२३२. घरेलु हिंसाको परिचय, यसको प्रभाव र असरः एक टिप्पणी

 घरेलु हिंसाको परिचय, यसको प्रभाव र असरः एक टिप्पणी

                
✍️ वसन्तराज अधिकारी
उपसचिव, नेपाल सरकार
युवा तथा खेेलकुद मन्त्राालय, सिंहदरबार, काठमाडौंं
     १. सार (Abstract) हामी बसोवास गरेको समाजको संरचना व्यक्ति–व्यक्ति र परिवार–परिवार मिलेर एउटा महान मानव सभ्यताको कालखण्डमा विर्निर्माण भएको तथ्य घाम जत्तिकै छर्लङ्ग रहेको छ । यो राता–रात तयार भएको जादूगरी छडी पनि होईन । सभ्यताको विकासको कालखण्डको जगमा एक–एक इँटा राख्ने सार्थक प्रयाश हाम्रा वीर–विराङ्गना पूर्वजहरूको महान गौरवमय योगदान इतिहासका पानाहरूमा पढेर अवगत गर्न सकिन्छ । समाज स्थिर, शान्त र संम्वृद्ध हुनु, सामाजिक जीवनगति सहजसंग यापन हुनु सामाजिक विकासको गतिशीलताको अवस्था हो भने समाजमा हिंसा, भेदभाव, दमन, अन्याय, अत्याचार, शोषण, उत्पिडन सामाजिक विचलनको पराकाष्ठाको अवस्थाको उदाहरण हो । अझ आधा धर्ति र आधा आकाश ढाक्ने महिला वर्ग नै हिंसाको चपेटामा पर्नु सामाजिक विचलन, मानविय मूल्यहिनता र सामाजिक ह्रान्सोमुख स्थिति हो भन्दा अत्युक्ति नहोला । तसर्थ, महिला हिंसा जो वर्तमानमा ह्रदयविदारक घटनाकारूपमा समाजमा घटित भैरहेका छन्, सामाजिक विचलनको पराकाष्टा मान्न सकिन्छ । यस्तो अवस्थाको एउटा मात्र ओषती छैन जुन सेवन गर्नाले ज्वरोको ओषती "सिटामोल क्याप्सुल" खाएर सामान्य ज्वरो निको भए जस्तो होस । यसका त बहुआयामिक कारण हुन सक्छन । राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, कानूनी, धार्मिक आदि आदि जुन लैङ्गिक विशेषज्ञको अध्ययन~अनुसन्धानको समसामयिक विषयवस्तु वन्न सक्छ । वर्तमान समयको यो एउटा गम्भीर सामाजिक समस्या हो जुन समस्याले सदा मानवको शिर निहुराउँछ । सृष्टि गर्ने नारी श्रेय पाउने ब्रम्हाजी यानी पुरूष प्रतिक । अपराध गर्ने अपराधी दोषी बन्नु पर्ने र पापी पुरूषको कर्तुृतको परिणाम जीवनभर नारकीय जीवन भोग्न बाद्ध बन्नु पर्ने निर्दोष नारी ? कस्तो सृष्टि संरचना ? अपितु अपराधीलाई कानूनले फाँसी दिन पनि सुधारात्मक कानुनको प्रतिकूल हुने ! कसरी ? यो जघन्य सामाजिक अपराध निर्मूल गर्ने या अपराध घटाउने के छ रामवाण । प्रहार गर्न ढिला भै सकेन र ? २. बिषय प्रवेश : नेपालको र्सविधान, २०७२ को भाग ३ मौलिक हक अन्तर्गत धारा १६ देखि ४६ सम्म ३१ वटा आधारभूत मौलिकहकहरू Fundamental Rights or Basic Rights को व्यवस्था गरिएको छ । यसै व्यवस्था अन्तर्गत धारा ३८ मा महिलाको हक अन्तर्गत– (१) महिला भएकै कारणवाट कुनै पनि किसिमको भेदभाव गरिने छैन । (२) प्रत्येक महिलालाई प्रजनन स्वास्थ्य तथा प्रजनन सम्वन्धी हक हुनेछ । (३) कुनै पनि महिला विरूद्ध शारीरिक, मानसिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य गरिने छैन र त्यस्तो कार्य कानूनद्वारा दण्डनिय हुनेछ । (४) पैतृक सम्पत्तिमा छोरा र छोरीलाई समान हक हुनेछ । घरेलु हिंसासम्वन्धी ऐन सर्वसाधारणको जानकारी हेतु  विक्रम सम्वत्  २०६६ को ऐन नं.१ मा घरेलु हिंसा नियन्त्रण गर्ने सम्वन्धमा व्यवस्था गर्न बनेको ऐनको प्रस्तावनामा प्रत्येक व्यक्तिको सुरक्षित र सम्मानजनक तवरले बाँच्न पाउने अधिकारको सम्मान गर्दै घर–परिवार भित्र र घरपरिवार संग गाँसीएर हुने हिंसाजन्य कार्यलाई दण्डनिय बनाई त्यस्तो कार्य नियन्त्रण गर्न तथा घरेलु हिंसावाट पिडित व्यक्तिलाई संरक्षित गरि न्याय प्रदान गर्ने सम्वन्धमा कानूनी व्यवस्था गर्न बाञ्छनिय भएकोले,.......... ३.परिचय : घरेलु हिंसा (कसूर र सजाय) ऐन, २०६६ अनुसार “घरेलु हिंसा” भन्नाले कुनै व्यक्तिले घरेलु सम्वन्ध भएको अर्को कुनै व्यक्तिलाई दिएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना हो । साथै गाली गर्ने तथा भावनात्मक चोट पुर्याउने अन्य कुनै कार्य समेत घरेलु हिंसा भित्र पर्दछ । घरेलु सम्वन्ध भित्र पर्ने व्यक्तिहरूमा वंशज, विवाह, धर्मपुत्र वा धर्मपुत्री भएको वा संयुक्त परिवारको सदस्य आश्रित वा कामदारकोरूपमा एकै परिवारमा वसेका व्यक्तिहरूका विचमा भएको वा हुन सक्ने सम्वन्धलाई राखिएको छ । यसप्रकार घरेलु सम्वन्धलाई निम्नलिखित बुँदाहरूमा प्रस्तुत गर्न सकिन्छ : ® वंशजको आधारमा सम्वन्ध, ® विवाहको आधारमा सम्वन्ध, ® धर्म सन्तानको आधारमा सम्वन्ध, ® संयुक्त परिवारको सदस्य, ® आश्रित वा कामदारकोरूपमा सम्वन्ध । ® घरेलु हिंसा (कसूर र सजाय) ऐन, २०६६ ले कसैले पनि घरेलु हिंसा गर्न गराउन, वा उद्योग गर्न वा त्यस्तो कार्य गर्न रोक लगाएको छ । कसैले त्यस्तो कार्य गरेमा वा मतियारकारूपमा कार्य गरेमा कसूर मानिने व्यवस्था गरेको छ । ४. महिला हिंसा: महिला विरूद्धको हिंसा हाम्रो समाजको प्रत्येक तह–तप्कामा भेटिनुका साथै यो कुनै वर्ग जात जाति, संस्कृति र राजनीतिक अवस्थावाट अछुतो रहेको छैन । महिला विरूद्ध हुने हिंसा वा लैङ्गिकतामा आधारित हिंसा महिला र पुरूष विचको असमान शक्ति सम्वन्धको कारणले मौलाउँदै आएको छ ।  महिला विरूद्धको हिंसा भन्नाले महिला भएकै कारणले सार्वजनिक वा नीजि जीवनमा लिङ्गको आधारमा हुने हिंसाजन्य कार्य हो । महिला विरूद्ध हुने हिंसासम्वन्धी संयुक्त राष्ट्रसंघीय घोषणा पत्र १९९३ को धारा १ अनुसार “महिलाको नीजि वा सार्वजनिक शारीरिक, यौनिक वा मनोवैज्ञानिक हानी, नोक्सानी वा दुःख, कष्ट पुर्याउन वा पुर्याउन सक्ने सम्भावनाका साथै यस्ता कार्य गर्ने धम्की जर्वजस्ती वा स्वेच्छाचारि तरिकाले स्वतंन्त्रतावाट बञ्चित गराउने कार्यहरू समेत पर्दछन् ।” पितृसत्तात्मक मूल्य–मान्यतामा आधारित, असन्तुलित सामाजिक संरचनाको कारणले पुरूषको प्रधानता र महिलाको सहायक भूमिका भएको विद्यमान नेपाली समाजका महिला विरूद्धको हिंसा पुरूषले महिला माथि आफ्नो श्रेष्ठता सिद्ध गर्ने माध्यमकोरूपमा प्रयोग गर्दै आएका छन् । जन्मनु पूर्व देखि वृद्धावस्थासम्म महिलाले हिंसा भोग्दै आएको तथ्य उनिहरूलाई जन्मने अवसरवाट, जन्मिसकेपछि बाँच्नकोलागि र विभिन्न प्रकारका हिंसावाट स्वतंन्त्र रहि स्वस्थ्य जीवन विताउनकालागि गराईएको कुरा वाट पुष्टि हुन्छ । महिलाको जीवन चक्रमा हुने लैङ्गिकतामा आधारित हिंसा (क) प्रसूतिपूर्व : लिङ्ग छनौंट, गर्भपतन, गर्भावस्थाका वेलामा कुटपिट गर्नु, जर्वजस्ती गर्भवती बनाउनु आदि । (ख) शिशुअवस्था : शिशु वालवालिकाहरूको हत्या, भावनात्मक र शारीरिक दुर्व्यवहार गर्नु, वालिकालाई खाना र औषधिउपचारको पहुँचमा वालकलाई भन्दा फरक व्यवहार गर्नु । (ग) बाल्यावस्था : वालविवाह, योनिच्छेदन, परिवारका सदस्य र अन्य नचिनेकाहरू वाट यौन दुर्व्यवहार गर्नु, वाल वेश्यावृत्ति, वालिकाहरूको वेचविखन गर्नु आदि । (घ) किशोरावस्थाः प्रेमसम्वन्ध वा प्रणय हिंसा, आर्थिक लोभ लालचमा पारी जर्वजस्ती यौन कार्य गर्नु, कार्यस्थलमा यौन दुर्व्यवहार, बलात्कार गर्नु, यौनिक डर–त्राश देखाउनु, जर्वजस्ती वेश्यावृत्तिमा लगाउनु, महिला बेचविखन गर्नु । (ङ) प्रजननशिल उमेरः घनिष्ट पुरूष साथीहरू वाट महिलाहरू माथि दुर्व्यवहार र हत्या गर्नु, पुरूष मित्र वाट हत्या हुनु, मनोवैज्ञानिक दुव्यर्वहार गर्नु, यौनिक डर त्राश देखाउनु, बलात्कार गर्नु, अपाङ्ग महिलालाई दुर्व्यवहार गर्नु । (च) वृद्धावस्था :  विधवाहरूलाई दुव्यर्वहार गर्नु, वृद्धहरूलाई (जसमा विशेषतः पुरूष भन्दा महिलाहरू बढी प्रभावित हुन्छन ।) दुर्व्यवहार ~ अपहेलना गर्नु । ५. महिलाको जीवन–चक्र ५.१ घरेलु हिंसाको प्रकार मूलतः घरेलु हिंसालाई निम्नलिखित प्रकारमा वर्गिकरण गर्न सकिन्छ : ५.२.१ मनोवैज्ञानिक ~ मानसिक हिंसा शारीरिकरूपमा पुर्याउने असर जस्तैः डर, धाक देखाउनु, धम्की दिनु, त्राशपूर्ण व्यवहार गर्नु, गाली गलोज गर्नु, झुट्ठा आरोप लगाउनु, बेइज्जत गर्नु, भेदभाव गर्नु आदि । ५.२.२ शारीरिक हिंसा  शारीरिकरूपमा पुर्याउनु असर जस्तै : कूटपिट गर्नु, शारीरिक चोट पुर्याउनु, थुन्नु, खानलाउन नदिनु, घरवाट निकाला गर्नु आदि । ५.२.३ यौनजन्य हिंसा   महिलाको मञ्जुरीविना यौनजन्य मनसायले गरिने व्यवहार जस्तै :  शारीरिक र मौखिक यौनजन्य दुर्व्यवहार गर्नु, यौनजन्य दुर्व्यवहार गर्नु र यौन शोषण गर्ने आदि । ५.२.४ आर्थिक हिंसा  आर्थिक साधनस्रोतको पहुँच र नियन्त्रणवाट वञ्चित गर्नु जस्तोः घरको साधनस्रोत उपयोग गर्न नदिनु, सम्पति खोस्नु वा दुरूपयोग गर्नु, रोजगारी गर्न नदिनु, आय आर्जन गर्न वाट बञ्चित गर्नु आदि । ५.२.५ सामाजिक हिंसा  सामाजिक तथा सांस्कृतिक कारणले हुने यातना जस्तै देउकी प्रथा, छाउपडी प्रथा, कमलरी,  बोक्सी आदि । ६.घरेलु हिंसाको प्रभाव र असर ६.१ घरेलु हिंसा आजको समयमा  जटिल प्रकृतिको एक प्रमुख सामाजिक समस्याकोरूपमा लिन सकिन्छ । ६.२ घरपरिवार विशेषतः घरेलु सम्वन्ध भएका व्यक्तिहरूका विच यो हिंसा विद्यमान रहन्छ । ६.३ घरेलु हिंसा भित्र सक्नेले नसक्नेलाई, मुर्खले सज्जनलाई, बलियाले कमजोरलाई यातना वा पिडा पुर्याउँदछन । ६.४ यस प्रकारको हिंसामा प्रमुखरूपमा महिला र वालवालिकाहरू निशाना भई हिंसा सहन वाध्य हुन्छन । यस प्रकारको हिंसावाट पिडित व्यक्तिले शारीरिक, मानसिक, यौनजन्य, आर्थिक, सामाजिक, मनोवैज्ञानिक यातना सहनु पर्ने हुन्छ । ६.५ घरेलु हिंसालाई नियन्त्रण नगरेमा यसको प्रकृति र परिणाम संख्यात्मक एवम् गुणात्मकरूपले वढदै जाने तथा यसवाट गम्भीर परिणाम~ घटना घटित हुन सक्ने सम्भावना हुन्छ । ६.६ यसले पिडित व्यक्तिको व्यक्तित्व विकास लगायत हरेक क्षेत्रमा गम्भिर नकारात्मक असर परिरहेको हुन्छ । घरेलु हिंसाले पारिवारिक सदभाव र एकतामा असर पार्नुका साथै परिवारका अन्य सदस्यहरू लाई समेत असर पार्दछ । ६.७ यसको प्रभाव समाज एवम् राष्ट्रमा गम्भीररूपमा परिरहेको हुन्छ । ६.८ यसले राष्ट्रको सभ्यता संस्कृति र राष्ट्रिय संम्वृद्धिमा नकारात्मक प्रभाव पारिरहेको हुनाले घरेलु हिंसा केवल व्यक्तिगत वा पारिवारिक समस्या मात्र नभई राष्ट्रिय एवम् सिङ्गो मानव समुदायको साझा समस्या हो । ६.९ घरेलु हिंसाले पारिवारिक विखण्डन ल्याउँदछ अन्ततः यसले सामाजिक द्वन्द्व, राष्ट्रिय विप्लव उत्पन्न भई अन्तर्राष्ट्रिय भाइचारा र सदभावमा खलल पुर्याउँदछ । घरेलु हिंसा पारिवारिक हुँदै सामाजिक रोगकोरूपमा विस्तारित हुँदै जाने भएकाले यसलाई सामाजिक कलङ्ककारूपमा देखापर्छ । ६.१० यस प्रकारको घरेलु हिंसाले मानव सभ्यता र विकासमा समेत ठूलो धक्का लाग्दछ । यसले अन्य आपराधिक प्रकृतिका सामाजिक र राष्ट्रिय स्वरूपमा गम्भीर नकारात्मक असर पार्दछ । ७. उपसंहार : बर्तमान समयमा बिश्वब्यापी महामारी कोरोना भाइरस (कोभिड -१९) को संक्रमण, रोकथाम र नियन्त्रणका लागि निर्विकल्प बन्दाबन्दी "लकडाउन" को सन्दर्भमा सबै पारिवारिक सदस्यहरु चलायमान नभै एकै ठाउँमा हुँदा विकृत आपराधिक मानसिकता बोकेका मानवरुपी दानववाट वालवालिका, जेष्ठ नागरिक, अपाङ्ग, महिला घरेलु हिंसाको सिकार हुने घटना कतिपय अवस्थामा सञ्चार माध्यममा आईरहेका पनि छन् । यस्तो अवस्थामा तत्काल आफू नजिकैको प्रशासन, नेपाल प्रहरीको १०० नं. र राष्ट्रिय महिला आयोग, महिला सेलको हटलाईनमा खवर गरि स्वयं सतर्क हुन साथै अरुले थाहा पाएमा खवर गरि सचेत नागरिकको भुमिका तथा जिम्मेवारी निर्वाह गर्नु पर्दछ । यश अवस्थामा निगरानी निकाय सक्रियताका साथ लागिरहेको हुँदा कहिँ कसैलाई पनि अन्याय अत्याचारको पीडा भोग्नु नपरोस भन्ने बिषयमा राज्य हर्दम सचेत रहेकोे छ । तसर्थ यश बिषम अवस्थामा शान्ति, सुरक्षा अमन चयन कायम राख्न र सो महत्तम कार्यमा सबै सचेत नागरिकको भुमिका अपरिहार्य रहेको छ । स्रोत सामग्री : ~~~~~~~~~~~ १. नेपालको संविधान, २०७२ २. राष्ट्रिय महिला आयोग ऎन, २०६३ तथा २०६५ ३. घरेलु हिंसा (कसुर र सजाय) ऎन, २०६६ ४. महिला अधिकार (Right of women), बार्षिक मुखपत्र विभिन्न अंकहरु, प्रकाशक राष्ट्रिय महिला आयोग ५. घरेलु हिंसा (कसुर र सजाय) ऎन, २०६६ सम्बन्धि जानकारी पत्र, प्रकाशक राष्ट्रिय महिला आयोग, महिला कानुन र बिकास मञ्च (UNIFEM) ६. राष्ट्रिय महिला आयोगवाट प्रकाशित अन्य सन्दर्भ सामग्रीहरु ७. गोरखापत्र र कान्तिपुर दैनिकका विभिन्न अंकहरु ८. www.mowcsw.gov.np ९. www.nwc.gov.np १०. घरेलु हिंसा सम्बन्धमा राष्ट्रिय महिला आयोगको भुमिका बिषयक स्थलगत अध्ययन प्रतिवेदन नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (NASC) द्वारा नेपाल सरकारका राजपत्रांकित तृतीय श्रेणीका अधिकृत कर्मचारीहरुका लागि २०६६ सालमा सञ्चालित सेवाकालिन तालिम "Professional Course on Management and Develoment" प्रस्तुतकर्ता लेखक स्वयं लगायत प्रतिवेदन प्रस्तुतकर्ता समूह "बी" । ११.  राष्ट्रिय महिला आयोगवाट प्रकाशित “महिला अधिकार” नामक पत्रिकामा, २०७० सालमा प्रकाशित आफ्नै लेख "घरेलु हिंसाको परिचय, यसको प्रभाव र असरः एक चर्चा" थप परिमार्जन सहित १२. स्थानीयस्तरमा राष्ट्रियस्तरका पत्रिकामार्फत प्रकाशित भएको ।

Comments