२३७. तथ्यांक तथा सूचना स्रोतको सैद्धान्तिक अवधारणा : सार्वजनिक प्रशासनमा यसको प्रयोग र विविध विश्लेषण

तथ्यांक तथा सूचना स्रोतको सैद्धान्तिक  अवधारणा : सार्वजनिक प्रशासनमा यसको प्रयोग र विविध विश्लेषण 

 ✍️ वसन्तराज अधिकारी  उपसचिव, नेपाल सरकार    
                           

१.अवधारणा :

सामान्य अर्थमा तथ्यांक भन्नाले संख्यात्मक सूचना तथा तथ्यहरुलाई बुझिन्छ । "तथ्यांक" शब्द 'तथ्य' र 'अंक' को संमिश्रण वाट बनेको हो । अर्थात् तथ्य + अंक = तथ्यांक हुन्छ । यश अनुसार तथ्य भन्नाले स्पष्ट, सहि, सत्य भन्ने बुझिन्छ भने अंक भन्नाले संख्यात्मक लवजलाई बुझिन्छ । यसवाट यो बुझिन्छ कि तथ्यांकमा व्यक्त गरिएका सूचनाहरु सहि तथा यथार्थ एवम् शुद्ध हुनुपर्छ । सारमा तथ्यांक तथ्यहरुका समुहहरु हुन् । तथ्यांकलाई विश्लेषण गरि संश्लेषणात्मक सूचना वा सूचकांकको रुपमा सूचनालाई प्रस्तुति गरिन्छ । तुलनात्मक उद्घरणका लागि दुधवाट दही र दही वाट मखन "नौनी" र मखन वाट घ्यू बन्ने प्रक्रिया सँग तथ्यांक र सूचकांक लाई बुझ्न सकिन्छ ।

सार्वजनिक प्रशासनलाई स्थुल मानव शरिरको मांशपिण्ड सहितको अस्थिपन्जर प्रणालीको रुपमा लिंदा तथ्यांक "प्राणवायु" को रुपमा लिन सकिन्छ । तथ्यांक र सुचना रहित सार्वजनिक प्रशासन केवल एउटा साहित्यिक मञ्च मात्र हुने हुँदा सार्वजनिक प्रशासनमा तथ्यांकको अपरिहार्य महत्व रहेको तथ्य निर्विवाद रहेकोे छ । 

२. परिभाषा :

तथ्यांकलाई विभिन्न बिद्वानहरुले विभिन्न किसिमले परिभाषित गरेका छन् । कसैले तथ्यांकलाई एक विधि तथा प्रक्रिया (Process) को रूपमा, कसैले "संख्यात्मक तथ्यहरुको समुह" को रुपमा, कसैले गणितीय बिज्ञानको रूपमा परिभाषित गरेको पाईन्छ ।

According to Croxton and Cowden - "Statistics may be defined as the collection, presentation, analysis and interpretations of numerical data."

३. प्रकृति (Nature)

तथ्यांकलाई विभिन्न विद्वानहरुले विभिन्न किसिमले परिभाषित र व्याख्या गरि यसको प्रकृति बारे उल्लेख गरेका छन् । प्रोफेसर एकेनवालले यसलाई राज्यसँग सम्बन्धित तथ्यहरुको संग्रह भनेका छन् । प्रोफेसर हेरिसले संख्यात्मक तथ्यहरुको समुहलाई तथ्यांक भनेका छन् । क्रक्सट्न र काउडेन तथा स्पिगलले संख्यात्मक तथ्यहरुको संकलन, संगठन, प्रस्तुतीकरण, विश्लेषण र व्याख्या सम्बन्धि प्रक्रियामा जोड दिएका छन् । यसरी हेर्दा तथ्यांक लाई एक बिज्ञानको रुपमा मानिन्छ । यसले समाजका आर्थिक तथा सामाजिक क्रियाकलापहरुलाई परिमाणात्मक रुपमा व्याख्या र विश्लेषण गर्नमा सघाउ पुर्याउँदछ ।

४. तथ्यांकको बिशेषताहरु (Characterstics of Statistics)

४.१ तथ्यहरुको समूह (Aggregates of Facts)

तथ्यांक तथ्यहरुको सामुहिक प्रस्तुति हो । एकल अंक तथा तथ्यलाई तथ्यांक मानिन्न । जस्तैः "क" भन्ने व्यक्तिको मासिक आम्दानी रु.२०,०००/- छ भन्नुलाई तथ्यांक मानिदैन । तर "क" "ख" "ग" र "घ" व्यक्तिको मासिक आम्दानी क्रमशः रु. २०,०००/- रु.२५,०००/ रु.३५,००० र रु. ४५,०००/- छ भन्नुलाई तथ्यांक मानिन्छ ।

४.२ संख्या (अंक) मा व्यक्त (Numerically Expressed)

विभिन्न क्रियाकलाप, प्रक्रिया तथा तथ्यहरुलाई संख्या (अंक) मा व्यक्त गरिएमा मात्र त्यसलाई तथ्यांक भनिन्छ । भाषा वा कथनमा व्यक्त कुरालाई तथ्यांक मानिन्न । जस्तैः अध्ययन अध्यापनको उपयुक्त वातावरणको अभावले थोरै मात्र विद्यार्थीहरुले एस.ई.ई परिक्षा उत्तीर्ण गरे भन्नुलाई तथ्यांक मानिदैन तर अध्ययन अध्यापनको उपयुुक्त वातावरणको अभावले गर्दा गत बर्ष भन्दा यश बर्षको एस ई.ई. उत्तीर्ण विद्यार्थी अनुपात ४० प्रतिशत कम भयो भन्नुलाई तथ्यांक मानिन्छ ।

४.३ विभिन्न कारणहरुवाट प्रभावित (Affected by multiple causes)

कुनै पनि तथ्यांक विभिन्न कारणहरुवाट प्रभावित भएको हुन्छ । तथ्यांकमा प्रभाव पार्ने विभिन्न तथ्यहरुको परिमाणात्मक विश्लेषण गरिनु पनि तथ्यांकको क्षेत्र अन्तर्गत पर्दछ । जस्तैः कुनै स्थानको कुनै अवधिको कृषि उपज (गहुँ) को उत्पादनमा मौसम, सिचाई, बीउ, जमिनको आकार र प्रकृति, उत्पादन तरिका तथा कृषि प्रविधि आदि विभिन्न कुराहरुले प्रभाव पार्दछन् ।

४.४ स्तरीय गणना (Enumerated according to reasonable standard of accuracy)

कुनै पनि घटना विषयवस्तु तथा प्रक्रियाको सम्बन्धमा तथ्यांक प्राप्त गर्नका लागि स्तरीय गणना तथा तथ्यांक बिधि प्रयोग गरिन्छ । त्यसको लागि विशेषतः नमूना विधि (Sampling method) तथा संगणना बिधि (Census method) अवलम्बन गरिन्छ ।

४.५ व्यवस्थित संकलन (Systematic Collection)

तथ्यांकहरु क्रमवध्द एवम् व्यवस्थित रुपले संकलन गर्नुपर्दछ । यसको लागि निश्चित विधि तथा प्रक्रिया पूरा गर्नुपर्दछ जुन पुर्व निर्धारित गरिएको पनि हुन्छ अर्थात् सुव्यवस्थित रुपमा तथ्यांक संकलनको लागि त्यसको बिधि तथा संकलन गर्ने तरिका पुर्व निर्धारण गरिनु आवश्यक मानिन्छ ।

४.६ उद्देश्यमुलक (Purposeful)

तथ्यांकको संकलन, संगठन, प्रस्तुतिकरण, विश्लेषण तथा व्याख्या उद्देश्यपुर्ण हुन्छ तथा हुनुपर्छ । बिना उद्देश्यको तथ्यांकको कुनै अर्थ रहदैंन । कुनै पुर्व निर्धारित (Pre-determined) उद्देश्य परिपुर्तिको लागि नै तथ्यांक तयार गरिन्छ ।

४.७ तथ्यांकहरु विच आपसी सम्बन्ध (Related to each others)

तथ्यांकहरु एकापसमा सम्बन्धित हुनु जरुरी हुन्छ । आवधिक रूपमा तथा क्षेत्रगत रूपमा विभिन्न क्षेत्र र अवधिका तथ्यांकहरु तुलना गर्न सकिने हुनुपर्छ ।

४.८ अस्तित्व (Existence)

तथ्यांकको स्वतन्त्र अस्तित्व हुँदैन । तथ्यांकहरु कुनै न कुनैरुपमा आर्थिक, सामाजिक क्रियाकलापहरु र बैज्ञानिक अनुसन्धान एवम् विश्लेषण सँग सम्बन्धित हुन्छन् । यिनीहरूले अन्य बिषयवस्तुसँग सम्बन्धित रहि विश्लेषणको आधारको रूपमा कार्य गर्दछन् ।

४.९  उपयोग (Use)

समय, स्थान, परिस्थिति र आवश्यकता अनुसार उपयुक्त हुने किसिमले सहि ढंगमा तथ्यांकको उपयोग आवश्यक हुन्छ । सहि सदुपयोग भएमा तथ्यांक एक प्रभावकारी साधन हतियार (Effective Tools) को रूपमा सिद्ध हुन्छ । त्यसको विपरीत यदि सहि रुपले तथ्यांकको उपयोग नभएमा यो घातक सिद्ध हुन जान्छ । त्यसैले तथ्यांक संकलन, संगठन, प्रस्तुतीकरण, विश्लेषण तथा व्याख्या गर्दा पर्याप्त र उपयुक्त ज्ञान र सीपको जरुरत पर्दछ ।

५. तथ्यांकको स्रोत (Sources of Statistics)

कुनै कार्य विशेषको लागि आवश्यक पर्ने तथ्यांकहरु विभिन्न स्रोतहरुवाट संकलन गर्न सकिन्छ । तथ्यांकहरु प्राप्तिका विविध स्रोतहरुलाई २ भागमा विभाजन गर्न सकिन्छ । ती हुन् - प्राथमिक स्रोत र माध्यमिक स्रोत । यहीँ स्रोतकै आधारमा तथ्यांकलाई दुई प्रकारमा वर्गीकरण गर्ने गरिन्छ :

(क) प्राथमिक तथ्यांक र
(ख) माध्यमिक तथ्यांक ।

(क) प्राथमिक तथ्यांक (Primary Data)

अनुसन्धानकर्ताले आफ्नो उद्देश्य अनुसार आफ्नै प्रयोगका लागि आफैले वा आफ्नो प्रतिनिधि व्यक्ति वा संस्था द्वारा संकलन गरिएका नयाँ तथ्यांकलाई नै प्राथमिक तथ्यांक भनिन्छ । यस्ता तथ्यांक तथा सूचनाहरु बिल्कुल नयाँ हुन्छन् । यिनीहरूको पुर्व प्रकाशन भएको हुँदैन । यस्ता सूचना तथा तथ्यांकहरु प्रकाशन नभएसम्म तिनीहरूको बारेमा संकलकलाई मात्र जानकारी भएको हुन्छ । प्राथमिक तथ्यांकहरु संकलन गर्दा अन्तर्वार्ता (Interview), प्रश्नावली (Questionnaire) तथा अवलोकन (Observations) आदि तरिका अवलम्बन गरिन्छ । अनुसन्धानको उद्देश्य, प्रकृति तथा क्षेत्र, वित्तीय साधनहरुको व्यवस्था अर्थात् अनुसन्धानको लागि उपलब्ध बजेट स्थिति, समय, तथ्यांकमा अपेक्षित शुद्धताको मात्रा, अध्ययन अनुसन्धान गर्ने व्यक्ति तथा संस्थाको प्रकृति र उद्देश्य अनुसार उल्लिखित तरिकाहरु मध्ये उपयुक्त तरिका अवलम्बन गर्नु आवश्यक हुन्छ ।

प्राथमिक तथ्यांक संकलन गर्ने तरिकाहरु (Ways of collecting primary data) मध्ये प्रचलित प्रमुख तरिकाहरुलाई निम्नलिखित विवेचना गरिएको छ :

अ. प्रत्यक्ष व्यक्तिगत अन्तर्वार्ता (Direct Personal Interview) :

यो तरिका अनुसार अनुसन्धानकर्ता आफै सूचनादाताको सम्पर्कमा गै अनुसन्धान सम्बन्धि आवश्यक प्रश्नहरू सोधी आफुलाई चाहिने तथ्यांक संकलन गर्दछ । उदाहरणका लागि कुनै कारखानाका कामदारहरूको समस्याहरूको बारेमा अध्ययन गर्नुछ भने अनुसन्धानकर्ता उक्त कारखानामा गै त्यहाँ कार्यरत कामदारहरू लाई भेटी सूचना संकलन गर्दछ । अनुसन्धानको क्षेत्र सीमित भएको अवस्थामा यो तरिका बढी उपयुक्त मानिन्छ । यश तरिकावाट सहि निष्कर्ष निकाल्नको लागि अनुसन्धानकर्ता र सूचनादाता दुवैले पक्षपात रहित भै कार्य गर्नु जरुरी हुन्छ । यश तरिकामा गुण र दोषहरुलाई निम्नलिखित उल्लेख गर्न सकिन्छ :

® गुणहरु (Merits)

° अनुसन्धानकर्ता स्वयंले अन्तर्वार्ता लिने हुँदा संकलित तथ्यांकहरु सत्य, शुद्ध एवम् मौलिक हुन्छन् ।

° तथ्यांक प्राप्ति र प्रश्न सोधाईमा एकरुपता हुन्छ ।

° अनुसन्धानको क्षेत्र ज्यादै सीमित भएमा यो बढी उपयुक्त हुन्छ ।

° आवश्यकतानुसार पुर्वनिर्धारित प्रश्नहरुमा समेत हेरफेर हुने गरि प्रश्न सोध्न सकिन्छ ।

° घुमाई फिराई संवेदनशील प्रश्नहरू समेत सोधी जवाफ प्राप्त गर्न सकिन्छ ।

° अनुसन्धानकर्ता स्वयं उपस्थित भै प्रश्न सोध्ने हुँदा केही थप प्रश्नहरूको समेत जवाफ प्राप्त गर्न सकिन्छ ।

° तथ्यांकहरु गोप्य राख्नुपर्ने अवस्थामा यो तरिका उपयुक्त हुन्छ ।

® दोषहरु (Demerits)

° अनुसन्धानको क्षेत्र वृहत् भएमा यो तरिका उपयुक्त हुँदैन ।

° यसमा पक्षपातको सम्भावना रहन्छ र सूचना दाताले पनि धेरै कुराहरू लुकाउन सक्छ ।

° आर्थिक हिसाबले यो तरिका बढी खर्चिलो हुन्छ ।

° यसमा धेरै समय लाग्ने हुन्छ ।

आ. अप्रत्यक्ष मौखिक अन्तर्वार्ता (Indirect Oral Interview)

यो तरिका अवलम्बन गरि तथ्यांक संकलन गर्दा सम्बन्धित व्यक्तिलाई प्रत्यक्ष भेटिदैन तथा सोधपुछ गरिदैन । जसको बारेमा सूचना लिने हो, त्यसको बारेमा जान्ने व्यक्तिलाई अनुसन्धान कर्ताले भेटी निजसँग प्रश्नहरू सोध्ने गरिन्छ र त्यसबाट प्राप्त सूचनाहरु जानकारीहरुको टिपोट गरिन्छ । यसरी सूचना दिने व्यक्तिलाई साक्षी (Witness) पनि भनिन्छ । संवेदनशील व्यक्तिको चरित्र तथा गोप्य कुराको जानकारी स्वयं व्यक्तिले नदिने हुँदा त्यस्तो व्यक्तिको बारेमा आवश्यक सूचना तथा तथ्यांकहरु प्राप्त गर्न यो "अप्रत्यक्ष मौखिक अन्तर्वार्ता" तरिका अवलम्बन गर्नु उपयुक्त मानिन्छ । कुनै बिषय वा घटनाहरुको बारेमा अध्ययन गर्न गठित जाँच बुझ आयोग, समिति तथा कार्यदलहरुले प्रायः यहि तरिका अवलम्बन गर्दा सुचनादाता सकेसम्म समस्याको बारेमा धेरै कुराहरुको जानकारी भएको हुनुका साथै निष्पक्ष र स्पष्ट हुनु जरुरी हुन्छ र सूचनादाता पनि पर्याप्त संख्यामा हुनु आवश्यक मानिन्छ ।

® गुणहरु (Merits)

° एउटै व्यक्तिका बारेमा एकभन्दा बढी मानिसहरू सँग सोधपुछ गरि सूचना संकलन गरिने हुँदा यथार्थताको नजिक पुग्न सकिन्छ ।

° यसबाट वृहत् क्षेत्रको अनुसन्धान गर्न पनि सजिलो हुन्छ तथा सम्भव हुन्छ ।

° यश तरिका अनुसार विशेषज्ञको राय तथा सूचना पनि संकलन गर्न सकिन्छ ।

° यश तरिकामा समय, खर्च र परिश्रम प्रत्यक्ष व्यक्तिगत अन्तर्वार्ताको दाँजोमा कम लाग्दछ ।

° असहाय असक्षम, अपाङ्ग, अनाथ, नावालक, अशिक्षितहरुको बारेमा सूचना संकलन गर्न यो तरिका उपयुक्त हुन सक्छ ।

® दोषहरु (Demerits)

° प्राय: मानिसहरु अर्कोको बारेमा सूचना दिन हिचकिचाउँछन् । कतिपयले अर्काको राम्रो र यथार्थ सूचना नदिई गलत सूचना गर्दछन् ।

° सूचना संकलकले सूचनादातावाट प्राप्त जवाफ सूचनालाई बङ्ग्याउने सम्भावना रहन्छ ।

° जसको बारेमा सूचना दिन लागिएको हो, त्यसबाट अप्रत्यक्ष रुपले फाईदा प्राप्त गर्ने हेतुले निजको बारेमा अनावश्यक रुपले बढाईचढाई गरि सूचना दिने कार्यहरू हुन सक्छन् ।

° यसरी सहि सूचनाको अभावमा सहि निष्कर्ष नआई अनुसन्धानको उद्देश्य नै पूरा नहुने निश्चित हुन्छ ।

६. संवाददाता वाट सूचना (Informations from correspondents)

यो तरिका अन्तर्गत सूचना संकलन गर्नका लागि अनुसन्धानकर्ताले जुन ठाउँको अध्ययन गर्ने हो, त्यस ठाउँको बारेमा तथ्यांक/सूचना संकलन गर्न स्थानीय रुपमा एजेन्ट अर्थात् सहयोगी नियुक्ति गर्दछन्  । ति सहयोगीले आवश्यक सूचना संकलन गरि अनुसन्धानकर्तालाई पठाउँछन् । त्यसपछि अनुसन्धानकर्ताले उक्त सूचना तथा तथ्यांकको संकलन, संगठन, प्रस्तुतीकरण, विश्लेषण तथा व्याख्या गर्दछन् । समाचारपत्र तथा पत्रीका प्रकाशकहरुले प्राय: यहीँ तरिका प्रयोग गर्दछन् ।

गुणहरु (Merits)

° यश तरिका अनुसार वृहत् क्षेत्रको अध्ययन सम्भव हुन्छ ।

° यसमा समय, खर्च र परिश्रम कम लाग्दछ ।

° नियमित रूपमा सूचना तथा तथ्यांक संकलन गर्नमा यो बढी उपयुक्त मानिन्छ ।

° सम्बाददाता तथा एजेन्ट स्थानीय व्यक्ति भएको अवस्थामा वास्तविक तथ्यांक प्राप्त गर्न सजिलो हुन्छ ।

° विभिन्न भौगोलिक क्षेत्रवाट एकै समयमा र यथाशीघ्र सूचना प्राप्त गर्नुपर्ने स्थितिमा यो तरिका बढी प्रभावकारी हुन्छ ।

® दोषहरु (Demerits)

° सम्बाददाताले यथार्थ सूचना संकलन नै नगरी आफ्नो अनुभव, अनुमान तथा कल्पनाको आधारमा सूचना पठाउन सक्ने सम्भावना हुन्छ । त्यसो भएमा सूचनाको कुनै औचित्य नै रहदैन र गलत निष्कर्ष प्राप्त हुन्छ ।

° स्थानीय स्तरमा सबै प्रयोजनका लागि तथ्यांक संकलन गरिदिने सम्बाददाता तथा एजेन्ट पाउन कठिन हुन्छ ।

° सम्बाददाता तथा एजेन्टको पक्षपात र पुर्वाग्रहले पनि सूचना लाई प्रभाव पार्दछ ।

ई. हुलाक प्रश्नावली (Mailed Questionnaire)

यश तरिका अनुसार अनुसन्धानकर्ताले अनुसन्धान सँग सम्बन्धित विभिन्न प्रश्नहरू तयार गरि सो को जवाफ लेखी पठाउने अनुरोध सहित हुलाक वाट सम्बन्धित सुचनादाता (Respondent) कहाँ पठाउँदछन् । प्रश्नावली तयार गर्दा आवश्यकतानुसार वस्तुगत तथा बिषयगत रूपमा तयार गरिएको हुन्छ । सूचनादाताले प्रश्नमा सोधिएका कुराहरूको जवाफ लेखी अनुसन्धानकर्ता कहाँ पठाउँछन् । अनुसन्धानकर्ताले प्राप्त सूचनाहरुको  संकलन, संगठन, प्रस्तुतीकरण, विश्लेषण तथा व्याख्या गरि अनुसन्धानको निष्कर्षमा पुग्दछन् । बृहत् र टाढा टाढा छरिएका अध्ययन क्षेत्रहरुवाट सूचना संकलन गर्नको लागि यो तरिका बढी उपयुक्त मानिन्छ । प्रश्नहरू तयार गर्दा बडो होशियारीपूर्वक सरल र स्पष्ट प्रश्नहरू निर्माण गर्नु (अपरिहार्य) हुन्छ । पढेलेखेका सुचनादाता भएका स्थानमा, अध्ययन क्षेत्र वृहत् भएको अवस्थामा र कानुनी तवरवाट प्रश्नावली भर्न बाध्य हुने परिस्थितिमा यो तरिका बढी व्यवहारिक हुन्छ ।

® गुणहरु (Merits)

° व्यापक भौगोलिक क्षेत्रको अध्ययन गर्नमा यो तरिका बढी उपयोगी हुन्छ ।

° यश तरिका अनुसार समय, लागत र परिश्रमको बचत हुन्छ ।

° सम्बन्धित व्यक्तिवाटै सूचना आउने हुँदा यथार्थ सूचना प्राप्त हुने सम्भावना बढी हुन्छ ।

° यश तरिका अनुसार सूचनादाता माथी कुनै किसिमको दबाब नपर्ने हुँदा उनीहरुले स्वतन्त्रता पुर्वक सुचना दिन सक्छन् ।

® दोषहरु (Demerits)

° यश तरिका अनुसार धेरै जसो सूचनादाताले अपर्याप्त वा अपुर्ण सुचनाहरु पठाउने सम्भावना रहन्छ ।

° अशिक्षित तथा लेखपढ गर्न नसक्ने व्यक्तिहरु सूचनादाता भएको अवस्थामा यो तरिका प्रयोग गर्न सकिदैन ।

° सुचनादाताले प्रश्नावली नफर्काएको अवस्थामा अनुसन्धान कार्यमा कठिनाइ उत्पन्न हुन्छ ।

° यश तरिकामा सूचना दाता समक्ष अनुसन्धानकर्ताको उपस्थिति नहुने भएकोले अतिरिक्त सूचना तथा तथ्यांक प्राप्त गर्न सकिदैन ।

उ. गणकहरुद्वारा अनुसूची पठाउने (Schedules sent through Enumerators)

यश तरिका अनुसार प्रश्नावली (अनुसूची) हरु हुलाकबाट नपठाई गणकहरुलाई दिएर पठाईन्छ । गणकहरु सुचनादाता कहाँ जान्छन् र अनुसूचीमा भएका प्रश्नहरू सोध्छन् । उनिहरुले दिएको जवाफ अनुसार प्रश्नावली (अनुसूची) भर्दछन् । अध्ययन क्षेत्र र प्रवृत्ति अनुसार आवश्यक गणकहरु नियुक्ति गरि उनीहरुलाई प्रशिक्षण समेत दिई निश्चित स्थानको तथ्यांक संकलन गर्न प्रत्येक गणकको कार्यक्षेत्र तोकिईन्छ । गणकले आफुलाई तोकिएको स्थानमा गई सूचनादाताहरुसँग भेटघाट गरि अनुसूचीमा उल्लेखित कुराहरू सोधी सूचना संकलन गर्दछन् । राष्ट्रिय रुपमा जनगणना, कृषिगणना तथा औद्योगिक गणना लिंदा प्रायः यहि बिधि अवलम्बन गरिन्छ । बृहत् अध्ययन क्षेत्रको लागि यो तरिका बढी व्यावहारिक मानिन्छ ।

® गुणहरु (Merits)

° गणकहरु सूचनादाताहरुसँग व्यक्तिगत रुपमा सम्पर्कमा आउने हुँदा प्रायः सबै स्थान वाट प्रश्नको उत्तर पाउन सकिन्छ ।

° अशिक्षित तथा लेखपढ गर्न नसक्ने व्यक्तिहरू सँग पनि सूचना लिन सकिन्छ ।

° गणकले विभिन्न अतिरिक्त प्रश्नहरू समेत सोधपुछ गरि थप तथा वास्तविक सूचना प्राप्त गर्न सम्भव हुन्छ ।

° विस्तृत अध्ययन क्षेत्रको लागि यो तरिका बढी उपयोगी हुन सक्छ ।

® दोषहरु (Demerits)      

° गणकहरु नियुक्ति गरि उनीहरुलाई प्रशिक्षण समेत दिनुपर्ने र गणकहरुले सम्बन्धित व्यक्ति अर्थात् सूचना दातालाई भेटी सूचना संकलन गर्नुपर्ने हुँदा यो तरिका बढी खर्चिलो हुन्छ ।

° समय र परिश्रम पनि बढी लाग्दछ ।

° कुनैकुनै गणकको पक्षपातीपुर्ण व्यवहार र अयोग्यताले गर्दा गलत सूचना प्राप्त हुने सम्भावना रहन्छ ।

ऊ. अवलोकन (Observation)

अवलोकन सूचना तथा तथ्यांक प्राप्त गर्नको लागि अवलम्बन गरिने एक प्राथमिक एवम् प्राचीन तरिका हो । यसलाई बैज्ञानिक शोधको शास्त्रीय बिधि पनि भन्ने गरिन्छ । यो प्राकृतिक क्षेत्र, प्रयोगशाला एवम् सामाजिक बिज्ञानमा तथ्य संकलन र ज्ञान संग्रह गर्ने मौलिक तरिका हो । यश तरिका अनुसार अनुसन्धान कर्ताले जुन व्यक्ति वा व्यवहार वा बिषय वा घटना वा क्षेत्रको बारेमा अनुसन्धान गर्ने हो त्यसको अवलोकन गरि आवश्यक सुचना तथा तथ्यांकहरु टिपोट गर्दछन् । यसरी अवलोकन गर्दा अनुसन्धानको प्रकृति र क्षेत्र अनुसार अनुसन्धानकर्ताले सम्बन्धित अध्ययन बिषयको साथ सम्मीलित भएर अथवा अध्ययन समुहको क्रियाकलापमा सम्मीलित नभई तटस्थ रहेर वा अर्धरुपमा सहभागी भएर वा अध्ययन समूह वा प्रक्रिया माथी नियन्त्रण गरेर वा कुनै नियन्त्रण नगरी स्वतन्त्र रहन दिएर वा अर्धरुपमा नियन्त्रण गरेर अवलोकन गर्न सक्छन् । कसैको काम गराईको तौरतरिका तथा मनोबिज्ञान (Psychology) बुझ्न, कुनै बिषयबस्तु तथा घटनाक्रमको विश्लेषण गर्न, कुनै कार्यको सुझाव तथा असर अनुमान एवम् मुल्यांकन गर्नमा अवलोकनले महत्वपूर्ण भुमिका खेल्दछ । कुनै क्षेत्र वा घटनाको स्थलगत अध्ययन, भौतिक नापजाँच तथा अध्ययन एवम् विश्लेषणको साथ साथै आफ्ना कुराहरु सजिलैसँग अभिव्यक्त गर्न नसक्ने व्यक्तिहरू, बालबालिका, अशक्त, सबै प्रकारका अपाङ्ग, मानसिक रोगी व्यक्तिहरु र पशुपंन्छीको आदि अध्ययन गर्नमा यो तरिका ज्यादै नै व्यवहारिक र प्रभावकारी मानिन्छ । यश तरिकाद्वारा जटिलतम मानवीय क्रिया र व्यवहारको बारेमा अध्ययन सम्भव हुन जान्छ । सूचनादातावाट हुन सक्ने पक्षपात वाट मुक्त भै गहनतम सूचनाहरु प्राप्त गर्न तथा बढी विश्वसनीयता हाँसिल गर्नमा यो तरिका समृद्धशाली मानिन्छ । यश तरिकामा गुण तथा दोषहरुलाई निम्नलिखित उल्लेख गरिएको छ ।

® गुणहरु ( Merits)

° अनुसन्धानकर्ता स्वयं उपस्थित भै सूचना संकलन गर्ने हुँदा वास्तविक सूचनाहरु प्राप्त हुन्छ ।

° यश तरिका वाट जटिलतम मानवीय कार्य तथा व्यवहारको अध्ययन सम्भव हुन्छ ।

° यसमा अनुसन्धानकर्ताको उत्तरदाता (सूचनादाता) माथिको निर्भरता कम हुन्छ र उत्तरदाता द्वारा उत्पन्न भुल (Error) तथा निजवाट हुने पक्षपातको सम्भावना अपेक्षाकृत कम हुन्छ ।

° उत्तरदाताले बोल्न नसक्ने अवस्था, लेख्न नसक्ने अवस्था तथा उत्तरदाता र अनुसन्धानकर्ता विच दोहोरो सञ्चार हुन नसक्ने अवस्थामा आवश्यक सूचना प्राप्त गर्नको लागि अवलोकन नै एकमात्र अर्थात् निर्बिकल्प तरिका हुन्छ ।

° यो सूचना प्राप्त गर्नको लागि एक सरल, प्रचलित र व्यवहारिक तरिका हो ।

® दोषहरु (Demerits)

° यो तरिकाको क्षेत्र ज्यादै संकुचित छ । लामो समयसम्म हुने घटना, गुप्त एवम् अत्यन्त व्यक्तिगत क्रिया, भुतकालिन  घटना तथा भविश्यको योजना, आदिको अवलोकन सम्भव छैन ।

° यश तरिका अनुसार अनुसन्धानकर्ताको अनुभुती (Perception) र पुर्वाग्रहहरुले सूचनालाई प्रभाव पार्दछ ।

° अनुसन्धानकर्ता तथा अवलोकनकर्ताको व्यक्तिगत धारणा, निजका ज्ञानेन्द्रीयको सीमा अवलोकित समुहको व्यवहारको कृतज्ञता एवम् अस्वाभाविकता, अवलोकन तथ्य एवम् त्यसको आलेख तथा व्याख्या सम्बन्धि अस्पष्टता जस्ता कुराहरुले गर्दा अवलोकन वाट प्राप्त तथ्यांक एवम् त्यसबाट निकालिएको निष्कर्ष संदिग्ध हुन जान्छ ।

° वृहत् अध्ययन क्षेत्रको लागि यो तरिका उपयुक्त हुँदैन ।

° लामो समयको कार्यव्यवहार एवम् बानी आदि अवलोकन गर्नुपर्ने अवस्थामा समय, श्रम लागत बढी लाग्ने हुन्छ ।

(ख) माध्यमिक तथ्यांक (Secondary Data)

अनुसन्धानकर्ता आफैले संकलन नगरी अनुसन्धानकर्ता तथा संकलनकर्ताले संकलन गरेका तथ्यांकहरुवाट प्राप्त तथ्यांकहरुलाई माध्यमिक तथ्यांक (Secondary Data) भनिन्छ । यसलाई द्वितीयक तथ्यांक पनि भनिन्छ । अनुसन्धानकर्ताले सधैं आफैले मौलिक तथ्यांक संकलन गर्न पनि कठिन तथा अव्यवहारिक समेत हुन सक्छ । त्यसैले उसले अरुद्वारा पहिले नै संकलित भैसकेको तथ्यांकको उपयोग गर्नुपर्ने हुन्छ । प्राथमिक तथ्यांक र माध्यमिक (द्वितीयक) तथ्यांकलाई वास्तवमा प्रयोगकर्ताको स्थानको आधारमा मात्र फरक गर्न सकिन्छ । एउटै तथ्यांक कसैको लागि प्राथमिक हुन्छ भने त्यहीँ तथ्यांक अरुकोलागी द्वितीयक हुन सक्छ ।

अनुसन्धानकर्ताले संकलन गरेका तथ्यांक उसका लागि प्राथमिक तथ्यांक हुन्छन् तर तिनै तथ्यांक अर्को व्यक्तिले उपयोग गर्दा उक्त व्यक्ति (अर्को व्यक्ति) का लागि द्वितीयक तथ्यांक हुन जान्छन् । उदाहरणका लागि नेपाल राष्ट्र बैंकले राष्ट्रिय उपभोगवारे संकलन गरेका तथ्यांकहरु सो बैंकका लागि प्राथमिक तथ्यांक हुन्छन् । तीनै तथ्यांक अन्य व्यक्ति, कार्यालय वा निकायहरूले उपयोग गर्दा उनीहरुका लागि द्वितीयक तथ्यांक हुन्छन् । यस्ता तथ्यांकहरुलाई पनि प्रकाशित (Published) र अप्रकाशित (Unpublished) गरि २ प्रकारमा विभक्त गर्न सकिन्छ ।

अ. प्रकाशित स्रोत (Published Sources)

विभिन्न संघ, संस्था, कार्यालय, निकाय तथा व्यक्तिले प्रकाशन गरेका विविध सामग्रीहरु यश अन्तर्गत पर्दछन् । प्रमुख प्रकाशित स्रोतहरुलाई निम्नलिखित उल्लेख गर्न सकिन्छ :

° सरकार तथा सरकारी कार्यालय द्वारा विभिन्न समयमा प्रकाशित सम्बन्धित आँकडा एवम् प्रकाशनहरु

° सरकार द्वारा समयसमयमा गठित आयोग, समिति तथा कार्यदलहरुका प्रकाशित प्रतिवेदनहरु

° अर्धसरकारी संघ संस्थाहरुवाट प्रकाशित तथ्यांकहरु

° विदेशी सरकार अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सरकारी एवम् सरकारी संघ संस्थाका प्रावधानहरु

° व्यावहारिक प्रतिष्ठान एवम् सामाजिक संघ संस्था अर्थात् गैर सरकारी संघ संस्थाका प्रकाशनहरु

° राजनीतिक दल वा संगठनका दस्तावेज तथा प्रकाशनहरु

° व्यक्तिगत अनुसन्धानकर्ताका प्रकाशनहरु ।

आ. अप्रकाशित स्रोतहरु (Unpublished Sources)

विभिन्न कार्यालय संघ संस्था निकाय व्यक्तिहरुले संकलन गरेका तर सार्वजनिक रूपमा प्रकाशन नभएका तथ्यांकहरु यश अन्तर्गत पर्दछन् । जस्तैः विद्वानहरुको शोधकार्य, बिद्यालय, महाविद्यालय तथा विश्वबिद्यालयहरुको अभिलेख, सरकारी एवम् गैरसरकारी तथा निजी कार्यालय अर्थात् संस्थाहरुको अभिलेख आदि । यि अप्रकाशित सामग्रीहरु भएपनि यिनीहरुलाई द्वितीयक तथ्यांकको रूपमा उपयोग गर्न सकिन्छ । यस्ता तथ्यांक प्राप्त गर्न सम्बन्धित कार्यालय, व्यक्ति तथा संस्थामा सिधै सम्पर्क गरि तिनीहरू वाट तोकिएको शर्त तथा प्रक्रियाहरु पूरा गर्नुपर्ने हुन्छ ।

® गुणहरु (Merits)

द्वितीयक तथ्यांकका गुणहरुलाई निम्नलिखित औंल्याउन सकिन्छ :

१. अरुवाट संकलन गरिएका तथ्यांकहरु उपयोग गरिने हुँदा प्रश्नावली बनाउने, छपाई गर्ने, तथ्यांक संकलन सम्पादन एवम् तालिकीकरण गर्ने आदि कार्यहरू गर्नु नपर्ने हुँदा समय, श्रम र धनको बचत हुन्छ ।

२. प्राथमिक तथ्यांक भन्दा यसलाई सजिलैसँग प्राप्त गर्न सकिन्छ ।

३. प्राथमिक तथ्यांक संकलन गर्न नसकिने अवस्थामा द्वितीयक तथ्यांक निर्विकल्प रूपमा उपयोग गरिनु पर्दछ ।

४. दीर्घकालीन समयावधिको अध्ययन अनुसन्धान तथा ऎतिहासिक विवेचनाको लागि द्वितीयक तथ्यांक बढी उपयोगी मानिन्छ ।

® दोषहरु (Demerits)

द्वितीयक तथ्यांकवाट हुन सक्ने बेफाइदा तथा यसका सीमाहरुलाई निम्नलिखित उल्लेख गर्न सकिन्छ :

° यस्ता तथ्यांकहरु पक्षपातयुक्त हुन सक्छन् वा गलत तरिकावाट संकलन गरिएका हुन सक्छन् जस्को उपयोगवाट सही निष्कर्ष आउन सक्दैन ।

° सहि तथ्यांक भए पनि आफ्नो अनुसन्धानको उद्देश्य तथा क्षेत्रसित मेल नखाने खालका हुन सक्छन् ।

° समय परिवर्तनशिल छ । विगतमा संकलित तथ्यांक वर्तमान समय तथा परिस्थिति बमोजिम अनुकुल र पर्याप्त हुने सम्भावना कमै हुन्छ ।

°  द्वितीयक तथ्यांकको विश्वसनीयता माथी शंका भएमा त्यसको परिक्षण गर्नु आवश्यक हुन्छ र त्यो कार्य कठिन पनि हुन्छ ।

° प्रकाशित तथ्यांक प्राप्त गर्न सरल भएपनि कतिपय अप्रकाशित तथ्यांकहरु उपलब्ध गराउन सम्बन्धितहरु हिचकिचाउँछन् र कतिपय तथ्यांकहरु नै उपलब्ध हुन सक्दैनन् ।

° द्वितीयक तथ्यांक उपयोग गर्दा बडो सावधानी अपनाई गरिनुपर्ने हुन्छ । अर्थात् आफ्नो अनुसन्धानको क्षेत्र, समय र उद्देश्य बमोजिम अनुकूल, पर्याप्त र विश्वसनीय तथ्यांक मात्र उपयोग गरिनु आवश्यक हुन्छ तर ती कुराहरुको मापन गर्नु कठिनतम् कार्य मानिन्छ ।

७. तथ्यांक प्रशोधन

अनुसन्धानको उद्देश्य, प्रकृति र क्षेत्र बमोजिम आवश्यक पर्ने तथ्यांक विभिन्न स्रोतवाट प्राप्त गरिन्छन् । यसरी प्राप्त तथ्यांकहरु कच्चारुपमा प्राप्त भएका हुन्छन् । तिनीहरू तुरुन्त विश्लेषणका लागि उपयुक्त हुन सक्दैनन् । संकलित तथ्यांकहरुलाई आफ्नो अनुसन्धानको प्रकृति, क्षेत्र, उद्देश्य, आवश्यकता र प्रयोजनको साथै उक्त तथ्यांकहरुको विशेषताहरुको आधारमा उपयुक्त ढंगले वर्गीकरण (Classification) गरि तिनीहरूको उचित सुरक्षा समेत हुन जरुरी हुन्छ । तथ्यांकलाई विभिन्न आधारमा वर्गीकरण गरिसकेपछि ति तथ्यांकहरुलाई राम्ररी बुझ्न र तिनीहरूको विश्लेषण द्वारा उचित निष्कर्ष निकाल्ने कार्यलाई सरलीकरण गर्नको लागि तथ्यांकहरुको     तालिकीकरण गर्नु आवश्यक हुन्छ । यसरी संकलित तथ्यांकहरुको वर्गीकरण तथा तालिकीकरण गरि विश्लेषणयुक्त बनाउने कार्यलाई नै तथ्यांक प्रशोधन भनिन्छ । प्रशोधित तथ्यांकहरुले विश्लेषण तथा व्याख्या सम्बन्धि कार्यलाई सहज तुल्याउँदछन् । तथ्यांक प्रशोधन अन्तर्गत तथ्यांकको वर्गीकरण तथा तालिकीकरण लाई निम्नलिखित बमोजिम उल्लेख गरिएको छ ।

८. तथ्यांकको वर्गीकरण (Classifications of Data)

संकलित तथ्यांकहरुलाई ती तथ्यांकहरुको बिशेषताहरु तथा अनुसन्धानको उद्देश्य, प्रकृति, क्षेत्र, आवश्यकता र प्रयोजनको आधारमा विभिन्न वर्ग तथा समुहमा बिभाजन गर्ने कार्यलाई तथ्यांकको वर्गीकरण (Classification of Data) भनिन्छ । यो एक महत्वपूर्ण तथ्यांकिय कार्य तथा प्रक्रिया हो । संकलित तथ्यांकको उचित सुरक्षा गर्नुको साथै तिनीहरूको वर्गीकरणमा विशेष ध्यान दिनु जरुरी हुन्छ । आफ्नो अनुसन्धानको प्रयोजनार्थ उपयुक्त आधारमा तथ्यांक वर्गीकरण गरिएमा त्यसको वर्गीकरण एवम् प्रस्तुतीकरण सहज हुन जान्छ ।

८.१ तथ्यांक वर्गीकरणका उद्देश्यहरु (objectives of classification of Data)

क. संकलित तथ्यांकहरु मध्येवाट अनावश्यक तथ्यांकलाई पन्छाई तथ्यांकहरुलाई संक्षिप्त, सरल र स्पष्ट रूपमा प्रस्तुत गर्नु

(ख) तथ्यांकहरुमा रहेका खास गुणहरु (Characterstics) समानता तथा असमानताहरुलाई औंल्याई सोही आधारमा तथ्यांकलाई सरलिकृत गर्नु

(ग) तुलनात्मक अध्ययनका लागि सुविधा प्रदान गर्नु

(घ) अव्यवस्थित एवम् कच्चा तथ्यांकलाई व्यवस्थित एवम् क्रमबद्ध बनाउनु

(ङ) तथ्यांकको उचित संरक्षण एवम् भण्डारणको कार्यमा सहयोग गर्नु

(च) तथ्यांकको तालिकीकरण (Tabulation) गर्नका लागि आधार प्रदान गर्नु

(छ) तथ्यांक विश्लेषण एवम् व्याख्या सम्बन्धि कार्यलाई सहज बनाउनु ।

८.२ तथ्यांक वर्गीकरण प्रकार (Types of Classification of Data)

तथ्यांकको प्रकृति, बनावट, प्रयोजन र आवश्यकता एवम् अनुसन्धानको उद्देश्य, क्षेत्र, प्रकृति आदि विभिन्न कुराहरूको आधारमा विभिन्न प्रकारमा तथ्यांकलाई वर्गीकरण गर्न सकिन्छ । केहि महत्वपूर्ण वर्गीकरणहरुको बारेमा निम्नलिखित चर्चा गरिएको छ ।

८.२.१ भौगोलिक वर्गीकरण (Geographical Classification)

भौगोलिक क्षेत्र तथा स्थान विशेषको आधारमा गरिने तथ्यांकको वर्गीकरणलाई भौगोलिक वर्गीकरण गर्दा महादेश, देश, क्षेत्र, अञ्चल, जिल्ला, गाउँ, शहर, टोल वा अन्य कुनै आधारमा वर्गीकरण गर्न सकिन्छ । जस्तैः उदाहरणका लागि नेपालको भौगोलिक क्षेत्रको आधारमा जनसंख्या वितरण

८.२.२ समय अनुसार वर्गीकरण (Chronological Classification) :

कुनै समय वा अवधिको आधारमा पनि तथ्यांकहरुको वर्गीकरण गर्न सकिन्छ । यसरी वर्गीकरण गर्दा बर्ष, महिना, हप्ता, दिन तथा अन्य कुनै समय तथा अवधिको आधारमा वर्गीकरण गर्ने गरिन्छ । जस्तैः विभिन्न समयको नेपालको कुल जनसंख्या उदाहरणका लागि बि.सं. १९६८ कुलजनसंख्या ५६,३८,७४९ यसैगरी बि.सं.२०२८ - २,१५,५५,९८३, बि.सं. २०३८ - १,५०,२२,८३९, बि.सं.२०४८ - १,८४,९१०९७, बि.सं. २०५८ - २,३२,१४,६८१, बि.सं. २०६८ - २,६४,९४,५०४

८.२.३ गुणात्मक वर्गीकरण (Qualitative Classification)

कतिपय तथ्यांकहरुलाई संख्यात्मकरूपमा वर्गीकरण नगरी तिनीहरूको गुणात्मक पक्षहरुको आधारमा वर्गीकरण गरिन्छ । यस्ता गुणात्मक पक्षहरू जस्तैः लिङ्ग, चरित्र, साक्षरता, निरक्षरता, चातुर्यता रंग आदि हुन सक्दछन् । यि र यस्तै गुणहरुको आधारमा गरिने तथ्यांकको वर्गीकरणलाई नै गुणात्मक वर्गीकरण भनिन्छन्  । यसलाई पनि सरल वर्गीकरण (Simple Classification) र बहुगुण वर्गीकरण (Manifold Classification) गरि दुई भागमा बिभक्त गर्न सकिन्छ । एउटा मात्रै वर्गीकरण र दुई वा दुईभन्दा बढी गुणहरुको आधारमा गरिएको वर्गीकरणलाई बहुगुण वर्गीकरण भनिन्छ । उदाहरणका लागि कुनै स्थानको जनसंख्यामा भएको महिला र पुरुषको वर्गीकरण सरल वर्गीकरण हो भने त्यसको साथै ति महिला तथा पुरुषहरूमा साक्षरताको आधारमा गरिएको वर्गीकरण बहुगुण वर्गीकरण हो ।

८.२.४ परिमाणात्मक वर्गीकरण (Quantitative Classification)

संख्या वा परिमाणको आधारमा गरिने तथ्यांकहरुको वर्गीकरण लाई परिमाणात्मक वर्गीकरण भनिन्छ । संख्यात्मक वा परिमाणात्मक रूपमा मापन गर्न सकिने तथ्यांकहरुलाई विभिन्न वर्गान्तर (Class Intervals) अनुसार पनि वर्गीकरण गर्ने गरिन्छ । जस्तैः

मासिक आम्दानी रु.        आय आर्जन गर्ने व्यक्तिहरु
१५,०००………………………………………………५०
२०,००० ………………………………………………२०
२५,०००………………………………………………२५
३०,०००………………………………………………१०

९. संकलित तथ्यांक एवम् सूचनाको तालिकीकरणको तरिका तालिकीकरण (Tabulation)

९.१ तालिकीकरणका उद्देश्यहरु

संकलित तथ्यांकहरुलाई विभिन्न आधारमा वर्गीकरण गरिसकेपछि तिनीहरुलाई पङ्ति (Row) र महल (Column) क्रमबद्ध किसिमले प्रस्तुत गरिन्छ । यश कार्यालयलाई नै तालिकीकरण (Tabulation) भनिन्छ । तालिकीकरण गरेपछि मात्र तथ्यांकहरु बुझ्न सरल हुन्छ । र तिनीहरूको विश्लेषण एवम् व्याख्या गर्न तथा त्यसबाट निष्कर्ष निकाल्न सजिलो हुन्छ । तथ्यांकहरु सुव्यवस्थित र संक्षिप्त रुपमा प्रस्तुत गर्नु, तथ्यांकलाई सरलिकृत गर्नु, तुलनात्मक अध्ययनको लागि सुविधा प्रदान गर्नु, विश्लेषण एवम् व्याख्यालाई सहज तुल्याउनु र उचित निष्कर्ष निकाल्नमा सरलीकरण गर्नु नै वास्तवमा तालिकीकरणका प्रमुख उद्देश्यहरु हुन् ।

९.२ तालिकीकरणका फाईदाहरु (Advantage of Tabulation)

असल तालिकीकरणवाट हुन सक्ने फाईदाहरु निम्नलिखित उल्लेख गरिएको छ :

९.२.१ तथ्यांकहरुको तालिकीकरण गर्दा अनावश्यक तथ्यांकहरुलाई हटाई चाहिने तथ्यांकहरुलाई मात्र आवश्यकतानुसार पङ्ति (Row) र महल (Column) मा संक्षिप्त तथा सुव्यवस्थित रूपमा प्रस्तुत गरिने हुँदा यसबाट अध्ययन तथा विश्लेषण गर्नमा सजिलो हुन्छ ।

९.२.२ यसले जटिल तथ्यहरुलाई सरल र स्पष्ट बनाउन मद्दत गर्दछ । साथै तालिका हेर्ना साथ तथ्यांक र त्यसका विशेषताहरु बारे बुझ्न सजिलो हुन्छ ।

९.२.३ यसले तालिकीकृत तथ्यांकहरु वीचको आपसी सम्बन्ध पत्ता लगाउन र तिनीहरू विच तुलना गर्न सुविधा प्रदान गर्दछ ।

९.२.४ तालिकीकरणको माध्यम वाट विभिन्न तथ्यहरुलाई पङ्ति (Row) र महल (Column) मा संक्षिप्त रूपमा देखाउन सकिने हुन्छ जसवाट समय, स्थान, श्रम र खर्चको बचत हुन्छ ।

९.२.५ तालिकिकृत तथ्यांकहरुवाट चित्र तथा लेखाचित्रहरु बनाउन सजिलो हुन्छ ।

९.२.६ यसबाट तथ्यांकहरुको विश्लेषण एवम् व्याख्या गरि निष्कर्ष निकाल्न सहयोग मिल्छ ।

९.३ तालिकाका प्रकार (Types of Tables)

तालिकाको उद्देश्य तथा त्यसको निर्माणको स्वरुपको आधारमा तालिकाहरुलाई विभिन्न प्रकारमा व्यक्त गर्न सकिन्छ । व्यवहारमा प्रचलित केही महत्वपूर्ण तालिकाहरु निम्नलिखित छन् :

९.३.१ सरल तालिका (Simple Table)

तथ्यांकको एउटै मात्र गुण वा बिशेषताको आधारमा तिनीहरुलाई प्रस्तुत गरिएको तालिकालाई नै सरल तालिका भनिन्छ । तथ्यांकको एउटा मात्र गुण देखाईने भएकाले यश तालिकालाई एक गुण तालिका (One Way Table) पनि भनिन्छ । जस्तैः

स्टिल फर्निचर उद्योगमा काम गर्ने मजदुरको मासिक आम्दानी

आम्दानी रु.                                   श्रमिक संख्या

१५,०००                                             ६
२०,०००                                             १०
२५,०००                                              २
३०,०००                                               ३
४०,०००                                                १
जम्मा                                                   २२

९.३.२ द्विगुण तालिका (Two Way Table)

तथ्यांकहरुका दुईवटा विशेषताहरु/गुणहरु देखाउने गरि प्रस्तुत गरिएको तालिकालाई द्विगुण तालिका मानिन्छ । जस्तै:
लिंगको आधारमा मजदुरको मासिक आम्दानी

आम्दानी रु.                   मजदुर संख्या
                         महिला           पुरुष         जम्मा
१५,०००               १                  ५              ६
२०,०००                ४                  ६             १०
२५,०००                १                  १              २
३०,०००                 १                 २              ३
४०,०००                 ०                  १              १
जम्मा                      ७                 १५            २२

९.३.३ त्रिगुण तालिका (Three way Table)

तथ्यांकहरुका तीनवटा गुणहरु/विशेषताहरु देखाउने गरि प्रस्तुत गरिएको तालिकालाई नै त्रिगुण तालिका भनिन्छ । जस्तैः
विद्यार्थी तथ्यांक तालिका (बिद्यालय, लिंग र प्राप्तांकको आधारमा)
यश तालिकामा विशेषतः प्राप्ताङ्क ३०-४० छात्र -  बिद्यालय क ४० बिद्यालय ख ५० जम्मा ९० यसैगरी छात्रा- बिद्यालय क ४० बिद्यालय ख २० जम्मा ६० जम्मा क ८० ख ७० जम्मा १५० एवम् रितले प्राप्ताङ्क ४०-५०, ५०-६०, ६०-७०, ७०-८० समेतको तालिकीकरण गरेर प्रस्तुत गरिन्छ ।

९.३.४ बहुगुण तालिका (Manifold Table)

तथ्यांकहरुका ३ भन्दा बढी गुणहरु/बिशेषताहरु देखाउने गरि प्रस्तुत गरिएको तालिकालाई नै बहुगुण तालिका भनिन्छ । जस्तैः
विभिन्न उद्योगहरुमा काम गर्ने मजदुरको विवरण
जस्तैः उद्योग क , पुरुष - साक्षर ४० निरक्षर २०/ महिला- साक्षर १० निरक्षर २० बालक/साक्षर ५० निरक्षर ३० जम्मा -साक्षर १०० निरक्षर ७० जम्मा १७०
एवम् रितले उद्योग ख, ग, घ, ङ र जम्मा तालिकीकरण गर्न सकिन्छ ।

९.३.५ सञ्चयी आवृत्ति तालिका (Cumulative Frequency Table)

कहिलेकाही वर्गीकृत तथ्यांकहरु Cumalative रूपमा व्यक्त गरिएका हुन्छन् । Cumalative Frequency विवरण तयार गर्दा वर्गान्तर (Class Intervals) का तल्लो र माथिल्लो दुईवटै सीमाहरू नदिएर  तल्लो वा माथिल्लो मात्र दिईन्छ । यहि आधारमा तयार पारिएको तालिकालाई नै सञ्चयी आवृत्ति तालिका (Cumalative Frequency Table) भनिन्छ । जस्तैः
कुनै "क" उद्योगमा कार्यरत श्रमिकको दैनिक आम्दानी

दैनिक आम्दानी (रु.)श्रमिक संख्या सञ्चय आवृत्तिमा
१० भन्दा कम                        १५
२० भन्दा कम                        २३
३० भन्दा कम                        २८
४० भन्दा कम                        ४३
५० भन्दा कम                        ५०
६० भन्दा कम                        ५७
७० भन्दा कम                        ६३

१०. केन्द्रीय प्रवृत्तिको माप (Measure of Central tendency)

संकलन भएका तथ्यांक तथा सूचनाको वर्गीकरण र तालिकीकरण पछि सम्झन र विश्लेषण गर्न सजिलो बनाउन तथ्यांकको प्रतिनिधित्व गर्ने मान (Value) को संख्या निकालिन्छ । यस्तो संख्याले तथ्यांकको विशेषताहरुको संक्षिप्त प्रतिनिधित्व गर्दछ । यस्तो मान अर्थात् मुल्यलाई केन्द्रिय मूल्य (Central Value) भनिन्छ । यसलाई औसत वा मध्यक (Average) पनि भनिन्छ । यस्तो केन्द्रिय मूल्य वा औषत दुई चरम मुल्यको बिचमा पर्ने भएकोले यसलाई केन्द्रीय प्रवृत्ति पनि मानिएको हो । यस्तो केन्द्रीय प्रवृत्तिको गर्ने अथवा औषत निकाल्ने कार्यलाई केन्द्रिय प्रवृत्तिको माप अर्थात् Measure of Central Tendency भनिन्छ ।

१०.१ केन्द्रिय प्रवृत्तिको मापका उद्देश्यहरु

१०.१.१ सम्पुर्ण तथ्यांक तथा सामग्रीहरुको प्रतिनिधित्व गर्न सक्ने खालको एकल मान पत्ता लगाउनु
१०.१.२ तथ्यांकका विभित्र समुहहरु बिच तुलना गर्नको लागि सजिलो बनाउनु
१०.१.३ तथ्यांकहरुको बिचको आपसी सम्बन्ध पत्ता लगाउनु
१०.१.४ नमूना वाट प्राप्त तथ्यांकहरुको आधारमा सम्पुर्ण तथ्यांकहरुको बारेमा सामान्यीकरण गर्नु
१०.१.५ अन्य तथ्यांकिय नाप सम्बन्धि गणना गर्ने कार्यलाई सरल तुल्याउनु
१०.१.६ निर्णय गर्ने कार्यमा सहयोग पुर्याउनु ।

१०.२ केन्द्रिय प्रवृत्तिको नापका लागि प्रचलनमा रहेका नापहरु

१०.२.१ समानान्तर मध्यक (Arthmetic mean)
१०.२.२ मध्यिका (Median)
१०.२.३ बहुलक (Mode)

११. तथ्यांकको ग्राफिकल प्रस्तुतीकरण लेखाचित्र र रेखाचित्र बनाउँदा ध्यान दिनुपर्ने कुराहरू

° प्रत्येक रेखाचित्र र लेखाचित्र माथी यसको स्पष्ट, पुर्ण वा संक्षिप्त शीर्षक हुनुपर्छ ।
° यिनीहरू रोचक र आकर्षक हुनुपर्छ ।
° यिनीहरूको आकार कागतको आकारसँग सुहाउने हुनुपर्छ ।
° यिनीहरूको लम्बाई र चौडाई उचित अनुपातमा हुनुपर्दछ ।
° यिनीहरूको रचना गर्दा देखाउन नमिल्ने कुराहरुलाई पाद टिप्पणी द्वारा स्पष्ट गरिनुपर्छ ।
° यिनीहरूको रचना गर्दा ज्यामितिय उपकरणहरुको प्रयोग   गरि सुन्दर र सफा ढंगले बनाउनु पर्छ ।

११.१ तथ्यांकको प्रस्तुतीकरणमा रेखाचित्र र लेखाचित्रको महत्व

रेखाचित्र तथा लेखाचित्रको माध्यमवाट तथ्यांकहरुलाई संक्षेपमा प्रस्तुत गर्न सकिन्छ । आज रेखिय प्रस्तुतीकरण तथ्यांक व्यवस्थापनको महत्वपूर्ण अंग बनेको छ । रेखाचित्र तथा लेखाचित्र अर्थात् ग्राफिकल प्रस्तुतीकरण वाट हुने फाईदा तथा महत्वलाई निम्नलिखित उल्लेख गर्न सकिन्छ ।

(क) चित्रहरुले जटिल तथ्यहरुलाई पनि सरल र बोधगम्य बनाईदिन्छन् ।
(ख) रेखाचित्र र लेखाचित्रहरुले सम्पुर्ण तथ्यहरु माथी बिहंङ्गम दृष्टि दिन्छन् ।
(ग) तथ्यांकलाई चित्रहरूले आकर्षक बनाउँछन् ।
(घ) चित्रहरू द्वारा प्रदर्शन गरिएका तथ्यांकहरु बुझ्न सजिलो हुन्छ ।
(ङ) चित्रहरू द्वारा विभिन्न तथ्यहरुको तुलना गर्न सजिलो हुन्छ ।

११.१.१ लेखाचित्र

तथ्यांक प्रस्तुतीकरणमा लेखाचित्रको महत्वपूर्ण भुमिका रहन्छ । यश अन्तर्गत कालिक श्रेणी र आवृत्ति वितरण सँग सम्बन्धित तथ्यांकहरुलाई देखाउन लेखाचित्रको प्रयोग गरिन्छ । यसको रचना ग्राफ पेपरमा गरिन्छ । लेखाचित्रमा २ प्रकार रहेका छन् :

(क) कालिक श्रेणीका लेखाचित्रहरु (Graphics of Time Series)

बर्ष, महिना, सप्ताह वा दिन जस्तैः समयको नापका आधारमा प्रस्तुत गरिएका तथ्यांकको व्यवस्थित क्रमलाई कालिक श्रेणिका लेखाचित्र भनिन्छ ।

(ख) आवृत्ति वितरणका लेखाचित्रहरु (Graphics of Frequencey Distributions)

यसमा आवृत्ति भएका तथ्यांकको प्रस्तुति गरिन्छ । दुई वा दुई भन्दा बढी आवृत्ति वितरण भएका तथ्यांकहरुको आधार र ढाँचा थाहा पाउनका लागि यसको प्रयोग उपयुक्त हुन्छ । यश अन्तर्गत अबिछिन्न श्रेणीका आवृत्ति वितरण भएका तथ्यांकहरुको आधार र ढाँचा थाहा पाउनका लागि यसको प्रयोग उपयुक्त हुन्छ । यश अन्तर्गत अविछिन्न श्रेणिका आवृत्ति वितरणलाई देखाउन सकिने आवृत्ति बहुभुज (Frequency Polygon), आवृत्ति आयात चित्रका मध्यविन्दु वाट खिचिएको आवृत्ति बहुभुज बढी तीष्ण नहुने भएकाले ति बिन्दुको बाटो गरि स्वतन्त्र रुपले खिचिने अर्को बक्र लाई आवृत्ति बक्र भनिन्छ । यस्तो आवृत्ति बहुभुजको बाटो हुने गरि खिचिएको हुन्छ । यस्तो आवृत्ति बक्र (Frequency Curve) सञ्चयी आवृत्ति वितरणलाई देखाउने सञ्चय आवृत्ति बक्र (Cumulative Frequency Curve) तथा यसै गरि भन्दा कम (Less than) र भन्दा बढी (more than) Methods अपनाईन्छ ।

(ग) रेखाचित्र

लेखाचित्र जस्तैः तथ्यांक प्रस्तुतीकरणमा रेखाचित्रको पनि छुट्टै महत्व छ । यश अन्तर्गत केहि प्रमुख रेखाचित्रहरु निम्नलिखित छन् :

® स्तम्भ चित्र वा एक आयाम चित्र (Bar or One Dimension Diagram)

विभिन्न रेखाचित्रहरु मध्ये स्तम्भ चित्रहरू ज्यादै महत्वपूर्ण छन् । यी चित्रहरू सामान्य देखिएपनि व्यवहारमा धेरै प्रयोग गरिन्छन् । कुनै स्तम्भले मानचित्रमा एउटा मोटो सिधारेखा बुझाउँछ । सबै स्तम्भहरुको चौडाई बराबर हुन्छ । यस्ता चित्रहरू लाई एक आयाम चित्र पनि भनिन्छ । किनभने तिनीहरूको लम्बाई सँग मात्र सम्बन्धित हुन्छ र चौडाई सँग भने सम्बन्ध हुँदैन । यिनीहरू लम्ब वा क्षितिजका रूपमा एक अर्का बिचको दुरी समान पारी तयार गरिन्छन् । त्यसैले तुलनात्मक दृष्टिकोणले स्तम्भ चित्र अरु चित्रहरू भन्दा बढी उपयोगी मानिन्छन् ।

स्तम्भ चित्रमा निम्नलिखित स्तम्भ चित्र प्रयोग गरिन्छ :

(क) सरल स्तम्भचित्र
(ख) खण्डे वा उपविभाजित स्तम्भचित्र
(ग) बहुगुणी स्तम्भचित्र
(घ) प्रतिशत स्तम्भचित्र

® दुई आयाम चित्रहरू (Two Dimensional Diagram)

एक आयाम चित्रहरूमा स्तम्भहरुको लम्बाई लाई मात्र गणना गरिन्छ । यी चित्रहरूमा आयात चित्रहरू, वर्ग चित्रहरू र वृत चित्रहरू पर्दछन् । यस्ता चित्रहरूमा लम्बाई र चौडाई दुवैको गणना गरिएकोले यिनीहरूले सम्बन्धित वस्तुको क्षेत्रफललाई व्यक्त गरेका हुन्छन् । त्यसकारण यिनीहरूलाई सतह चित्र पनि भन्दछन् ।

केहि प्रमुख दुई आयाम चित्रहरू निम्नलिखित छन् :

(क) आयात चित्रहरू (Rectanglar Diagram)
(ख) वर्गचित्रहरु (Square Diagram)
(ग) वृत्त चित्रहरू (Circle Diagram)

® तीन आयाम चित्रहरू (Three Diamensional Diagram)

विभिन्न रेखाचित्रहरु अन्तर्गत तीन आयाम चित्रहरू पनि पर्दछन् । जब तथ्यांकको बिच धेरै ठुला अन्तर देखिन्छ, अनि तीन आयाम चित्रहरूको प्रयोग गरिन्छ । तीन आयाम चित्रहरूमा लम्बाई, चौडाई र मोटाई तीन वटै आयामहरुको गणना गरिन्छ । यश प्रकारका मुख्यतया घन चित्रहरू र सिलिन्डरको साथै तस्बिर चित्रहरू, पिरामिडहरु र नक्सा चित्रहरू आदि पर्दछन् ।

® वृत्त खण्ड चित्र (Pie Diagram Chart)

वृत्त खण्ड चित्र एक अर्को महत्वपूर्ण रेखाचित्र हो। यो चित्रलाई वृत्ताकार चित्रहरू वा कोणिक चित्रहरू पनि भनिन्छ । कुलराशीलाई विभिन्न खण्डहरुमा बिभाजन गरि देखाउनु पर्दा वृत्तखण्ड चित्रको प्रयोग गरिन्छ । यसमा वृत्तको कुल क्षेत्रफलले कुल राशीलाई देखाउँछ भने विभिन्न वृत्तखण्डहरुले कुलराशीको विभिन्न अंशहरुलाई देखाउँछन्  । वृत्तको केन्द्रीय कोण ३६०° मानी त्यही अनुरुप अरु अंशको कोण डिग्रीमा परिणत गरिन्छ । अनि कम्पासको सहायताले वृत्त खिचिन्छ । त्यसपछि प्रोट्याक्टरको सहायताले ठिक२ कोणहरु नापेर विभिन्न खण्डहरु बनाईन्छन् । एउटा मात्र वृत्तखण्डको रचना गर्नुपरेमा कागजको आकार अनुसार त्रिज्याहरुको निर्धारण गरि वृत्तहरु खिचिन्छन् ।

१२. लेखाचित्र र रेखाचित्रका सीमाहरु

तथ्यांकहरुलाई सरल, संक्षिप्त र आकर्षक रूपमा प्रस्तुतीकरण गर्नका लागि रेखाचित्र र लेखाचित्रको प्रयोग गरिन्छ । एकातिर तथ्यांक प्रस्तुतीकरणमा यिनीहरूले महत्वपूर्ण भुमिका खेलेको हुन्छ भने अर्कोतिर यिनीहरुका केही सीमाहरू पनि रहेका छन् ।

ति सिमाहरुलाई निम्नलिखित उल्लेख गरिएको छ :

क. यिनीहरुले तथ्याकको बारेमा सीमित जानकारी मात्र दिन्छन् ।
ख. यिनीहरूले तथ्यांकलाई लगभगको रूपमा मात्र प्रस्तुत गर्दछन् ।
ग. यिनीहरू द्वारा अर्थलाई बङ्याउन सकिने सम्भावना हुन्छ ।
घ. यिनीहरूको प्रयोग विद्वान बर्गहरुले नगरी साधारण व्यक्तिहरुले गर्दछन् ।

सन्दर्भ स्रोत सामग्री :

१. लोक सेवा आयोगद्वारा लिईने नेपाल सरकारका शाखा अधिकृतदेखि सहसचिवसम्मका सन्दर्भ सामग्रीहरु
२. My autobiography श्री वसन्तराज अधिकारी fb page
३. जागीरे जीवनका सिर्जनात्मक सङ्गालो आफ्नै अप्रकाशित रचना सङ्गालोवाट साभार ।

लेखन तथा सम्पादन :

📝 वसन्तराज अधिकारी
उपसचिव, नेपाल सरकार
युवा तथा खेलकुद मन्त्रालय, सिंहदरबार, काठमाडौं, नेपाल  । 
[बुधबार ०९ आषाढ २०७८ शुभम्] 

Comments