२०६. दुर्गा_सप्तशती : चण्डी (सरल नेपाली भाषामा)

 दुर्गा_सप्तशती : चण्डी

(सरल नेपाली भाषामा)                  

✍️ पुज्यनिय आमा भावना अधिकारीको साथमा म जेठो छोरा वसन्तराज अधिकारी, घोराही, दाङ 

              

दुर्गा_कवच 

[सरल नेपाली भाषामा]


चण्डीकालाई नमस्कार छ । मार्कण्डेय भन्नुहुन्छ  "हे पितामह  ब्रह्माजी ! यस संसारमा सम्पुर्ण मानवहरुको रक्षा गर्ने पहिले कसैलाई पनि नबताईएको कुन तत्व छ मलाई कृपा गरेर बताईदिनुहवस ।"ब्रह्मा  जी आज्ञा गर्नुहुन्छ -  हे ब्राह्मण ! अत्यन्तै गोप्य र पवित्र भनिएको यो देवीको कवच हो । यसले सम्पुर्ण प्राणीको उपकार पनि गर्दछ । विश्वमा नवदुर्गा भन्ने प्रसिद्ध पाउने देवीहरुमा पहिली शैलपुत्री, दोस्री ब्रम्हचारिणी, तेस्री चन्द्रघण्टा, चौथी  कुष्माण्डा, पाँचौं स्कन्दमाता, छैटौ कात्यायनी, सातौं कालरात्री, आठौं महागौरी नबौं सिध्दिदात्री छन  । यी नामहरु  प्रजापिता  ब्रम्हाले राख्नु भएको हो । 


डढेलोमा परेर आगोले पोल्न लाग्दा समरभुमी बिच शत्रुले घेरिदा शंकट एवं आपद बिपद  पर्दा र डरले आकुलव्याकुल भएका बखत देवीको शरण परेपछि सुरक्षित होईन्छ । जुन व्यक्ति यो दुर्गाको कवच पाठ गर्दै देवी भवानीको शरणमा पर्दछ, युद्धवाट आईपर्ने समस्त संकटहरु र पिर पीडा डर आदिका खतराहरु स्वत: टरेर जान्छन । 

मनमा भक्तिभाव राख्दै देवताहरुका पनि आराध्ददेवी भवानीको जसले स्मरण गर्दछ  भगवतीले उसलाई सुरक्षित तुल्याउनु हुन्छ ।   देवी चामुण्डाको बाहन प्रेत हो, बाराहीको भैंसी, इन्द्रायणीको ऎरावत हात्ती र बैष्णवीको गरुड बाहनहरु हुन । माहेश्वरीले साँढे कुमारीले मयुर चढने गर्छन । हातले कमल समाउने हरिपृया लक्ष्मी कमलमा नै बसेकी छन । गोरी वर्ण भएकी पार्वती साँढेमा (बृषभमा) बसेकी छन भने सम्पुर्ण गर गहनाहरु पहिरिएकी ब्रम्हाणी हाँसमाथी सवार छिन । 

यी सबै देवी माताहरु अनेकौं शस्त्रहरु लिएका र गहनाहरु पहिरिएर राम्रा भएका छन । सबै देवीहरुले शंख, चक्र, गदा, शक्ति, हलो र मुसल समाएका छन । उनीहरुको अनुहार पनि रिसले चुर भएको छ । सबै देवी माताहरु रथमा सवार छन । देवीहरुले खेटक (फलेक) बञ्चरो, टुप्पो तीखो भएको तोमर, भाला (कुन्त), त्रिशुल र साङ्ग्रधनु आदि असल हतियारहरु बोकेका छन । 

दैत्यहरुको देहनाश  गर्न वा उनीहरुलाई मार्न आफ्ना भक्तजनहरुलाई निर्भय तुल्याउँन देवताहरुको हित गर्न यी देवी माताहरुले हात हतियार समाएका हुन । हे देवी ! तपाईं रौद्ररुप धारण गर्नु हुन्छ । ज्यादै पराक्रमी पनि हुनुहुन्छ । ठूलो उत्साह र बलद्वारा सम्पन्न हुनुभएको छ । भयको नाश पनि गर्नु हुने हजुरलाई नमस्कार छ । 

हेर्दा खेरी डरलाग्दो रुप भएकी शत्रुलाई तर्साउने देवी भगवती हुनुहुन्छ । पुर्व पट्टीको दिशामा इन्द्राणी देवीले र आग्नेय दिशा तर्फ अग्नि देवताले रक्षा गरून् । बाराहीले दक्षिणतर्फ, खड्गधारिणीले नैॠर्त्य तर्फ, पश्चिममा बारुणीले बायव्यमा सिंहवाहिनीले रक्षा गरून् । उत्तर दिशा तर्फ कौवेरी र इशानमा शुलधारिणीले रक्षा गरून् । माथी पट्टि  (उर्ध्व दिशामा) वैष्णवीले रक्षा गरून्  । 

शव मुर्दा बाहन भएकी चमुण्डाले दशैं दिशा भरी रक्षा गरिरहुन  ।  जयाले  अगाडि पट्टि र  बिजयाले पछाडी पट्टि रक्षा गरून । शरिरको दायाँ भाग अजिताले, बायाँ भागको अपराजिताले शिखाको उधोतिनीले अनि मस्तक (टाउको) को रक्षा उमादेवीले गरून् । मेरो निधारको मालाधरी नाम गरेकी देवीले र यशस्विनी देवीले मेरा आँखिभौंहरुको रक्षा गरून् । आँखिभौंको बीच भागमा त्रिनेत्रा र नाकका पोरालाई यमघण्टा नाम गरेकी देवीले रक्षा गरून् । 

शाकिनीले दुबै आँखाका मध्यभागमा तथा दुबै कानमा द्वारबासिनीले रक्षा गरून् । कालिका देवीले दुबै गालाको र शाकरी देवीले दुबै कानका जर्बुटाको रक्षा गरून् । दाँतहरुको रक्षा कौमारीले गरून् । घाँटी (कण्ठ प्रदेश) को चण्डिकाले रुद्रघण्टीको चित्रघण्टाले तथा तालु (माथिल्लो दाँतको फेदको प्रदेश-च्यापु) को महामाया देवीले रक्षा गरून् । 

चिउडोलाई कामाक्षिले  बोलीलाई सर्वमङगला देवीले रक्षा गरून् । भद्रकालीले घाँटीमा र पृष्ठबंश (मेरुदण्ड पिठिउँको मुल हाड) लाई धनुर्धरीले रक्षा गरून् । घाँटीको बाहिर पट्टि निलगृवा देवीले , कण्ठ नलिका (निल्ने ढोडे नशो) मा नलकुवरी देवीले बचाउ गरून् । खडगहस्ता (खड्गीनी) ले दुबै काँधको र दुबै बाहु (पाखुरा) को बज्रधारिणीले रक्षा गरून् । दुबै हात र औंलाहरु, नङ र कोखाहरुको क्रमशः दण्डिनी, अम्बिका, शुलेश्वरी र कुलेश्वरी देवीहरुले रक्षा गर्दै जाउन । कुचद्वय (दुबैस्तन) को रक्षा महादेवीले गरून् । ललितादेवीले छातिको शोक बिनाशिनीले मनको र शुलधारिणी देवीले पेटको रक्षा गरून् । कामीनी देवीले नाभि (नाईटो) भागको, गुह्य (गुप्तांग)को गुह्येश्वरी देवीले, पुतना र कामिकाले लिंग (मेढ्र) को तथा महिषबाहिनी देवीले गुदद्वारको बचावट गरुन । 

कम्मर भागको भगवतीले, घुँडाहरुको बिन्धवासिनीले रक्षा गरून् । मनले इच्छा गरेका सम्पुर्ण कुराहरु दिने भएकी महाबला देवीले जाँघको रक्षा गरून् । नारसिंही देवीले गोलीगाँठोको, गोडाको माथिल्लो भागको तैजसी र कुर्कुच्चाको श्रीदेवीले रक्षा गरिदिउन । अनि तलवासिनी देवी पैतलामा बाँस गरून । द्रष्टाकराली देवीले नङहरुको, उर्ध्वकेशिनीले केशहरुको (कपालको) रौं उम्रने प्वाल (रोम कुप) मा कौवेरी देवीले र बागेश्वरी देवीले छालाको रक्षा गरून् । रगत, मज्जा (मासी), बोसो, हाड, मेध (मासु) आदिको पार्वतीले र  आन्द्राको कालरात्रीले तथा पित्तको मुकुटेश्वरी देवीले रक्षा गरून् । 

मुलाधार आदि कमलकोशहरुमा पद्मावती देवीले कफमा चुडामणी देवी बसिकन रक्षा गरिदिउन । नङको तेजलाई ज्वालामुखी देवीले र कुनै शस्त्रास्त्रद्वारा पनि भेदन गर्न नसकिने भएकी अभेद्या देवीले शरिरका सबै मर्मसन्धि (जोर्नी) हरुमा रहेर रक्षा गरून् । हे ब्रम्हाणी देवी ! तपाईले मेरो धुक्र (वीर्य) को रक्षा गरिदिनुस । छत्रेश्वरीले छायाको र मेरा अहंकार, मन र बुद्धिको रक्षा धर्मधारिणीले गरिदिउन । बज्र हातमा लिएकी बज्रहस्ता नाम गरेकी देवीले मेरो प्राण (छातीमा रहने)  अपान (गुदद्वारमा रहने),व्यान (शरीर भरी रहने), उदान (घाँटीमा रहने) र समान (वायु) को रक्षा गरून् । रस, रुप, गन्ध, स्पर्श यी पाँच बिषयहरुको अनुभव गर्दाका बखत योगीनी देवीले र म आफू भित्र रहेका  सत्वगुण, रजोगुण, तमोगुणहरुको रक्षा कार्यका नारायणी देवीले गरून् । 

बाराहदेवकी शक्ति बाराहीले आयु बढाउन । धर्मको रक्षा बैष्णवी देवीले गरून् । चक्र हातमा लिएकी चकृणीले यश, कीर्ति, लक्ष्मी (ऎश्वर्य), धन र बिद्यासमेतको रक्षा गरून् । इन्द्राणी देवीले मेरो गोत्र (कुल) को, चण्डीका देवीले पशुधनको र महालक्ष्मीले छोरा छोरीहरुको एवं भैरवी देवीले मेरो पत्नीको रक्षा गरून् । मेरो गल्ली गोरेटो सुपथा देवीले र राजमार्ग क्षेमकरी देवीले रक्षा गरून् । महालक्ष्मीले मलाई राजदरबारमा रक्षा गरून् । सर्वव्यापिनी बिजया देवीले सम्पुर्ण भयहरुवाट मलाई जोगाउन । जुन अङ्ग प्रत्यङ्ग र अवयबहरुको बारे यश दुर्गा कवचले बताएको छैन ती सबैको हे बिजयशालिनी ! तथा पापनाशिनी देवी ! त्पाईले नै रक्षा गरिदिनुहवस । यदि कुनै मानिसले आफ्नो शरिरको भलाइ चाहेको छ भने   कवच पहिरेर मात्र हिंडडुल गर्ने गरोस । बेगर कवचले एक पाईला पनि नहिडोस । यात्रा गर्दा पनि यस कवचको पाठ गर्ने नै गर्नुप्र्दछ । जहाँ जहाँ मानिस कवचले ढाकिएर बस्छ त्यहाँ त्यहाँ उसलाई धन प्राप्ति हुन्छ । सम्पुर्ण कामनाहरुको सिध्दी गरिदिने जितबाजी हात लाग्छ । जसले जुन जुन अभिष्ट बस्तुको चिन्तन गर्दछ उसले ती ती कुरा अवश्यै पाउनेछ । त्यस मान्छेले यस पृथ्वीमा अतुलनीय ऎश्वर्यको भोग गर्न पाईरहनेछ । कवच लगाएको मान्छे निर्भीक एवं भयरहित हुन्छ । उसले लडाई अवश्य जित्दछ तथा उसलाई तिनै लिकभरी सम्मानसमेत गरिन्छ ।

देवताहरुले पनि प्राप्त गर्न गाह्रो पर्ने यो देवी कवचलाई सधैभरी बिहान,दिउँसो र साझमा श्रद्धा साथ पाठ गर्ने गरोस् । उसलाई दैवी गुणहरु प्राप्त हुनेछन् र  आफू त्रिलोक बिजयी  बन्न पाउनेछ  । (यसरी श्रद्धा पुर्वक नित्य बिहान, मध्याह्न र साझमा देवी कवचको पाठ गरिसकेपछि) 

मानिसमा देवी कला ( देवताहरुमा रहने गुणहरु) को प्राप्ति हुन्छ । तीनै लोक 

(स्वर्ग मर्त्य पाताल) भरी उसले कसैसँग हार खानु पर्दैन । उसलाई अकाल मृत्यु (आगो-पानी-बिजुली-सर्प-जनावर  आदिवाट  हुने मृत्यु) आई पर्दैन सय बर्ष  भन्दा बढी बाँच्न पाउँछ । 

दादुरो, बिफर, लुतो,ठेउला, कुष्टरोग, खटिरा आदि   र तिनका सम्पुर्ण व्याधिहरु नाश  हुन्छन् । भाङ, धतुरो, अफिम, चरेस आदि स्थावर  बिषहरु तथा सर्प विच्छी आदिको टोकाइबाट पैदा  हुने जङ्गम बिषहरु एवं अफिम र तेल आदि रसायन पदार्थ मिसाएर बनाएको कृतिम बिषहरुको पनि कुनै असर पर्दैन । टुनामुना जादु जन्तर  मन्तर  आदिवाट हुन सक्ने अनिष्टहरु मान्छेको छातीमा झुण्ड्याईएको देवीको कवच देख्नासाथै असर्हिन हुन गै बिनष्ट हुन्छन । यति मात्र होईन पृथ्वीभरी घुम्ने (भुचर ग्राम देवताहरु) आकाशमा डुल्ने आकाशदेवी, पानीवाट पैदा हुने नाग  र  उपदेशवाट मात्र खडा हुने निच देवताहरु , आफू जन्मदादेखी नै प्रकट भएका देवता, कुल देवता, माला (कण्ठमाला) डाईना (डाकिनी) बोक्सी (शाकिनी) आकाशमा परिभ्रमण गर्ने बलिया र डरलाग्दा किचकन्नी डुलुवा इत्यादि (डाकिनीहरु) ग्रह, भुत, पिशाच, यक्ष, गन्धर्व, राक्षस, ब्रम्हराक्षस, बेताल, कुष्माण्ड, भैरव आदि अनिष्टकारक देवताहरु पनि छातीमा राखेको कवच देख्नासाथ भागी हाल्छन । यो कवच धारण   गर्ने मानिसले राज्यवाट (सरकारवाट) सम्मान, पदवी, मान प्राप्त गर्दछ । मान्छेको तेज बढाउने उत्तम चीज  देवी कवच नै हो । 


पहिले यो देवी कवचको पाठ गर्नु पर्दछ । पाठ गरिसकेपछि दुर्गा सप्तशति  (चण्डी) को पाठ  गरोस । यसो गर्ने मान्छेले संसारमा सुनाम  फिजिनेछ र सुकीतिले बिभुषित  हुन पाउनेछ  । जवसम्म यश ब्रम्हाण्डमा पृथ्वी माताले  अचल  (पहाड) बन, कानन धारण  गर्लिन तब  सम्म देवी कवच   पाठ गर्ने व्यक्ति पनि पुत्र पौत्रादि सन्तानले  सुखी भै बाँचिरहनेछ । पहिले  देवी कवच अनि दुर्गा  सप्तशती (चण्डी) पाठ गर्ने मान्छेले आफ्नो मृत्यु पश्चात् पनि देवताहरुलाई समेत दुर्लभ मानिएको परम स्थानमा जान पाउनेछ । त्यहाँ उसले सुन्दर र आकर्षक शरीर धारण गरेर भगवान शिवजीका साथमा आनन्दको उपभोग गर्नेछ ।

दुर्गा कवच पूरा भयो ।

जुन बेला कल्पान्तर प्रलय थियो । भगवान  श्री बिष्णु समुन्द्र वीच शेष नागमाथि योग निद्रामा रहि मस्तसंग सुती रहनु हुन्थ्यो । त्यसैबेला देवताहरुको कामहरू लाई सफल गराउँन उनै योग निद्रा देवी भगवती नित्या भन्ने नाउँले लोकमा प्रकट हुनुभयो । कल्पको अन्त्यमा जुनबेला सम्पुर्ण जगत एउटै महासागरमा डुबिरहेको थियो । त्यसैबेला सबैका स्वामी भगवान श्री बिष्णु शेष नागको शैयामा (बिछौनामा)  योग निद्राको आश्रय लिई शुकला गर्नु भएको थियो । त्यसै बखत भगवानका कानेगुजीवाट डर लाग्दा #मधु_कैटभ नाम गरेका दुई दैत्य प्रकट भएका थिए । #शेषशायी_भगवान #बिष्णुको नाभिवाट कमल उमर्यो । सोही कमलको फुलमाथी प्रजापति ब्रम्हा प्रकट भै बसेका थिए । ती दुबै दुष्ट दानव मधु र कैटभले ब्रम्हाजीलाई मार्न खोजे । कमल माथि बसिरहेका ब्रम्हाजीले दुबै मधु र कैटभ दैत्य आफुलाई मार्न अगाडि सर्दै रहेको देखे । जनार्दन बिष्णु पनि निद्रामा मस्त भएको चाल पाएपछि ब्रम्हाले एकाग्र चित्त लगाई योगमाया भगवतीको ध्यान गरेर महामायालाई खुशी तुल्याए । 

हरिको आँखा भित्र घर जमाएकी यस चराचर जगतलाई धारण गर्ने, पालन गर्ने संहार गर्ने काम पनि यिनवाटै हुने गरेको छ । यिनी प्रभु श्री बिष्णुको महा तेज छिन । ब्रम्हाणीले बिश्वेश्वरी निद्रा भगवतीको श्री बिष्णु लाई बिउझाउँना खातिर एकाग्र चित्तले आराधना गर्न थाले । 

ब्रमोवाच [ब्रम्हाजीले भन्नुभयो] हे देवी ! तिमी स्वाहा, तिमी स्वधा, प्रणव 'अ उ म' 'ओँ' यी  तीन मात्राका रूपमा तिमी नै  अवस्थित छौं । जुन बिशेष रुपले उच्चारण हुँदैन । त्यो नित्य अर्धमात्रामा तिमी नै रहेकी छौं । सन्ध्या, सावित्री र सबैकी जननी पनि तिमी नै हौं । यश संसारलाई शृजना गर्ने धारणा गर्ने अर्थात जगतको सृष्टि  स्थिति  दुबै काम तिमीवाट नै हुने गरेको छ । हे देवी ! तिमीद्वारा नै यश जगतको सिर्जना, पालना हुने गर्दछ र कल्पको अन्त हुँदा बिनाश समेत हुने गरेको छ । जगतको शृजनाका बखत तपाई सृष्टि स्वरुपकी, पालनाका बखतमा स्थिति रुपकी  संहारका समयमा संहृति रुपकी हुनुहुन्छ । महा विद्या, महामाया, महामेघा, महास्मृति, महामोह, महादेवी र महासुरी नामका देवी रुप पनि हजुर कै हो । 

सत्व, रज,तम आदि तिनवटै गुणहरु पैदा गर्ने सबैकी प्रकृति पनि तिमी  नै हौं  । बोध (ज्ञान स्वरुपा बुद्धि र ईश्वरी श्री र -ह्री  पनि तपाई नै हुनुहुन्छ । तपाईं लज्जा, पुष्टि, तुष्टि शान्ति र क्षान्ति पनि हुनुहुन्छ । डरलाग्दो खड्ग बोकेकी, शुल लिएकी अनि गदा र चक्र पनि समाउने  गर्नुहुन्छ । शंख लिनु हुन्छ धनुर्वाण, भुसुण्डि, परिध आयुध सहित पनि हुनुहुन्छ । तपाई खुव राम्री होईन परम सुन्दरी हुनुहुन्छ । संसारका सम्पुर्ण सुन्दर पदार्थहरु भन्दा पनि अति नै सुन्दर हुनुहुन्छ । परा अपरा सृष्टिकि परमेश्वरी पनि तपाईं नै हुनुहुन्छ । सबैकी आत्मा स्वरुपले रहेकी हे देवी ! जहाँ कहीं पनि सत् र असत् जे जति बस्तुहरु छन तिनमा जुन शक्ति छ त्यो शक्ति तिमी नै हौं । तिमी के कसरी स्तुति गरिन्छेउ र ? जसले यस जगतलाई सृष्टि गरे पालन गर्दैछन र संहार पनि गर्ने गर्दछन त्यस्ता भगवान नारायणलाई पनि जुन तिमीले निद्राका बशमा गरायौं त्यस्ती तिमीलाई स्तुति गर्न को पो यस संसारमा समर्थवान होला र ? विष्णु्लाई, म (ब्रम्हा) लाई, महादेव समेतलाई शरीर धारण गर्ने तिमीले नै गराएकी हौ । अनि तिम्रो स्तुति गर्ने शक्ति वा सामर्थ्य कसमा होला ? हे उदार स्वरुपा देवी ! भगवती ! यसरी तपाईको स्तुति म (ब्रम्हा) गर्दछु । 

हे देवी योगमाया ! तपाईले तुरुन्तै यी दुबै दुष्ट  दैत्य #मधु_र_कैटभलाई मोहको जालमा फँसाएर मस्त निद्रामा परिरहनु भएका #श्री_बिष्णुलाई बिउझाउँनुस साथै म (ब्रम्हा) लाई मार्न उद्यत दुबै दैत्यलाई मारी दिनकालागी वाहाँलाई उत्प्रेरित पार्नुस । यस प्रकारसंग ब्रम्हाजीद्वारा तामसी देवीको भजन, कीर्तन र स्तुति आदि गरिएका थिए । हे राजन ! त्यसैबेला मधु कैटभलाई मार्नकालागी श्री बिष्णुलाई जागा गराउँन ब्रम्हाजीले  देवी  योगनिद्राको स्तुति गर्नु भयो । शेषशायी भगवानको आँखा, मुख, नाक, हात, ह्रदय र बक्षस्थलवाट निस्केर अव्यक्त जन्मा भगवती ब्रम्हाजीका सामुन्ये खडा पनि हुनुभएको थियो । स्तुति गरि सकेपछि ब्रम्हाजीका सामुन्ने देवी योगमाया खडा भइन । भगवान श्री हरि पनि निद्रावाट व्युझिएर उठनु भयो । एकार्णव जलमा शेषनागको शैयावाट उठेर भगवान श्री बिष्णुले अत्यन्तै बलशाली पराक्रमी दुबै दैत्य मधु र कैटभलाई देख्नु भयो । दुबै दानव मधु र कैटभले क्रोध गर्दै राताराता आँखा पारिरहेका थिए । ती दुबैले ब्रम्हाजीलाई  मार्ने उद्योग पनि गरि रहेको देखे पछि शेष नाग माथि शयन गरी रहनु भएका भगवान श्री हरि पनि उठ्नु भयो र ती दुबैसंग लडन थाल्नु भएको थियो।

भगवान श्रीहरिले पाँच हजार बर्षसम्म हस्त युद्ध (मुठी प्रहारको लडाइ जस्लाई अहिले बक्सिङ्ग भन्ने गरिन्छ) गर्नु भयो । लडाई नटुङ्गिने बिचार गरेर महामायाले ती दुबै दैत्यलाई मोहित पार्नु भयो मोहवश मधु र कैटभले "हे बिष्णु ! तेरो वीरताले सन्तुष्ट भयौं, हामीसँग इच्छा भएको वर माग" भनेर प्रभु केशव लाई भने । यदि आज मेरा उपर तिमी दुबै दैत्य प्रसन्न भएका छौ भने मद्वारा नै मरिने होउ । यहाँ अरु बर्दानको कुनै मतलव छैन । म यत्तिकै बरदान माग्दछु । महामायाको मोहजालले जेलिएर ठगिएका दुबै दानव मधु र कैटभले त्यस बखत सबै जगत जलाम्मे देखेर कमलनयन भगवानसंग भने जहाँ पृथ्वी जलले डुबेको छैन त्यही ओभानो ठाउँमा लगेर हामीलाई मार । हे दैत्य हो तिमी दुबै ले भनेजस्तै नभिजेको ओभानो ठाउँमा नै मार्दछु । "हुन्छ"  भनी शङ्ख, चक्र, गदा बोक्नु भएका श्री हरिले भन्नुभयो । त्यस पछि आफ्नो जांघमा (तिघ्रामा) दुबै दैत्यलाई राख्दै चक्रद्वारा टाउको छिनाल्नु (काटिदिनु) भएको थियो । देवी महामाया ब्रम्हाजीको स्तुति ले स्वयं उत्पन्न भएकी थिईन । उनका प्रभाव बारे म पुनः तिमीलाई बताउँदछु लौ सुन ।

मार्कण्डेय पुराणको सावराणिक मन्वन्तर देवी महात्म्यको मधुकैटभ बध दुर्गा_सप्तशतीको_पहिलो_अध्याय पूरा भयो । 

#क्रमश

Comments