बा
✍️ वसन्तराज अधिकारी, घोराही, दाङ |
बा समान यो जगतमा को हुन्छ र निकटस्थ आफ्नो ?
आखिर उनकै बंश बिजले बनेको छ मानव देह हो ।।
उच्च श्रद्धाले सदा काल हजुरमा निहुरिन्छ मेरो शिर ।
स्वर्गवाट आशीर्वाद पुर्ण प्राप्ति रहोस् पित्री प्रसाद बनेर ।।१।।
सीमित छन् व्यतीत संस्मरण अपितु सपिममा हजुर्को ।
बा समान अन्तरंग हितचित जगमा को पाउनु अर्को ।।
पाँच बर्ष देखिका संस्मरण याद छन् मेरा सबै कहानी ।
पन्ध्र बर्ष सम्म हजुरको कोमल काखमा बिताएँनि ।।२।।
प्रकृति मनोरम सुन्दर थियो जन्मस्थल मजगैं मजगाउँ ।
आहा ! मेरो प्यारो जन्मभूमि कसरी म गीत बनाई गाउँ ?।
पैदलमार्ग अकण्ट्क घोडा राँगा थिए सवारी ढुवानी ।
नुन र तेल मरमसला चिजबिज किन्न कोईलावास जानी ।।३।।
पढी गुणि सुसंस्कारित रितले असल बनि गर्नुपर्छ इलिम ।
बाहुनको छोरो भएर जन्मे पछि यहि उत्तम कुल धर्म ।।
हजुरकै निर्देशनमा आमावाट पाए पुर्व प्रारम्भिक शिक्षा ।
सहाय भो पूरा गर्न अन्ततः जीवन वृत्ति पथको सदिच्छा ।।४।।
प्युठान तिराममा जन्मी सानै उमेरमा सारा देश बिदेश घुमेर ।
व्यतीत भएका तिलस्मी कथा ति हजुरका अनुभव उमेर ।।
सम्झना यद्यपि ताजै छ सुनेको हजुरकै मुखारविन्दबाट ।
अहिले म झल्याँस सम्झन्छु उच्च आदर र सम्मान साथ ।।५।।
पिता सरि स्तुत्य श्रध्देय प्राथनिय जगमा अरु क्वै हुँदैन ।
ज्ञान भन्दा पवित्र उज्यालो उत्तम चिज पनि त केही छैन ।।
केवल संस्मरण गरि ह्रदयमा राखेर अगाध सत्प्रेम आस्था ।
ह्रदय प्रफुल्ल हुन्छ सदैव मात्र हजुरलाई सम्झेर बस्दा ।।६।।
त्रिचालीस बर्ष व्यतीत भए हजुरसँग बिछोडिएका पल ।
सम्झनाका शब्द पुष्प श्रद्धाका साथ चढाउँछु भै निर्मल ।।
अत्यन्त हर्ष खुशी अथवा दु:ख विपदका अधिर बेला ।
हजुरको स्मरण मात्रले पनि हटछन् सबै बाधा झमेला ।।७।।
कलिलै उमेरमा एक सहारा बा गुमाउनु पर्दाका पीडा ।
दुनियाँका अगिणत हेपाहा प्रवृत्ति र ति निर्ल्लज्ज चाला ।। आउँथ्यो सौर्य शक्ति समान उद्भव जोश अदभूत सामर्थ्य ।
उत्साह हिम्मत सञ्चित विवेक शक्ति कहिल्यै गैन व्यर्थ ।।८।।
बा आकाश हुन् आमा धर्ती सिर्जना शक्ति पसिना विवेक ।
उद्देश्य जीवनमा लिनु सधैं सदाचार असल मानिस बन्ने सोंच ।।
मानवता भन्दा ठूलो धर्म केहि पनि छैन चराचर जगतमा ।
बा लाई चिनाई जन्मायौं हुर्कायौं धन्य छौं जननी आमा ।।९।।
स्मृतिमा बसेको छ बा को परम स्नेह अटुट माया र ममता ।
आफै पनि बा बनिकन कर्तव्य पूरा पनि भैसक्यो अबता ।।
दुवै हात जोडी प्रार्थना गर्छु परम स्नेही मायाको सागर बा ।
कदापि सकिन्नन् लेखेर पनि हजुरका कथा र गाथा ।।१०।।
✍️ वसन्तराज अधिकारी
घोराही १७ पनौंरा, दाङ, नेपाल
सोमबार, जेठ ३०, २०७९
Comments
Post a Comment