नेपालको आदिवासी थारु जाति : संक्षिप्त चिनारी
✍️ बसन्तराज अधिकारी |
१. परिचय :
थारू नेपालको आदिवासी जनजाति जाती हो । यिनीहरू नेपालको मध्य-पश्चिम पहाड स्थित सुर्खेत उपत्यका भित्री तराई भनिने, दाङ उपत्यका, देउखुरी उपत्यका, चितवन उपत्यका, माडी उपत्यका, मरिनखोला उपत्यका तथा कमला उपत्यका का साथै नेपालको समग्र तराईमा बसोबास गर्दछन । श्रमजीवी, परिश्रमी, मेहनती, कामलाई नै पुजा ठान्ने यो जाती साच्चिकै अर्थमा धर्तीपुत्र नै हो । तराईमा औंलो, गर्मी धुप शितलहरलाई पचाउँदै बन्जर भुमिलाई उर्वराभुमिमा परिणत गर्ने सोझा सरल, मिलनसार हिन्दु बर्णाश्रमका वैश्य वर्ण अन्तर्गत मतवाली अर्थात् जनै धारण नगर्ने जाती थारु हुन् । पहिला सबैलाई थारु भनिए पनि हिजोआज अधिकांशले आफ्नो थर चौधरी लेखाउने वा भन्न रुचाउने गरेको पाईन्छ ।
२. ऎतिहासिक सन्दर्भ :
यो तराईमा सबैभन्दा बढी जनसंख्या भएको जाती पनि हो । राष्ट्रिय जनगणना २०६८ मा करिबकरिब ४ प्रतिशत रहेको यो नेपालको ऐतिहासिक जातीलेे नेपाल निर्माता पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका जितेपछी उपत्यकाको सुरक्षाको लागि थारु सेना ल्याएपछि क्रमशः गोर्खाली सेनाको रूपमा नेपाल एकिकरण अभियानको अन्तसम्म भाग लिइ रहेको ऎतिहासिक तथ्य पाईन्छ साथै नेपालले लडेका हरेक लडाईमा थारू युवाहरू अन्य क्षेत्री, मगर, गुरुङ, बाहुन, तामाङ, सुनुवार, राई, लिम्बू, कामी, दमाईँ, गन्धर्व, योगी लगायतका जाति जत्तीकै बहादुरिपूर्वक लडेर मातृभुमी नेपाललाई विदेशी शक्तीहरूबाट पनि यश धर्तीपुत्र बहादुर जातिले बचाएको इतिहास पाइन्छ ।
३. आदिवासी थारु जाति र भाषा र चाडपर्व :
यिनीहरू कैयौ वर्ष पहिलेदेखि तराईको घना जंगलको बीच-बीचका बसोबास गर्दै आएका छन्। दाङ्गमा बस्ने थारूलाई 'दङ्गौरा थारू' भनिन्छ भने त्यहाँ तिनीहरूको राज्य नै रहेको प्रमाण पनि फेला परेको छ। आकृतिले मंगोलजस्तै देखिए पनि दक्षिणतर्फका आर्यनहरूको सम्पर्कमा परेकाले थारूहरूको जनजीवन र रहनसहन धैरै हदसम्म भारतीय मुलको प्रभाव निकै फरक पाइन्छ ।
ठाउँ अनुसार थारूहरूको थर र भाषामा पनि अन्तररहेको छ । भौगोलिक विभाजनअनुसार यिनीहरूका केही थरहरु निम्नलिखित रहेका छन् :
३.१ लालपुरिया
३.२ सोलरिया
३.३ राना
३.४ मर्दनिया
३.५ कडरिया
३.६ मोरङगीया
३.७ राजहटीया
३.८ रौतार
३.९ चितौनिया
३.१० मझौरा
३.११ दङ्गौरा,
३.१२ दाङ बर्दिया खस
३.१३ लामपुछुवा
३.१४ बुचविहारी
३.१५ डगौरा थारु आदि ।
थारू जाती आफ्नै थारू भाषाका अलावा नेपाली भाषा बोल्छन भने केहीले क्षेत्रगत रूपमा बोलीने भाषा/भाषी देहाय बमोजिम रहेका छन् :
३.१५ भोजपुरी
३.१६ मैथली तथा अवधि भाषा ।
थारू आफ्नै संस्कृतिमा रमाउने जाती हो । थारु जातिहरुले निम्नलिखित चाडपर्व मनाउने गर्दछन् :
३.१७ बडा दशैं
३.१८ त्यौहार, तिहार देवाली
३.१९ माघी र
३.२० जितीया आदी पर्व मनाउने गर्दछन ।
थारु जातिको महान पर्व प्रत्येक बर्ष माघ १ गते नयाँ बर्षको रुपमा मनाईने हुँदा माघीको अवसरमा लुम्बिनी प्रदेश सरकारले एक दिन सार्वजनिक बिदा दिने गरेको छ ।
४. धार्मिक, सांस्कृतिक परम्परा र प्रचलन :
थारू जातिको पुरोहितलाई 'गुरुवा' वा 'भर्रा' पनि भनिन्छ । थारूहरूको पारिवारिक र सामाजिक चाड पर्व मनाउँदा पुरोहितको ठूलो भूमिका हुन्छ । यिनीहरू 'देउरहार' भन्ने ईष्ट देवताको पूजा गर्छन् । विवाहमा केटी पक्षले/केटीका साथी-सङ्गनिले-जन्ती वा केटा पक्षलाई जथाभावी सराप दिने र गाली गर्ने चलन छ । बेहुली अन्माउँदा अन्य चीजको अतिरिक्त एउटा कचौरा पनि दिने गरिन्छ, जुन बेहुलीलाई अत्यन्तै दुःख पर्दा विषपान गर्न दिइएको हो भन्ने किम्बदन्तीको रूपमा विश्वास पनि गरिन्छ ।
ऐतिहासिक रूपमा थारू महिलाहरुलाई राजपूत स्त्रीहरूसँग सम्बन्धित देखाइएको छ । मुलसमानहरूले राजपूतमाथि आक्रमण गर्दा राजपूत महिलाहरू थारूहरूसँग भागेर आएको आख्यानका आधारमा हाल पनि थारू महिलाले आफ्नो श्रीमानलाई भात दिँदा खुट्टाले धकेलेर दिइ आफ्नो जातीय प्रभुत्व कायम राख्न खोजेको पाइन्छ । थारूहरू बिहानको खाजाहरूलाई 'कल्वा', दिउसोको खानालाई 'मिन्ही' र साँझको खानालाई 'बेरी' भन्छन् । थारूहरूको कुलदेवता काली भगवती, मैया र गोरैया हुन् । हरेक घरमा कुल देवता रहन्छन् । कुलदेवता रहेको ठाउँमा घरमूली नै सुत्नु पर्ने नियम छ । यिनीहरूका सामूहिक देवता 'बरदम' र 'भूइहार' हुन्, जसलाई चैत्र र भाद्रमा पूजा गर्नुपर्छ । यिनीहरूको मुख्य चाड 'माघी' हो, जुन माघ महिनाको सुरूमा मनाइन्छ ।
थारूहरूको मृत्युसंस्कार ठाउँअनुसार फरक-फरक पाइएको छ, पूर्वी तराईका थारूले लास जलाउँछन् । पश्चिम तराईका थारूहरूले गाड्छन् । लास गाड्दा पुरुषको भए घोप्टो पारेर र महिलाको भए उत्तानो पारेर गाडिन्छ । क्रिया गर्दा पूर्वका थारूले ब्राहृमण लगाउँछन् भने पश्चिमकाले भर्रा लगाउँछन् ।
परिश्रमी र इमान्दार थारू जातिको एक विशिष्ट पहिचान हो । उनीहरू सरल मिजासका मेहनती र इमान्दार हुन्छन् । खेतीपाती र पशुपालन नै मुख्य पेशा भए पनि आजकल व्यापार र नोकरी गर्न पनि थालेका छन् । यिनीहरूको ठूलो बस्ती भएको ठाउँलाई #थरूवान, #थरूहट वा थरोट पनि भनिन्छ ।
५. सामाजिक, आर्थिक अवस्था र बिशेषता :
थारू जातिको एउटा मुख्य विशेषता संयुक्त परिवारको प्रथा पनि हो । ३-४ पुस्तासम्मका थारू परिवारहरू एउटै संयुक्त परिवारमा रहेको र एउटै परिवारमा १ सय ५० जना सदस्य रहेको पनि पाउन सकिन्छ । खासगरी पश्चिम तराईका थारू जातिमा संयुक्त परिवारको अवधारणा व्याप्त छ । यसबाट खेती र पशुपालनजस्ता सामूहिक जीविका चलाउन सजिलो भएको छ ।
वर्तमान अवस्थामा थारू जातिहरूको आर्थिक तथा सामाजिक स्तर जुन रूपमा हुनुपर्ने हो, त्यस्तो छैन । अधिकांश थारूहरू अरुको थिचोमिचो र शोषणमा परेको पाइन्छ। पश्चिम नेपालमा व्याप्त #कमैया प्रथाबाट सबभन्दा बढी थारूहरू नै पीडित थिए । २०५७ साउन २ मा मुक्त गरिए पनि उनीहरूको अवस्थामा खासै सुधार आएको अवस्था पनि छैन । अरुको घरमा छोरीहरूलाई काममा '#कमलरी' का रूपमा राख्ने चलन बैधानिक रूपमा रोकिएको जस्तो देखिए पनि परोक्ष रुपमा घुमाउरो तरिकाले भने घटन सकेको भने पाईदैन । थारु जातिले अन्य क्षेत्रमा पनि अपेक्षित प्रगति हासिल गर्न सकेका छैनन् । नेपालमा शिक्षा र चेतनाको स्तर बढ्दै गएकाले २०६२\०६३ को जन आन्दोलन भाग २ को सफ़लता र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र संघीयताको कार्यान्वयन पश्चात् केहि हदसम्म थारुहरूको अवस्थामा भने क्रमिक रूपमा सामान्य सुधार हुँदै आएको पाईन्छ ।
६. प्रमुख चाडपर्व :
(क) थारु जातिहरुको प्रमुख चाडपर्व देहाय बमोजिम मनाईन्छ :
६.१ जितिया
६.२ दशैं
६.३ दिवारी (तिहार, दिपावली)
६.४ हरेरी पुजा
६.५ माघी
६.६ होरि (फागु पुर्णिामा
६.७ चिरैं
६.८ भजहर आदि
७. पौराणिक मनोरञ्जनात्मक खेलहरु :
थारु जातिको पौराणिक मनोरञ्जनात्मक खेलहरु देहाय बमोजिम रहेका छन् :
७.१ छुर
७.२ गुल्ली दन्दा
७.३ कबद्दी
७.४ गुच्छा (गोली)
७.५ बागचाल
७.६ घोरवासा आदि ।
८. प्रमुख लोक नाच र बाजाहरू
(क) थारू जातिका प्रमुख लोक नाचहरु -----
८.१ सखिया नाच
८.२ झुमरी नाच
८.३ मघौंटा नाच आदि ।
(ख) थारु जातिका प्रमुख बाजाहरु -----
८.१ सखिया मादल
८.२ झुमरी मादल
८.३ कारा
८.४ टिम्की
८.५ ठेकारा
८.६ बौसी
८.७ मजैरा
८.८ मनार
८.९ मुरली
८.१० तमौरा
८.११ रेउनी
८.१२ ढ्वाल
८.१३ डफा
८.१४ झर्रा
८.१५ नारा
८.१६ झाइल
८.१७ पिपही
८.१८ पिङरी
८.१९ पिलरू
८.२० बसिया-माटोको बाजा
८.२१ चट्कौली
८.२२ कस्टार
८.२२ डिग्री मुख्य बाजाहरू हुन् ।
९. सारांश :
मुलतः आदिवासी थारु जाति एक मेहनती, इमानदार कर्तव्यनिष्ट, सच्चा देशभक्त धर्तीपुत्रहरु हुन् । आफ्नै श्रम र पसिनामा रमाउने यो जाती नेपालको पुर्व देखि पश्चिम सम्म र भारतीय भुमि समेतमा रहेका छन् । जमिनदार र शोषक सामन्तको दबाब झेल्दै संघर्षमा खारिएर आएको यो जाति राष्ट्रकै गौरवपुर्ण इतिहास बोकेका छन् । थारु जातिको महान पर्व माघी प्रत्येक बर्ष माघ १ गते नयाँ बर्षको रूपमा मनाईने अझ बर्दिया जिल्ला बिशेषत: राजापुर क्षेत्रमा ८० प्रतिशत भन्दा बढी थारु जातिको बसोबास रहेको छ । यहाँको विशिष्ट स्थानीय नेतृत्व "बडघर" हरुमा रहेको जस्ले कुलोपानी र सामाजिक कार्य परम्परागत रुपमा सञ्चालन गर्दछन् । बडघर निर्वाचित रुपमा स्थानीय नेतृत्व सम्हालेका हुँदा सक्रिय राजनीतिक नेतृत्व सँग सहकार्य तथा महत्वपूर्ण जिम्मेवारी सम्पादन गरेको पाईन्छ ।
भौगोलिक अवस्था विभिन्नताले भाषा, चालचलन र सांस्कृतिक मुल्य मान्यतामा सामान्य भिन्नता भएपनि धेरै कुराहरूमा भने मतैक्यता पाईन्छ । खासगरी पश्चिम तराई दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा फैलिएको थारुहरुमा एकप्रकारको समानता पनि छ । दाङ जिल्लाको पश्चिम दङ्गिशरण गाउँपालिका प्राचीन थारु राजा दङ्गीशरणको दरवार अहिले पनि संग्रहालयको रुपमा रहेको देख्न पाईन्छ । तराईको उग्रगर्मी, प्रतिकुल हावापानी, औंलो जस्तो महामारी समेत को बाबजुद सबै पचाएर बसेका जाती हुनाले हिजोआज थाईलेसिमिया, सिकलसेन जस्ता रोगहरु यिनीहरूमा केही मात्रामा बिशिष्टरुपमा देखापरेको पनि छ । यश दिशामा राज्यको खासरुपमा ध्यानाकर्षण भएको भन्ने अवस्था देखिदैन ।
✍️ धन्यवाद ।
सन्दर्भ स्रोत सामग्रीहरु (References)
~~~~~~~~~~~~~~~~~~~~~~~
१. विकिपिडिया
२. www.Goole.com
३. My autobiography.of श्री बसन्तराज अधिकारी
४. "जागीरे-यात्रा" सिर्जनात्मक सङ्गालो, २०७० ।
सम्पादन तथा लेखक परिचय :
~~~~~~~~~~~~~~~~~~
✍️ बसन्तराज अधिकारी
अधिवक्ता - एम.ए. (राजनीतिशास्त्र) ; बी.एल:, (कानुन) बी.ए. (अर्थशास्त्र/राजनीतिशास्त्र) ; बी.एड. (शिक्षा)
हाल : उपसचिव, नेपाल सरकार
कामकाज : प्रमुख प्रशासकीय अधिकृत
राजापुर नगरकार्यपालिका कार्यालय
राजापुर, बर्दिया ।
✍️ लेखक : बसन्तराज अधिकारी
लेखन तथा सम्पादन मिति : २०७३-०७४ पुनः परिमार्जन मिति २०७७\०९\२१ मंगलबार ।
घर : घोराही उपमहानगरपालिका, दाङ
हाल : राजापुर नगरपालिका, बर्दिया ।
Comments
Post a Comment