४१७. घरको सार्थकता र यसको सान्दर्भिक धर्म दर्शन

घरको सार्थकता र यसको सान्दर्भिक धर्म दर्शन   

✍️ वसन्तराज अधिकारी 
                                  घोराही, दाङ, नेपाल 


१. परिचय :

मुलतः यश भुगोलको पृथ्वी तलमा  हामी मानव जाति जहाँ बसोबास गरिरहेका छौं, त्यहाँ बसोबासका लागी मानव निर्मित संरचनालाई घर भनिन्छ । मानिस वा अन्य जीवहरुले वासस्थानको रूपमा प्रयोग गर्ने संरचना गृह, भवन, घर र  निवास हो । स्पष्ट अर्थमा  मानव बसोबासका लागि बनेको भौतिक संरचनागत स्वरुप बिशेष रुपमा जो एक परिवार वा मानिसहरूको सानो समूह बनाएर बस्दछन् घर भनिन्छ ।  कानुनी रुपमा आफ्नो घर हुनको लागि केवल बसोवास सँग मात्र सम्बन्धित नभै स्वामित्व वा अधिकार र प्रमाणसंग पनि प्रत्यक्ष सरोकार राख्दछ ।

२. समनार्थी शब्द :

घर सम्बन्धमा संस्कृत, नेपाली र हिन्दी भाषा समेतमा करीब चारदर्जन शब्दहरू पाईन्छन्  जस्तैः  गृह, आलय, सदन, शाला, आश्रय, आवास, निवासस्थान, परिवार, संश्रय, जन्मभूमि, निवास, अधिवास, कुटुंव, घर, मकान, द्वार, दरबार, कमरा, प्रवेशमार्ग, निर्गम, अहाता, अचल सम्पत्ति, गौरवमनकुला, जायदात, महल, प्रासाद, बडा बंगाला, बडी हवेली, डेरा, निवासस्थान, सैन्यवास, वास, स्थान, उत्पत्ति स्थान, धम, चुल्हा, भट्ठी, छप्पर, सायबान, ओसारा ।

उपरोक्त शब्दका अतिरिक्त अंग्रेजीमा Home, House, Buildings, Residence, Complex, Colony आदि बहुप्रचलित शब्दहरु रहेका छन् ।

३. घरको किसिम :

प्रयोगका आधारमा मुलतः  घर २ किसिमका हुन्छन् :
३.१ कच्ची घर र
३.२ पक्की घर

कच्ची घर माटा वा बेतवासवाट निर्मित हुन्छन् र न्यून लागतमा पनि निर्माण गरिन्छन्  भने पक्की घर  सिमेन्टको ढलान गरि आरसीसी, ढुंगा, ग्रेनाईट  धातु वा अन्य यस्तै पदार्थवाट निर्माण गरिएको हुन्छन् ।

यथार्थमा परम्परागत कच्ची घरहरु अधिकांश वातावरण मैत्री मानिन्छन् । केहि बर्ष पहिला गाउँ घरमा यस्ता घर देखिए पनि हिजोआजको आधुनिक विकासको परिणामस्वरूप प्रतिस्पर्धामा सर्वत्र पक्की घरहरु पाईन्छन् । कच्ची घरमा खर, पराल वा छ्वालीले छाएका घरहरु हिजोआज बिरलै पाईन्छन् । हिजोआज शहरमा  टिनले छाएका वा ढलान आरसिसियुक्त घरहरू  अधिकांश  पाईन्छन् ।

घरकै स्वरुपमा देवालय, धर्मशाला, कार्यालय, पाठशाला, महा बिद्यालय, बिश्व विद्यालय, व्यारेक, मठ, मन्दिर, गुम्बा, चैत्य, स्तुपा, गिर्जाघर समेत अआफ्नै तरिकाबाट सैद्धान्तिक, धार्मिक दर्शन मुल्य मान्यता बमोजिम निर्माण गरिन्छन् ।

४. घरवाट हुने फाईदा

मानिस बसोबासको लागि प्राकृतिक प्रकोप हावा, पानी, हुरी बतास, सुखा खडेरीवाट सहज, सुरक्षीत र आनन्दायी जीवनयापन  हुनुका साथै शत्रु जीव, चोर, डाँका समेतवाट सुरक्षीत भै जीवनयापनका पारिवारिक, सामाजिक  यावत् क्रिया कर्म सहज रूपमा गर्न पाईनुका साथै मानिसको आफ्नो पहिचानका लागि घर महत्वपूर्ण हुन्छ । घरमा आफुलाई चाहिने अन्नपात, कपडा लत्ता, गरगहना, जवाहरात, धनपैंसा सुरक्षीत गर्न सकिन्छ तर हिजोआज सरल, सुलभ र सहज, भरपर्दो तरिकाको संस्थागत बैकिंङ प्रणालीको बिकाससँगै मानिसहरू गरगहना, धनपैंसा घरमा राख्न छोडिसकेका छन् । घर आधारभुत आवश्यकताको बस्तु भएपनि शहरीकरणको तीब्र बिकाससँगै  हिजोआज पुँजी बजारको प्रतिस्पर्धामा इज्जत, प्रतिष्ठाका लागी वा किराया (भाडा) मा दिनका लागि पनि घर निर्माण गरिन्छन् ।

घरमा जहान परिवार, कुटुंबको पारिवारिक, मेलमिलाप,  प्रेम, स्नेह, सद्भावको उदगम स्थल हुनुका साथै घर पैत्रिक विरासत वा स्वयं निर्माण गरि सामाजिक पहिचानको आधार बन्दछ ।

५. घरवाट बेफाइदा :

सार अर्थमा घरवाट कुनै  पनि बेफाइदा छैनन् परन्तु व्यापक शहरीकरणले गर्दा खेती योग्य जग्गा जमीनमा पक्की सिमेन्टको घर निर्माण गरि मरुभूमिकरणको होडबाजी, प्राकृतिक बिनाशवाट बिपत्तिका कारक बन्न गएका यथार्थ स्वरुप हाम्रा सामु एकातिर छन् भने अर्कोतिर पक्की घरको तुलनामा कच्ची घर, शहरको घरको तुलनामा गाउँका घर, ठुला घरको तुलनामा साना घर स्वस्थ्य पर्यायवरण वा वातावरणमैत्री भएपनि असुविधा भने अवश्य हुन्छन् यश तथ्यमा भने ध्यानाकर्षण भएको पाईदैन ।

६. घरको ड्रईङ, डिजाईन, नक्सा पास अभिलेखिकरण विद्युत महसुल, खानेपानी दैदस्तुर र राजस्व भुक्तानी समेतका बिषय  :

स्थानीय तह गाउँपालिका वा नगरपालिकाले बनाएको नियम र मापदण्डअनुसार घरको ड्रईङ, डिजाईन, नक्सा पास समेतका अभिलेखिकरण  गरि राजस्व भुक्तानी गर्नुपर्दछ र नियम बमोजिमको भवन मापदण्डअनुसार घर, कम्पाउण्ड बनाउनु पर्दछ । हिजोआज भुकम्प प्रतिरोध घर, भवन निर्माण गर्न पनि विशेष ध्यान दिनु पर्छ ।

७. नयाँ घर खरिद गर्दा वा पुनर्निर्माण गर्दा ध्यान पुर्याउनु पर्ने कुराहरु :

आफै निर्माण नगरी अरुले निर्माण गरिएका घरहरू खरिद गर्ने प्रचलन पनि छ । यश सम्बन्धमा पहिला त आफ्नो आवश्यकता र पुँजी अनुरुप घर खरिद गर्ने सोंच गर्नुपर्छ । घर खरिद कतिपयले आफ्नै प्रयोजनार्थ बनाएका घर आफ्नो अनुकुलताले खरिद गर्दा त ठिकै होला । तर व्यावसायिक प्रयोजनका लागि बनाईएका घर वा कोलोनी खरिद गर्दा भने गुणस्तर, किस्ता भुक्तानी वा अन्य शर्तहरु पनि बिचारणिय हुन्छन् । घर बलियो, दीगो, सुरक्षीत, भरपर्दो, बिश्वसनिय रुपमा मात्र नयाँ  खरिद वा पुनर्निर्माण गर्नुपर्दछ ।

८. सुख र आरामदायी घर :

केवल भवन वा भौतिक संरचना घर होइनन् । घर हुनको लागि असल गुणवान् नर नारी सन्तान र सन्तती हुनुपर्छ । हिजोआज सुख भौतिकतामा खोजिन्छ जस्तैः नोकर, चाकर, घोडा गाडी र प्रशस्त आम्दानी यी भौतिक सुखभन्दा सन्तोष, मेलमिलाप, शान्ति, पारिवारिक सहयोग, आध्यात्मिक दैनिक ईश्वर पुजन जस्ता कुराहरुवाट मानिसले अध्यात्मिक दीगो सुख प्राप्त गर्दछ ।

बाढी पहिरोको उच्च जोखिमयुक्त स्थानमा सुरक्षीत सामुहिक आवास घर सेल्टर निर्माण गरि जन धनको क्षतीवाट जोगाई बिपद व्यवस्थापनमा ध्यान दिईन्छ । यस्तै तराई तिर जंगली जनावरको भयवाट वच्न वा उनिहरुलाई सहजरूपमा लखेटन उच्च मचान बनाईएका पनि हुन्छन् ।

९. घरको महत्व :

जसरी प्यासीलाई पानीको, भोको लाई भोजनको, रोगीलाई ओषतिको, मृत्युु शैयामा छटपटाईरहेको लाई धर्म वा पुण्यको महत्व हुन्छ त्यस्तै आफ्नो घर नभै किरायाको डेरा वा क्वाटरमा बसेकालाई आफ्नो घरको महत्व हुन्छ । जागीर, कमाई, परिवार, सन्तान, असल बिद्या, बुद्धि जति जे भएपनि अन्ततः घर बिना मानिस पुर्ण हुँदोरहेनछ् । घर नै जीवनमा पुर्णताको एउटा सूचकांक जस्तैः पनि रहेछ ।

१०. अन्ततः परमधाम भगवान् को घर बैकुण्ठ लोक नै स्थायी सत्य घर  रहेछ :

जीवन र जगतमा कोहि पनि अजम्मरी चोला लिएर आएको छैनन् तसर्थ एक दिन नश्वर भौतिक देह, आफ्नो परिवार , सन्तान, श्रीसम्पत्ति, सुख, भोगका यावत् साधन, आय आम्दानी, घर, महल, दरवार, बंगला सबै छोडेर जसरी आमाको गर्भवासवाट जन्म भयो त्यो भन्दा पृथक रुपमा नश्वर पञ्चमहाभौतिक देह त्याग गरि परमधाम जानुपर्ने अनिवार्य हुन्छ । त्यतिबेला फगत सञ्चित पाप र पुण्यको अदृश्य भारी बोकेर जानुपर्ने जीवन  दर्शन दृष्टान्त नै रहेछ । यहीँ लोकायत अध्यात्मिक धार्मिक सत्यलाई आत्मसात गरि हाम्रा श्रध्देय पुर्वजहरु हामी बिचवाट बिदा भै गए हामीले पनि त्यहीँ पदचाँप लाई पछ्याउँदै मानव चोला सार्थक बनाउनु छ । 

कोही ईश्वर वा भगवान् भजन गर्छन् । ध्यान गर्छन् । दान पुण्य गर्छन् । कोहि सामाजिक परोपकारी कार्य गर्छन् । कोहि गुरु साधना गर्छन् । कोही स्वयं साधना गर्छन् । कोहि समाजसेवा, परोपकार वा निस्वार्थ राजनीति गर्छन् । यी सबैको हिसाबकिताब धर्मराजले आफ्नो बहिखातामा राखेका हुन्छन् । भनिन्छ - "यत्र धारयेत तत् धर्म" अर्थात् धारणा गर्नु नै धर्म हो । आगोको धर्म जलाउनु, पानीको धर्म गलाउनु र हावाको सुकाउनु हो भने मानिसको धर्म पुण्यात्मा वा परोपकार गर्नु हो । शास्त्रीय मत छ - परोपकारच पुण्याय पापाय परपिडनम् ।

धर्म भन्नेबित्तिकै अधिकांश मानिस परोपकारलाई बुझ्छन् । अरुको उपकार गर्नुलाई धर्म र अपकार (नराम्रो) गर्नुलाई अधर्म अर्थात् पाप मानिएको छ । तर सनातन संस्कृति–परम्परामा धर्मको अर्थ यतिमा मात्र सीमित छैन । विभिन्न शास्त्रमा धर्मको विस्तृत व्याख्या पाइन्छ ।

शास्त्रले बताएका आचरण पालना गर्नुलाई नै धर्म मानिएको छ । विशेषतः वर्णाश्रमको मुल्य मान्यताअनुरूपको आचरण पालन गर्नुलाई नै सनातन वैदिक परम्परामा धर्म भनिएको छ । मनुस्मृतिमा धर्मका १० लक्षण बताइएको छ–

धृतिः क्षमा दमोऽस्तेयं शौचमिन्द्रियनिग्रहः ।
धीर्विद्या सत्यमक्रोधो दशकं धर्मलक्षणम् ।।

१०.१ धृति
धृति अर्थात् धैर्य वा सहनशीलता । जीवनमा जस्तोसुकै कठिन परिस्थिति आउँदा पनि विचलित नभई धैर्य गर्नुपर्छ । महाभारतका पात्र विदुरलाई धीर पुरुषका रूपमा वर्णन गरिएको छ । उनी जुनसुकै कठिन अवस्था र परिस्थितिमा पनि आफ्नो धीरता नगुमाई अडिग रहिरहे । धैर्यले मानिसलाई सफल बनाउन ठूलो भूमिका खेलेको हुन्छ ।
१०.२ क्षमा
क्षमा अर्थात् माफी । कसैले निन्दा गर्छ, अपमान गर्छ, हानि पुर्याउन खोज्छ भने पनि त्यसमा सहनशील भई क्षमा दिन सक्ने सक्षमता हुनुपर्छ । यसैलाई आत्मसात गर्नुलाई पनि शास्त्रले धर्मको लक्षण भनेको छ ।
१०.३ दम
दम अर्थात् मनलाई दमन गर्नु वा मनलाई नियन्त्रण गर्नु । मनलाई नियन्त्रण गर्न नसक्दा धेरै सोचहरू आउँछन् । धेरै सोचले नकारात्मक पक्षलाई बढी जोड दिन्छ । नकारात्मकता सोचले जीवनमा कहिल्यै खुशी र सन्तुष्टि  दिँदैन । मनमा आउने खराब विचारलाई नियन्त्रण गरी योग, ध्यानको माध्यमबाट सकारात्मक सोच ल्याउनसक्ने क्षमता अभिवृद्धि गर्नु नै मनलाई दमन गर्नु हो ।
१०.४ अस्तेय
अस्तेयको अर्थ हुन्छ नचोर्नु । नचोर्नु भन्नाले यहाँ केवल भौतिक धनसम्पत्तिको मात्रै कुरा गरिएको छैन । यो संसारमा रहेका दृश्यादृश्य, भौतिक, मानसिक सबै चिज चोर्नुबाट वर्जित गर्नु भन्न खोजिएको हो । कसैको मन दुख्ने काम गर्नु पनि हिंसा हो भने अदृश्य चिज चोर्नु पनि पाप नै हो । भौतिकसँगै आध्यात्मिक पनि जोडिएको हुन्छ । त्यसैले अस्तेयलाई धर्मको लक्षण मानिन्छ ।
१०.५ शौच
शौचको शाब्दिक अर्थ शुद्धि हुन्छ । शुद्धि भन्नाले खाली बाहिरी शारीरिक बनावट आवरणमा  मात्रै शुद्धि होइन । यो त आत्माको शुद्धीकरण, चित्त (मन)को शुद्धीकरण, सोच (विचार)को शुद्धीकरण हो । बाहिर शरीर शुद्ध हुँदैमा भित्री सोच शुद्ध हुन्छ भन्ने हुँदैन । शरीर शुद्ध भएर भित्री सोच खराब छ भने त्यो शुद्धता औचित्यहीन हुन्छ । तसर्थ  व्यक्तिको अन्तस्करण शुद्ध हुन आवश्यक छ ।
१०.६ इन्द्रियनिग्रह
हिन्दु दर्शन र धर्म शास्त्रानुसार हाम्रो शरीरमा मनसहित ११ इन्द्रिय हुन्छन् । सबैको आ–आफ्नै कार्य हुन्छ । पाँच ज्ञानेन्द्रिय (चक्षु, श्रोत, घ्राण, जिह्व, काय) र पाँच कर्मेन्द्रिय (वाक्, पाणि, पाद, पायु, मलद्वार) । यिनै इन्द्रियमाथि विजय प्राप्त गर्नु पनि धर्मको लक्षण हो भनी उल्लेख गरिएको छ । यी इन्द्रियलाई आफ्नो नियन्त्रणमा राख्न सकियो भने मात्र धर्मलाई सजिलै बुझ्न सकिन्छ ।
१०.७ धी
धी भनेर बुद्धिलाई भनेको हो । बुद्धि अर्थात् ज्ञानको स्तर वा चेतनाको स्तर मापनलाई बुझ्न सकिन्छ । चेतनाको स्तरबाट मानसिक र भौतिकवाददेखि पर रहेर जीवनतत्वको सार र रस बुझी शास्त्र वचनलाई पालन गर्नु हो । यसबाट बुद्धिको विकास हुन्छ । बुद्धिको विकासबाट नै हामीले मानव हुनुको अर्थ बुझ्छौँ र मोक्षको ज्ञानतर्फ लाग्न प्रेरित हुन्छौँ । तसर्थ शास्त्रमा बुद्धिलाई पनि धर्म मनिएको छ ।
१०.८ विद्या
यहाँ विद्या भन्नाले शास्त्रज्ञानलाई भनिएको हो । शास्त्रको ज्ञान भन्नुको  मतलब ग्रन्थमा उल्लेखित नीतिनियमको जानकारी हुनु हो । शास्त्रमा बताइएका यस्ता विद्याको ज्ञान लिनु पनि धर्मको लक्षण हो ।
१०.९ सत्य
सनातन धर्ममा सत्यको ठूलो महत्त्व हुन्छ, चाहे त्यो वचन होस् वा कार्य । यसको उदाहरण पौराणिक कथामा प्रशस्तै सुन्न र पढ्न पाइन्छ । सत्यवचन र कार्यका कारण नै जेष्ठ पाण्डुपुत्र युधिष्ठिर जीवितै नै स्वर्गलोक गएका थिए । शास्त्रमा पनि भनिएको छ, सधैँ सत्य बोल, प्रिय बोल र धर्म अनुकूलको आचरण परिपालन गर ।
१०.१० क्रोध भाव
मानिसको सबैभन्दा ठूलो शत्रु नै क्रोध हो । क्रोध नै हाम्रो सर्वनाशका प्रतीक हो । यसले हामीलाई विनाशको बाटोतर्फ डोर्याउँदछ । जसरी बलिरहेको कोइलालार्ई समातेर दोस्रो व्यक्तिमा फाल्दा त्यो कोइलाले सबैभन्दा पहिले आफैलाई जलाउँछ । त्यसरी नै क्रोधले सबैभन्दा पहिले आफैँलाई जलाएर सखाप पारिदिन्छ ।

सन्दर्भ सामाग्रीहरु

१. विकिपिडिया
२. अनलाइन खवर पत्रिकामार्फत प्रकाशित आलेख
३. समसामयिक खोज र स्वअनुभव

लेखन/सम्पादन  :
वसन्तराज अधिकारी
घोराही १७ पनौंरा, दाङ, नेपाल
शुक्रबार ३ असार २०७९

Comments