१९३. नेपालको सन्दर्भमा बाल विवाह, बहुविवाह न्युनिकरण अभियान : अवधारणा, वर्तमान अवस्था, कानुनी व्यवस्था, विद्यमान समस्या र समाधानका उपायहरू

नेपालको सन्दर्भमा बाल विवाह, बहुविवाह न्युनिकरण अभियान : अवधारणा, वर्तमान अवस्था, कानुनी व्यवस्था, विद्यमान समस्या र समाधानका उपायहरू

                
✍️ Me Basanta Raj Adhikari with My Dear Madam Ashoda Adhikari, Dang Ghorahi.

  १. बाल विवाह भनेको के हो ? बाल विवाह भन्नाले कुनै पनि राष्टूको कानुनमा विवाह गर्न उपयुक्त भनि तोकिएको उमेर भन्दा कम उमेरमा गरिने विवाहलाई बुझाउँछ । मूलत: २० बर्ष भन्दा कम उमेरमा गरिने विवाहलाई वाल विवाह भनिन्छ । विभिन्न देशमा विवाह गर्न योग्य उमेर भनि अ-आफ्नै कानुनीरुपमा निर्धारित उमेर तोकिएको छ । नेपालको वर्तमान फौजदारी अपराध सहिता कानुनमा वालवालिकाको विवाह गर्न उपयुक्त उमेर २० बर्ष भन्दा माथि तोकिएको छ । २. बहुबिबाह भनेको के हो ? विवाहित पुरुषले वैवाहिक सम्वन्ध कायम रहेको अवस्थामा गरिने विवाहलाई बहुविवाह भनिन्छ । १.१ बहुबिवाह – मुलुकी अपराध संहिता २०७४ दफा १७५. बहुबिवाह गर्न नहुने: (१) विवाहित पुरुषले वैवाहिक सम्वन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्नु हुँदैन । (२) कुनै पुरुष विवहित हो भन्ने जानी जानी त्यस्तो पुरुषसंग कुनै महिलाले विवाह गर्नु हुँदैन । (३) उपदफा (१) वा (२)  मा जुनसुकै कुरा लेखिएको भएतापनि पति पत्नीले कानुन बमोजिम अंशबण्डा गरी भिन्न भएमा पुरुष वा महिलाले पुन: विवाह गर्न सक्नेछ । (४) उपदफा (१) वा (२)  बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई एक बर्ष देखि पाँच बर्ष सम्म कैद र दश हजार रुपैंयाँ देखि पचासहजार रुपैयासम्म जरिवाना हुनेछ । (५) उपदफा (१) बमोजिमको बिवाह स्वत: बदर हुनेछ । (६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि यो संहिता लागु हुनु अघि तत्काल प्रचलित कानुन बमोजिम भएको विवाहको हकमा यस दफामा लेखिएको कुनै कुराले असर पारेको मानिने छैन । दफा १७६. हदम्याद: यस परिच्छेद अन्तर्गतको कसुरमा कसुर भए गरेको कुरा थाहा पाएको मितिले तीन महिना नाघे पछि उजुर लाग्ने छैन ।  ३. ऎतिहासिक सान्दर्भिकता : नेपाली समाजको सन्दर्भमा पनि लिच्छविकालमा वालविवाह गरेको प्रसङ्ग भेटिदैन ।यद्यपि मल्लकालमा घरानियाहरुले वाल विवाह गरेको प्रसङ्ग प्रसस्त पाईन्छ । भारतमा मुसलमानले साम्राज्य विस्तार गर्ने क्रममा हिन्दुहरु त्रसित भएका थिए । यसले गर्दा आफ्ना छोरी चेलीहरुलाई मासिक धर्म नहुँदै विवाह गरिदिन थाले । यो प्रचलनले खस साम्राज्य तथा काठमाण्डौ उपत्यकामा समेत ठूलो प्रभाव पारेको थियो । साथै हिन्दु समाजमा छोरा (पुत्र) को चाहनाले पनि वालविवाह गर्ने प्रचलन वसिसकेको थियो । खस राज्यको मध्यम वर्गिय परिवारमा विवाहकोलागि नावालिग उमेरदेखि नै वालवालिकाको अभिभावकहरुसंग खरिद विक्री हुने गर्दथ्यो । काठमाण्डौ उपत्यकामा मल्लराजाहरुको पनि धर्मको आडमा वालविवाह हुने गर्दथ्यो । नेपाली समाजमा वालविवाह गर्ने प्रथा खस र आर्यमा मात्र सिमित छैन । यो प्रथाले तराइ र सुदुर पश्चिमका दलित समुदायलाइ गहिरो प्रभाव पारेको छ । विशेषत: तराईका मैथिलि ब्राह्मण र दलित समुदायमा वालविवाह गर्ने प्रथा अझै पनि दह्रो छ । शारीरिक र मानसिकरुपमा परिवर्तन हुने उमेरमा वालवालिका बैवाहिक वन्धनमा बाँधिन पुग्छन् । यसको असर किशोरीहरुमा प्रत्यक्षरुपमा देखिएको छ ।सानो उमेरमा विवाह गर्नाले यौन दुर्व्यवहार, अशिक्षा, कमजोर स्वास्थ्य, जनसंख्या वृध्दि आदि समस्या हुन्छ । अन्धविश्वास र कुरितीले गर्दा ४० प्रतिशत विवाहित किशोरीहरुले विद्यालयको शिक्षा पुरा गर्दैनन् । २०६८ को जनगणना अनुसार कुल महिला जनसंख्याको २५ प्रतिशत किशोरीहरु छन् । ४.  क्षेत्रगत बाल विवाह : नेपाली समाजमा छोरीको शिक्षामा लगानी गर्न नखोज्नुको पछाडि धार्मिक तथा  सामाजिक कारणहरु रहेका छन् । पुण्य कमाउने उद्देश्यले धर्मभिरु र अन्धविश्वासीहरुले छोरी चेलीको विवाह छिटो गरिदिन्छन् । त्यसैगरि तराई मधेसको समाजमा छोरीकोलागि पर्याप्त दाइजो दिनु पर्ने वाध्यता भएकोले नै किशोरी उमेरमा नै विवाह गरिदिन पुग्छन् । छोरी जति नै पढे पनि दाईजो पर्याप्त मात्रामा दिनुपर्छ । दाईजो नदिएमा उक्त छोरीले हिंसा शोषण, यातना जस्ता अमानवीयता दण्ड भोग्नु परेकै छ । विभिन्न यातना र हिंसावाट मुक्त हुन अभिभावक पनि शिक्षामा भन्दा दाईजोलाई नै प्राथमिकता दिने गर्दछन् । ५. कानुनी व्यवस्था : सन् १८५४ (वि.सं.१९१०) को मुलुकी ऐनमा पनि विवाहका लागि कन्याको न्युनत्तम उमेर पाँच बर्ष तोकिएको थियो । उक्त ऐनको विहावारीको महलमा रहेको धारा तत्कालिन समाजको प्रचलन मानिन्छ । सन् १९६३ (वि.सं. २०२०) को मुलुकी ऐनमा विवाह गर्न स्त्रीको १४ बर्ष र पुरुषको १८ बर्ष तोकिएको छ । विडम्वना : नेपालमा अझै ४१ प्रतिशत वालिका र ११ प्रतिशत वालकको वालविवाह हुने गरेको स्वास्थ्य मन्त्रालयको प्रतिवेदनवाट थाहा हुन्छ । बाध्यतावश अभिभावकले नै उमेर बढाएर विहे दर्ता गर्न पुग्छन् । वर्तमान कानुन अनुसार वाल विवाह गराईएमा ३ बर्ष कैद र जरिवानाको व्यवस्था कडाई गरे पनि व्यवहारमा परिवर्तन आउन सकेको पाईदैन । सामाजिक सुधार ऐन, २०३३ मा उल्लेख भए अनुसार विधि व्यवहार समाजमा कार्यान्वयन भएको देखिदैन । सामाजिक सुधार ऐनको दफा ३ को तिलकमा नियन्त्रण, दफा ४ को दुलही पक्षले लिन नहुने, दफा ५ को दाईजोमा नियन्त्रण, दफा ६ को आर्थिक दायित्व व्यहोर्ने, दफा ७ को जन्त सम्वन्धी नियन्त्रण, दफा ८ को विवाह भोजमा नियन्त्रण गर्ने व्यवस्था छ । यस किसिमको सुधार ऐन एकातिर रहेको छ भने अर्को तिर समाजमा दिन प्रतिदिन महंगीले व्यवहार बढदो छ, यो अवस्थालाई अन्त्य गर्न प्रभावकारी कदम चालिनु आवश्यक छ । ४.१ मुलुकी अपराध संहिता २०७४ परिच्छेद-११ विवाह सम्वन्धी कसुर : दफा १७२ हाड नातामा विवाह गर्न नहुने : (१) कसैले परम्परा अनुसार चलि आएको अवस्थामा बाहेक हाडनाता करणीमा सजाय हुने नातामा विवाह गर्न वा गराउन हुँदैन । (२) उपदफा (१) बमोजिमको बिवाह थाहा नपाई भएको रहेछ भने त्यस्तो बिवाह बदर हुनेछ । (३) उपदफा (१) बमोजिम विवाह जानीजानी भएको रहेछ भने त्यस्तो बिवाह गर्नेलाई हाडनाता करणीको कसुरमा हुने सजाय र गराउनेलाई तीन महिनासम्म कैद वा तीनहजार रुपैयासम्म जरिबाना वा दुवै सजाय हुनेछ र त्यस्तो बिवाह स्वत: बदर हुनेछ । दफा १७३ बाल विवाह गर्न नहुने: (१) विवाह गर्ने व्यक्तिको उमेर वीस बर्ष नपुगि कसैले विवाह गर्न वा गराउन हुँदैन । (२) उपदफा (१) विपरीत भएको विवाह स्वत: बदर हुनेछ । (३) उपदफा (१) बमोजिमको कसुर गर्ने व्यक्तिलाई तीन बर्ष सम्म कैद र तीस हजार रुपैंयासम्म जरिबाना हुनेछ । १७४ बिवाहमा लेनदेन गर्न नहुने : (१) आफ्नो परम्परादेखि चलिआएको सामान्य उपहार, भेटी, दक्षिणा वा शरीरमा लगाएको एकसरो गहना बाहेक बिवाह गर्ने दुलाहा वा दुलहीका तर्फवाट कुनै किसिमको चल, अचल, दाईजो वा कुनै सम्पत्ति माग गरि वा लेनदेन शर्त राखि बिवाह गर्न वा गराउन हुँदैन । (२) उपदफा (१) बमोजिमको कसुर गर्ने व्यक्तिलाई तीन बर्षसम्म कैद वा तीस हजार रुपैंयासम्म जरिवाना वा दुवै सजाय हुनेछ । (३) कसैले बिवाह गरि सकेपछि उपदफा (१) बमोजिमको चल, अचल, सम्पत्ति वा दाईजो माग गर्न वा त्यस्तो चल, अचल, सम्पत्ति वा दाईजो नदिएको कारणले दुलही वा निजका नातेदारलाई कुनै किसिमले हैरान पार्न, सताउन वा कुनै अमानविय वा अपमानजन्य व्यवहार गर्न हुँदैन । (५) उपदफा (१) वा (३) बमोजिम सम्पत्ति लिएकोमा त्यस्तो सम्पत्ति सम्वन्धित व्यक्तिलाई फिर्ता दिनु पर्नेछ । परिच्छेद -८ बालबालिका विरूध्दको………… (बालबालिका सम्बन्धि ऐन, २०७५ ६६. बालबालिका बिरुध्दको कसुर : (१) कसैले उपदफा (२) बमोजिमको हिंसा वा उपदफा (३) बमोजिमको यौन दुर्व्यवहार हुने कार्य गरेमा यस ऐन अन्तर्गतको बालबालिका बिरुध्दको कसुर गरेको मानिनेछ । (२) कसैले बालबालिका उपर देहाय बमोजिमको कुनै कार्य गरेमा बालबालिका विरुध्द हिंसा गरेको मानिनेछ । (ड) जादु वा सर्कसमा लगाउने, (ढ) कसुरजन्य कसुर गर्न सिकाउने, तालिम दिने वा त्यस्तो कार्यमा लगाउने, (ण) बालबालिकाको विवाह तय गर्ने वा वालवालिकासंग विवाह गर्ने वा गराउने । ✍️ UN Convention on the Rights of the Child 1989 (CRC), CRC children’s Act 1992 ५. राष्ट्रिय रणनीति: विवाह गर्ने वा नगर्ने भन्ने विषय प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार हो । मानव अधिकारको दृष्टिकोणवाट आफूले रोजेको व्यक्तिसंग विवाह गर्न पाउने र आफ्नो भविश्यको मार्गचित्र तय गर्ने प्रत्येक नागरिकको हक अधिकार सुनिश्चित हुनु पर्दछ । यसका लागि प्राय: सबै मुलुकहरुले विवाहकोलागि न्युनत्तम उमेर तोकेका हुन्छन् । नेपालको मुलुकी अपराध संहिता २०७४ मा विवाहकोलागि कानुनीरुपमा उमेर २० बर्ष तोकिएको छ । नेपालको संबैधानिक इतिहासमा हालै मात्रै जारी भएको नेपालको संविधानले वाल विवाहलाई पहिलो पटक बाल अधिकार हननको विषयकोरुपमा उल्लेख गरि दण्डनिय अपराधकोरुपमा स्वीकार गरेको छ । बाल विवाह उच्च रहेका मुलुकहरु मध्ये नेपाल अग्रपंत्तिमा रहेको छ । दक्षिण एशियामा नेपाल, बैगलादेश र भारत पछि तेस्रो स्थानमा पर्दछ । वालकको तुलनामा वालिकाको विवाह १८ बर्ष नपुग्दै हुने गरेको अध्ययन वाट देखिएको छ । यसो हुनुमा महिला भन्दा पुरुषको उमेर सामान्यतया: बढी हुनु पर्ने सामाजिक एवं सास्कृतिक मान्यता, लैंगिक विभेद, गरिबी, अशिक्षा, असुरक्षा जस्ता कारणहरु प्रमुखरुपमा देखिएका छन् । बाल विवाहले वालवालिकाहरुलाई आधारभुत अधिकारवाट बञ्चित मात्र गराउँदैन उनिहरु आफ्नो भविश्यको छनौंट गर्ने अधिकार तथा सो सम्वन्धमा निर्णय लिने प्रकृयामा सहभागी हुने अवसरवाट पनि वञ्चित हुन्छन् । विशेष गरि वालिका र महिलाको सन्दर्भमा वालविवाहले एउटा मात्र अधिकारको उल्लंघन नगरी उनिहरुको जीवनचक्रमा थुप्रै अधिकार उल्लंघनको श्रृड्खला सृजना गरि थप हिंसाको कुचक्रमा पर्ने अवस्था रहन्छ । वाल विवाहको कारण बैवाहिक जीवन दिगो नहुने, परिपक्व नभै सन्तान जन्माउँदा स्वास्थ्य सम्वन्धि विभिन्न समस्याहरु देखिने, लैगिक हिंसा, यौनजन्य हिंसा, वालश्रम, वेचविखन जस्ता थप हिंसाहरुले वालिका र महिलाहरु थप प्रताडित हुन पुग्दछन् । कालान्तरमा समाज विकास प्रकृयामा महिलाहरुको भूमिका र सहभागितालाई सभ्य, सुसंस्कृत एवं समतामूलक समाज निर्माण गर्न वाल विवाह बाधक तत्व बन्न पुग्दछ । बालविवाहको बारेमा अन्तराष्ट्रिय सन्धिमा पनि छ जसमा नेपाल पक्ष राष्ट्र छ । ६. बिवाहको अवधारणा : बिवाहलाइ एउटा सम्झौंताकारुपमा लिईन्छ । एउटी स्त्री र एउटा पुरुषले संगै जीवनयापनका निम्ती आपसी सम्झौंता गरेका छन् भन्ने अर्थमा विवाहलाई हेरिन्छ । अहिले केही व्यक्तिलाई तोकिएअनुसार साक्षी राखेर दर्ता विवाह गर्न सकिने कानुनी व्यवस्था पनि छ । मनुस्मृतिले विवाहलाई दुई आत्मा विचको पवित्र मिलन भनेको छ । आफूले चाहेर मात्र नहुने, विवाहका लागि सूर्य भगवानले नै तोकिदिएको हुने कुरा उक्त स्मृतिमा चर्चा छ । स्कन्द पुराणको केदारखण्डको श्री स्वस्थानीले पनि यहि विचारलाई समर्थन गरेको छ । हाम्रो समाजमा विभिन्न जात जाति, धर्म र सम्प्रदाय अनुसार विवाह कर्ममा केही फरकफरक  संस्कारहरु पाईन्छन् । बालविवाह: २० बर्ष नपुगि विवाह गर्ने समस्या स्री र पुरुषका विचमा पति पत्निको सम्वन्ध कायम गराउने धार्मिक, सामाजिक कार्यलाई विवाह भनिन्छ । चलन चल्तीमा कतै कतै विहे गर्ने भन्ने चलन पनि छ । विवाह गर्न उपयुक्त भनि तोकिएको उमेर भन्दा कम उमेरमा गरिने विवाहलाई वालविवाह भनिन्छ । नेपालमा कानूनत: विवाह गर्ने उमेर २० बर्ष छ । त्यसैले २० बर्ष भन्दा कम उमेरमा गरिने विवाहलाई बालविवाह भनिन्छ । शारीरिक र मानसिकरुपमा परिपक्व नभई विवाह गर्नु र सन्तान जन्माउँदा विविध समस्या आउन सक्ने भएकोले विवाहकोलागि उमेरको हदबन्दी तोकिएको बुझिन्छ । बालविवाहको समस्या नेपालको तराई मधेस क्षेत्रमा बढी छ । शिक्षित समुदायमा भन्दा चेतनास्तर कम भएका, आर्थिक सामाजिक रुपमा पछि परेका मुसहर, चमार, डोम, मुस्लिम जस्ता समुदायमा बढी पाईन्छ । यादव लगायत अन्य समुदायमा पनि धेर थोर समस्या छ । त्यसो त नेपाल विश्वमा बालविवाह बढी हुने देश मध्ये दशौं स्थानमा पर्दछ । दक्षिण एशियाली मुलुक मध्ये नेपालको वालविवाह प्रजनन स्वास्थ्यका कारण मातृ मृत्युदर बढी छ । युनिसेफले सन् २०१५ मा गरेको सर्वेक्षण अनुसार सप्तरी वालविवाह बढी हुने जिल्लाहरुमा पहिलो स्थानमा पर्दछ । नेपालमा हुने बार्षिक वाल विवाहको ८३ प्रतिशत सप्तरी जिल्लामा  हुने गर्छ । राष्ट्रिय समस्याको रुपमा रहेको वाल विवाह प्रदेश न.२ मा अझ जटिल समस्याको रुपमा छ । ७. किन हुन्छ वालविवाह ? ७.१ अभिभावकहरुले घरमा काम गर्ने मान्छेको संख्या बढाउने छोराको कमै उमेरमा  गर्ने गरेको पाईन्छ । ७.२ कम उमेरमा विवाह गर्दा पुण्य प्राप्त हुन्छ भन्ने परम्परागत विश्वास तथा दाईजो, छोरीको उमेर बढदै जाँदा दाईजोको रुपमा बढदै जान्छ । छोरीको कम उमेरमा विवाह गर्नुको मुख्य कारण मध्ये दाईजो पनि पर्छ । ७.३ गरिबी र विभेदका कारणले छोरीको वालविवाह भएको देखिन्छ । ७.४ अभिभावकमा शिक्षा तथा चेतनाको कमि, यौन तथा प्रजनन स्वास्थ्यको वारेमा जानकारी नहुनु । ७.५ समुदायका मानिसहरुले सामाजिक मूल्य ईज्जतका कारण वालविवाह विरुध्द बोल्न सकेका छैनन्, बाल विवाह विरुध्दका उजुरीहरु दर्ता भएका छैनन् । राजनीतिक अवस्थाका कारण वालविवाह विरुध्दका अभियान प्रभावकारी हुन सकेका छैनन् । ८. बाल विवाहले निम्त्याउने समस्या : वालविवाहले निम्त्याउने समस्याको बारेमा धेरै अभिभावकलाई जानकारी छैन । केही गैरसरकारी संघ संस्थाले धेर थोर चेतनामूलक कार्यक्रम गरेको पाईन्छ । अब, तीन तहको सरकार यसमा जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्छ । बालविवाहले निम्त्याउने समस्या यस्ता छन् : ८.१ शारीरिक तथा मानसिक रोगको शिकार हुने ८.२ बाल विवाह पछि स्वास्थ्य र शिक्षाको अधिकार समेत गुमाउँछन् ८.३ घरमा विभेद र घरेलु हिंसा सहन बाध्द हुने, कामको बोझ बोक्नु पर्ने ८.४ कमै उमेरमा सन्तान जन्माउँदा आमा शिशुको मृत्यु हुने जोखिम उच्च हुन्छ । अपाङ्गता भएका सन्तान जन्मन सक्छन् । ८.५ विवाह पछि वालवालिकाको पढाई विग्रन्छ, विरामी हुने, छिटो विवाह गर्दा छिटो वच्चा जन्मने, वालवालिकाको मानसिक शक्तिको विकास हुनवाट बञ्चित हुन्छ । ८.६ गर्भअवस्था तथा सुत्केरी हुँदा घर परिवारवाट सहयोगी व्यवहार नहुने, शारीरिक तथा मानसिक विकास हुन पाउँदैन । ८.७ व्यवहारिक कुरा बुझ्न नपाउँदै जीवन वर्वाद हुन सक्ने यौनाङ्गलाई हानी हुन सक्ने र परिवार चलाउन गाह्रो हुने । ९. समस्या समाधानका उपायहरु : वालविवाह, वाल अधिकार, महिला अधिकार, मानव अधिकारको हनन् मात्र होईन विकास र समृध्दिको बाधक हो । तसर्थ यसको उन्मुलन गर्नु पर्ने हुन्छ । मुलुक संघियतामा गै सकेको अवस्थामा अव समाजवाट यस्ता कुप्रथाहरु सदाकालागि हटाउनु पर्छ । स्थानीय, प्रदेश र संघ सरकारले चाहेमा यो सम्भव छ । अन्य सरोकारवालाले पनि यसमा हातेमालो गर्नु पर्छ । यसका लागि- ९.१ वालविवाहको उन्मुलन गर्न विशेष गरी छोरीहरुको सशक्तिकरण गर्नुपर्ने हुन्छ । ९.२ वालविवाह पुरानो परम्परागत संस्कृति र  जातिय व्यवस्था संग जोडिएको विषय हो सर्वप्रथम त्यस्ता कुसंस्कार र जातीय व्यवस्थालाई बदल्नु पर्छ । ९.३ समुदायसंग नजिक स्थानीय सरकार रहन्छ, उसले वालविवाह विरुद्ध अभियान सञ्चालन गर्नु पर्छ । वाल विवाह गर्ने, गराउनेलाई सामाजिक बहिष्कार गर्न सक्नु पर्छ । ९.४ वाल विवाह र दाईजोको समस्या बढी भएको समुदायका मानिसले विना दाईजो उमेर पुगेर विवाह गर्दा सम्मान गर्नु पर्छ । वाल विवाह एवं दाईजोमुक्त राष्ट्रिय अभियानले यस्ता कार्य गर्दै आईरहेको छ । वाल विवाह गैह्र कानुनी हो, यसवाट वालवालिकाको शारीरिक, मानसिक र शैक्षिक विकासको अवसर र रहर सवै गुमाउनु पर्छ भन्ने जान्दा जान्दै पनि यस्तो गलत परिपाटीका विरुद्ध संगठित आवाज उठन सकेको छैन । तसर्थ,  राज्यले कानूनमा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न कन्जुस्याइँ गर्नु हुन्न । ✍️ डा. सि.के. सिंह  वालविवाह एवं दाईजोमुक्त नेपाल राष्ट्रिय अभियान संयोजकवाट १० नेपालमा वालवालिकाको अवस्था : १०.१ विशेषगरि तराईका जिल्लाहरुमा तुलनात्मकरुपमा वालविवाह बढी हुने गरेको अध्ययनले देखाएको छ । विकट पहाडी जिल्ला अछाम, बैतडी, बाजुरा, डोटी, बझाङ आदिमा पनि वालविवाहको दर उच्च पाईन्छ । १०.२ पछिल्लो अध्ययनहरुले देखाए अनुसार नेपालमा वालविवाह बढनुको एक प्रमुख कारण सूचना प्रविधिको बढदो दुरुपयोग पनि हो । सामाजिक सञ्जाल, फेसबुक, ट्वुटर, वाईफfई तथा इन्टरनेट मार्फत् लुकिछिपी अश्लिल भिडियो हेर्ने, शेयर गर्ने आदि जस्ता कारणले वाल विवाह बढेको तथ्य सार्वजनिक भएको छ । स्रोत : डिजीटल पत्रिका महिला सम्वन्धी सन्दर्भ सामग्रीहरु : ~~~~~~~~~~~~ १. मुलुकी अपराध संहिता, २०७४ २. बालबालिका सम्बन्धि ऎन, २०७५ ३. UN Convention on the Rights of the Child 1989 (CRC), CRC children’s Act 1992 ४. www. Goole.com र अनलाइन खबरहरु ५. राजापुर नगरपालिका वार्ड नं.५ स्थित श्री किसान माध्यमिक बिद्यालय, खल्लाजयपुर र श्री पद्म कुमारी माध्यमिक बिद्यालय, राजापुर, बर्दियामा आ.व.२०७६\०७७ को वडास्तरीय सचेतना कार्यक्रममा प्रमुख प्रशिक्षक प्रमुख प्रशासकीय अधिकृत श्री बसन्तराज अधिकारीको प्रशिक्षण सामग्री वाट साभार । लेखक परिचय : ~~~~~~~~~~ बसन्तराज अधिकारी अधिवक्ता - एम.ए. (राजनीतिशास्त्र) ; बी.एल:, (कानुन) बी.ए. (अर्थशास्त्र/राजनीतिशास्त्र) ; बी.एड. (शिक्षा) हाल : उपसचिव, नेपाल सरकार कामकाज : प्रमुख प्रशासकीय अधिकृत राजापुर नगरकार्यपालिका कार्यालय राजापुर,  बर्दिया । ✍️ रचनाकार : बसन्तराज अधिकारी घोराही, दाङ

Comments