आम निर्वाचन बिशेष मेरो राष्ट्रसेवाको एक समष्टिगत अनुभव सार सङ्क्षेप : संक्षिप्त संस्मरण
✍️ वसन्तराज अधिकारी |
सन्दर्भ :
निर्वाचनको शाब्दिक अर्थ "चुनाब" हो जुन हाम्रो दैनन्दिन व्यवहारमा आइ परिरहन्छन् । समस्या समाधान गर्न होस् वा कुनै पनि निर्णय लिन समस्याहरुको पहिचान, छनौट, सूचना तथा तथ्य तथ्यांक संकलन, तालिकीकरण, प्रशोधन विश्लेषण, विकल्पहरुको सुचीपत्र तयारी पश्चात् अन्ततः उत्तम वा सर्वोत्तम विकल्पको छनौट गर्नु व्यवस्थापनको प्रवन्धकीय कार्य हो भने मुलभुत रुपमा यो केवल एउटा सहायक कार्य मात्र हो । यसको प्रमुख कार्य वा वैधता दिनु राजनीतिक नेतृत्वको कार्य हुन आउँछ जुन प्रजातान्त्रिक पद्धतिमा निर्वाचनको प्रसङ्ग प्रासंगिक रुपमा अगाडि आउँछ । वालिग मताधिकारको प्रयोग गरि राजनीतिक दलहरू र स्वतन्त्र व्यक्तिहरुको सक्रियताले योग्य उम्मेदवारको छनौट "आम निर्वाचनको माध्यमवाट " योग्य जनप्रतिनिधिको चयन र यसरी चयन भएका योग्य कुशल, सक्षम जनप्रतिनिधिले प्रतिनिधित्व गरि आम जनताको समानुपातिक प्रतिनिधित्व गर्ने गरि आज विश्वका उत्कृष्ट प्रजातान्त्रिक तथा लोकतान्त्रिक र गणतान्त्रिक मुलुकहरूमा पाईन्छ आम निर्वाचन ।
आम निर्वाचन राष्ट्रियस्तरमा बृहत् रुपमा सञ्चालन भै सम्पन्न हुन्छन् । यस्ता प्रकारका निर्वाचन जनताको शान्ति सुरक्षा अमन चयन देखि लिएर नीति कानुन निर्माण, बिकास योजना सञ्चालनमा प्रत्यक्ष अनुगमन रेखदेख, वैदेशिक सम्बन्ध सम्मका यावत् शासकीय संरचनाको कार्यहरूमा अभिभावकतत्व भुमिकाको निर्वाह राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रधानमन्त्री, मन्त्री र सभासद्सम्मको प्रदेश, संघीय र स्थानीय तीनै तहको संरचनामा योग्य व्यक्तिलाई पदाधिकारीमा विधिवत् रूपमा नियुक्ति गर्ने माध्यम पनि निर्वाचन नै हो । मानव जीवनमा धेरै कुराहरुको अनुभव हुन्छन् कतिपय बिस्मृत भैजान्छन्, केहि संस्मरण हुन्छन् । फरकफरक अनुभव भोगाइ जीवन एउटा खुला किताब जस्तैः न हो । खोलाको पानी सागरमा गएर मिल्छ पुनः वाष्पिकरण भै आकाशवाट बर्षिएर जमिनमा खस्दछ । जीवन - मृत्यु- पुनर्जीवन -मोक्ष अध्यात्मिक चिन्तन धारा जस्तैः भोगाइ अनेकन हुन्छन् । सबैका जीवनमा पृथक पृथक अनुभव अनुभुति शिक्षामुलक रुपमा रहि ती अनुभवहरु ऎतिहासिक आनुभाविक पुँजीकारुपमा रहन्छन् भलै ती अनुभवबाट पुँजीकरण वा त्यसको पुनः प्रयोग भएको वा नभएको अवस्था हुन्छ । अन्ततः निवृत्त जीवन वृत्ति सम्मका आम निर्वाचन विशेष : एक समष्टिगत अनुभवका सङ्गालो सार संक्षेपमा बुँदागत रूपमा प्रस्तुत गर्दछु ।
अनुभव १.
दलविहीन पञ्चायती राजतन्त्रात्मक व्यवस्थामा बि.सं. २०३६ सालको जनमतसंग्रहमा पहेँलो बाकस सुधारिएको पञ्चायती व्यवस्था र निलो बाकस बहुदलीय व्यवस्थामा जनमतसंग्रह (Referendum) वाट प्रथमतः शुभारम्भ भएको मेरो चुनावी अनुभव रहेको छ । त्यतिबेला निर्वाचन पद्धति परम्परागत (mannual) रहेको थियो । यद्यपि म बालिग भने भएको थिएन तथापि गाउँका प्रतिनिधिहरूको सिफारिसमा मतदान गर्न पाए । साविक मानपुर गाउँ पञ्चायत वार्ड नं. ८ मजगाउँको आम मतदाताको रूपमा बहुदलीय व्यवस्थामा मतदान गरियो । पञ्चायती शासकको दबाबमा भएको आम निर्वाचन हुँदा खुल्लम खुल्ला रुपमा बहुदलबादी हुँ भनेर हिंडन सक्ने अवस्था पनि थिएन । यद्यपि सुधारिएको पञ्चायती व्यवस्थाको झिनो मतको बिजयले आम बहुदलबादी युवाहरुको भविष्यमा तुषारापात गर्दै पुनः पुरानो बोतलमा नयाँ रक्सि जस्तैः गरि सुधारिएको दलविहीन पञ्चायती व्यवस्थाको बिजय भयो । यसपछि राजाको प्रत्यक्ष नियन्त्रणमा जनप्रतिनिधिको पञ्चायती राजसभाको व्यवस्था सम्म गरियो । जन अपेक्षित कार्यहरू अर्थात् सुधार भने हुन् सकेनन् । यश समयमा पञ्चायती व्यवस्थाले बिजय हाँसील गरे पनि निर्वाचन पश्चात् बुद्धिजीवी, नागरिक समाज र सचेत आम नागरिकहरु खुल्लम खुलारुपमा बहुदलको बहस छेड्ने गर्दा पञ्चायतका मण्डले प्रवृत्तिले त्यस्लालाई अराष्ट्रीय तत्वको संज्ञा दिएर योग्य, सक्षम शिक्षित नागरिकहरूलाई सरकारी सेवा सुविधा र अवसरहरुवाट पाखा लगाउँदै बञ्चित गर्न थालेपछि अधिकांश शिक्षित, सचेत नागरिकहरू भारत प्रवासिन थाले ।
अनुभव २.
प्युठान जिल्ला अन्तर्गत श्री नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय, सिमलचौर, थक्लेनीमा शिक्षक छँदा बि.सं. २०४३ सालमा शिक्षक सेवावाट राजीनामा दिई स्थानीय निकायको चुनावमा तत्कालीन प्रतिबन्धित नेकपा मा.ले.वाट स्वतन्त्र उम्मेदवारीको रूपमा तत्कालीन मानपुर गाउँ पञ्चायतवाट वडा नं. ८ को वडाध्यक्षको रूपमा पुरै प्यानल सहित उठ्यौ त्यतिबेला प्रधानपञ्चको उम्मेदवारमा कमरेड छविलाल वलीको नेतृत्वमा उठे पनि तत्कालीन पञ्चायती मण्डले र काँग्रेसी गठबन्धनले गर्दा हाम्रो प्रतिबन्धित नेकपा मा.ले.को पुरै टिम पराजित हुन पुग्यो । त्यतिबेला "हाँगामा बसेको चरा" अर्थात् स्थानीय थारु भाषामा "डैयाम् बैठलक चिरैया" मेरो चुनाव चिन्ह थियो । हाईस्कुल नारायणपुरको एसएलसी सम्मको पढाई पश्चात् तिराम, सिमलचौर, प्युठानमा शिक्षक छँदा हाईस्कुल अध्ययनका लागि वाराणसी गै तहाँ प्रवासिएका विद्यार्थी संगठन सँग अभानेस्ववियु पाँचौंको संगत पश्चात् तत्कालीन नेकपा मा.ले. को राजनीतिवाट प्रशिक्षित भै स्थानीय स्तरको चुनावमा होमिदा गाउँका सामन्ती चरित्र र मण्डलेहरुले मलाई र स्वयं हाम्रो राजनीतिक सिङ्गो संगठन प्रति अवाञ्छित नकारात्मक टीका टिप्पणी गर्दा साथै अध्ययन र वृत्ति विना कार्यकर्ताको रुपमा राजनीतिक क्रियाकलापमा सक्रिय हुँदा भविष्य अन्धकार हुने देखि पुनः शिक्षक सेवामा तिराम प्युठान तिर लागें र तदुपरान्त मेरो राजनीतिक यात्रामा पुर्णविराम जस्तैः भयो ।
अनुभव ३.
श्री महेन्द्र बहुमुखी क्याम्पस, दाङ, घोराहीमा प्रवीणता प्रमाणपत्र तह व्यवस्थापन अर्थात् आईकम अध्ययनरत छँदै बि.सं.२०४७ सालमा लोक सेवा आयोग, अञ्चल कार्यालय, दाङ, तुलसीपुरको सिफारिसमा महालेखा नियन्त्रक कार्यालय अन्तर्गत जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालय, सल्यानमा कार्यरत छँदा नेपाल निजामती कर्मचारी संगठनको निर्वाचनमा बिद्रोही उम्मेदवारीको रुपमा सदस्य पदमा उठदा झिनो मतले पराजित भए । केहि समयावधि कर्मचारी संगठनमा सक्रियता रहि कर्मचारी आन्दोलनमा एकातिर दुई ग्रेड घटुवा भएकोमा अर्कोतिर लोक सेवा आयोग अन्तर्गत क्षेत्रीय निर्देशनालय, सु.प. वाट नायब सुब्बा प्रशासन सेवामा सफ़ल भै सु.प. तिर लागेर मेरो राजनीतिक यात्रा पनि निष्क्रिय बन्यो ।
अनुभव ४.
प्रतिनिधिसभा सदस्य निर्वाचन, २०४८ मा सल्यान जिल्लावाट तत्कालीन जनस्वास्थ्य शाखाका लेखापाल खेमप्रताप सेनजीको मतदान अधिकृतको टिममा सहायक कर्मचारीको रूपमा साविक लेखडाँग्री गाउँ बिकास समितिमा खटिई निर्वाचन गराउने सिलसिलामा एउटाको मत अर्कोले प्रयोग गरेपछिको उत्पन्न विवादमा मतदान अधिकृतको अध्ययन र कानुनी ज्ञानको अनभिज्ञतामा मतदान अधिकृतले उत्पन्न विषम परिस्थिति सम्हाल्न नसकी चुनाव स्थगित हुने अवस्थामा निविदा मतपत्रको प्रयोग सम्बन्धि कानुनी व्यवस्था सम्झाई आम जनसमुदायलाई पुनः मतदानमा सक्रियता गराई मतदान सुचारु बनाउने भूमिका निर्वाह गरियो ।
अनुभव ५.
बि.सं.२०५१ सालमा भएको स्थानीय निकायको निर्वाचनमा जिल्ला शिक्षा कार्यालय, दार्चुलामा कार्यरत थिए । त्यतिबेला दार्चुलाको हेवल्चा गा.वि.स.अन्तर्गत पस्ती मतदान केन्द्रमा मतदान अवरुद्ध भै स्थगित हुँदा पुनः जिल्ला शिक्षा कार्यालय, दार्चुलाका बिद्यालय निरीक्षक श्री भिमबहादुर साउदको नेतृत्वमा म सहायक मतदान अधिकृतको भूमिकामा मतपत्र, मतदान सामग्रीको व्यवस्थापन र मुचुल्का लगायतका कानुनी कार्यसम्पादनको महत्वपूर्ण जिम्मेवारी पूरा गरि मतदान सफ़ल बनाईयो ।
अनुभव ६.
बि.सं.२०६४ सालमा नेपाल सरकार, शिक्षा संस्कृति तथा युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत पाठ्यक्रम विकास केन्द्र, सानोठिमीमा प्रशासन शाखा प्रमुख शाखा अधिकृतको जिम्मेवारीमा कार्यरत छँदा ऎतिहासिक पहिलो संविधानसभा निर्वाचन, २०६४ मा भक्तपुरको ताथली मतदान केन्द्रमा मतदान अधिकृतको भूमिकामा रहि सहायक मतदान अधिकृत मा.बि.शिक्षक श्री सुर्यनारायण धोंजु समेतका टीमसँग कार्यरत रहि निर्वाचन भव्य र सभ्यरुपमा सफ़ल बनाईयो ।
अनुभव ७.
बि.सं.२०७० सालमा नेपाल सरकार, महालेखा नियन्त्रक कार्यालय अन्तर्गत कर्मचारी प्रशासन शाखामा प्रशासकीय अधिकृतको रूपमा कार्यरत छँदा अर्को संविधानसभा निर्वाचन, २०७० मा काठमाडौ क्षेत्र नं.१० अन्तर्गत थानकोट, कोतघर मतदान केन्द्रमा मतदान अधिकृत भै सफ़लता पुर्वक मतदान सम्पन्न गरियो ।
अनुभव ८.
निर्वाचन आयोग, नेपाल अन्तर्गत क्षेत्रीय निर्वाचन अधिकारीको भुमिकामा बि.सं.२०७३ देखि २०७५ सम्म निर्वाचन आयोग अन्तर्गत क्षेत्रीय निर्वाचन कार्यालय, मध्यपश्चिम, बाँकेमा नेपालको संविधान, २०७२ को पुर्ण कार्यान्वयन र राज्य पुनर्संरचना पश्चात् भएको पहिलो ऎतिहासिक स्थानीय तह, प्रदेश, संघ र राष्ट्रिय सभा समेतको निर्वाचन जिल्ला तथा क्षेत्रीय निर्वाचन अधिकारीको रुपमा सफलता पुर्वक सम्पन्न गरि निर्वाचन आयोग, नेपालवाट प्रशंसापत्र समेत प्राप्त गरियो ।
अनुभव ९.
निजामती सेवावाट ५८ बर्ष उमेर पूरा भै २०७८ श्रावण देखि अनिवार्य अवकाशप्राप्त भए पश्चात् स्थानीय तह निर्वाचन, २०७९ को निर्वाचनमा आम मतदाताको भुमिकामा घोराही उपमहानगरपालिका अन्तर्गत प्रा.बि.कर्जाही, गैह्रागाउँ मतदान केन्द्रमा मिति २०७९ बैशाख ३० गते शुक्रवार आफ्नै गृह नगरवाट आफ्नो अमुल्य मतको प्रयोग सदुपयोग गरियो ।
अनुभव १०.
संघीय तथा प्रतिनिधिसभा निर्वाचन, २०७९ आज बि.सं.२०७९ मंसिर ४ गते आइतबारका दिन आम मतदाताको रूपमा साविक श्री ने.रा.प्रा.वि.कर्जाही, गैह्रागाउँमा मतदान सम्पन्न गरि एक सचेत नागरिकको भूमिका निर्वाह गरियो । सारभुत रुपमा मेरो अमुल्य मतदानको सार्थक सदुपयोग हुनेछ र मैले मताधिकार प्रयोग गरेकाहरुले बिजय हाँसिल गरि राष्ट्र निर्माणमा अमुल्य योगदान गर्नेछन् भन्ने स्वअभिमत अनुरुप शान्तिपुर्ण स्वच्छ र सद्भावनाका रुपमा मताधिकारको प्रयोग गरेको छु ।
अन्त्यमा राजनीतिक दलहरू र निर्वाचन आयोग, नेपाललाई खुला सुझाव पत्र
निर्वाचन आयोग अन्तर्गत म सक्रियता पुर्वक कार्यरत रहे भएको अवस्था भन्दा अहिले झन दिनानुदिन राजनीतिक सचेतता बढिरहेको र भुमण्डिकरण अर्थात् विश्वव्यापीकरणको प्रतिस्पर्धात्मक समयमा पनि हाम्रो नेपाली समाजमा राजनीतिक सचेततामा न्यूनता भै जन अभिमतमा निष्क्रियता आउनुको एक मात्र कारण एकातिर राजनीतिक दल कुनै व्यक्ति वा पारिवारिक दुश्चक्रको जञ्जालमा फँस्दै फँस्दै जानू र अर्कोतिर ठुला ठालु राजनीतिक दलहरुमा गैह्र राजनीतिक सिद्धान्तहिन विचलन भै निर्वाचनको संवेदनशील समयमा समेत जनभावना, जनअपेक्षाको कदर नगरी, युवा जनशक्ति, आदिवासी जनजाती, महिला, मधेसी, अपाङ्ग र पिछडिएका क्षेत्र र वर्गको प्रतिनिधित्व हुन नसक्नु अपवित्र गठबन्धन र उचित योग्य जनप्रीय उम्मेदवारको छनौट गर्न नसक्नु र राजनीतिक दलहरुको राजनीतिक मुद्दाहरुमा सुझबुझ र सहि निर्णय हुन नसक्नु हो । यी बिषयहरुलाई यथोचित रुपमा नसच्याउने हो भने आउँदा दिनहरूमा मुलुकमा अझै राजनीतिक वितृष्णा बढेर जानेछ भन्ने कुरामा द्विमत नहोला ।
साथै निर्वाचन आयोग, नेपाललाई मेरो जोडदार सुझाब के छ भने आज विश्व नै सूचना प्रविधिको सञ्जालमा सञ्जालीकृत भै निजी बैकिङ र सरकारी सेवा प्रवाह समेत सूचना प्रविधि ईन्टरनेटको माध्यमवाट हुनु अहिलेको जस्तो सूचना प्रविधिको युग जमानामा पुरानो परम्परागत विधिको चुनाब भन्दा पुर्ण सुरक्षाको प्रत्याभूति सहित अनलाईन भोटिङको व्यवस्थापन स्वदेश र विदेशमा भएका नेपालीहरुवाट हुने व्यवस्था अविलम्ब लागू गरियोस् यो पुरानो पञ्चायत शैलीको निर्वाचन सदाको लागि बिदा गरियोस् ।
🇳🇵 धन्यवाद
सचेत आम मतदाताको जय !!! 🙏
उहीँ हजुरहरुको राष्ट्रसेवक
📝 अधिवक्ता वसन्तराज अधिकारी
पुर्व क्षेत्रीय निर्वाचन अधिकारी तथा उपसचिव, नेपाल सरकार
स्वनिवास : घोराही उपमहानगरपालिका वार्ड नं. १७ पनौंरा, दाङ, नेपाल
मिति: आइतबार ४ मंसिर २०७९ शुभम् ।
Comments
Post a Comment