१८५. ॐ अर्थात त्रिदेव

 ॐ अर्थात त्रिदेव 

✍️ वसन्तराज अधिकारी
                        घोराही उपमहानगरपालिका, दाङ                

ॐ साङ्केतिक चिन्ह हो । यसलाई ‘ओम’ भनिन्छ । ॐ तीन शब्दको संयोजनवाट निर्मित छ । ती शब्दहरू हुन् ‘अ’, ‘उ’ र ‘म’ अर्थात् त्रिदेव ब्रम्हा, विष्णु र महेश्वर । हिन्दु धर्मका अनुयायीहरू ॐ लाई अत्यन्त श्रद्धा, आस्था र विश्वासका साथ लिन्छन् । यसको मन्त्रोच्चारण र नित्य जपले मात्र पनि परमात्मा परमेश्वरको स्वरूपलाई बुझ्न सकिने विश्वास गर्छन् । हिन्दु धर्मशास्त्रहरूमा पनि ॐ अति पवित्र शब्द ब्रह्मकोरूपमा लिईन्छ ।

ॐ एउटा अक्षर हो । अक्षरको अर्थ क्षय नहुने वा नाश नहुने अविनाशी भन्ने बुझिन्छ । प्रकृतिका हरेक चिज वस्तुहरू एक न एक दिन विलय वा समाप्त हुन्छन् । विभिन्न स्वरूपमा रूपान्तरण भई मुलस्वरूपमा रहँदैनन् । एक दिन प्रकृति पनि प्रलय हुन्छ । पृथ्वीको पाप नाश गर्न पृथ्वी प्रलय हुँदा विष्णुले मत्स्य अवतार धारण गरेको तथ्य विष्णु पुराणमा पाईन्छ तर ॐ अविनाशी छ । यो महाविद्या हो । संसारमा सवै चिज वस्तु नाशवान भएर पनि विद्या नाशवान छैन । स्वयं सरस्वतीको मुखारविन्दवाट उत्पन्न ब्रह्म वाक्य ॐ हो । ऋषि, महर्षि, गुरू सवैले ॐ को प्रथमोच्चारण मात्र वाट आफ्नो वाक्य ध्वनी प्रकट गर्दछन् । सनातन धर्म वा बैदिक धर्मका समस्त परिवारलाई ॐ कार परिवारकोरूपमा विश्व हिन्दु महासंघले लिएको पाईन्छ । नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ४ मा नेपाल हिन्दु संबैधानिक, राजतन्त्रात्मक, अधिराज्य रहेको तथ्य उल्लेख गरिएको भए पनि जन आन्दोलन भाग २ २०६१/०६२ र बृहत शान्ति सम्झौताको परिणामस्वरूप प्राप्त नेपालको संविधान, २०७२  भाग १ प्रारम्भिक धारा ४ नेपाल राज्य उपधारा (१) नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्म निरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो ।
स्पष्टीकरण : यस धाराको प्रयोजनको लागि "धर्म निरपेक्ष" भन्नाले सनातनदेखि चलिआएको धर्म, संस्कृतिको संरक्षण लगायत धार्मिक, सांस्कृतिक, स्वतन्त्रता सम्झनुपर्छ ।

जव यो चराचर जगत निर्विवाद वा चेतनाशून्य थियो । केवल प्रकृतिको मात्र उपस्थिति थियो । जीवनसत्ताको उपस्थिति थिएन । जीवसत्ताको अस्तित्व भए पछि पनि प्रकृतिप्रति वा मातृसत्ताप्रति मात्र चराचर जगतका प्राणीहरू भक्ति भाव राख्दथे । अर्थात् ज्ञानको अभ्युदय भएको थिएन । मानव सभ्यताको उषाकालमा परब्रम्हरूपी महाविद्याको उदय भयो । हिन्दुहरूले भारतवर्षमा विकास गरेको स्वस्तीक चिन्ह र ॐ कारको सत्ता अत्यन्त प्राचीन छ । यसको पूर्ण विकास वैदिक यूगमै भएको थियो । वैदिक यूगवाट पौराणिक यूग हुँदै अहिले विज्ञान र प्रविधिको यूगमा विकास भईरहेको छ ।

हिजो आजका नवयूवक यूवतीहरू वा धर्मशास्त्रलाई गहनरूपमा चासो नराख्नेहरूलाई यो शब्दको सार्थकता बुझ्न कठन हुन्छ । वेद, पुराण,उपनिषद्,रामायण, महाभारत, गीता आदि धर्मग्रन्थ र संहिताहरूमा ॐ को प्रयोग अति सम्मानित र उच्च भावमा प्रयुक्त भएको पाईन्छ । ॐ ले मानवलाई पशुवाट मानव बन्ने उत्प्रेरणा जागृत गर्दछ । संसारलाई बुझ्न, ईश्वरलाई चिन्न सत्व, रज, र तम त्रिगुणहरूलाई जाँच्न सिकाउँछ । त्यसैले हिन्दुहरू ॐ शब्दवाट मानव प्रयोगको वेद भाषा विकास वा उत्पन्न भएको ठान्दछन् । सर्वप्रथम ॐ प्रकृतिको अन्धकारवाट ॐ कारकोरूपमा आकाश मार्गमा अवतरण भयो ।

वर्तमान सन्दर्भमा कोरोना भाईरस (कोभिड - १९) को संक्रमण, रोकथाम र नियन्त्रणको प्रमुख उपाय बन्दाबन्दी (लकडाउन) र प्रतिरोधात्मक क्षमता (Immune Power) बढाउनु हुन्छ जुन कोरोनाको औषधि नभएको अवस्थामा प्रत्येक दिन बिहान मात्र ५-१० मिनेट सम्म भएपनि ॐ कारको उच्चारण, प्राणायाम ध्यान अचुक औषधि अर्थात्  रामबाण जस्तैः काम गर्दछ तसर्थ हिजोआज यश प्रकारको अध्यात्मिक विधि प्रविधिहरुको उपयोग गर्नु धेरै लाभदायक रहेको तथ्य घाम जत्तिकै छर्लङ्ग रहेको छ ।

अधिकांश मानिसहरूलाई धर्मको विषय व्यर्थ जस्तो लाग्छ । यस्तो प्रचलन आज मात्र होईन, गुरू वृहस्पतीका मेधावी शिष्य चार्वाकले नास्तीक दर्शन प्रतिपादन गरेको समयदेखि समर्थन र बिरोधाभाष दुबै बिद्यमान छ ।  चार्वाकको नास्तिक दर्शनमा भनिएको छ – “स्वर्ग, नर्क, आत्मा–परमात्मा, इहलोक–परलोक सवै व्यर्थ हुन् । वर्णाश्रमका क्रिया पनि फल दिने होईनन् । आगोमा घिऊ हवन गर्नु, वेद पाठ गर्नु, तिलक ~भष्म धारण गर्नु केवल बुद्धि र पौरूषत्वहिन पुरूषहरूकालागि उनिहरूका पूर्वजहरूले जीविकाका निमित्त बनाईदिएका साधन मात्र हुन् । यो धारणालाई देवताहरूले उठ्नै नसक्ने गरी ढलाई दिए तर अहिले मानिसमा यसकै प्रभाव बढी परेको छ । हुन पनि हो शास्वत नियममा जुन कुरा पूर्ण निषेध छ , त्यसैलाई मानिसले पालन गर्न खोज्छ । यो मानविय स्वभाव हो । भोको पेट भर्न खोज्छ, पेट भरिएकाले भोक जगाउन चाहान्छ । सृष्टिमा मानव मात्र ज्यादै असन्तुष्ट प्राणी हो । असन्तुष्ट नभए विकास पनि त हुँदैन भन्ने केही विकासवादीहरूको धारणा पनि छ तर असन्तुष्ट भएर मात्र विकास हुने पनि त होईन । त्यसैले मानव प्राप्तीमा सन्तुष्ट भई पूर्ण प्राप्तीकोलागि अभिमत हुनु पर्छ ।

भोगवादी सामाजिकआर्थिक अवस्थाको विद्यमानतामा अध्यात्मवादी धार्मिक दर्शनका बिषय आदर्श लाग्न सक्छन् परन्तु यथार्थ प्रायः सहज हुँदैन पनि । अध्यात्मिक तथा आदर्श जीवनशैली आरोग्य स्वस्थ्यता र दीर्घजीवन यापनका  ब्रह्मास्त्र वा क्षेप्यास्त्र हुन् भन्दा अत्युक्ति नहोला । प्राकृतिक जीवन शैलीवाट अप्राकृतिक, सात्विक जीवनयापन परित्याग गरि तामसी खानपानले रोगहरुको जड बन्दछ । परिणामस्वरूप अनेकन रोग व्याधिको जन्म भै कष्टकर जीवन वा अल्पायुमै मृत्युबरण गर्नुपर्ने अवस्था हामीले देखे भोगेकै हो तसर्थ सादा जीवन उच्च बिचार : पालन सदा सदाचार जस्तो अब्बल अरु के हुन् सक्ला र ?

ॐ को महत्व वैदिक कालदेखि कलिकालसम्म घटेको छैन । यो अखण्ड छ । महाविद्या सवै विद्याहरूमा श्रेष्ठ छ । सवैको शीर्षस्थानमा अवस्थित छ । स्वयं प्रकाशपुञ्ज छ । स्वतःस्फूर्त छ । निर्वन्धन एवं ब्रह्ममय छ । आलस्य र दुःख, भय र क्रोध जस्ता विकारहरूवाट टाढा छ । यस संग सर्वसत्ता छ । चिन्मय स्वरूप छ । प्रकृति स्वयं यो संग मिल्न आउँछिन् । ॐ शिव स्वरूप छ । विष्णु स्वरूप छ । ब्रम्हा स्वरूप छ । गुरू स्वरूप छ । प्रकृतिलाई धारण गरेको छ । वेदलाई पालन गरेको छ । सर्बेभवन्तु सुखिन सर्वे सन्तु निरामया । सर्वे भद्राणी पश्यन्ती मा कश्चीद् दु:ख भाग्जन ।ॐ असतोमा सदगमय, तमासोमा ज्योर्तिगमय, मृत्योर्मा अमृतोदगमय, ॐ निर्विकार र निराकार छ । ॐ पुर्ण मद: पुर्ण मिदम् पुर्णतः पुर्ण मुदेच्यते । पुर्णश्य पुर्णमादाय पुर्णमेवा बशिष्यते ।।

सन्दर्भ सामाग्री

१. नेपाल अधिराज्यको संविधान, २०४७
२. नेपालको संविधान, २०७२
३. धार्मिक/ नैतिक लेख गोरखापत्र, राष्ट्रिय दैनिक २०५९ साल मंसिर सम्पादकीय स्तम्भमा प्रकाशित आफ्नै लेख ॐ अर्थात् त्रिदेव पुनः थप परिमार्जन सहित ।                                                                      ४. My autobiography श्री वसन्तराज अधिकारी र                      ५. विभिन्न पत्रपत्रिकामार्फत प्रकाशित आफ्नैैं लेेेख वाट ।

लेखक : बसन्तराज अधिकारी
स्थायी ठेगाना : घोराही, दाङ 
रचना मिति : २०७७\०५\२७\७ शुभम् ।                                    @ कीर्तिपुर, काठमाण्डौं ।            

Comments