११४. उद्यम विकास सहजकर्ता अवधारणात्मक परिचय र गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम (मेडपा) : संक्षिप्त जानकारी

उद्यम विकास सहजकर्ता अवधारणात्मक परिचय  र गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम (मेडपा) : संक्षिप्त जानकारी                                                                                                  

✍️ बसन्तराज अधिकारी

१. अर्थ :

१.१ उद्यम बिकासको क्षेत्रमा प्रशिक्षित भएको जनशक्ति ।
१.२ दलित, जनजाति, अल्पसंख्यक, विपन्न समुदायलाई रोजगार र सक्षम बनाउने जनशक्ति ।

१.३ देशमा व्याप्त गरिबी तथा बेरोजगारी समस्या समाधान गर्ने सक्षम जनशक्ति ।

१.४ उद्यम व्यवसाय गर्न चाहने विपन्न समुदायका महिला, दलित गरिब तथा पछाडि परेका पारिएका बर्ग तथा समुदायलाई व्यवसायिक परामर्श, ज्ञान, सीप प्रदान गरि उद्यम, व्यवसाय गर्न प्रोत्साहित गर्ने जनशक्ति ।

१.५ बजार बिकास र बजारीकरण, उपयुक्त प्रविधि, संस्थागत बिकासमा अग्रणी भुमिका निर्वाह गर्ने जनशक्ति ।

१.६ उद्यम बिकास क्षेत्रको उपयुक्त स्थान, स्रोत, साधन पहिचान र परिचालन गर्न सक्ने सक्षम जनशक्ति ।

१.७ आधारभुत वर्ग समुदायको भावना र क्षमता बुझ्न सक्ने जनशक्ति ।

१.८ धैर्यताका साथ अरुका कुरा सुन्ने र समयको महत्व बुझ्न सक्ने जनशक्ति

१.९ सहयोगी भावना सिर्जनशील जनशक्ति ।

१.१० देश बिकास प्रती इमान्दार भएको जनशक्ति ।

व्यवसाय एकल वा सामुहिक रुपमा जसरी पनि गर्न सकिन्छ । कुनै पनि व्यक्तिले आफ्नो अवस्था विश्लेषण गरि आफ्नो सीप र क्षमताको आधारमा उपयुक्त व्यवसाय एकल (एकजनाले गर्ने व्यवसाय) वा सामुहिक (दुई वा दुई भन्दा बढी) व्यक्ति मिलेर गर्ने व्यवसाय) रूपमा सञ्चालन गर्न सक्छन् । सामान्यतया: कुनै पनि व्यवसायमा समुह कार्यको निकै महत्व हुन्छ । त्यसैले व्यवसाय सञ्चालन गर्दा उक्त व्यवसायमा संलग्न व्यक्तिहरु बिच राम्रो सहकार्य हुनु आवश्यक छ । कुनै पनि व्यवसायमा जोखिम पनि हुन्छ । साधारणतया कम जोखिम भएको व्यवसायमा कम आम्दानी हुन्छ भने बढी जोखिम लिंदा बढी आम्दानी हुन्छ । तर, आफ्नो जोखिम बहन गर्न सक्ने क्षमता अनुसार मध्यम जोखिम लिनु उपयुक्त हुन्छ । जोखिम उठाउने क्षमतामा व्यक्तिको सीप, पारिवारिक, आर्थिक, सामाजिक अवस्था आदिले फरक पार्दछ साथै जोखिम लाई कम गर्दा अनावश्यक क्षति हुन वाट बच्न सकिन्छ ।

२. सफ़ल उद्यमीमा हुनुपर्ने गुणहरु :

२.१ मौकाको खोजी

२.२ धीरता

२.३ कार्यप्रति दृढता

२.४ दक्ष र गुणात्मक कामको चाहना

२.५ मध्यम खालको जोखिम लिने

२.६ लक्ष्य निर्धारण गर्ने

२.७ सुचनाको खोजी

२.८ क्रमबद्ध योजना र मुल्यांकन

२.९ अरुवाट काम लिन र सम्बन्ध राख्न सक्ने

२.१० आत्मविश्वास ।

३. उद्यमी छनौट गर्दा सहजकर्ताका लागि सुझाव :

एउटा सफल उद्यमी वा स्वरोजगार व्यक्तिमा माथी उल्लेख भए बाहेक अन्य विभिन्न बिशेषताहरु पनि हुन सक्छन् । जस्तैः मिहिनेती, परिश्रमी, लगनशील, इमान्दार आदि । सबै व्यक्तिमा सबै प्रकारका बिशेषताहरु नहुन पनि सक्छन् । माथी उल्लिखित सम्पुर्ण  बिशेषताहरु उद्यमीमा हुनु आवश्यक छ । तर यसलाई सन्तुलनमा राखेर अगाडि बढनु पर्दछ । एउटा सफल उद्यमी बन्न आफुमा भएका गुणहरुलाई अझै राम्रो बनाउने र आफुमा भएका कमी कमजोरीहरुलाई हटाई थप आवश्यक गुणहरु बिकास गर्नुपर्ने आवश्यकतालाई जोड दिंदै अगाडि बढनुपर्ने हुन्छ ।

४. व्यवसायको परिचय :

४.१ नाफा कमाउनका लागि गरिने काम ।

४.२ ग्राहकको आवश्यकता अनुसार प्रदान गरिने सेवा ।

४.३ आफुसँग भएको स्रोत र साधनवाट ग्राहकलाई दिईने सेवा ।

४.४ यसमा लगानी, नाफा वा जोखिम हुन्छ ।

४.५ ग्राहक र व्यवसायी दुवैको सन्तुष्टि ।

४.६ जीवनयापन गर्न इज्जत कमाउन र आय आर्जनका लागि गरिने काम ।

५. जोखिमको अर्थ :

जोखिम भिन्न भिन्न व्यक्तिहरूले भिन्नभिन्न तरिकाले परिभाषित गरिएपनि मुलतः नकारात्मक प्रतिफल दिने कुरा बोलीचालीको भाषामा खतरा वा नोक्सान हो । व्यावसायिक क्षेत्रमा जोखिमलाई चुनौतीको रुपमा लिईन्छ । यसले गर्दा व्यवसायमा नाफा घाटाको अवस्था आउँछ । जोखिमलाई नोक्सान पुर्याउने कुरा भनि भन्न मिल्दैन । किनकि व्यवसायमा नाफा आर्जन गर्न जोखिम लिनु पर्ने हुन्छ । जस्तो एउटा भनाइ पनि छ - "छैन जोखिम छैन नाफा, बढी जोखिम बढी घाटा, ठिक जोखिम ठिक नाफा" तसर्थ व्यवसायमा नाफा कमाउनका लागि व्यवसायीलाई उत्प्रेरित गर्ने तत्व जोखिम सामान्यतया तीन किसिममा बिभाजन गर्न सकिन्छ :

(क) कम जोखिम / जोखिम नहुनु

(ख) मध्यम खालको जोखिम

(ग) बढी जोखिम ।

व्यवसायीले आफ्नो व्यवसायको क्षमता, अनुभव तथा भविष्यमा नाफा हुन सक्ने सम्भाव्यताको आधारमा मात्र जोखिम लिनुपर्छ ।

६. सफ़ल उद्यमी स्वरोजगार व्यक्तिमा हुनुपर्ने गुणहरु :

६.१ मौकाको खोजी

६.२ धीरता

६.३ कार्य प्रति दृढता

६.४ दक्ष र गुणात्मक कामको चाहना भएको

६.५ मध्यम खालको जोखिम लिने

६.६ लक्ष्य निर्धारण गर्न सक्ने

६.७ सुचनाको खोजी गर्न सक्ने

६.८ क्रमबद्ध योजना र मुल्यांकन गर्न सक्ने

६.९ अरुवाट काम लिन र राम्रो सम्बन्ध राख्न सक्ने

६.१० आत्मविश्वास ।

७. गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम (मेडपा) संक्षिप्त जानकारी

आर्थिक समृद्धिको आधार
लघु उद्यम मार्फत रोजगार

७.१ लघु उद्यम बिकास कार्यक्रम (मेडपा) अवधारणा :

गरिबीको रेखामुनी रहेका परिवारहरुका लागि स्थानीय स्रोत साधन परिचालन गरि स्थानियस्तरमा नै उद्यमशिलता बिकास मार्फत रोजगारी सृजना गर्ने उद्देश्यले बि.सं.२०५५ देखि बि.सं.२०७५ सम्म लघु उद्यम बिकास कार्यक्रम (मेडेप) सञ्चालनमा रहेको थियो । मेडेपले गरिबीको रेखामुनि रहेका बर्गलाई लघु उद्यमी बनाई स्वरोजगार तथा रोजगारी सृजना गर्ने लघु उद्यम विकास मोडेलको विकास गर्यो । लघु उद्यम बिकास मोडेलको प्रयोगवाट लक्षित बर्गलाइ उद्यममा आवद्ध गराई उनीहरुको जीवनस्तर उकास्न सहयोग पुगेकाले यश मोडेललाई नेपाल सरकारले आफ्नो कार्यक्रमका रूपमा आन्तरिकीकरण गरि गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम (मेडपा) को रुपमा आ.व. २०६६/६७ देखि सञ्चालन गरिरहेकोमा आ.व.२०७७/०७८ देखि मेडपा कार्यक्रम नेपाल सरकारको सशर्त अनुदानमा देशका ७५३ वटै स्थानीय तह मार्फत कार्यान्वयन हुने गरि सञ्चालनमा छ । गरिबीको रेखामुनि रहेका नेपाली नागरिक, वैदेशिक रोजगारीवाट फर्किएका वा स्वदेशमा रोजगारी गुमाएका बेरोजगार व्यक्ति मेडपा कार्यक्रमको लक्ष्यित समुह हुन् । यश कार्यक्रमले नतिजामा आधारित लघु उद्यम विकास (मेड) मोडेलमा कार्यक्रम सञ्चालन गर्दछ जसमा लक्षित समुहलाई एकीकृत सेवाहरु प्रदान गरि उनीहरूलाई लघु उद्यमी बन्न सघाउनुका साथै स्वरोजगार रोजगारीको सुनिश्चित गर्दछ ।

७.२ लघु उद्यम अर्थ :  औद्योगिक व्यवसाय ऎन, २०७६ ले अनुमति लिनुपर्ने उद्योग बाहेक "लघु उद्यम" लाई यसरी परिभाषित गरेको छ :

७.२.१ घर जग्गा बाहेक बढीमा बीस लाख रुपैयाँ सम्मको स्थिर पुँजी रहेको,

७.२.२ उद्यमी स्वयं उद्योगको सञ्चालन र व्यवस्थापनमा संलग्न रहेको,

७.२.३ उद्यमी सहित बढीमा नौ जनासम्म कामदार रहेको,

७.२.४ बार्षिक कारोबार रु. एक करोड भन्दा कम रहेको र

७.२.५  इन्जिन, उपकरण वा मेशिनको प्रयोग गरेको भएमा इन्जिन, उपकरण वा मेसिनमा खपत हुने बिद्युतिय उर्जा, इन्धन वा अन्य तेल इन्जिनको क्षमता बीस किलोवाट वा सो भन्दा कम रहेको,

लघु उद्यम खास गरि साना, मझौला तथा ठुला उद्योगको जग हो र स्थानीय आर्थिक क्रियाकलापको महत्वपूर्ण आधारशिला पनि हो ।

७.३ लघु उद्यम बिकास (मेड) मोडेल अवधारणा (Concept of Micro Enterprise Development - MED Model)

"लघु उद्यम विकास (मेड) मोडेल" उद्यम बिकासका लागि सामाजिक परिचालन, उद्यमशीलता विकास तालिम, सीप बिकास तालिम, वित्तीय सेवामा पहुँच, प्रविधिमा पहुँच तथा बजारीकरण र व्यावसायिक परामर्श समेतको एकीकृत सेवा प्रदान गरि लघु उद्यमको सिर्जना र बिकास गर्ने कार्यान्वयन वाट सफ़ल देखिएको मोडल हो । यो मागमा आधारित अवधारणा बमोजिम लक्षित बर्गहरुलाई एकीकृत सेवाहरु प्रदान गरि उद्यमी सृजना गर्ने एउटा प्रक्रिया हो ।

मेडपाले नयाँ उद्यमी सृजना तथा प्रवर्द्धनका लागि मागमा आधारित रणनीतिको बिकास गरेको छ । लघु उद्यम बिकास (मेड) मोडेलमा माग विश्लेषण गर्दा लक्षित समुहको मागका सबै उत्पादित बस्तु वा सेवाको बजार माग , लक्षित समुहको चाहना, कच्चापदार्थको उपलब्धता र उद्यम बिकासको सम्भावनालाई समेत ध्यान दिईन्छ ।

द्रष्टव्य नं.१ मागमा आधारित रणनीति : उद्यम बिकासका लागि उद्यमीहरूको माग बजार सम्भाव्यता, स्थानीय कच्चापदार्थ र उद्यम बिकासको सम्भाव्यता हेरेर मात्र कार्यक्रमहरु सञ्चालन गरिने भएकाले यश कार्यक्रममा संलग्न व्यक्तिले सफ़लता हासिल गरेका छन् ।

७.४ लघु उद्यम बिकास मोडेलका चरणहरु :

द्रष्टव्य नं.२

लघु उद्यम बिकास मोडेल : यश मोडेल अन्तर्गत विभिन्न ६ वटा चरणहरुमा व्यवसायिक सेवा प्रदान गर्ने गरिन्छ ।

७.४.१ पहिलो चरण : उद्यम विकासका लागि सामाजिक परिचालन

यश चरणमा घरधुरी सर्वेक्षण लगायतका विधि प्रयोग गरि उद्यम बिकासका लागि सम्भाव्य स्रोतहरुको विश्लेषण, सम्भावित उद्यमीहरू छनौट तथा बजारका सम्भावनाका क्षेत्रको पहिचान जस्ता कार्यहरू गरिन्छ । यसका अतिरिक्त उद्यम गर्न इच्छुक व्यक्तिलाई छनौट गरि उद्यमी समुहमा आबद्धता गराउने, उद्यमसँग सम्बन्धित पक्षहरूको बारेमा छलफल गर्ने, उद्यम स्थापनाको लागि उत्प्रेरित तथा नेतृत्व बिकास गर्ने कार्य गरिन्छ ।  यसका लागि बिशेष गरि सहभागितात्मक ग्रामीण लेखाजोखा (PRA), घरधुरी सर्वेक्षण, लक्षित समूह पहिचान तथा छनौट, उद्यमका लागि स्रोतको उपलब्धता तथा बजार सम्भाव्यता अध्ययन र समूह गठन जस्ता कार्यहरू गरिन्छन् ।

७.४.२ दोस्रो चरण : उद्यमशीलता बिकास

यश चरणमा सहभागीहरुमा आत्मविश्वास निर्माण र सम्भावित उद्यमीहरुको जोखिम बहन गर्ने क्षमता अभिवृद्धि गर्ने सीपको बिकास गरिन्छ । यस्तो सीप बिकासको लागि यश चरणमा सम्भावित उद्यमीको उद्यमशीलता बिकास गरिन्छ । उनीहरुले गर्न चाहेको उद्यमको छनौट गरि व्यवसायीक योजना समेत तयार हुन्छ । यो चरणमै उद्यमी बन्न चाहने व्यक्तिले उद्यम गर्न चाहिने पुँजी कसरी व्यवस्था गर्ने भन्ने अडकल गरिसकेका हुन्छन् । व्यवसाय गर्न बैंक/वित्तीय संस्थावाट ॠण लिनुपर्छ भन्ने सोंचको समेत बिकास भएको हुन्छ । व्यक्तिमा उद्यमशीलता बिकासको सीप भएमा एउटा उद्यम नाफामुलक नभएमा अर्को नाफामुलक उद्यममा लाग्न सक्ने क्षमताको बिकास भएको हुन्छ । तल उल्लेख भए बमोजिम उद्यम शुरु गर्नु पुर्व दुई वटा (क र ख) र उद्यम शुरु गरेको कम्तीमा एक बर्ष पछि दुई वटा (ग र घ) गरि चार प्रकारका तालीम प्रदान गरिन्छ ।

(क) सम्भाव्य उद्यमीको लागि तालीम (टोपे),
(ख) उद्यम व्यवसाय शुरुआत तालिम (टोसे),
(ग) उद्यम व्यवसाय सुधार तालिम (टोई) र
(घ) उद्यम व्यवसाय बिस्तार तालिम (टोजे) ।

७.४.३ तेस्रो चरण : प्राविधिक सीप बिकास तालिम

संभावित उद्यमीले छनोट गरेको उद्यम संचालन गर्न प्राविधिक सीपको आवश्यकता हुन्छ । उद्यमशीलता बिकास तालीम पश्चात् उद्यमको छनौट, आवश्यक कच्चापदार्थको लेखाजोखा, व्यावसायिक योजनाको निर्माण र उद्यम गर्न चाहिने पुँजीको व्यवस्थापन जस्ता पक्षहरूको विश्लेषण गरेर मात्र प्राविधिक सीप बिकास तालीम प्रदान गरिन्छ । नतिजामुलक सीप बिकास तालीम प्रदान गरिने हुँदा तालिम पश्चात् उद्यमीहरूमा गुणस्तरीय बस्तु तथा सेवाहरु उत्पादन गर्न सक्ने प्राविधिक सीप क्षमताको विकास हुन्छ । परम्परागत सीपमा आधारित उद्यमको छनौट गरेको अवस्थामा पनि थप सीप विकास तालिमको व्यवस्था गर्नुपर्ने हुन्छ । सीप तालिमको प्रकृति उद्यम अनुसार फरकफरक हुन्छन् । उद्यमको प्रकृति अनुसार छोटो, मध्यम र लामो अवधिका गरि ३ प्रकारका तालिम हुन्छन् ।

७.४.४ चौथो चरण : वित्तमा पहुँच

व्यवसायीक योजनाको आधारमा उद्यम सञ्चालन गर्न आवश्यक पुँजीका लागि स्वलगानी तथा ॠणको जरुरी हुन्छ । उद्यम व्यवसाय स्थापना तथा सञ्चालन गर्न यन्त्र, औजार, उपकरण, कच्चापदार्थ खरिद, कामदारलाई ज्याला तथा उत्पादित बस्तु बजारमा पुर्याउन पुँजीको आवश्यकता पर्दछ । यश कार्यक्रममा लघु उद्यमीहरू गरिबीको रेखामुनिका हुने भएकाले उद्यम वा व्यवसाय सञ्चालन गर्नका लागि आवश्यक पर्ने पुँजी आफै जुटाउन वा लगानी गर्न सक्दैनन् । सरकारवाट प्राप्त हुने सेवा सुविधाको बारेमा पनि जानकारी हुँदैन । उनीहरुको वित्तीय सेवा प्रदायक संस्थाहरूमा आफैले समन्वय गर्ने क्षमता पनि कमै हुन्छ । तसर्थ यस्ता बर्गलाई उद्यम व्यवसाय शुरु गर्न शुरु वा शुरु भैसकेको व्यवसायलाई सञ्चालन गर्नको लागि वित्तीय सेवा पहुँच पुर्याउनु अति आवश्यक हुन्छ ।

उद्यमशीलता विकासको तालिमले व्यवसायिक जोखिम समेत लिन सक्ने क्षमताको विकास गर्ने भएकोले उद्यमीहरू ॠण लिन इच्छुक हुन्छन् । वित्तीय पहुँचका लागि उद्यम विकास सहजकर्ताले सम्बन्धित पालिकामा भएका लघु वित्त संस्थाहरूको पहिचान गर्दछन् । उनीहरूको ॠण प्रवाह गर्ने नीति नियम र व्याज दर ईत्यादिको बिषयमा अध्ययन गर्दछन् । बिना धितो ॠण दिने वित्तीय संस्थाको खोजी गर्दछन् । वित्तीय सेवा प्रदायकहरुसँग समन्वय गराई ॠणको व्यवस्थापन गर्न सहजीकरण गर्दछन् ।

७.४.५ पाँचौ चरण : उपयुक्त प्रविधिमा पहुँच

प्रविधि भन्नाले उद्यम सञ्चालन गर्न आवश्यक मेशिन, औजारहरु हुन् । यश चरणमा उद्यमीहरुलाई उपयुक्त प्रविधिहरुको बारेमा जानकारी, पहुँच तथा त्यसको सञ्चालनका लागि सहजीकरण गरिन्छ । उपयुक्त प्रविधिले उद्यमीको उत्पादकत्व वृद्धि गर्न, प्रतिस्पर्धीहरुको वस्तु सँग गुणात्मकरुपमा प्रतिस्पर्धा गर्न तथा उत्पादन लागतमा कमी ल्याउने गर्दछ  । लघु उद्यमीहरुलाई उद्यम सञ्चालन गर्न चाहिने मेसिन औजारहरुको बारेमा जानकारी हुँदैन ।

उपयुक्त प्रविधिमा लघु उद्यमीले प्रयोग गर्ने वातावरण बनाउनु नै उनीहरुको उपयुक्त प्रविधिमा पहुँच (Access to Appropriate Technology) पुर्याउनु हो । लघु उद्यमीसम्म उपयुक्त प्रविधि पुर्याउनका लागि आवश्यक उपयुक्त प्रविधिको पहिचान गर्ने,  प्रविधि आपुर्तिकर्ता हरुको पहिचान गर्ने, उद्यमी र आपूर्तिकर्ताहरु बीचमा सम्बन्ध बिकास गर्ने र प्रविधि हस्तान्तरणमा पहुँच पुर्याउने जस्ता कार्य यश चरणमा गरिन्छ । यो काम सम्बन्धित पालिकामा उद्यम बिकास सहजकर्ताले गर्नुपर्दछ ।

७.४.६ छैठौं चरण : बजारीकरण तथा व्यावसायिक परामर्श

उद्यमीहरुद्वारा उत्पादित बस्तु र सेवाको बजारीकरण लघु उद्यम बिकास मोडलको महत्वपूर्ण अंग हो । यश मोडेलमा उत्पादन शुरु गर्नु पुर्व नै बजार सर्वेक्षण गरिने भएपनि बजारीकरणका लागि उद्यमीहरुलाई बजार सम्बन्धि ज्ञान तथा यसका लागि ग्रेडिङ्ग, प्याकेजिङ्ग, लेवलिङ्ग आदि बारे जानकारी तथा सहजीकरण गरिन्छ । बजारको सुनिश्चितताको लागि व्यापारी तथा उद्यमी बिच अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने, व्यवसाय - व्यवसाय बीच सम्बन्ध बिकास गर्ने, बिक्री कक्ष (सौगात गृह) हरु स्थापना गरि लघु उद्यमीको उत्पादन बिक्री गर्ने तथा प्रदर्शनी तथा व्यापार मेला आयोजना जस्ता कार्यक्रमहरु  गरिन्छ । लघु उद्यमीहरुले भोगेका समस्या समाधानका लागि, सल्लाह, सुझाव वा व्यावसायिक परामर्श सेवा प्रदान गरिन्छ ।

उल्लेखित ६ वटा चरणहरुमा एकीकृत र क्रमबद्ध सेवा प्रवाह गरे पश्चात् सम्भाव्य लघु उद्यमीहरू लाई उद्यमीको रूपमा तयार गर्न सकिन्र मान्यता नै यश लघु उद्यम बिकास  (मेड) मोडेलको सिद्धान्त हो । यो मोडेल उद्यमी नै सिर्जना गर्ने नतिजामुखी मोडेल हो । उद्यमीहरू लाई उद्यमको शुरुआत पश्चात् निरन्तर रूपमा अनुगमन गरि एउटा निश्चित समयसम्म हात समाएर डोर्‍याउनु पर्ने हुन्छ । गत बीस बर्षको अनुभव वाट यो मोडेल एकीकृत रुपले उद्यमी सृजना र स्तरोन्नति गर्न सफ़ल देखिएको छ  ।                                              

८. उद्यम बिकास सहजकर्ता (Enterprise Development Facilitator - EDF) र मेडपा कार्यक्रममा यिनको आवश्यकता :

लघु उद्यमको स्थापना, बिकास र प्रवर्द्धन गर्नका लागि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीईभिटी) वाट मान्यता प्राप्त उद्यम विकास सहजकर्ता सम्बन्धि उद्यमशीलता बिषयमा डिप्लोमा कोर्ष वा टिएसएलसी उत्तीर्ण गरेका वा उल्लेखित बिषयमा सीप परिक्षामा उत्तीर्ण भएका व्यक्ति हुन् । यस्ता सहजकर्ताले लघु उद्यम बिकास कार्यक्रममा लक्ष्यित समुहको पहिचान गर्ने, उद्यमशिलता बिकास तालिम सञ्चालन गर्ने, सम्भावित लघु उद्यमीको व्यवसायिक योजना तयार गर्न सहजीकरण गर्ने, सीप बिकास तालिम सञ्चालनमा सहजीकरण गर्ने तथा लघु उद्यमीको वित्तीय पहुँच तथा प्रविधिमा पहुँचमा सहजीकरण गर्ने तथा व्यावसायिक परामर्श उपलब्ध गराउने लगायत गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम (मेडपा) सञ्चालन निर्देशिका, २०७७ को अनुसूची १ मा तोकिएका कार्यहरु गर्दछन् ।

लघु उद्यमी सृजना गर्ने तथा लघु उद्यमीको स्तरोन्नति गर्ने कार्य नितान्त प्राविधिक कार्य हो । जसरी स्वास्थ्य संस्थाहरूमा हे.अ., स्टाफ नर्स, अ.हे.व., अ.न.मि. , र कृषि संस्थाहरूमा जे.टि./जे.टि.ए.लगायतको भुमिका रहन्छ त्यसैगरी नयाँ लघु उद्यमी तयार गर्ने र भैरहेका लघु उद्यमीको स्तरोन्नति गर्ने कार्यसँग सम्बन्धित बिषयमा अध्ययन गरेका उद्यम बिकास सहजकर्ताको अहम् भुमिका रहन्छ ।

८. उद्यम बिकास सहजकर्ता  (इडिएफ) को परिचालन :

मेडपा कार्यक्रम सञ्चालनका लागि महत्वपूर्ण मानिएका यस्ता सहजकर्ता स्थानीय तहले निजहरूले सम्पादन गर्नुपर्ने काम, कर्तव्य, अधिकार र जिम्मेवारी तथा निश्चित समय तोकि सेवा करारमा लिई परिचालन गरिएका हुन्छन् । यदि यश कार्यक्रमलाई स्थानीय तहले आन्तरिकिकरण गरि आफ्नै श्रोतवाट सञ्चालन गर्ने भएमा र यस्ता सहजकर्ताको कार्य तथा नतिजावाट स्थानीय तह सन्तुष्ट भएमा स्थानीय तहले आफ्नो कर्मचारी दरबन्दीमा समावेश पनि गर्न सक्नेछन् ।

सशर्त अनुदानमा सञ्चालन हुने यश कार्यक्रमका लागि उद्यम बिकास सहजकर्ताको बिज्ञतालाई सेवा करारमा लिईने र नतिजामा आधारित भै सम्झौता गरिने हुँदा यसलाई कर्मचारीको नियुक्तिको रूपमा लिईनु हुँदैन र कार्यालयका अन्य काममा लगाउनु पनि हुँदैन । यस्ता सहजकर्ताको सेवालाई कार्यक्रम सञ्चालन हुने आर्थिक बर्षको बढिमा असार मसान्तसम्मका लागि मात्र लिईने हुँदा निर्देशिकाको दफा ६ बमोजिमको योग्यता भएको र फिल्डमा कार्य गर्न सक्ने जुनसुकै उमेरको व्यक्तिको सेवालाई करारमा लिन सकिन्छ । यसरी सेवा करारमा लिंदा अनलाइन वाट दरखास्त माग गरि निजको बिज्ञता र प्रतिबद्धता तथा अनुशासन र कार्य गर्न सक्ने क्षमता हेरी अन्तर्वार्ताको माध्यमवाट सरल ढंगले छनौट गर्न उपयुक्त हुन्छ । यसरी छनौट गर्दा क्रमशः डिप्लोमा कोर्ष गरेका वा तह तीनका सहजकर्तालाई प्राथमिकता दिनुपर्दछ ।

९. कार्यक्रम संयोजक को हुन् र यि कसरी परिचालन हुन्छन् ?

मेडपा कार्यक्रमका लागि प्राप्त सशर्त अनुदानको बराबर वा सो भन्दा बढी रकम स्थानीय तहले आफ्नो स्रोत विनियोजन गरि थप लक्ष्य सहित कार्यक्रम सञ्चालन गर्ने भएमा कार्यालयले निर्देशिकाको दफा ५ बमोजिम छनौट भएको सहजकर्ताको अतिरिक्त एकजना स्थानीय व्यक्तिलाई कार्यक्रम संयोजकको रूपमा नियुक्त गर्न सक्नेछ । तर यश बमोजिम कार्यक्रम संयोजक नियुक्त गर्दा कम्तीमा स्नातक तह उत्तीर्ण गरेका व्यक्तिहरु मध्येवाट लघु उद्यम, व्यवसाय बिकास वा व्यवसायिक सीप बिकास, आय आर्जनको क्षेत्रमा योजना, संयोजन, निर्देशन, अनुगमन र निरीक्षण जस्ता कार्यमा अनुभव प्राप्त गरेको व्यक्तिलाई (उपलब्ध भएसम्म प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सिटिईभिटी) वाट उद्यम बिकास सहजकर्ता सीप परिक्षण तह ४ उत्तीर्ण गरेको व्यक्तिलाई) प्रतिस्पर्धाको आधारमा स्थानीय तहले आफ्नै स्रोतवाट आवश्यक सबै खर्च व्यहोर्ने गरि निजसँग सेवा करार सम्झौता गरि कार्यक्रम संयोजक नियुक्त गर्न सक्ने व्यवस्था छ । तर नेपाल सरकार र प्रदेश सरकारको तर्फबाट व्यवसाय उद्यमशीलता बिकास तथा प्रवर्द्धन गर्ने कार्यक्रम लागु भै कार्यक्रम संयोजक नियुक्त भएको भए निजलाई नै यश कार्यक्रमको कार्यक्रम संयोजकको रूपमा परिचालन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

१०. सम्पर्क व्यक्ति को हुन् र कार्यक्रमका लागि सम्पर्क व्यक्ति किन तोक्नु पर्दछ ?

पालिकाको प्रमुख प्रशासकीय अधिकृतले मेडपा सञ्चालन निर्देशिका बमोजिम कार्यक्रम सञ्चालन गर्नको लागि निजले पूरा गर्नुपर्ने जिम्मेवारी सहित स्थानीय तहमा उद्योग क्षेत्र हेर्ने शाखा प्रमुख वा कर्मचारी लाई सम्पर्क व्यक्ति (फोकल पर्सन) भनिन्छ । मेडपा कार्यक्रम स्थानीय तहको महत्वपूर्ण कार्यक्रम भएको हुँदा स्थानीय तहमा हुने विभिन्न कार्यक्रम सँग समन्वयात्मक तवरले सञ्चालन गर्न सम्पर्क व्यक्ति कार्यालयकै कर्मचारी तोक्न उपयुक्त हुन्छ । स्थानीय तहमा प्रमुख/अध्यक्ष लगायत निर्वाचित जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतले मेडपा कार्यक्रममका सबै क्रियाकलापहरु हेर्न नभ्याउने हुँदा दैनिक क्रियाकलापको सञ्चालन, रेखदेख गर्न र समग्र क्रियाकलापको प्रतिवेदन गर्न पनि सम्पर्क व्यक्ति तोक्न आवश्यक भएको हो ।

११. सेवा प्रदायक संस्था र कार्यक्रममा यि संस्थाहरुको भुमिका

लघु उद्यमी सिर्जना, प्रवर्द्धन, बिकास तथा बिस्तार वा स्वरोजगारी वा रोजगारीको लागि सीप बिकास तालिमको महत्वपूर्ण भुमिका रहन्छ । स्थानीय तहमा सबै किसिमका तालिम सञ्चालन गर्ने गरि संस्थागत र संरचनागत व्यवस्थाहरु समेत नहुन सक्छन् यसका लागि कार्यक्रम सञ्चालनका क्रममा मेडपा कार्यक्रमका ६ वटा चरण मध्ये सीप बिकास तालिम वा एडभान्स तालिम कार्यक्रम सञ्चालनका लागि यश क्षेत्रमा कार्य अनुभव भएका र कानुन बमोजिम दर्ता भएका संस्थाहरुलाई निर्देशिकाको परिच्छेद -३ बमोजिम छनौट गरि परिचालन गर्न सकिने व्यवस्था छ । जस्तैः तालिम प्रदान गर्ने संस्थाहरू, जिल्ला लघु उद्यमी समूह संघहरु (डि-मेगा), कुनै फर्म वा कम्पनी वा गैरसरकारी संस्थाहरू वा यस्तै प्रकृतिका संस्थाहरू यसमा पर्दछन् ।

१२. उद्यम बिकास समिति :

निर्देशिकाको दफा ५२ बमोजिम कार्यपालिकाको अध्यक्ष वा प्रमुखको संयोजकत्वमा निजी क्षेत्र समेतको सहभागितामा गठित समितिलाई उद्यम बिकास समिति भनेर बुझिन्छ । यो स्थानीय तहमा मेडपा कार्यक्रमको समग्र निर्णय र संयोजन गर्ने महत्वपूर्ण र सर्वोच्च समिति हो । समितिले कार्यक्रम सञ्चालन र व्यवस्थापनका लागि निर्देशिकाको दफा ५३ मा उल्लेखित काम, कर्तव्य र अधिकारको प्रयोग गर्दछ ।

१३. अनुगमन उपसमिति :

निर्देशिकाको दफा ५८ बमोजिम कार्यपालिकाको उपाध्यक्ष वा उपप्रमुखको संयोजकत्वमा लाभग्राही क्षेत्र समेतको सहभागितामा मेडपा कार्यक्रमको समग्र अनुगमन तथा मुल्यांकन गर्न गठित समिति अनुगमन उपसमिति हो । यो उपसमितिले मेडपा कार्यक्रमका हरेक क्रियाकलाप स्वीकृत कार्ययोजना मुताविक छ छैन हेरी निर्देशिकाको अनुसूची १६ को ढाँचा अनुसारको अनुगमन प्रतिवेदनका आधारमा मात्र खर्चको भुक्तानी हुने व्यवस्था छ । आवधिक रूपमा अनुगमन तथा मुल्यांकन गर्ने यो उपसमितिको निर्देशन र सो निर्देशन कार्यान्वयन वाट नै समग्र कार्यक्रमको सफ़लता निर्धारण हुन्छ ।

१४. नयाँ उद्यमी श्रृजना र भैरहेका उद्यमीको स्तरोन्नति :

बेरोजगार रहेका लक्ष्यित समुहका व्यक्तिलाई प्रशिक्षित जनशक्ति परिचालन गरि उद्यमशीलता तालिमका क्रममा तयार गरेको व्यावसायिक योजना मुताविक सीप बिकास तालिमवाट प्रशिक्षित गरि व्यवसाय शुरु गर्न तयार पार्न र सो का लागि वित्तमा पहुँच, प्रविधिमा पहुँच, बजारीकरण तथा व्यावसायिक परामर्श मार्फत उद्यमीका रूपमा तयार गर्ने कार्य नै नयाँ उद्यमी श्रृजना हो । यसवाट लक्ष्यित समुहका व्यक्तिलाई उद्यम सञ्चालन गर्न सक्ने बनाईन्छ । त्यसैगरी उद्यमीको स्तरोन्नति अन्तर्गत उद्यमीका रूपमा हाल उद्यम सञ्चालन गरिरहेका व्यक्ति वा समुहलाई उनीहरुको उद्यम व्यवसाय बिकासको आवश्यकता पहिचान गरि सो उद्यमको उत्पादन, गुणस्तर, प्याकेजिङ्ग, पुँजी, मुनाफा, रोजगार जस्ता पक्षमा सकारात्मक परिवर्तन गरि उद्यमको वृद्धि, बिकास तथा बिस्तार गर्ने कार्य नै उद्यमको स्तरोन्नति र बिकास गर्ने कार्य हो ।

१५. प्रविधि हस्तान्तरण :

लघु उद्यमीका लागि स-साना प्रविधिले महत्वपूर्ण भुमिका निर्वाह गर्दछ । उद्यम व्यवसाय सञ्चालन, बिस्तार तथा स्तरोन्नति गर्नको लागि आवश्यक पर्ने उपकरण वा मेसिन उपलब्ध गराउने कार्य र त्यस्तो मेसिन उपकरण खरिद गर्नको लागि उद्यमीको लागत साझेदारीमा सहयोग गर्ने वा त्यस्तो उपकरण वा मेसिन सञ्चालन गर्न आवश्यक पर्ने बिशेष प्रकारको सीप सिकाउने कार्यलाई प्रविधि हस्तान्तरण भनिन्छ ।

नयाँ उद्यमी श्रृजनाका लागि, भैरहेका उद्यमीको स्तरोन्नतिका लागि कतिपय व्यक्तिगत र कतिपय समुहमा यश किसिमका प्रविधि शर्त सहित हस्तान्तरण गर्ने व्यवस्था मेडपा निर्देशिकाले गरेको छ । यसका अतिरिक्त कार्यक्रम सञ्चालन, उद्यमी श्रृजना र स्तरोन्नतिको कार्यक्रममा तोकिएको लक्ष्य प्राप्त गरि बाँकी हुन आएको रकम र स्थानीय  तह वा प्रदेशले प्रविधि हस्तान्तरण गर्न चाहेमा त्यस बापत उपलब्ध प्रविधि समेत हस्तान्तरण गर्न सक्ने व्यवस्था निर्देशिकाले गरेको छ ।

१६. साझा सुविधा केन्द्र (उद्यमी घर) र यसको आवश्यकता :

स्थानीय तहले आफ्नो क्षेत्र भित्रका लघु उद्यमीले अति गरिबीको कारण लघु उद्यम स्थापना गर्न आफ्नो निवास स्थानमा पर्याप्त स्थान उपलब्ध नभएका र वित्तीय सेवामा पहुँच नभएका तर उद्यम गर्न इच्छुक लघु उद्यमीहरुको संख्या दस भन्दा बढी रहेको भौगोलिक क्षेत्र वा समुदायमा त्यस्ता लघु उद्यमीवाट कुनै बस्तुको उत्पादन, प्रशोधन, बजारीकरण र सो संग सम्बन्धित कुनै सेवा प्रदान गर्न निर्देशिकाको परिच्छेद ५ मा उल्लेखित प्रक्रिया अनुसार स्थापना भएको घरलाई साझा सुविधा केन्द्र (उद्यम घर) भनिन्छ । यसले जग्गा वा स्थान अभाव कै कारण उद्यमशीलताको उपयोग गर्नवाट कोहि पनि बञ्चित हुन नपरोस् भन्ने उद्देश्य राखेको छ ।

१७. जेसीएमआईएस र यसको आवश्यकता :

कार्यक्रमका हरेक क्रियाकलापलाई अभिलेख राख्न तथा प्रतिवेदन गर्नका लागि प्रयोग गरिएको लैंगिक समानता तथा सामाजिक समावेशी व्यवस्थापन सूचना प्रणाली (जेण्डर इक्वालिटी एण्ड सोसियल इन्क्लुजन मेनेजमेन्ट इन्फरमेशन सिष्टम) जेसीएमआईएस हो । साथै सो शब्दले मन्त्रालयले कुनै तथ्यांक व्यवस्थापन गर्ने एकीकृत पोर्टल वा अन्य यस्तै प्रकृतिको सूचना व्यवस्थापन प्रणाली तयार गरि तोकेकोमा त्यसलाई समेत जनाउँछ । कार्यक्रमको नियमित क्रियाकलापको अभिलेख राख्न, लक्ष्यित समूह छनौटमा दोहोरोपन (Duplication) हुन नदिन, प्रतिवेदन गर्न र अध्ययनकर्तालाई अध्ययन अनुसन्धान गर्न कार्यक्रमका तथ्यांक उपलब्ध गराउन तथा कार्यक्रममा एकरुपता कायम गर्न यो व्यवस्था आवश्यक परेको हो  ।

१८. गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम सञ्चालन निर्देशिका, २०७७

कार्यक्रम सञ्चालनमा सबै स्थानीय तहमा प्रभावकारिता र एकरुपता कायम गर्न गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम सञ्चालन निर्देशिका, २०७७ नेपाल सरकार, मन्त्रीपरिषद् को मिति २०७७\०७\०४ को निर्णय वाट स्वीकृत गरि लागू गरेको छ ।

१८. (क) निर्देशिकाका मुख्य विशेषताहरु

१८.१ गरिबीको रेखामुनि रहेका नेपाली नागरिक, वैदेशिक रोजगारी वाट फर्किएका वा स्वदेशमा रोजगारी गुमाएका बेरोजगार व्यक्ति, महिला तथा युवालाई लक्षित,

१८.२ लघु उद्यम बिकास मोडल (मेड मोडल) मा आधारित भइ यसका ६ वटा चरणलाई क्रमशः अपनाउँदै तोकिएको समय भित्र नै कार्यक्रम सञ्चालन गरि लक्ष्य वा नतिजा प्राप्ति गर्नुपर्ने व्यवस्था,

१८.३ स्थानीय तहको उद्योग हेर्ने शाखाको प्रमुख वा कर्मचारीलाई सम्पर्क व्यक्ति (फोकल पर्सन) को रूपमा निजको जिम्मेवारी सहित कामकाज तोक्ने प्रावधान,

१८.४ उद्यमशीलता विकासमा दक्षता हाँसिल भएका सिटीईभिटीवाट मान्यता प्राप्त योग्यता भएका उद्यम बिकास सहजकर्ता परिचालन गर्नुपर्ने प्रावधान,

१८.५ मेडपा कार्यक्रम जस्तै अन्य धेरै कार्यक्रम समेत स्थानीय तहमा सञ्चालन भएको भएमा सबै कार्यक्रमहरुमा दोहोरोपना रोक्न र कार्यक्रम वीच समन्वय कायम गर्न अन्य कुनै कार्यक्रममा कार्यक्रम संयोजक भएमा निजलाई नै र नभएमा स्थानीय तहले आफ्नै स्रोतमा कार्यक्रम संयोजक परिचालन गर्न सक्ने व्यवस्था,

१८.६ कार्यक्रममा सीप बिकास तालिम सञ्चालन गर्न प्रतिस्पर्धाका आधारमा छनौट भएका सेवा प्रदायक संस्था परिचालन गर्न सक्ने,

१८.७ नतिजामा आधारित व्यवस्था (उद्यमी श्रृजना भै उद्यम शुरु गरेको वा उद्यमीको स्तरोन्नति भएपछि मात्र नतिजा आएको मानिने व्यवस्था ),

१८.७ प्रविधि हस्तान्तरण गर्नुपर्ने, उद्यमीलाई बजार र सरल तथा सहुलियतपूर्ण कर्जासँग पहुँच पुर्याउनु पर्ने व्यवस्था,

१८.८ स्थानीय तह आफैले पनि थप बजेट र थप लक्ष्य सहित यसै निर्देशिका बमोजिम कार्यक्रम सञ्चालन गर्न सक्ने व्यवस्था,

१८.९ कार्यक्रम सञ्चालन गर्ने सम्पुर्ण जिम्मेवारी स्थानीय तहको हुने व्यवस्था,

१८.१० स्थानीय तहको अध्यक्ष/प्रमुखको संयोजकत्वमा निजी क्षेत्र समेतको प्रतिनिधित्व हुने गरि ७ सदस्यीय उद्यम बिकास समितिको व्यवस्था,

१८.११ स्थानीय तहका उपप्रमुख/उपाध्यक्षको संयोजकत्वमा गठित उपसमितिले प्रत्येक चरणको अनुगमन गरि अनुगमनको सिफारिस गरे पश्चात् मात्र क्रियाकलापको भुक्तानी हुने व्यवस्था,

१९. अब स्थानीय तहले यो निर्देशिका अनुसार कार्यक्रम कसरी शुरु गर्ने ? (संक्षिप्तमा)

१९.१ प्रमुख प्रशासकीय अधिकृतले मेडपा कार्यक्रम सञ्चालनका लागि निर्देशिकाको दफा ९ बमोजिम सम्पर्क व्यक्ति (फोकल पर्सन) तोक्ने र जिम्मेवारी दिने,

१९.२ शाखाले निर्देशिकाको अनुसूची २ अनुसारको कार्ययोजना तयार गर्ने र स्वीकृतिका लागि उद्यम विकास समितिमा पेश गर्ने (दफा १० बमोजिम) । साथै कार्ययोजना तयार गर्दा अनुसूची २ को तालिका नं.१ मा उल्लेखित दायरालाई आधार मानेर क्रियाकलाप अनुसार बजेट बाँडफाँड गर्ने र स्वीकृत गराउने,

१९.३ उद्यम विकास सहजकर्ताको सेवालाई दफा ६ बमोजिमको योग्यता भएका व्यक्तिवाट सेवा करार लिई अनुसूचीमा उल्लिखित फारामहरुवाट सामाजिक परिचालन (सूचना संकलन र विश्लेषण) गर्न फिल्डमा पठाउने (दफा ५,६ र ७)

१९.४ सेवा करारमा लिईएका सहजकर्ता लाई सामाजिक परिचालनका लागि फिल्डमा पठाउनु अघि दफा २१ बमोजिम वडा छनौट गर्ने,

१९.५ उद्यम बिकास सहजकर्ता वाट भरिएको अनुसूचीको विश्लेषण गरि लक्ष्यित समूह पहिचान, सामाजिक परिचालन तथा छनौट गर्ने र उद्यमशीलता सम्बन्धि (७+१)दिने तालिम सञ्चालन गर्ने, गराउने,

१९.६ उद्यमशीलता बिकास तालिम सम्पन्न भैसके पश्चात् सम्भावित उद्यमीले तयार गरेको व्यवसायिक योजना अनुसार छनौट गरेका उद्यम सञ्चालनका लागि सीप विकास तालिमका क्रियाकलापहरु सञ्चालन गर्ने । यसका लागि प्रतिस्पर्धाका आधारमा सेवा प्रदायक संस्था छनौट गरि सेवा लिन सकिने, (परिच्छेद ३)

१९.७ सीप बिकास तालिम सम्पन्न भए पश्चात् उपलब्ध बजेट समेतलाई ध्यान दिई निर्देशिका बमोजिम प्रविधि हस्तान्तरण तर्फका कार्यहरू गर्ने,

१९.८ उद्यमीलाई ॠण आवश्यक पर्ने भएमा बैंक तथा वित्तीय संस्था सँग अन्तरक्रिया गराउने । यस्ता उद्यमीलाई सकेसम्म नेपाल सरकार वाट उपलब्ध सस्तो व्याजदरको ॠण वा सहुलियतपूर्ण कर्जामा आवद्ध गराउनु पर्दछ ।

१९.९ अब उद्यमीले बस्तु उत्पादन गर्न शुरु गर्ने हुनाले यसका लागि उद्यमीलाई आवश्यकता अनुसार सहजीकरण गर्न,

१९.१० उद्यमीले उत्पादन गरेको बस्तुको बिक्रीका लागि बजारीकरणमा सहजीकरण गर्ने । उसलाई बस्तु उत्पादन र सो बस्तुको बजार व्यवस्थाले मात्र थप उत्साह र उर्जा प्राप्त हुन्छ । सहजकर्ताले यसमा महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्दछ । किनकि बजारीकरणको अभावमा नयाँ उद्यमी हतोत्साहित हुन सक्दछ र पलायन पनि हुन सक्दछ ।

१९.११ यसरी नयाँ उद्यमी श्रृजना भैसकेपछी पनि निजलाई आवश्यक पर्ने व्यावसायिक परामर्श लगायत विभिन्न सहयोगहरु उपलब्ध गराई रहनु पर्दछ । यश कार्यमा फोकल पर्सन र उद्यम बिकास सहजकर्ताले निरन्तर सहजीकरण गर्नुपर्दछ ।

१९.१२ यसरी भैरहेका उद्यमीको स्तरोन्नतिका क्रियाकलाप सञ्चालन गर्दा भैरहेका उद्यमीलाई उद्यम बिकास सहजकर्ताले गर्ने सामाजिक परिचालन वाट आवश्यकता पहिचान भएको क्षेत्रमा सहयोग गरि स्तरोन्नति गर्ने ।

१९.१३ उल्लेखित क्रियाकलापको सुक्ष्मरुपमा अनुगमन उपसमितिले अनुगमन गरि कार्यक्रम सञ्चालनमा आवश्यक सुधार समेतका सुझाव दिनुपर्दछ । अनुगमन उपसमितिले दिएको प्रतिवेदनका आधारमा र प्रत्येक क्रियाकलापको डाटा इन्ट्री गरेपछि मात्र खर्च भुक्तानी सम्बन्धि कार्य गर्नुपर्दछ । यसका लागि प्रत्येक क्रियाकलापको जेसिएमआईएस सफ्टवेयरमा डाटा प्रविष्ट गर्नुपर्दछ ।

१९.१४ तोकिएको स्थानीय तहमा साझा सुविधा केन्द्र समेतका कार्य गर्नुपर्दछ । सम्भावित उद्यमीले उद्यम सञ्चालन गर्न आफ्नो जग्गा वा स्थान अभाव भएको अवस्थामा यश किसिमका साझा सुविधा केन्द्र मार्फत उद्यम गर्ने स्थान उपलब्ध गराउने व्यवस्था मिलाउने,

१९.१५ सम्पर्क व्यक्ति (फोकल पर्सन) ले कार्यक्रमका लागि आवश्यक जानकारी लिने र दैनिक क्रियाकलाप सञ्चालन गर्ने व्यवस्था मिलाउनु पर्दछ ।
समाप्त

सम्पादन तथा लेखक परिचय :
~~~~~~~~~~~~~~~~~~

✍️ बसन्तराज अधिकारी
अधिवक्ता - एम.ए. (राजनीतिशास्त्र) ; बी.एल: , (कानुन) बी.ए. (अर्थशास्त्र/राजनीतिशास्त्र) ; बी.एड. (शिक्षा)
हाल : उपसचिव, नेपाल सरकार
कामकाज : प्रमुख प्रशासकीय अधिकृत
राजापुर नगरकार्यपालिका कार्यालय
राजापुर,  बर्दिया ।

सन्दर्भ सामग्रीहरु (References)
~~~~~~~~~~~~~~~~~~~

१. गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम (मेडपा) संक्षिप्त जानकारी पुस्तिका अध्ययन
प्रकाशक :
नेपाल सरकार
उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय
सिंहदरबार, काठमाण्डौं
२. उद्यम बिकास छनौट कर्ता पदपूर्ति समिति संयोजक राजापुर नगरपालिका, बर्दिया : एक अनुभव
३. www.Goole. com

✍️ सम्पादन, अध्ययन  तथा लेखन 
बसन्तराज अधिकारी
घर : घोराही उपमहानगरपालिका, दाङ

हाल : राजापुर नगरपालिका, बर्दिया ।                                                               

Comments