किसान रुँदा देश रुन्छ अनिष्ट भै, राष्ट्र असफल हुन्छ । नेतृत्वगण यस्लाई योजनाबद्ध, पहिलो दृष्टि दिनुपर्छ ।।
✍️ वसन्तराज अधिकारी |
खेत फाँटमा लह लह झुलेका ति, धान स्वर्ण बाला ।
अनायास बेमौसमी झरी बर्षाले, बनाईदियो स्वाहा ।।१।।
शिरमा हात लिई धरधरी रुदैं छैन, घर खेतवारीमा ।
कति निष्ठुरी रैछस् दैव रुवाईस्, साधु सन्त आत्मा ।।२।।
वर्षा हिलो भोक प्यास सहदैं, रुझ्दै भिज्दै खेती गरि ।
साहुको कर्जा तिर्न र बालबच्चा, पाल्न दु:ख गरि ।।३।।
यश सालको राम्रो वर्षा भएर नि, फसल राम्रो थियो ।
अनायास दैवीप्रकोप बिपत्ति र वज्रपात बज्रीयो ।।४।।
दाङ, बाँके, बर्दिया समेत, हिमाल पहाड र तराई ।
बेमौसमी आततायी वर्षाद्ले, किसानलाई रुवाई ।।५।।
प्रकृति नै रिसाईछीन् मानिसमा, लोभ पाप बढदा ।
न्याय सत्य धर्म पथवाट, मानव विचलित हुँदा ।।६।।
दशैं पछि "दशा" गरिब किसानलाई, पार्यो रुवावासी ।
आफ्नैं पालनकर्ता बिधाता दैव, किन दिईस शास्ती ।।७।।
किसान रुँदा देश रुन्छ अनिष्ट भै, राष्ट्र असफल हुन्छ ।
नेतृत्वगण यस्लाई योजनाबद्ध, पहिलो दृष्टि दिनुपर्छ ।।८।।
बाबू आमा गुरु राष्ट्र नायक र किसान, यि हुन् पञ्च पिता ।
पिता दु:खी भए सन्तानको कसरी, चल्छ जीवनगीता ।।९।।
यथार्थ लगत संकलन गरि राहत कोष, न्यायीक जाँचबुझ ।
वास्तविक किसान एकिनगरि दिनु, क्षतिपूर्ति समुचित ।।१०।।
✍️ वसन्तराज अधिकारी
घोराही, दाङ
शुक्रबार ५ कार्तिक २०७८ शुभम् ।
Comments
Post a Comment