६५. द्वन्द्व व्यवस्थापन (Conflict Management) : परिचय, विशेषता, कारण, किसिम, रणनीति र द्वन्द्व व्यवस्थापन शैली ✍️ बसन्तराज अधिकारी

द्वन्द्व व्यवस्थापन  (Conflict Management) : परिचय, विशेषता, कारण, किसिम, रणनीति र द्वन्द्व व्यवस्थापन शैली

✍️ बसन्तराज अधिकारी
                             पुर्व  उपसचिव, नेपाल सरकार 

१.  द्वन्द्वको अर्थ :

द्वन्द्व मतभेद रहनु वा स्वार्थको टकरावको स्थिति हो । द्वन्द्व एउटा यस्तो अवस्था हो जहाँ व्यक्ति वा समुह आफ्नो उद्देश्य वा आवश्यकता पूरा गर्ने क्रममा एकले अर्कोलाई असजिलो पार्ने गर्दछन जहाँ विचार, आवश्यकता र समझदारी फरक हुन्छ त्यो नै द्वन्द्वको सम्भाव्य स्थिति (Potential Conflict situation) को अवस्था हो ।  द्वन्द्वले क्रियाशिल गराउने हैसियत राख्दछ । विवादले चेतना, प्रतिवाद, अपुग र अवरोध जस्ता पक्षलाई समेटेको हुनाले यसलाई संगठनमा सकारात्मक - नकारात्मक - अवसर र जोखिमकारुपमा लिनुपर्दछ ।

२.  परिचय :

द्वन्द्वको शाब्दिक अर्थ झगडा, मनमुटाव र मनोमालिन्य हो । कुनै बिषय वा प्रसङ्गमा रहने फरक मतलाई कार्यस्थलमा विभिन्नरूपमा प्रस्तुत गर्ने तरिका नै द्वन्द्व हो ।

संगठनात्मक दृष्टिकोणले द्वन्द्व सिर्जनात्मक शक्तिको रूपमा पनि लिन सकिन्छ । "द्वन्द्व व्यवस्थापन" अहिले एक छुट्टै अध्ययन-क्षेत्रको बिषयको रूपमा बिकास हुँदै आएको छ । द्वन्द्व व्यवस्थापनले पुर्णता नपाएको अवस्थामा यो तनावलाई न्युनिकरण गर्ने कार्यमा तत्पर रहन्छ । जस्तैः परिस्थितिमा पनि द्वन्द्व व्यवस्थापनले द्वन्द्वरत सम्बन्धहरुलाई व्यवस्थापन गर्न सकिने कुरामा विश्वास गर्दछ ।  "द्वन्द्व" ले झगडा, मनमुटाव, बैरभाव,दुश्मनी, काटमार, हिंसा,लडाइँ ईत्यादिलाई बुझाउछ । 'द्वन्द्व' त्यसवेला घटित हुने ठानिन्छ जब दुई वा दुई भन्दा बढी सरोकारवालाहरु आ-आफ्नो हित अनुकुल नभएको महसुस गर्दछ्न  । "द्वन्द्व" एकै रातमा उत्पन्न नभई निरन्तररुपमा हुदै आएको अन्तरक्रियाको परिणामस्वरूप घटदछ ।

३. द्वन्द्वको परिभाषा

३.१ "द्वन्द्व" भनेको व्यक्तिहरू वा समुहहरुको विचमा हुने सांस्कृतिक, सामाजिक, राजनीतिक र आर्थिक स्वार्थ, दृष्टिकोण वा बुझाईमा देखिएको भिन्नताको कारणले सिर्जित अवस्था हो ।"  ✍️ फुज स्टानफोर्ड

३.२ "द्वन्द्व" भनेको सामाजिक जीवनको एक अपरिहार्य यथार्थ हो जुन शक्तिको प्रभाव र भिन्नतावाट उब्जिएको हुन्छ ।" ✍️ ओयवर

३.३ "द्वन्द्व" भनेको समाजको शक्ति र उत्पादनको स्रोत माथी नियन्त्रण गरेका सम्पन्न वर्ग र स्रोत एवं शक्ति कम भएका विभिन्न वर्ग विच उक्त स्रोत र शक्ति आफ्नो पक्षमा पार्ने मानसिकतावाट सिर्जित अवस्था हो, जुन असमानता रहेसम्म रहिरहन्छ ।" ✍️  कार्लमार्क्स

४. द्वन्द्वका विशेषताहरु :

४.१  स्वार्थ, दृष्टिकोण र बुझाईको भिन्नता
४.२ लक्ष्यहरु एक अर्कासंग बाझिए पश्चात् उत्पन्न हुने परिस्थिति
४.३ परिवर्तनशील समाजको सुचक
४.४ स्वरुपमा भिन्नता
४.५ सामाजिक,आर्थिक, राजनीतिक, सांस्कृतिक मूल्य- मान्यता जस्ता क्षेत्रहरूमा व्याप्त
४.६ शक्ति र स्रोतमाथिको असमानतावाट सिर्जना,
४.७  सामान्यतया हिंसा बिना समाधान गरिने आदि ।

५. द्वन्द्व उत्पन्न हुनाका कारणहरु :

५.१ मुल्य-मान्यता, व्यक्तित्व र संस्कृतिमा असमानता अर्थात् विचार, मान्यता, आवश्यकता फरक फरक भएपछि द्वन्द्वको सम्भावना बढछ ।
५.२ सूचना तथा जानकारी नहुनु वा प्राप्त जानकारी सहि सम्प्रेषणमा नहुनु ।
५.३ वातावरणिय र परिस्थितिजन्य दबाब : प्रत्येकको चाहना अनन्त हुनु तर त्यसलाई पूरा गर्ने क्षमता सिमित हुनु, घरायसी तथा यौनजन्य समस्या
५.४ निभाउनु पर्ने भुमिका आफ्नो क्षमता र सामर्थ्य अनुरुप नहुनु - आफ्नो भुमिका बारे फरक समझदारी हुनु  भविश्यको कार्यदिशा र नतिजा अनिश्चित हुनु
५.५ अनुपयुक्त संगठन संरचना
५.६ अनुपयुक्त सम्बन्ध प्रणाली
५.७ अस्पष्ट नीति नियम र कार्यदिशा ।

६. द्वन्द्वका किसिम :

६.१ फाईदाका हिसाबमा :

(क) रचनात्मक
(ख) ध्वंसात्मक
(ग) सुधारात्मक

६.२ द्वन्द्व तहका अनुसार :

(क) बैयक्तिक द्वन्द्व :

प्रत्येक व्यक्तिमा भिन्ना भिन्नै चाहना हुन्छन् जसलाई परिपुर्ति गर्ने तरिका पनि फरक फरक हुन्छन् । ती विभिन्न चाहनाको विश्लेषण गरि प्राथमिकता तोक्ने तथा उपलब्ध साधन स्रोत तथा क्षमताका सन्दर्भमा प्राप्त गर्न सकिने उद्देश्यहरुको पहिचान गर्न नसक्दा आन्तरिकरुपमा द्वन्द्व उत्पन्न हुने गर्दछ ।

(ख) अन्तरबैयक्तिक द्वन्द्व :

यो व्यक्ती व्यक्ती बिचमा रहेका बैयक्तिक भिन्नताहरु, स्रोत- साधन, आफ्नो र अन्यको भुमिका प्रतिको दृष्टिकोण (Role perception) तथा कार्यमा कति न्याय अन्याय भयो भन्ने भावनावाट उत्पन्न हुन्छ ।

(ग) संगठनात्मक द्वन्द्व :

यो पनि अन्तरबैयक्तिक द्वन्द्व नै हो । तर यसमा संगठनमा रहेका अन्य कारणहरु जस्तैः संगठन ढांचा, कार्यको overlapping र अख्तियारीको असमान वितरणवाट सिर्जना हुन्छ ।

७. द्वन्द्व व्यवस्थापनको रणनीति :

द्वन्द्व व्यवस्थापन गर्ने छुट्टै व्यवस्थापन सिध्दान्त छ भन्न सकिन्न । यो व्यवस्थापनकै अभिन्न भाग भएकाले नेतृत्व र संचार व्यवस्थासंग अभिन्नरुपमा गांसिएको हुन्छ । तर पनि यसको अन्तर्निहित आधार भने हुने गर्दछ । कुनै व्यक्तिले द्वन्द्वको अवस्थामा गर्ने रणनीतिक व्यवस्थालाई दुई आधारभुत आयामवाट हेर्न सकिन्छ :

७.१ आत्मसंरक्षणको मात्रा (Extent of assertiveness) :

आफ्नो चाख प्राप्त गर्न प्रयास गरिन्छ । यो लिने प्रवृत्ति हो । यसमा आफ्नो हित संरक्षण हुन्छ ।

७.२ सहयोगको मात्रा ( Extent of coperativeness)

अरुको चाख (Concern) परिपुर्ति गराउने प्रयास गरिन्छ । यो दिने प्रवृत्ति हो । यसमा अरुको हित संरक्षण हुन्छ ।

८. द्वन्द्व व्यवस्थापन शैली :

द्वन्द्व भएको अवस्थामा यी ५ व्यवहार मध्ये कुनै एक शैलीलाई अपनाईन्छ :

(क) दबाबपुर्ण शैली (Competion/forcing)

एकले जित्ने र अर्कोले हार्ने गर्दछ । यो जीत- हारको अवस्था हो ।

(ख) साझेदारी ( Collaboraating)

एक आपसमा सहयोग हुने गरि दुबै पक्षको अनुकूल अवस्था सिर्जना गर्ने धारणा राखिन्छ । यसमा कसैको हार हुँदैन दुबैको जीत हुन्छ ।

(ग) सम्झौतामुखी (Compromising) :

यसमा कुनै पक्ष बीच केही लिने र केही छाडने गरि सहमती कायम गरिन्छ । यसमा कुनै पनि पक्षको पुर्ण हार वा जीत हुँदैन ।

(घ) तिरस्कारी (avoiding) :

द्वन्द्व बेकारको बिषय हो भनी त्यसलाई पन्छाईन्छ । यस्मा आफ्नो हित पनि नहेर्ने र अर्को पक्षको हित पनि संरक्षण नगर्ने शैली अपनाईन्छ । सामान्यतया द्वन्द समाधानको लागत भन्दा द्वन्द्व समाप्ती पछि हुने फाईदा घटी भएमा वा यथास्थितिको फाईदा बढी भएमा यो शैली उपयुक्त हुन्छ ।

९. कुन शैली कुन बेला उपयुक्त हुन्छ ?

कुन शैली सबैभन्दा महत्त्वपूर्ण हुन्छ भन्ने बिषय द्वन्द्वको परिवेशमा आधारित हुन्छ । यसलाई यी चार परिबेशजन्य अवस्थामा रहेर हेर्नू पर्ने हुन्छ ।

९.१ बिकल्पको अवस्था
९.२ परस्पर सद्भाव
९.३ तुलनात्मक शक्ति सन्तुलन
९.४ समयको उपलब्धता ।
यसर्थ, परिस्थितिको माग र व्यवस्थापन सीपले द्वन्द्व समाधानको Matrix लाई निर्धारण गर्द्छ ।

१०. द्वन्द्व समाधानका आधारभुत सीपहरु (Basic Skills) :

१०.१ सामान्य सीपहरु ( Issues, positions & Interest)

१०.१.१ द्वन्द्व परिस्थितिको diaognise गर्ने, Issues पहिचान गर्ने ।
१०.१. २ द्वन्द्वका कारण परिणाम र असरको मुल्यांकन गर्ने ।
१०.१.३ द्वन्द्व व्यवस्थापनका सम्भाव्य tools को पहिचान गर्ने ।
१०.१.४ पहिचान भएका औजारहरुको मुल्यांकन गर्ने
१०.१.५  उपयुक्त औजार प्रयोग गर्ने ।

१०.२ संचार सीप (Communication Skils)

१०.२.१ सुन्न सक्ने क्षमता (Listen)
१०.२.२ बुझ्न सक्ने क्षमता (Understood)
१०.२.३ बुझाउन सक्ने क्षमता (Interactive Skill)

१०.३ नेतृत्व सीप (Leadership Skills)

१०.३.१  व्यवस्थापनको प्रमुख काम नै विवाद समाधान हो ।
१०.३.२ यो नेतृत्वका सीपमा भर पर्दछ ।
१०.३.३ संगठन भित्रको द्वन्द्व व्यवस्थापन र विकास नेतृत्वको सफलताले गर्दछ ।
१०.३.४ प्रत्येक परिवर्तनले द्वन्द्व ल्याउन सक्छ ।
१०.३.५ द्वन्द्वलाई लामो समयसम्म त्यतिकै राखेमा जटिल अवस्था सिर्जना गर्न सक्छ ।

११. उपसंहार :

परम्परागत अर्थमा द्वन्द्वलाई नकारात्मक रुपमा लिईन्थ्यो, शास्त्रीय अर्थमा स्वाभाविक र आधुनिक अर्थमा अपरिहार्य रुपमा लिईन्छ ।  यसको तात्पर्य आधुनिक संगठनहरुमा द्वन्द्व मुलतः संरचनात्मक (Structural), संगठनको मांग, आवश्यकता एवं चाहना, जनशक्ति (Human Resource) को बिकास, सूचना प्रविधिको प्रयोग अवश्यम्भावी र अपरिहार्य द्वन्द्वका रुपमा आमन्त्रण गर्नुपर्दछ भन्ने मान्यता राखिन्छ । जहाँ द्वन्द्व हुन्छ त्यहाँ बिकास र प्रगति हुन्छ । आवश्यकता नै आविष्कार कि जननी हुन् भन्ने भनाई पनि छ ।

स्रोत सामग्री :
~~~~~~~~
१. Note & Diary of Officers PSC Exams
२.  "जागीरे-यात्रा" सिर्जनाहरुको सङ्गालो, २०७० वाट साभार

लेखक परिचय :
~~~~~~~~~~

बसन्तराज अधिकारी
अधिवक्ता (एम.ए. ; बी.एल:, बी.ए. ; बी.एड.)
पुर्व उपसचिव, नेपाल सरकार 

✍️ रचनाकार : बसन्तराज अधिकारी
घोराही, दाङ
@ कीर्तिपुर, काठमाडौं, नेपाल ।

Comments