चिन्तन छ कहिल्यै बूढो हुन्न र
कहिल्यै मर्दै मर्दिन ।
✍️ वसन्तराज अधिकारी |
मानिसको जीन्दगानी
कर्कलाको पानी ।
गयो बाला युवापनको
बैँस रहर र जवानी ।।१।।
दु:ख सुख आफ्नैं रैछ
कर्मको भाग भोग ।
प्रारब्ध र भाग्यले पनि
दिन्छन् केही भर्थेग ।।२।।
सांसारिक माया जाल
नमेटिने मृगतृष्णा ।
तेरो मेरो स्वार्थान्धता रैछ
कस्तो दुर्व्यसन ।।३।।
कहाँ वाट आएको हो
कहाँ जानू फ़ेरि ।
यहि भौतिक देहधारी
गर्दै तेरी मेरी ।।४।।
आफू सक्षम सबल भए
संसार हदै रमाईलो ।
असक्षम दुर्वल रहे
नरक तुल्य छ हो ।।५।।
धनको अहम् मानको अहम्
नाता कुलकुटुम्ब ।
एकदिन एक्लै मरिजाने फ़ेरि
किन गर्नु दम्भ ।।६।।
दिनदिनै सयौं जन्म मरण
देखेर नि मानिस ।
अन्देखाझै गर्ने कस्तो रैछ
अन्तरज्ञान विवेक हिन ।।७।।
अध्यात्मिक भोक नजागेसम्म
ईश्वर चिन्तनमा नलागेसम्म ।
जन्म मृत्यु चक्रव्युह नत्यागेसम्म
संसारमा भुलभुलैया रहन्छ टम्म ।।८।।
नश्वर देह ईश्वर चिन्तन
धन्य मानव जीवन ।
दुर्लभ जीवन मिलेको छ
गरौं ईश्वरको चिन्तन ।।९।।
मानिस एउटा स्वार्थी प्राणी
कहिल्यै मतलब छोड्दैन ।
चिन्तन छ कहिल्यै बूढो हुन्न र
कहिल्यै मर्दै मर्दिन ।।१०।।
✍️ वसन्तराज अधिकारी
घोराही १७ पनौंरा, दाङ, नेपाल ।
आइतबार १८ पुस २०७८
Comments
Post a Comment