवनी पिलाई ।।
यो दिव्य तत्व ज्ञान बुझ्न सके हुनेछ सौभाग्य ।
परन्तु ! अमुल्य मानव जीवन यो सदा दुर्भाग्य ।।९।।

उनै ॠषिका म पनि हुँ एक योग्य सन्तति ।
ह्रदय नमाझी मात्र फ़ेरि हुन गो फजिती ।।
स्वप्ना सरि जगत यो कहिल्यै नबुझेर खास ।
माकुरा सरि जाल बिछाई बढाई रहे नि आश ।।

।। समाप्त ।।

Comments