मतदाता नामावली र आवधिक निर्वाचनमा मतदाताको अधिकार कर्तव्य सहित मताधिकारको प्रयोग : एक जानकारी
✍️ वसन्तराज अधिकारी
पुर्व क्षेत्रीय निर्वाचन अधिकारी, निर्वाचन आयोग, नेपाल
सर्वप्रथम मतदाताको सार्थक अर्थ तर्फ संकेत गरौं । मत भनेको आफ्नो अभिमत, स्वविचार, निर्णय वा अभिरुचि, विकल्पहरु मध्येको सर्वोत्कृष्ट छनौट पनि हो । निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले तयार गरेको अन्तिम मतदाता नामावलीमा नाम भएको व्यक्तिलाई नै मतदाता भनिन्छ । योग्य मतदाताहरुको पहिचान गरि संवैधानिक वा मान्यता प्राप्त कुनै आयोगद्वारा स्वीकृत गरिएको मतदाताहरुको नाम तथा व्यक्तिगत विवरण सहितको नामावली नै मतदाता नामावली हो । यही मतदाता नामावलीकै आधारमा मतदाताले निर्वाचनमा भाग लिन पाउँछन् । मतदाता नामावली संकलन गर्दा योग्य मतदाताहरुको पहिचान गरि फ़ोटो, औंलाको छाप (Bio-metric Data) र व्यक्तिगत विवरण समेत संकलन गरिन्छ ।
निर्वाचनमा मतदाता नामावलीको अत्यन्त महत्व रहेको छ । यसको महत्वलाई निम्नलिखित बुँदागतरुपमा प्रस्तुत गर्न सकिन्छ :
(क) स्वतन्त्र, निष्पक्ष निर्वाचनका लागि एक व्यक्ति एक मतको अवधारणाको पालना र सहि मतदाताले मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्नु,
(ख) फ़ोटो सहितको मतदाता नामावलीले मतदाताको पहिचान, सरल, भरपर्दो गुणस्तरीय, बहुउपयोगी र विश्वसनीय बनाउँछ,
(ग) योग्य मतदाताको पहिचान गरि तयार गरिएको मतदाता नामावली नै निर्वाचन प्रक्रियालाई वैधानिकता दिने प्रमाणित आधार हो,
(घ) सबै मतदातालाई लक्ष्यित गरि निर्वाचन शिक्षा वा मतदाता शिक्षा सञ्चालन गर्न सहयोग गर्दछ र
(ङ) निर्वाचन व्यवस्थापनको योजना र यसको कार्यान्वयन गर्नका लागि पनि मतदाता नामावली अपरिहार्य छ ।
निर्वाचन भनेको मतदाताले आफ्नो मताधिकार प्रयोग गरि प्रतिनिधि छान्ने तथा निर्णय प्रक्रियामा सहभागी हुने एक वैधानिक प्रक्रिया हो । कुनै पनि देशको भावी नीति, योजना, कार्यक्रम सम्बन्धि निर्णयका लागि शासकीय प्रणालीको केन्द्रदेखि स्थानीयस्तरसम्म प्रतिनिधि चयन गर्ने सबैभन्दा महत्वपूर्ण प्रभावकारी बिधि पद्धति नै निर्वाचन हो ।
मतदाताका अधिकार संविधान र कानुनतः प्रत्याभूत गरिएका छन् । मतदाताका अधिकार देहायबमोजिम बुँदागत रुपमा उल्लेख गर्न सकिन्छ ।
(क) प्रत्येक मतदातालाई निर्वाचनमा उम्मेदवारी हुन पाउने अधिकार,
(ख) आफुले चाहेका राजनीतिक दल वा उम्मेदवारलाई स्वतन्त्र र गोप्यरुपमा मतदान गर्ने,
(ग) उम्मेदवार वा राजनीतिक दलको घोषणापत्र तथा कार्यक्रम बारे जानकारी प्राप्त गर्ने,
(घ) निर्वाचनमा सबै प्रक्रियामा देखिएका त्रुटि तथा कमीकमजोरी उपर उजुरी गर्ने,
(ङ) शान्तिपूर्ण भयरहित स्वच्छ वातावरणमा आफुले रोजेको उम्मेदवार वा दललाई मतदान गर्ने,
(च) निर्वाचन सम्बन्धि सुचना तथा जानकारी पाउने र
(छ) महिला, दलित, मधेसी, आदिवासी जनजाति, खस आर्य, थारु, मुस्लिम, अपांगता भएका व्यक्ति, पिछडिएको क्षेत्र लगायत समावेशी सिद्धान्तका आधारमा सबै नागरिकलाई निर्वाचनको हरेक प्रक्रियामा सहभागी हुने ।
यसै सन्दर्भमा मतदाताका केहि कर्तव्यहरु पनि रहेका छन् जुन निम्नलिखित बुँदागतरुपमा उल्लेख गरिन्छ :
(क) संविधान कानुनतः तोकिएको उमेर पुगेका सबै नेपाली नागरिकले आफ्नो नाम निर्धारित समयभित्र मतदाता नामावलीमा दर्ता गराउने,
(ख) मतदाता नामावलीमा दर्ता गराएको नाम, थर, उमेर, फ़ोटो आदि विवरणमा सहि वा गल्ती भएको विवरण एकिन गर्ने, गल्ती भएमा विवरण तथा नाम सच्याउन वा नाम एक स्थान वाट अर्को स्थानमा सार्न परेमा प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र निर्वाचन आयोगले तोकेको स्थानमा तोकेको समयमा निवेदन दिने,
(ग) मतदाताको पहिचान दर्शाउने निर्वाचन आयोगले वितरण गरेको मतदाता परिचयपत्र लिने र सुरक्षीत राख्ने,
(घ) नामावलीमा नाम दर्ता र निर्वाचन प्रक्रियाका सम्बन्धमा आफ्नो परिवारका सदस्यहरु तथा छरछिमेकीहरुलाई समेत जानकारी गराउने,
(ङ) मतपत्रमा भएका विभिन्न दल र उम्मेदवारहरुका चिन्हहरुका सम्बन्धमा र मतदान गर्ने तरिकाका सम्बन्धमा जानकारी राख्ने र अरुलाई पनि यश सम्बन्धमा जनचेतना जगाउने,
(च) मतदान गर्नु सम्पूर्ण वालिग मतदाताको कर्तव्य भएकाले आफ्नो मतको सदुपयोग गर्ने,
(छ) आर्थिक प्रलोभन वा डर वा धम्कीमा परेर आफ्नो अमुल्य मतको दुरुपयोग नगर्ने, अरुलाई पनि यश सम्बन्धमा जानकारी गराउने,
(ज) योग्यता पुगेका व्यक्तिहरुले निर्वाचनमा उम्मेदवार बन्ने अवसरको समेत सदुपयोग गर्ने ।
निर्वाचनको सन्दर्भमा मतदाताले ध्यान दिनुपर्ने कुराहरू :
(क) मतदाताले आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराई नाम तथा विवरण सहि भएको एकिन गर्नुपर्छ ।
(ख) आफ्नो मतदान केन्द्र पहिचान गरि तोकिएको प्रमाण सहित मतदान केन्द्रमा मतदान गर्न जानुपर्छ र यश बारेमा सम्बन्धित अरुलाई पनि जानकारी गराउनु पर्छ ।
(ग) महिला, वृद्ध वृध्दा, अपाङ्गता भएका व्यक्ति, अशक्त मतदातालाई आफुले चाहेको वा रोजेको दल वा उम्मेदवारलाई मत दिन सहयोग गर्नुपर्छ ।
(घ) आचारसंहिता उल्लंघन भएको देखेमा निर्वाचन आयोग वा निर्वाचनमा खटिएका कर्मचारीलाई सो को सूचना दिनुपर्छ ।
(ङ) मतदाताले आफ्नो मत कसैलाई पैसा लिई बेच्नु हुँदैन ।
(च) मतदाताले कसैको डर, धम्की, लोभ लालचमा परि मतदान गर्नुहुँदैन । महिला, आर्थिक रुपले विपन्न, अपाङ्गता भएका मतदातालाई डर, धाक, धम्की अथवा लोभ, लालच देखाई कसैको पक्षमा भोट दिन दबाब दिनु हुँदैन ।
(छ) मतदाताले एउटा निर्वाचनमा एकपटक मात्र मतदान गर्नुपर्छ ।
सारांशमा निर्वाचन भनेको दुई वा दुईभन्दा बढी राजनीतिक दल वा उम्मेदवारहरु विचको प्रतिस्पर्धामा जनताको रोजाईको आधारमा प्रतिनिधि चयन गरिने प्रक्रिया हो । त्यस्तै राष्ट्रियस्तरमा बेलाबखत उत्पन्न हुने समसामयिक सवाल वा राजनीतिक शासकीय मुद्दाको छिनोफानो गर्नका लागि जनताको प्रत्यक्ष अभिमत द्वारा निर्णयमा पुग्ने प्रक्रिया पनि निर्वाचन नै हो । यसलाई जनमतसंग्रह (Referendum) पनि भनिन्छ । लोकतन्त्रमा निर्वाचन प्रक्रिया पनि सामान्यतया कानुनले तोकेवमोजिम आवधिक रुपमा (समय-समयमा) सम्पन्न गरिन्छ ।
अन्त्यमा मतदान किन गर्ने भन्ने सन्दर्भ वर्तमान समयको अहम् सवाल हो । लोकतन्त्रमा नागरिकले शासन व्यवस्थामा सहभागी हुन मतदान गरि आफुलाई मन परेको राजनीतिक दल वा उम्मेदवारको छनौट गर्न, आफुमा निहित मताधिकारको प्रयोग गर्न र निर्वाचनमा एक अमुल्य मत पनि निर्णायक हुन्छ भन्ने सार्वभौम मान्यतालाई व्यवहारमा कार्यान्वयन गरि सो को सदुपयोग गर्नु अत्यन्त महत्व रहेको छ । नेपालको वर्तमान समयमा पौने दुईकरोड मतदाताहरु मध्ये एउटा सचेत मतदाता म पनि हुँ भन्ने मुलभाव लाई ह्रदयाङ्गम गरि नागरिक अधिकार र कर्तव्यको पालना गर्नुपर्छ । हाम्रो देशमा अहिलेसम्म म कसैलाई मत दिन्न (No Vote) को कानुनी व्यवस्था नभएको हुँदा पनि अनिवार्य रुपमा बाध्यात्मक रुपमा मताधिकारको प्रयोग गर्नैपर्छ । मताधिकार प्रयोग गर्दा इमानदार, जनताप्रति उतरदायी, जन अपेक्षा र जनताको माग सम्बोधन गर्न सक्ने, निडर, निर्भीक, सादा जीवन उच्च बिचार, कुनै पनि प्रकारको फौजदारी वा भ्रष्टाचारजन्य कसुरमा सजाय नपाएको स्वच्छ छवि भएको जन प्रिय नेतृत्व चयन गर्नुपर्दछ । एक अवधिमा निर्वाचन गरेर पठाएपछि मतदातालाई पश्चाताप गर्नु नपर्ने जननेता चयन गर्नुपर्ने बुद्धिमानी निर्णय हुनेछ । 🙏 धन्यवाद
सन्दर्भ स्रोत सामाग्री
१. नेपालको संविधान, २०७२
२. सामाजिक शिक्षकहरूकालागि निर्वाचन शिक्षा स्रोत पुस्तिका
३. विभिन्न पत्रपत्रिका र अनलाइन खबरहरु
४. लेखक स्वयं क्षेत्रीय निर्वाचन अधिकारी, क्षेत्रीय निर्वाचन कार्यालय, बाँके, नेपालगन्ज निर्वाचन आयोग, नेपाल बि.सं. २०७३-०७५ कार्यरत छँदा ऎतिहासिक निर्वाचन २०७४ सम्पन्न गर्दाका अनुभव समेत ।
Comments
Post a Comment